Successfully Copied

‘सेतो धरतीजस्तो पुस्तक कहिल्यै लेख्दिनँ’

मकैबारीमा चराले बीउ खान्छ कि भनेर कुर्न जाँदा ‘वसन्ती’ उपन्यास लुकाएर लगी एक दिनमै पढेर सिध्याएको थिएँ । अमर न्यौपाने, लेखक


लेखक अमर न्यौपानेका लागि साहित्य समाजको दर्पण होइन, हृदयको दर्पण हो । त्यसैले उनी क्यामेराले देख्न नसक्ने मनका सूक्ष्म तहहरू लेख्न खोज्छन् । महिलाको मनोविज्ञानलाई बुझ्ने यही खोजले उनलाई ‘सेतो धरती’ जस्तो कृति लेख्न प्रेरित गर्‍यो ।
पुरुष लेखक भएर पनि महिलाको मनोविज्ञानलाई गहिराइबाट लेख्न सकिन्छ भन्ने विश्वासका साथ उनी आफ्नै अवचेतनलाई बुझ्न विपश्यनासम्म पुगे । आमाको गर्भदेखि स्तनपानसम्मको अनुभवले पुरुषभित्र पनि महिला जीवित रहने उनको तर्क छ । उनले आफ्नो बाल्यकाल, साहित्य लेखन, महिला र समाजप्रतिको धारणा हामीसँग साझा गरेका छन् ।
मेरो बाल्यकाल
चितवन जिल्लाको साबिक पार्वतीपुर गाविसमा आजभन्दा ४९ वर्षअघि जन्म भयो । बाल्यकाल पार्वतीपुरमै बित्यो । कक्षा ५ सम्म घर नजिकको स्कुल र ६ देखि १० सम्म पार्वतीपुर अन्नपूर्ण माविमा पढें । आइकम नारायणगढस्थित बालकुमारी कलेजमा र शारदानगरमा अर्थशास्त्र र नेपाली विषयमा स्नातक पूरा गरें । नेपाली विषयमा नारायणगढस्थित वीरेन्द्र क्याम्पसबाट स्नातकोत्तर सकेको हुँ ।
साहित्यप्रति रुचि
त्यतिबेला स्कुले जीवनमा वक्तृत्वकला भए पनि कथा, कविताका कार्यक्रम हुँदैनथे । मेरा बुवा पनि शिक्षक भएकाले घरमा साहित्यका पुस्तक हुन्थे । बुवाले कोर्सका पुस्तक पढ भन्नुहुन्थ्यो तर म साहित्यका पुस्तक पनि पढ्थें । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मालती मंगले गीति नाटक पनि पढें । पढ्दापढ्दै मेरो मोनोलगमा नाटक मञ्चन भयो र त्यसलाई अक्षरको रूप दिएँ, जुन अहिले पनि सुन्दर लाग्छ । त्यो नाटकबाट प्रभावित भएर ६० पेजको कापीमा मेरो गीति नाटक ‘पहिलो भेट’ त्यही शैलीमा लेखें । ६ कक्षामा पढ्दा लेखेको त्यो नाटक कसैलाई देखाइन । पछि माधव घिमिरेलाई सुनाएँ, उहाँले धेरै मन पराउनु भयो ।
अहिले त्यतिबेलाको जस्तो कल्पनाशील छैन जस्तो लाग्छ । रिसर्चले पनि त्यही भन्छ, १४ वर्षको उमेरसम्म मान्छे एकदम धेरै कल्पनाशील हुन्छ । हुन त संसारका हर चीज कल्पनाशील हुन्छन् । अञ्जानवश मेरो साहित्यप्रति विस्तारै रुचि बढ्दै गयो ।
विद्यार्थीहरूले कोर्सबुकका साथै सिर्जनशीलता र कल्पनाशीलतामा ध्यान दिनुपर्छ । यही कुरा जस्टिफाई गर्न ‘करोडौं कस्तूरी’ लेखें । थाहै नपाई साहित्यमा रुचि भयो ।
बाल्यकालमा पढेका तर नबिर्सने पुस्तक
पुतली भन्ने लक्ष्मीप्रसाद देवकोटोको पुस्तक पढें । सानोमा श्रीप्रसाद डिठ्ठाको सुदामा, माधवप्रसाद घिमिरेको मालती मंगले गीति नाटक पनि पढें । मुनामदन आमाले सुत्ने बेलामा सुनाए पनि १० कक्षामा मात्र पढें । पहिलोपटक पढेको उपन्यास डायमण्ड समशेरको वसन्ती हो । घरमा श्राद्ध थियो, बुवाले पढिरहेका पुस्तक सिरानीमुनि र पढिसकेपछि दराजमा साँचो लगाएर राख्नुहुन्थ्यो । मकैबारीमा चराले बीउ खान्छ कि भनेर कुर्न जाँदा वसन्ती उपन्यास लुकाएर एक दिनमै पढेर सिध्याएको थिएँ । त्यसरी पढेको त्यो उपन्यासका हरेक च्याप्टर अहिले पनि याद छ । त्यसो त डायमण्ड समशेरका हरेक पुस्तक बुवासँग हुन्थे र म लुकीलुकी पढ्थें ।
रुचिका पुस्तक
आख्यान पढ्छु, जुन अलिकति आध्यात्मिक, दर्शन, प्रार्थना, ध्यान भएको होस् । विषयवस्तु जेसुकै भए पनि त्यसको ध्वनि ध्यान, प्रार्थना होस् भन्ने लाग्छ । तर म पुस्तक गैरआख्यान धेरै पढ्छु । किनभने मलाई आख्यान लेख्न विषय भेट्छु । विशेषगरी संस्कृति, प्रकृतिका माध्यमबाट अध्यात्ममा छिर्न मन लाग्छ । यही समाजका कथाका माध्यमबाट, समाज, व्यक्ति मनोविज्ञानतिर जान मन लाग्छ । सूक्ष्मतातिर जान मन पर्छ । सेतो धरतीमा पनि ध्यान, सासबाट सुरु हुन्छ । सेतो धरती उपन्यास लेख्दा पहेंलो वस्त्र लगाएर टिपोट गर्न एक महिना देवघाट बसें ।
लेखनको विषय

