Successfully Copied

संघर्षबाट हार नमानेकी भगवती

जीवनले भगवती अर्याललाई बारम्बार परीक्षा लियो । कहिले जिम्मेवारीले, कहिले सेवाका चुनौतीले त कहिले व्यक्तिगत पीडाले । तर भगवती कत्ति पनि डगमगाइनन् । बरु कठिनाइसँग लड्दै अगाडि बढिन् ।

आरती पौडेल
भगवती अर्याल
नेपाल प्रहरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, नक्साल
जीवनले भगवती अर्याललाई बारम्बार परीक्षा लियो । कहिले जिम्मेवारीले, कहिले सेवाका चुनौतीले त कहिले व्यक्तिगत पीडाले । तर भगवती कत्ति पनि डगमगाइनन् । बरु कठिनाइसँग लड्दै अगाडि बढिन् । यही संघर्ष, साहस र समर्पणले नुवाकोटको सामान्य परिवारमा हुर्किएकी भगवती नेपाल प्रहरीकी वरिष्ठ नायब निरीक्षक मात्र नभएर, अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपालको प्रतिनिधित्व गर्दै देशलाई अन्य देशसामु चिनाउन ठूलो भूमिका खेलेकी महिला हुन् ।
नुवाकोटको चैनपुरमा २०३८ साल असोज २० गते सामान्य परिवारमा जन्मिएकी उनी चार दाजुभाइ–दिदीबहिनीमध्ये कान्छी हुन् । उनका बुवा निजामती कर्मचारीका रूपमा कार्यरत थिए । भगवती सानै हुँदा नै उनको परिवार बुवाले जागिर गर्ने ठाउँ रसुवाको धुन्चे सरेको थियो । उनकी आमा पनि केही गर्छु भन्ने सोचले एउटा सानो पसल खोलेकी थिइन् । हरेक दिन स्कुलबाट फर्केपछि आमालाई पसल सघाउने भगवतीको दैनिकी थियो । ‘हाम्रा लागि बुवा–आमाले दु:ख गर्नुभयो । त्यसैले सानैदेखि मैले सकेको काम गरेर आमालाई सहयोग गर्थें,’ उनी विगततिर फर्किइन् ।
सानैदेखि भगवती पढाइसँगै खेलकुद र सामाजिक गतिविधिमा निकै अब्बल थिइन् । उनी जिल्लास्तरीय भलिबल र दौडका साथै, स्काउटलगायतका कार्यक्रममा सहभागी हुन्थिन् । कक्षा १ देखि १० सम्मको अध्ययन रसुवामै गरेकी भगवतीको बाल्यकाल त्यहीँ बित्यो ।
एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । ‘छोरीलाई धेरै पढाउन हँुदैन भन्ने समाजमा आफ्नो जीवनमा अगाडि बढ्न सकून् भन्ने सोचले बुवा–आमाले पढ्नलाई काठमाडौं पठाउनुभएको उनी बताउँछिन् । सरस्वती बहुमुखी क्याम्पसमा भर्ना भएकी उनी त्यहाँ पनि खेलकुदलाई प्राथमिकतामा राखेर प्राय: हरेक खेल खेल्ने गर्थिन् । उनले टेबलटेनिस, ब्याडमिन्टनमा धेरै उपाधि हात पारेर खेल क्षेत्रमै आफ्नो भविष्य देख्न थालेकी थिइन् । आइए पूरा गरेपछि त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र र अर्थशास्त्रमा स्नातक अध्ययन गरिन् ।
बिहान पाँच बजे उठेर दिदीको पसलका सहयोग गर्नका लागि जान्थिन् । त्यसपछि रंगशालामा ब्याडमिन्टन अभ्यास गर्ने, कलेज जाने र फर्केपछि फेरि दिदीलाई सघाउने गर्थिन् । परिवारले भगवतीलाई सरकारी सेवामा काम गरेको देख्न चाहन्थ्यो । त्यसैले उनले पढाइसँगै लोकसेवा तयारी गरिरहेकी थिइन् । काठमाडौंका विभिन्न स्थानमा खटिएका प्रहरी देख्दा उनी दंग पर्थिन् । ‘सानैदेखि प्रहरी मन पथ्र्यो । काठमाडौं आएपछि उहाँहरूको काम देखेर यो पेसाप्रति आकर्षण बढ्यो,’ उनले सुनाइन् ।
२०५८ सालमा प्रहरी सहायक निरीक्षकको विज्ञापन खुलेको देखेर कस्तो हुँदो रहेछ भनी फर्म भरिन् र परीक्षाको लागि मेहनत गरेर पढिन् । उनको पहिलो पटकमै नाम निस्कियो । ‘पहिलो प्रयासमै सफल हुँदा निकै खुसी लाग्यो,’ उनले भनिन् । २०६० पुस २१ गते नेपाल प्रहरीको १२५ औं ब्याचबाट उनले औपचारिक रूपमा सेवा सुरु गरेकी थिइन् । त्यसपछि उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा तालिम गरेकी थिइन् ।
भगवती तालिमकै कारण आफ्नो कामको भूमिका र देशप्रतिको प्रेम बढेको सुनाउँछिन् । ‘प्रशिक्षण तालिम नगर्दासम्म खेल क्षेत्रमै लागेर अगाडि बढ्छु भन्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘तालिम गर्दै जाँदा खेलभन्दा देशका लागि गर्नुपर्ने रहेछ भन्ने महसुस भयो ।’ उनी ‘चाँदमारी’ विधामा प्रथम भएकी थिइन् । तालिमपछि बाह्य प्रशिक्षक भएर काम गर्ने मौका पाइन् । उनीसँग विभिन्न प्रहरी टोलीको तालिममा काम गरेको अनुभव छ ।

