जसलाई पत्रकारिताले लेखक बनायो
‘गैरआख्यानले ज्ञान दिन्छ, आख्यानले लेख्नका लागि प्रेरित गर्छ, लेखन शैलीमा सघाउँछ ।’

अमेरिकाको न्यूजर्सी सिटीस्थित ‘४६ अल्बा एभिन्यू होपाटकङ’ को पारिलो थुम्कोमा रहेको एउटा सुन्दर घरभित्र प्रवेश गर्दा लेखक, सञ्चारकर्मी तथा अधिकारकर्मी प्रदीप परियार थापा भान्सामा खाना बनाउन व्यस्त थिए । हामी पुग्नेबित्तिकै उनी सम्हाल्दै गरेको भान्सा छाडेर हँसिलो मुहारका साथ स्वागतका लागि ढोकामा आइपुगे । श्रीमती विष्णुमाया परियार दिनभरिको कामले थाकेर घर फर्किंदा श्रीमान्ले सधै यसरी गर्ने न्यानो स्वागतले थप ऊर्जा मिल्ने बताउँछिन् ।
आमरूपमा नेपाली समाजको यो दृश्यमा बढी मात्रामा महिला नै आउँछन् । प्रदीप एउटा यस्ता श्रीमान् हुन् जो आफ्नो क्षेत्रमा अब्बल, सशक्त र लोकप्रिय भएर पनि आफ्नो जीवनसाथीको उन्नति–प्रगति र खुसीका लागि कहिल्यै पुरुष हुनुको दम्भ गरेनन् । आफ्नो जातको पछाडि श्रीमतीको जात जोड्ने सायदै उनी पहिलो नेपाली हुन् । यसले ‘माया भन्दा ठूलो के छ र...’ भन्ने उक्तिलाई प्रस्ट्याउँछ । त्यसो त श्रीमती बिष्णुमाया पनि श्रीमान कामबाट थाकेर घर फर्किंदा यसै गरी न्यानो मायाले स्वागतका लागी ढोकासम्म आइपुग्छिन । यसरी नै यि दुइले आफ्नो जीवनलाई ‘माया–प्रेम’ को फुलबारी बनाएका छन ।
पछिल्लो दृश्यमा प्रगाढ प्रेम र मेल देखिएको यो जोडीको पहिलो भेट कहाँ र कसरी भएको थियो भन्ने जिज्ञासामा प्रदीपले भने, ‘सन् २००९ मा केन्टकी राज्यमा भएको गैरआवासीय नेपालीहरूको क्षेत्रीय सम्मेलनमा हाम्रो भेट भयो । म सल्लाहकार थिएँ, उनी राष्ट्रिय समीतिको बोर्ड सदस्य । न्यूजर्सीबाट मेरो न्यूज पोर्टलको रिपोर्टिङका लागि म त्यहाँ गएको थिएँ । त्यो पहिलो भेटमा उनले कथित दलित समुदायकी केटीका रूपमा बाल्यकालदेखि अहिलेसम्म नेपालमा जातीय विभेद कसरी भइरहेको छ भन्ने आफ्नो संघर्ष र सफलताको कथा सुनाइन् । ती संघर्ष तर त्यसको विरुद्ध लड्ने उनको दृढता र सफलताको कथा यति प्रभावशाली थियो कि म त्यो दिन उनको कुरा सुनेर रोएँ ।’ त्यसयता आफूले जातीय भेदभाव अन्त्य गर्न जसरी भए पनि उनलाई सहयोग गर्ने प्रतिज्ञा गरेको प्रदीप बताँउछन् । यद्यपि त्यो पहिलो नजरमा प्रेम भने थिएन भन्ने प्रदीपले त्यो दिनदेखि आफूहरू राम्रो र मिल्ने साथी भएको बताए । क्रमशः साथी मात्र होइनौं भन्ने महसुस भएपछि २०१५ मा विवाह बन्धनमा बाँधिएको पनि उनले सुनाए ।
अमेरिकास्थित न्यूजर्सी सिटीकी महिला अधिकारकर्मी विष्णुमाया परियार गोरखाको ताक्लुङमा जन्मिएकी हुन् । गरिब परिवारमा हुर्किएकी उनले सानैदेखि छुवाछूत र भेदभाव खेप्नुप¥यो । सन् १९९९ मा अमेरिका पुगेकी विष्णुमायालाई एक सेमेस्टर अंग्रेजी भाषा मात्रै पढेपछि म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । उनले कलेज टप गरिन् । कलेजमा एक्सिलेन्स पोलिटिकल साइन्स अवार्ड जित्ने पहिलो नेपाली मात्रै नभएर कलेजले प्रदान गर्ने प्रेसिडेन्ट अवार्डलगायत चार उत्कृष्ट अवार्ड जित्न समेत उनी सफल भइन् । पाइन म्यानरबाट सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याचलर डिग्री गरेकी उनले अध्ययन सकेको वर्ष दिनपछि ‘ओपिडी’मा ‘डेमोक्र्याटिक भ्वाइलेन्स एड्भोकेट’का रूपमा काम गर्न थालिन् । जहाँ उनले महिला हिंसासम्बन्धी विविध अनुभव बटुल्ने र घरेलु हिंसाबारे धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन् । प्रदीपसँगको भेटपछि आफ्नो करियरको गति तीब्र भएको विष्णुमाया बताउँछिन् । उनी भन्छिन्, ‘जीवनलाई फलाउन–फुलाउन र सुन्दर बनाउन मन मिल्ने साथीको आवश्यकता पर्दो रहेछ । जब मैले प्रदीपको साथ पाए“ त्यसपछिका हरेक पल सुन्दर र फलदायी छन् । मेरो भावना बुझ्ने, म र मेरो कामलाई सम्मान गर्ने, मलाई विश्वास गर्ने, मेरा हरेक कदममा साथ दिने उहाँको व्यवहारले मलाई नतमस्तक बनाएको छ ।’
