Successfully Copied

एयर फ्राइ परिकार स्वास्थ्यवर्धक

तेलमा फ्राइ गरेका खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

आरबी बुढाथोकी
तेलमा फ्राइ गरेका खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यस्ता खानेकुरा जिब्रोका लागि स्वादिला भएपनि पोषिलो र स्वास्थ्यवर्धक हुँदैनन् । विवाह भोजमा अधिकांश ‘स्न्याक्स’ तेलमा तारेर बनाइएको हुँदैन । पार्टीमा सुरुमै ‘फ्राइ’ गरेका परिकार ‘कोल्ड ड्रिंक्स’ र ‘अल्कोहोलिक हार्ड ड्रिंक्स’ सर्भ गरिन्छ । यस्ता परिकार स्वास्थ्यका लागि राम्रो मानिँदैन । तेलमा तारेका परिकारले शरीरमा कोलस्ट्रोल बढाउनुका साथै मुटुलाई हानि गर्छन् ।


अमेरिकाको ‘हाबर्ड मेडिकल स्कुल’ ले हालै गरेको अनुसन्धानमा तारेका परिकारले मानिसको स्वास्थ्य विशेषगरी मुटुलाई असर गर्ने उल्लेख छ । कम खाना खाने व्यक्तिको तुलनामा धेरै तारेको, भुटेको खानेकुरा खाने व्यक्तिमा ह्दयाघातको सम्भावना २८ प्रतिशत बढी हुने उक्त अनुसन्धानले देखाएको छ । त्यस्तै तेलमा तारेको खानाले कोरोनरी धमनी अवरुद्ध हुने, स्ट्रोक हुने खतरा बढी हुन्छ ।

यस्ता खानेकुरामा प्रायः सोडियमका साथै हानिकारक बोसो पनि हुन्छ । जनावरको बोसोमा भुटेको खानेकुराबाट भरसक टाढै रहनुपर्छ । वनस्पति तेलमा भुटेका खानाहरू स्वस्थकर हुन्छन् । पछिल्लो समय तारेको तेलको गुणस्तरबारे बहस हुन थालेको छ । तारेको तेल कति समयसम्म अर्थात् कति पटकसम्म प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्ने बेला भइसकेको छ । यसैगरी, तेल कति तापक्रमसम्म तातेको हुनुपर्छ भन्ने जानकारी राख्न जरुरी छ । तारेको परिकार त्यसै पनि अस्वस्थकर हुन्छ, त्यसमा पनि आवश्यकताभन्दा बढी तापक्रममा डढेको तेल र त्यसमा नयाँ थपेर खाद्यपदार्थ पकाउँदा त्यो झनै स्वास्थ्यका लागि हानिकारक हुन्छ । बजारमा तातेको तेलको गुणस्तर जाँच्ने यन्त्र पाइन्छ, त्यसको प्रयोग गर्न सकिन्छ ।

विकल्प के ?
पछिल्लो समय ‘एयर फ्राइ’ को चर्चा निकै चुलिएको छ। तेल ‘फ्राइ’ को तुलनामा यो स्वास्थ्यवद्र्धक र सस्तो पनि हुन्छ । ‘एयर फ्रायर’ एउटा सानो ‘काउन्टरटप कन्भेक्सन ओभन’ हो, यसले खानालाई तेलमा नडुबाई ‘डिप फ्राइड’ गर्छ । यसमा भएको ‘फ्यान’ ले उच्च गतिमा तातो हावा प्रवाह गर्छ । नियमित ‘कन्भेक्सन ओभन’ वा ‘कन्भेक्सन टोस्टर ओभन’ यसका लागि उपयुक्त मानिन्छ । यो एक ‘कन्भेक्सन बेकिङ’ जस्तै हो ।

पछिल्लो समय ‘एयर फ्राइ’ धेरैको रोजाइमा परेको छ । यो नेपालमा पनि पाइन्छ । फ्रिज गरिएको चिकन पखेटा, ‘फ्रेन्च फ्राइज’ देखि ‘रोस्टेड’तरकारी र ताजा कुकिजसम्मलाई ‘एयर फ्राइ’ मा तयार गर्न सकिन्छ । यसले शरीरको ७० देखि ८० प्रतिशत क्यालोरी घटाउँछ र यसमा बोसो पनि कम हुन्छ। यसको प्रयोगले अन्य हानिकारक प्रभावहरूलाई पनि कम गर्छ । आलु वा अन्य स्टार्चयुक्त खानेकुरालाई फ्राइ गर्दा हुने प्रतिक्रियाले रासायनिक ‘एक्रिलामाइड’ बनाउँछ । यसले क्यान्सर हुन सक्छ ।

धेरैजनालाई एयर–फ्राइडमा पकाइएको खाना स्वादिष्ट हुन्छ÷हुँदैन भन्ने जिज्ञासा हुनसक्छ । वास्तवमै यसमा पकाइएको परिकार स्वादिष्ट र हेर्दै खाऊँखाऊँ लाग्ने हुन्छ । यसमा फ्राइ गर्दा ‘ब्याटर’ ले पकाउन प्रयोग गरेको तेल अवशोषित गर्छ । तेलमा तारेको र ‘एयर फ्राइ’बाट पकाएको खानाको रंग र मोस्चर समान देखिन्छ । तर, खानाको ‘टेक्सचर’ र ‘सेन्सोरी’ गुण भने फरक हुन्छ । खानाको स्वाद र ‘टेक्सचर’ कस्तो हुन्छ भन्ने विषय हामीले खाद्यपदार्थलाई कसरी पकाउँछौं भन्नेमा पनि निर्भर हुन्छ । उदाहरणका लागि सानो भाँडोमा धेरै राखेर पकाउँदा सबै समान तरिकाले पाक्दैन । कतै ‘क्रिस्पी’ हुन्छ भने कतै हुँदैन । यसले पनि खानाको स्वादलाई फरक पार्न सक्छ ।
(बुढाथोकी सोल्टी होटलका सेफ हुन्) 

 Image