चिल्ली बेबी कर्न
बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने ।

पिरुकिया
सामग्री : आधा किलो मैदा, २५० ग्राम सुजी, चिनी स्वादअनुसार, काजु, किसमिस, नरिवल, छोकडा, घिउ, तेल, दूध ।
विधि : सबैभन्दा पहिले सुजीलाई घिउमा भुट्ने । सुजी हल्का खैरो भएपछि चिनी हालेर माथि तयार पारेको मसला सबै राखी एकछिन भुट्ने । सुजी भुटिसकेपछि बाहिर निकालेर केही बेर सेलाउन दिने । सुजी सेलाएपछि दूध हालेर एकछिन मिच्ने । मैदामा तेल हालेर नरम नहुँदासम्म मुछिरहनुपर्छ । त्यसपछि पानी हालेर मुछ्ने र रोटी बनाउने । रोटीमा सुजी हालेर बन्द गर्ने । यसका लागि बजारमा मेसिन सजिलै पाइन्छ । यसरी बनाइएको रोटीलाई तेलमा तार्ने ।
दालपुरी
सामग्री : चामलको पीठो, चनाको दाल, अदुवा–लसुनको पेस्ट, जिरा र धनियाँको धूलो, गरम मसला, नुन–बेसार, खुर्सानीको धूलो ।
विधि : दाललाई राम्रोसँग पखाल्ने । कराहीमा तेल तताएर जिराका दाना फुराउने । त्यसमा दाल हालेर एकछिन भुट्ने । माथिबाट अघि तयार पारेको सबै मरमसाला हालेर चलाउँदै भुट्ने ।
त्यसपछि भाँडामा पानी उमाल्ने । पानी १० मिनेटसम्म उम्लन दिनुपर्छ । अर्को भाँडामा चामलको पीठो हाल्ने र उम्लेको पानी माथिबाट खन्याउने । एकछिन सेलाउन दिएपछि पीठो मुछ्ने । मुछेको पीठोलाई हातको सहायताले कचौराजस्तो आकार दिने र त्यहाँ अघि भुटेको दाल हाल्ने र फेरि बन्द गरेर हातले बिस्तारै रोटीको आकार दिने । उक्त रोटीलाई तेलमा तार्ने ।