श्रीमतीको प्रगतिमा श्रीमान्को साथ र सहयोग मिले महिलाले जस्तोसुकै चुनौती पार गर्न सक्ने बताउँदै उनी भन्छिन्–‘दाम्पत्य जीवन सफल बनाउन एकले अर्कालाई बुझ्न र समय दिन जरुरी छ । हरेक कुरामा आपसी सहयोग र सद्भाव चाहिन्छ । कतिपय कुरामा कम्प्रोमाइज पनि गर्नुपर्छ तर दुवैले एक–अर्कालाई सुखमा मात्र नभएर दुःखमा पनि साथ दिनुपर्छ ।’ सम्बन्ध बलियो बनाउने कुरामा प्रदीप माहिर छन् । श्रीमतीले शब्दोच्चारण नगर्दै उनको भावना बुझेर सोहीअनुसार व्यवहार गर्छन् । ‘विवाह दुई फरक जीवनको मिलन हो । त्यहाँ थुप्रै कुरा हुन्छन् जसले एक–अर्कालाई एक–अर्काबाटै भिन्न बनाइरहेका हुन्छन्, जस्तो कि, मनपर्ने–मन नपर्ने रुचि, बानी र विचारहरू । यति हुँदाहुँदै पनि जोडीका रूपमा आपसी विश्वास, मित्रता र दीर्घकालीन सम्बन्ध विकास गर्न हामीले स्वीकार, समायोजन र परेको खण्डमा सम्झौता समेत गर्नुपर्छ ।’ दुवैले दुवैका राम्रा–नराम्रा कुरालाई स्वीकार गर्दै जीवनलाई सुन्दर र सरल बनाउनुपर्नेमा जोड दिँदै प्रदीप भन्छन्, ‘विवाह भनेको जोडीका रूपमा नया“ संसार र सार्थक भविष्य निर्माण गर्ने काम पनि हो । हामीले एक–अर्कालाई सम्मानित व्यक्तिका रूपमा स्थान र सम्मान दिनुपर्छ । तपाईं आफ्नो जीवनसाथीलाई यस्तो स्थान दिनुका साथै बिनासर्त समर्थन गर्नुहोस् कि आफ्नो पार्टनरलाई उनी को हुन् भनेर स्वतन्त्र रूपमा अगाडि बढ्नुमा कुनै हिच्किचाहट नहोस् । आफ्नो जीवनसाथीलाई आफ्नो विचार वा रुचिमा ढाल्ने प्रयास नगर्नुहोस् । आफ्नो जीवनसाथीलाई उनको लक्ष्य, रुचि, इच्छा, चाहना र सपनालाई पछ्याउन दिनुहोस् । उनको जीवन रेखा बन्नुहोस् । प्रेम भन्ने कुरा विश्वास र मायामा फुल्छ, घृणा र अविश्वासमा होइन ।’
जीवनका प्रत्येक पललाई सकेसम्म आनन्दित रूपमा बाँच्ने प्रयास गरिरहेको यो जोडीको निष्कर्ष छ । दुवैले एकै स्वरमा भने, ‘हामी सार्वजनिक जीवन बाँचिरहेका छौं । त्यसैले हामी निरन्तर सामाजिक परिवर्तन र सामाजिक योगदानमा संलग्न छौं । हामी सोच्छौं कि सँगै हामी अझ राम्रो गर्न सक्छौं, अझ बलियो र प्रभावकारी रूपमा सहकार्य गर्न सक्छौं । एकता शक्ति हो । हाम्रो बिनासर्त प्रेम, आपसी विश्वास र बलियो बन्धन हाम्रो दिगो सम्बन्धका लागि बल र शक्ति हो ।’
विष्णुमायाको नजरमा प्रदीप
बलियो पक्ष -दृढ, सहयोगी र अध्ययनशील ।
कमजोरी - तुरुन्तै विश्वास गरिहाल्ने ।
आकर्षक पक्ष-बौद्धिकता र हरेक कुराको समस्या निकाल्न सक्ने खुबी ।
मनपर्ने कुरा-लेखन कला र बौद्धिकता ।
कस्ता श्रीमान् ?-आदर्श जीवनसाथी, मेरो प्रगति–उन्नतिमा सधै खुसी हुने श्रीमान् ।
के भएको हेर्ने रहर छ -अझै लेखनमै केन्द्रित भएर इनोभेटिभ पत्रकारितामा प्रगति गरेको र खुसी एवं स्वस्थ भएको हेर्ने रहर छ ।
प्रदीपको नजरमा विष्णुमाया
बलियो पक्ष- बहुप्रतिभाशाली तथा काममा दृढ ।
कमजोरी-असाध्यै वर्कोहोलिक ।
आकर्षक पक्ष-ड्यासिङ पर्सनालिटी ।
मनपर्ने कुरा- बौद्धिक र आत्मविश्वासी ।
कस्ती श्रीमती - आइडल वाइफ ।
के भएको हेर्ने रहर छ -आफ्नो क्षेत्रमा अझै अब्बल र अगाडि भएको ।