वसन्त बलामी (सेफ, नेपाल कलेज अफ म्यानेजमेन्ट तथा होटल र्याडिसन)
वन टन सुप
सामग्री
नुडल्स ५० ग्राम, मैदा ७० ग्राम, बकचोय (चाइनिज साग) ३० ग्राम, चिकेन किमा ३५ ग्राम, चप गरेको प्याज १० ग्राम, हरियो प्याज १० ग्राम, नुन ५ देखि ७ ग्राम, कालो मरिच ५ ग्राम, चिकेन बोन ५ सय ग्राम,तेजपात ४ वटा, गाजर ५० ग्राम, सेलरी ३० ग्राम, प्याज ३० ग्राम, बटर १५ ग्राम, लसुन १० ग्राम
बनाउने विधि
सम्पूर्ण सामग्री सफा पानीले धोएर मसिनो आकारमा काट्ने । वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने । नुडल्सलाई ५ मिनेटजति उमाल्ने । अब मिडियम हिटमा प्यान तताउने र त्यसमा बटर राखेर चप गरिएको लसुन, चिकेन स्टोक राखेर उम्लिन दिने । अब अघि बनाएको ममः राखेर फेरि ५ मिनेटजति पाक्न दिने । अन्त्यमा नुन र मरिचको धूलो राख्ने । अब एउटा सफा चाइनिज बाउलमा स्टिम गरिएको नुडल्स राख्ने र माथिबाट वन टनसहितको सुप खन्याउने । अन्त्यमा बकचोय टपमा राख्नुपर्छ । यो जाडोमा तात्तातो वन टन सुप खानका लागि तयार भयो । विन्टर सिजनमा चाइनिजहरूले बढी मन पराउने यो सुप नेपालमा पनि प्रख्यात हुँदैछ ।
चाइनिज भेज बल
सामग्री
तेल ५ सय मिलिलिटर, सेवाइ २ सय ग्राम, उसिनेको आलु १ सय ग्राम, गाजर १ सय ग्राम, काउली १ सय ग्राम, मैदा ३५ ग्राम, हरियो केराउ ३० ग्राम, हरियो प्याज ३० ग्राम,
बनाउने विधि
सबै सामग्रीलाई सफा भाँडोमा राखेर पखाल्ने । किमाजस्तै स–सानो आकारमा काट्ने । ३ मिनेट स्टिम गर्ने । सेलाएपछि सम्पूर्ण सामग्री एउटै भाँडोमा राखेर मोल्ने । अब स–साना गोला डल्ला बनाएर सेवाइले कोटिङ गर्ने अनि तातिरहेको तेलमा फ्राई गर्ने । हेर्दा गोल्डेन ब्राउन देखिने यो परिकार स्न्याक्सका लागि उपयुक्त हुन्छ । बालबालिकादेखि बूढाबूढीले रुचाउने यो परिकार स्वादिष्ट र पोषिलो छ ।
चकलेट मुस
सामग्री
ह्विपिङ क्रिम ६० ग्राम, ब्ल्याक चकलेट १० ग्राम, सुगर पाउडर ५ ग्राम
बनाउने विधि
ह्विपिङ क्रिम, ब्ल्याक चकलेट र सुगर पाउडरलाई लेयर गर्दै सिसाको डेजर्ट बाउलमा डेकोरेट गर्ने । केहीबेरका लागि फ्रिजिङ गर्ने । सेट भइसकेपछि माथिबाट कलरफुल चकलेट स्प्रिङ्कल गर्दा यो डेजर्ट आकर्षक र मनमोहक देखिन्छ । खानापछि खाइने यो डेजर्टले शरीरलाई शक्ति प्रदान गरी तरोताजा राख्न सहयोग गर्छ ।