मलाई समाजबाट भित्र छिर्न मन पर्छ । पहिले साहित्य समाजको दर्पण हो भनिन्थ्यो । मैले त्यही लेखें भने फरक के भयो ? फरक खोज्नुपर्छ । जुन कुरा क्यामेराले खिच्न सक्दैन, त्यो कुरा क्यामेराले खिच्न सक्नुपर्छ । साहित्य मेरा लागि हृदयको दर्पण हो । समाजको घटनाले प्रभाव पार्छ तर त्यसभित्र छिर्नुपर्छ । व्यक्तिको मनोविज्ञान, हृदय, करुणा त्यसभित्रको सूक्ष्म कुरा जुन बाहिरबाट देखिँदैन । मानिस जेबाट बनेको छ त्यो देख्दैन, त्यसलाई माइक्रोस्कोपमा हेर्नुपर्छ त्यसको स्थूल रूप देख्न सक्छांै, सूक्ष्म रूप देख्न सक्दैनौं । हो त्यो देख्न नसक्ने कुरा लेख्न सक्नुपर्छ । त्यो अहिलेका लागि साहित्य हो ।

हरेक लेखकको लेख्ने शैली फरक–फरक हुनुपर्छ । जसरी लेखिएको छैन, त्यसरी लेख्नु सिर्जनात्मक लेखन हो । अरूले नगरेको गर्नु सिर्जनात्मक लेखन हो । मलाई धेरैले सेतो धरतीजस्तो अर्को पुस्तक लेख्न भन्नुहुन्छ, सेतो धरतीजस्तो पुस्तक जीवनमा कहिल्यै लेख्दिनँ । किनभने मोनालिसाको चित्र दुईवटा भए भने भ्यालु हुँदैन जस्तो पुस्तक अर्को भयो भने के होला ? मेरा हरेक कृति छुट्टाछुट्टै शैलीका छन् ।