अन्तर्राष्ट्रिय अनुभव
जनआन्दोलन ०६२–०६३ मा काठमाडौ उपत्यकाभित्रका विभिन्न ठाउँमा ड्युटीका लागि खटिएकी थिइन् । आफ्नो सेवाकालमा उनले ‘अनुसन्धान, महिला तथा बालबालिका संरक्षण’, लागूऔषध दुव्र्यसन, पुन:स्थापना र पर्यटक सुरक्षालगायत विविध क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकी छिन् । २०६३ सालमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत रहँदा सहायक अनुसन्धान अधिकृतका रूपमा काम गरेकी उनले मानव बेचबिखनमा परेकी एक नेपाली महिलाको खोजी कार्यमा अनुसन्धान गरिन् ।
त्यसपछि महिला तथा बालबालिका सेवा निर्देशनालयमा कार्यरत रहँदा युनिसेफको सहकार्यमा बाल न्यायसम्बन्धी तालिम सञ्चालन गर्दै देशभरका प्रहरी कर्मचारीलाई क्षमता अभिवृद्धि कार्यक्रममा प्रशिक्षण सहायकको समेत योगदान पुर्‍याएको बताउँछिन् ।
उल्लेखनीय कार्य गरेवापत प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट पुरस्कृत भइन् । ‘मैले गरेको कामलाई नियालेर पुरस्कार प्रदान गर्दा निकै खुसी लागेको थियो,’ उनले भनिन् । त्यससँगै उनले तिलगंगास्थित ‘महिला आसरा सुधार केन्द्र’ को कमान्डेन्टका रूपमा लागूऔषध दुव्र्यसनमा परेका महिलाको पुन:स्थापनामा काम गरेकी थिइन् । उनीहरूलाई नयाँ जीवनमा फर्काउन उत्तिकै महत्वपूर्ण भूमिका खेलिन् । सुधार केन्द्रमा काम गर्दा भने उनले प्रहरी सेवाको मानवीय पक्षलाई नजिकबाट बुझ्ने अवसर पाइन् । त्यहाँ आउने महिलालाई सचेतना दिने, उनीहरूका कुरा सुन्ने र नियमित अन्तरक्रियामार्फत सुधारका लागि प्रेरित गर्ने गर्थिन् । आफ्ना पीडा र अनुभव खुलेर सुनाएपछि उनीहरूमा आएको परिवर्तन देख्दा आफूलाई सबैभन्दा बढी खुसी लाग्ने गरेको उनी बताउँछिन् ।
त्यसरी नै स्वयम्भूस्थित पर्यटक प्रहरीमा खटिँदा स्थानीय निकायसाग समन्वय गर्दै विदेशी पर्यटक सुरक्षालाई थप व्यवस्थित बनाउन भूमिका खेलेकी थिइन् ।
समर्पण, कार्यक्षमता र नेतृत्वले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा तीन पटक सेवा गर्ने अवसर पाएकी छन् । पहिलो पटक संयुक्त राष्ट्रसंघीय ‘टिमोर लेस्टे’ (यूएनएमिट) मिसनमा प्रशासन तथा सहयोग इकाइको टोली नेतृत्व सम्हालिन् । नेपालको झण्डा बोकेर आफ्नो देशलाई अरु देशमाझ चिनाउन पाउादा खुसी लाग्ने उनी बताउँछिन् ।
दोस्रो पटक संयुक्त राष्ट्रसंघीय ‘दक्षिण सुडान मिसन’(यूएनमिस) मा उनले विभिन्न देशबाट आएका प्रहरी कर्मचारीको कागजात प्रक्रियामा काम गरेको सुनाउछिन् । ‘आगमन,तथा प्रस्थान प्रक्रिया, अधिमुखिकरण, कागजात व्यवस्थापन परिचालन प्रक्रियामा क्रममा विश्वका विभिन्न देशका प्रहरीसाग काम गर्दै नेपाल प्रहरीको प्रतिनिधित्व गर्न पाउँदा उनलाई छुट्टै गर्व महसुस भयो,’ उनले भनिन् ।
र तेस्रो पटक मध्यअफ्रिकी गणतन्त्र (मिनुस्का) मा पुगिन् ।
‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा उनले पर्सनल डेटाबेस साथै, पर्सनल अफिसरका रुपमा काम सम्हालेकी थिए,’ उनले भनिन्,‘उक्त मिसनमा नेपाल प्रहरीबाट पहिलोपटक सहभागी हुने चार प्रहरीमध्ये म एक थिए ।’
प्रहरी सेवामा बितेको दुई दशकभन्दा बढी अवधिमा उनले कामप्रतिको इमान्दारिता कहिल्यै परिवर्तन हुन दिइनन् ।



