बहुप्रतिभाशाली विष्णु
पेसागत जिम्मेवारीमार्फत होस् वा लेखनीमार्फत, उनलाई सबैभन्दा खुसी लाग्ने भनेको आफ्नो आवाज आफै सुनाउन नसक्नेहरूका लागि आवाज बनिदिनु हो ।

मैले खोजेको नारी, एउटी यस्ती वीराङ्गना
जसले चुँडाएको होस् डोरी अन्धविश्वासको
अधिकार खोज्दा उन्माद हुनेछैन
स्वतन्त्रता खोज्दा उद्दण्ड हुनेछैन
मैले खोजेको नारी यस्ती साहसी
जसले लैजानेछिन् अँध्यारोबाट उज्यालोतिर...
कवि, लेखक तथा अनुवादक विप्लव प्रतीकका नारी समर्पित यी शब्दहरू मर्मस्पर्शी छन् । नारी–निकटतामा कमै रहन पाए पनि उनी नारीबारे मथिंगल हल्लाउने शब्दहरू सिर्जना गर्न सक्छन् ।
वसन्तपुर पछाडि भीमसेनस्थानका दुई प्रगतिशील पात्रले जन्माएका विप्लवको बाल्यकाल एकान्तमा बित्यो । बुवा कृष्णप्रसाद सर्वहारा लेख–रचना र कथा लेख्थे । पढाउने सिलसिलामा उनी धादिङतिरै बस्थे । आमा नर्वदादेवी उतिबेलाको निकै बोल्ड र क्रान्तिकारी महिला थिइन् । सन्तान जन्माएपछि पनि स्कुल पढ्न जान्थिन् । त्यही बेला हो विप्लवले नौनी सम्झेर अत्यन्तै महँगो ‘अफगान स्नो क्रिम’ लाई रोटीमा दलेर खाएका । ‘सायद म ५–६ वर्षको थिएँ होला । बुवा काममा व्यस्त, आमा स्कुल जाने । मलाई दिनभरि कोठामा ढोका थुनेर राखिन्थ्यो । उतिबेला टीभी, मोबाइल, इन्टरनेट केही थिएनन् । के–के, के–के उपद्रो गरिबस्थेँ,’ एक्लो बाल्यकाल स्मरण गर्दै उनी भन्छन्, ‘उसो त झन्डै उही बेलादेखि नै हो बुवाले जोडबलले कविता लेख्न लगाउनुभयो, मेरो एकान्त शब्दमा प्रस्फुटित हुनथाले ।’
घरमा वासु शशि, भवानी घिमिरेजस्ता स्रष्टाहरूको आवतजावत भइरहन्थ्यो । हरिभक्त कटुवाल, भूपि शेरचनकहाँ बुवाले विप्लवलाई लिएर जान्थे । सोही संगतको प्रभाव आफूमा पनि परेको हुन सक्ने अड्कल काट्छन् उनी । उतिबेला एक रुपैंयाँ पर्ने ‘नवभारत टाइम्स’ मा बालबालिकाका लागि प्रकाशित हुने ‘पराग’ पढ्नका लागि विप्लव खाजा खर्च कटौती गर्थे । लेखपढमा असाध्यै रुचि थियो । ९ वर्षको उमेरसम्म पुग्दा उनले निकै लेखिसकेका थिए । त्यसको एक वर्षपछि भने लेखनबाट टाढा भाग्न थाले । १६ वर्षको हुँदा जब पारिवारिक विखण्डनले आहत बनायो, फेरि लेख्ने जोस–जाँगर पलाएर आयो । ‘मान्छेभित्र धेरै पीडा हुँदा त्यसको निकास खोजिँदो रै’छ । त्यो समय कडा मेहनतका साथ मैले हिन्दी र रसियन साहित्य पढेँ । तब म ठिक्कको लेखक र अनुवादक भएँ,’ उनी भन्छन्, ‘त्यसपछि गरेका मेहनत र कामले निखार्दै लग्यो होला, त्यो फरक कुरा भयो ।’
यसपछिका दिनमा भने विप्लवको कलमले आराम पाएन । कविता, गीत, उपन्यास, हाइकुजस्ता विविध विधामा उनले कमल चलाइरहे । चार सयभन्दा बढी कविता लेखेका उनका दुई कवितासंग्रह प्रकाशनमा छन्–‘नहारेको मान्छे’ र ‘अ पर्सन किस्ड बाई द मुन’ । हालै हाइकुसंग्रह ‘शाडेनफ्रोयडा’ सार्वजनिक गरेका उनले अनुवादका चार पुस्तक ल्याइसकेका छन् । अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसको अटोबायोग्राफी ‘द ट्रुथ्स वी होल्ड’ को अनुवाद ‘सत्यको जगमा उभिएर’, आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’ को अनुवाद ‘एउटा सपनाको अवसान’, फ्रेडरिक वास्टियाको ‘कानुन’ उनका अनुवाद कर्म हुन् । उनको उपन्यास ‘अविजित’ पनि प्रकाशित छ ।