प्रकाशित कृति र पुरस्कार

पहिलो कृति कथासंग्रह ‘पानीको घाम’ २०६६ सालमा प्रकाशित भयो । यसले पद्मश्री पुरस्कार पाउन सफल भयो । ‘कलिलो मन’ बालकथा संग्रह २०६७ सालमा प्रकाशित भयो । यसले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । यसैगरी २०६८ सालमा प्रकाशित ‘सेतो धरती’ ले मदन पुरस्कार प्राप्त गर्‍यो । २०७२ सालमा ‘करोडौं कस्तूरी) प्रकाशित भयो, यो शिक्षासम्बन्धी उपन्यास हो । २०७६ सालमा प्रकाशित पछिल्लो कृति ‘गुलाबी उमेर’ किशोरीसँगको मनोविज्ञानमा आधारित छ ।

लेखेरै बाँच्न सकिने स्थिति 

नेपालजस्तो देशमा गाह्रो छ । पाठक १ प्रतिशत पनि छैनन् । तर पनि रियल पाठकलाई पुस्तक नै मन पर्छ ।

महिला लेखन र प्रभाव
हामीले पढ्ने कतिपय फेमिनिजमको पुस्तकमा पुरुषले महिलाको कथा लेख्नु केवल अनुमान मात्र हो भन्ने लाइन छ । महिनावारी, गर्भावस्था, हर्मोनल असन्तुलन, मेनापज, मुड स्विङ जस्ता समस्या पुरुषले भोगेका हुँदैनन् कसरी थाहा हुन्छ, भन्ने छ । पुरुषले महिलाका बारेमा देखेर अनुमान गरेर मात्र लेख्न सक्छन् भन्ने थियो । यसलाई मलाई गहिरो रूपमा छोयो । के म हजुरआमा, आमा, दिदीबहिनीका कथा लेख्न सक्दिन ? म त्यस्तो रुखो छु भन्ने प्रश्न मनमा आइरह्यो । के म आमाको गर्भबाट निस्केको होइन ? म मात्र होइन प्रत्येक पुरुष आमाकै गर्भबाट निस्केका हुन्छन् ।
गुरुदेव स्वामी, अभिमन्युले आमाको गर्भमा हुँदा पुराण सुने, चक्रब्युहभित्र कसरी छिर्ने भन्ने कुरा गर्भमा सिके, के मैले आमाको गर्भबाट आमाको आवाज सुनिन ? २–३ वर्षसम्म स्तनपान गरें । आमाको न्यानो माया, कठोर, मायालु रूप नवरस सबै मलाई थाहा छ । त्यो नवरस पिएको अनुभवका आधारमा शारीरिक रूपमा पुरुष भए पनि महिलाका कथा लेख्न म सक्छु भन्ने भयो ।
शारीरिक रूपमा महिला वा पुरुष जे भए पनि आधा महिला र आधा पुरुष हुन्छन् । एउटा लेखकले अवचेतन मनलाई जगाउन सकेमा महिलाले पुरुषका बारेमा र पुरुषले महिलाका बारेमा लेख्न सक्छन् । मभित्रको महिलालाई ध्यानको माध्यमबाट जगाउन म विपश्यना गएँ । त्यो समयमा कयौं सपना महिला भएको देख्थें । त्यो कुराको परीक्षा दिनुपर्छ भन्ने महसुस भयो र सेतो धरती लेखें । सेतो धरती ‘ह्वाइट अर्थ’ युक्रेनकी विदेशी पत्रकार महिलाले पढिछन् । त्यसपछि मलाई केटी भन्ठानेर ‘सी’ भनी सम्बोधन गरिन् ।
महिलाले पुरुष र पुरुषले महिलाका बारेमा लेख्न सक्छन् । पारिजातको शिरिषको फूलमा मेल क्यारेक्टर सुयोगवीरको बारेमा छ ।