सघंर्षबाट हार मानिनन्

प्रहरी सेवामा भगवतीले एकपछि अर्को जिम्मेवारी सफलतापूर्वक पूरा गरिरहेकी थिइन् । अनुसन्धान, नेतृत्व, प्रशिक्षण वा अन्तर्राष्ट्रिय मिसन सबै ठाउँमा उनको कामको प्रशंसा भइरहेको थियो । कामप्रतिको लगाव, संघर्ष र मेहनतले २०६४ सालमा प्रहरी नायव निरीक्षकमा बढुवा भइन् ।
२०६७ सालमा विवाह भएपछि उनका खुसीका दिन सुरु भएका थिए । २०६९ सालमा पहिलो सन्तान जन्मियो । ‘परिवार र आफ्नो कामलाई निरन्तरता दिँदै जीवन आफ्नै गतिमा अगाडि बढिरहेको थियो,’ उनी विगत सम्झन्छिन् ।


तर त्यो खुसी लामो समय टिकेन । २०७२ सालको भूकम्पले घरमा क्षति पुर्‍यायो र त्यसको एक वर्ष नबित्दै २०७३ सालमा श्रीमानको अचानक निधन भयो । यो घटनाले उनलाई एकाएक स्तब्ध बनायो । ‘त्यो समय कसरी कट्यो अहिले सम्झँदा पनि गाह्रो हुन्छ । सबै कुरा एकाएक बदलियो,’ उनी भावुक हुँदै सुनाउँछिन् । त्यतिबेला उनकी छोरी सानी थिइन् ।
केही समयपछि भगवतीले एकल अभिभावकका रूपमा छोरीको पालनपोषण गर्दै प्रहरी सेवाको कठिन जिम्मेवारीलाई निरन्तर सम्हाल्दै अगाडि बढिन् । त्यसै बिच उनले स्नातकोत्तर समेत पुरा गरेकी थिइन् ।
छोरी सानै भएकीले सुरुवाती दिनमा उनलाई निकै गाह्रो भयो । ‘कोरोनाको महामारीमा छोरीलाई कोठामा छोडेर काममा जाादा मन भारी हुन्थ्यो,’ उनले भनिन् ।
यहीबीच संयुक्त राष्ट्रसंघीय शान्ति मिसन दक्षिण सुडान जाने अवसर प्राप्त गरिन् । छोरी त्यतिबेला ३ कक्षामा पढ्थिन् । ‘छोरीलाई परिवारसँग छोडेर जाँदा सबैभन्दा धेरै सम्झना उनकै आयो,’ उनले भनिन् । फर्किएपछि करिब तीन वर्षसम्म छालासम्बन्धी र विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गर्नुपर्‍यो । डेंगु, सवारी दुर्घटना र अन्य शारीरिक समस्याका बाबजुद आफ्नो कामलाई निरन्तरता दिइरहिन् ।
कामप्रतिवको लगाव र समर्पणको कदरस्वरूप २०७३ सालमा उनलाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरियो । २०७८ सालमा राष्ट्रपतिबाट ‘नेपाल प्रताप आभूषण’ पाइन् ।
भगवती नयाँ पुस्तालाई जुन क्षेत्रमा काम गरे पनि मेहनतका साथ गर्न आवश्यक रहेको बताउँछिन् । ‘महिलाले आफूलाई कहिल्यै कमजोर सोच्नु हुँदैन । अनुशासन, निरन्तरता, सकारात्मक सोच र मेहनत गरेमा हरेक क्षेत्रमा अब्बल बन्न सकिन्छ,’ उनले भनिन् । नेपाल प्रहरीमा मेहनत गर्न सके हरेक समूहलाई समान अवसर मिल्ने उनको अनुभव छ । ‘नेपाल प्रहरीमा महिला र पुरुष भन्ने भेदभाव छैन । मेहनत गरेको खण्डमा दुवैले समान अवसर प्राप्त गर्न सक्छन्,’ उनले भनिन् ।

 Image