चलचित्र र टेलिचलचित्र कथा–लेखकका रूपमा पनि चिनिएका विप्लव नारीलाई स्नेह, करुणा, ममता, केयरिङ नेचरले भरिपूर्ण विशेष प्राणीका रूपमा व्याख्या गर्छन् । ‘नारीको यो स्वरूप र शक्तिलाई विरलै मान्छेले खोतल्ने र बुझ्ने प्रयत्न गरे, नारीलाई पुरुषले पनि ‘टेकन फर ग्रान्टेड’ अर्थात् आफ्नै लागि सुम्पिइएको रूपमा लिए,’ यसलाई थोरै ट्विस्ट गर्दै उनले जोडे, ‘त्यसो त कुनै समयमा मातृसत्ता थियो । पुरुष परजीवीजस्तै नारीमै निर्भर थिए । कुनै कालखण्डमा नारीले ल गरिखाऊ भनेर छोडिदिए, तब सत्ता पूर्णरूपमा पुरुषकै हातमा गयो, सारा संसार उस्तै भयो । सत्ता र शक्तिबाट कोही टाढा हुन खोज्दैन फलस्वरूप पितृसत्ता हाबी हुँदै गयो र आजसम्म कायमै छ ।’ नारीलाई सृष्टिको अनुपम कृति भन्नलाई उनी मन सानो गर्दैनन् । यसको कारण छ, नारीका जति पत्र खोल्यो त्यत्ति चारित्रिक विशेषता खुल्दै जान्छन्, हरचिज हरेक पटक नयाँ लाग्छ, अनि त्यसैबाट नयाँ ज्ञान पाइन्छ रे । प्रेम, जीवन र नारीमध्ये एकलाई बुझ्न सके मात्रै पनि कुनै थप ज्ञान पाउन बाँकी रहँदैन भन्ने उनको सिद्धान्त छ ।
एकातिर उनी एकान्तप्रेमी बन्न थालिसकेका थिए । यहीबीच जोडिएको सम्बन्धले पनि लामो गन्तव्य तय गर्न पाएन । ‘सायद विवाह नामक संस्थाका लागि म परिपक्व थिइनँ र उनी पनि । अर्को कुरा, म एक्लै बस्दाबस्दा एकलकाँटे भइसकेको थिएँ, कहिलेकाहीँ त झन्झटै लाग्थ्यो । विवाहमा थुप्रै जिम्मेवारी हुन्छन्, अर्काको इच्छा बुझिदिनुपर्ने हुन्छ,’ सम्बन्धका तीता अनुभव उनी सुनाउँछन्, ‘जे होस्, मेरो वैवाहिक जीवन असाध्यै समस्याग्रस्त बन्दै गयो । यस्तोमा उनलाई दुःख दिनुभन्दा भैगो भनेर सम्बन्ध विच्छेद गर्यौं ।’ सायद त्यसपछिको एकान्तिकताले पनि उनलाई सर्जक बन्न थोरबहुत मद्दत गर्यो ।
विप्लव आफूलाई नदीसँग तुलना गर्छन्, बग्नुलाई आफ्नो धर्म स्वीकार गर्छन् । कयौं तह र तप्काका नारीसँग काम गरिसकेका यी बेजोड कवि यस्तो दमित समाजमा पनि नेपाली नारीले आफूभित्रका भावना, इच्छा, क्षमता प्रस्तुत गर्न सक्नुलाई विशेष मान्छन् ।
लामो समय हिमाल खबरपत्रिकामा पत्रकारका रूपमा काम गरेका विप्लव ‘एड कपी क्रियटिभ’ हुँदै चलचित्र लेखन र अभिनयमा समेत जोडिइसकेका छन् । हाल प्रदर्शनमा रहेको ‘मनसरा’ मा उनको छोटो अभिनय धेरैले मन पराए । रियालिटी शो ‘पोयट आइडल’ मा उनलाई निर्णायकका रूपमा देख्दा धेरै शुभचिन्तक खुसी भए । त्यसो त उनले सन् १९९० तिरै फिल्म निर्देशन पनि गरेका थिए । सञ्जोग, अभिलाषा, शिवकलीजस्ता टेलिफिल्ममा उनको निर्देशन निकै रुचाइएको थियो ।
विप्लवको जीवन विनायोजना बगिरह्यो । विनायोजना र विनासपना आफूले पाएको यो जीवन उनलाई औधी प्यारो लाग्छ । तर, योजना र सपनाविना आफ्नो जीवनमा जुन उपलब्धि भयो, अरुलाई यसै हुन्छ भन्न उनी सक्दैनन् । तसर्थ सबैलाई सपना देख्न र योजना बनाउन सुझाउँछन् ।
अब आरामले ‘वर्ल्ड टुर’ गर्ने इच्छा उनको मनभित्र बाँकी नै छ । अहिले उनी कुनै वर्ग, शक्ति वा लिंग समान हुनु हुँदैन भनेर वकालत गर्ने इमन बट्लरको पुस्तक अनुवादमा व्यस्त छन् । अन्त्यमा उनले भने, ‘मैले यो धर्ती छोड्दा, मबाट निस्किनुपर्ने कुरा सबै निख्रेर–निथ्रिएर रिक्त भएर जान पाऊँ ।’
हजुरआमा : बढी माया ।
आमा: शक्ति ।
बहिनी: स्नेहको चरम ।
प्रभावशाली महिला: माया एन्जेलु ।
आकर्षक महिला: भारतीय नायिका रेखा ।
मन छोएकी महिला लेखक: सिमोन द बुवा ।
बोल्ड महिला पात्र: सकम्बरी ।
भेट्न मन लागेकी नारी: अमृता प्रितम ।