साहित्यमा महिलाको संख्या बढाउन

सामाजिक वातावरण नै हो । तर अहिले धेरै महिला साहित्यमा आएका छन् । विश्वको एउटा डाटाअनुसार लोकप्रियताको दृष्टिकोणले संसारभरका ६० प्रतिशत महिला साहित्य लेखनमा छन् । पछिल्लो समय नोबल पुरस्कार पाउने महिला पनि धेरै छन् ।
त्यसो त पहिला पनि वानिरा गिरीको कारागार सबैभन्दा बढी बिक्री भएको पुस्तक थियो । त्यतिबेला पारिजात, प्रेमा शाह, माया ठकुरी, भागीरथी श्रेष्ठ, पद्मावती सिंह स्थापित महिला लेखक थिए । अहिले पनि सीमा आभास, उमा सुवेदी, सरस्वती प्रतीक्षा आदि महिला लेखक आइरहेका छन् ।
राम्रो लेखनका लागि धेरै साहित्यकार चिन्न र कार्यक्रममा जान, भेटघाट जरुरी छैन । लेखन, नितान्त व्यक्तिगत कुरा हो । एउटै राम्रो कृति भएमा प्रकाशकले बोलाउँछन् । राम्रो प्रकाशकले राम्रो लेखक खोजिरहेको हुन्छ ।
हाम्रा आमा पुस्ताको कुरा गर्दा त्यो समयमा महिला बाहिर निस्कने वातावरण थिएन । उहाँहरू स्वाभाविक रूपमा घरायसी काममै व्यस्त हुनुपर्ने र पुरुषलाई बाहिर काममा गई कमाएर ल्याउनुपर्ने बाध्यता थियो । ९० प्रतिशत आमाको कथा यही थियो । विस्तारै समाज उदार हुँदै गयो, सयौं वर्षदेखि दिमागमा भएको कुरा पूर्णरूपमा हट्न सकेको छैन ।
महिला बाहिर काम गर्ने भए पनि भान्सा महिलाले नै हेर्नुपर्छ भन्ने मान्यता छ । यो परिवर्तन आउन यतिका समय लाग्यो । अहिलेका महिला पनि हामी पीडित नै हांै भनेर नबसी आ–आफ्नो क्षेत्रमा अघि बढ्नुपर्छ । सांगीतिक क्षेत्रमा भएका अहिलेका युवा गायक रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी नै यसका ज्वलन्त उदाहरण हुन् । उनीहरूको चर्चा र डिमान्ड उत्तिकै छ । आफ्नो क्षेत्रमा अब्बल छन् । यो समयले ल्याएको परिवर्तन हो । हाम्रा आमाहरूको स्वर मेलापात, घाँसदाउरामै सीमित भयो । त्यसैले महिला आफ्नो क्षमता पहिचान गरी आफैं अगाडि आउनुपर्छ । प्रधानमन्त्री महिला हुँदा समाजमा एउटा उभार आयो । काम राम्रो भयो भने अझ राम्रो हुन्छ । समाज सन्तुलित हुन महिला–पुरुष दुवै आवश्यक हुन्छ ।
पाठकबाट पाएको प्रतिक्रिया
पाठकबाट धेरै रमाइला प्रतिक्रिया आउँछन् । कुनै प्रतिक्रिया त जीवन नै परिवर्तन गराइदिने खालका पनि हुन्छन् । पछि यसलाई पुस्तकाकार दिने सोच छ । तर पनि कतिपय पाठकले नियतवश नकारात्मक प्रतिक्रिया पनि दिन्छन् । जे होस् सिर्जनात्मक आलोचना सुन्दर कुरा हो । पुरुषले महिलाका कथा लेख्न सक्छ, यो त जानकारी मात्र हो भन्ने कुरा पनि आए ।

अध्यापन र लेखनशैली

१२ वर्ष स्कुलमा पढाएँ । लेख्ने र पढाउने दुवै काममा इन्जोए गरें । लेखनमा सिर्जना र चुनौती सँगै छ । लेखनका लागि परिवेश मिल्नुपर्छ, ध्यान चढ्नुपर्छ । हरेक दिन केही न केही लेखिन्छ । मुड चलेको बेला लेख्न सहज हुन्छ, धेरै लेखिन्छ ।
म पाएसम्म फिजिकल कपी नै पढ्छु । बाहिरका लेखकको पुस्तक पाइएन भने पीडीएफ पनि पढ्ने गरेको छु ।
पहिलेका शैली बिम्ब नदोहोर्‍याउँm भन्दा पनि सकिँदैन । पहिलो पुस्तक लेख्न सजिलो हुन्छ, दोस्रो, तेस्रोमा भने दोहोरिने सम्भावना हुन्छ । समाजमा कथा धेरै छन् तर लेखन शैली भेट्न भने गाह्रो हुन्छ ।
लेखकले आफ्नो स्वभाव जस्तै लेख्ने रहेछ । मेरो लखनशैली नरम शैलीको हो । म नरम तरिकाले भन्न चाहन्छु । मेरो भनेर नभन्ने खालको लेखन शैली छ ।
पुस्तक किन पढ्ने ?
संसार जान्न, बुझ्न र सीपका लागि पढ्नुपर्छ । कोर्सका अलावा हरेक विधाका पुस्तक पढ्नुपर्छ । यसले ज्ञानको दायरा फराकिलो बनाउँछ । 

खानपान र घरको काम
पहिले घरमा आमाबुवा, दिदी र म थियौं । महिनावारी बार्ने चलन थियो त्यतिबेला । आमा र दिदी महिनावारी हुँदा मैले नै खाना बनाउँथें । रहरले भन्दा पनि बाध्यताले १० वर्षको उमेरदेखि नै खाना बनाउन थालेको हुँ । मलाई खाना बनाउन रुचि छ । बुवाले मैले बनाएको चिया र खसीको मासु मीठो मान्नुहुन्छ । मासु स्वस्थ तरिकाले पकाउँछु ।
जीवन के हो ?
आफूलाई जेमा खुसी लाग्छ, त्यसमै खुसी भएर बाँच्नु नै जीवन हो । जीवनमा दु:ख–सुख आउँछन् भोग्दै जाने हो । सुखैसुख भए दु:खको अनुभव गर्न पाइँदैन । त्यसैले जे छ, त्यसैमा रमाएर बाँच्नुपर्छ ।
भविष्यको योजना
माधव घिमिरे भेट्न जाँदा साहित्यसम्बन्धी चार घन्टा लामो कुराकानी भएको थियो । त्यतिबेला उहाँले आफ्नो योजना अरूलाई नभन्नू, सिद्धि भंग हुन्छ भन्नुभएको थियो । त्यसो त मलाई ऊर्जाशील भएर १७–१८ घन्टा काम गर्न मन लाग्छ । आख्यानमा नयाँ शैली लेख्छु । छिट्टै नयाँ उपन्यास पनि आउँदैछ । कथा र पहिले लेखेका काव्यलाई एडिट गरेर पुस्तक निकाल्ने सोचमा छु ।
आमा : सन्तानले पनि जन्माएको र आमाले पनि जन्माएको ।
दिदी : रगतको नाता । सबैभन्दा मिल्ने र सानोमा झगडा गरिने ।
श्रीमती : सहयात्री ।
महिला साथी : महिला बुझ्ने अर्को पुस्तक ।

तस्बिरहरु: महेशमान प्रधान

 Image