‘तपाईंको कृतिले मदन पुरस्कार जित्यो है, बधाई छ ।’ कसैले यसो भन्दा मोहन मैनालीले तत्काल विश्वास गर्न सकेनन् । एकछिन घोत्लिएर सोचे र आफैंलाई लाग्यो–होकि क्या हो? उनको पुस्तक ‘मुकाम रणमैदान’ मदन पुस्कारका लागि उत्कृष्ट पाँचको सूचीमा परिसकेको थियो । उनलाई झिनो आशा त थियो तर पुरस्कार नै पाउने ग्यारेन्टी के थियो र?
‘मुकाम रणमैदान’ ले २०८० सालको मदन पुरस्कार पाएपछि उनका प्रशंसक बढेका छन्, बधाईको ओइरो लागेको छ । नेपालको प्रतिष्ठित पुरस्कार पाउने पुस्तकमा के छ त ? ‘यसमा इतिहास छ, नेपाल–अंग्रेजयुद्धको समयमा आदानप्रदान गरिएका चिठीहरू लिपिबद्ध छन्,’ उनी भन्छन्, ‘यो पुस्तकले एउटा इतिहास उजागर गरेको छ । करिब दुई सय वर्ष पुरानो युद्धको तस्बिर यसमा पाइन्छ ।’
ट्रेडल मेसिनले पत्रकारिताको रहर
उनको लेखनको यात्रा भने पत्रकारिताबाट जोडिन्छ । तेह्रथुमआठराईको मैनाली परिवारमा जन्मिएका १० मध्ये उनी एक सन्तान हुन् ।सामान्य परिवार भएकाले खेतीपाती गरेरै उनको बाल्यकाल बित्यो । एसएलसी दिएर पढ्न काठमाडौं हिँडेका उनी झापामै रोकिए । त्यहीँबाट आईएको अध्ययन पूरा गरे । उनले नेपाली, इतिहास, अर्थशास्त्र विषय लिएर पढे । झापामा रहँदा विद्यार्थी आन्दोलनमा पनि सक्रिय रहे । त्यसपछि भने उनको रोकिएको यात्रा काठमाडौंसम्म आइपुग्यो ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्दै गर्दा उनको रुचि पत्रकारितातर्फ मोडियो । जसको रोचक कथा उनले सुनाए । ‘पत्रकारितामा जोडिनुमा ट्रेडल मेसिनसँगको साइनो छ ।प्रेसमा खुट्टाले चलाउने ट्रेडल मेसिन थियो, जसमा माथितिर कागज फेर्दै छाप्थ्यो, यो देख्दा मलाई गजबको महसुस हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘त्यसले मलाई पत्रकारितामा लाग्न रुचि बढायो ।’
उनको पत्रकारिता यात्रा भने ‘दैनिक समाज’बाट सुरु भयो । ‘म स्टेसनरी पसल चलाउथें, पत्रिका बेच्ने क्रममा मणिबाबु अर्थात् मणिराज उपाध्यायले उत्प्रेरित गरेपछि पत्रकारिताको औपचारिक यात्रा सुरु भयो,’ उनले भने । ‘दैनिक समाज’ बाट सुरु भएको उनको पत्रकारिता यात्रा ‘नेपाल वातावरण समूह’, ‘रेडियो सगरमाथा’, ‘हिमाल खबर’, ‘साउथ एसिया चेक’ हुँदै कान्तिपुरसम्म जारी रह्यो ।
खोज पत्रकारिताको जग
नेपाल वातावरण समूहमा आबद्ध भएपछि उनी खोजपत्रकारितामा सक्रिय रहे । ‘आँखीझ्याल’ कार्यक्रममा उनको खुब मेहनत थियो, जसलाई धेरैले रुचाए । यसमा राजनीतिभन्दा बाहिरका विषयको उठान हुन्थ्यो । कार्यक्रमकै लागि उनी गाउँका कुनाकुनापुगेका छन् । ‘आँखीझ्यालले मलाई देशभरको अवस्था बुझायो, सोचेभन्दा धेरै फरक अनुभव पनि बटुलें,’ उनले भने, ‘मेरो ऊर्जाशील समय पनि त्यहीँ बित्यो ।’
‘हिमाल खबरपत्रिका’मा पनि उनले खोज पत्रकारितालाई नै प्राथमिकता दिए । तथ्य जाँचको काम गर्ने ‘साउथ एसिया चेक’मा छँदा खोजी पत्रकारितालाई नै आधार बनाएर काम गर्थे । ‘फ्याक्ट चेकमा प्रमाणजुटाएर तथ्य उजागर गर्न चुनौती त थियो नै, यद्यपि रमाइलो पनि भयो,’ उनी भन्छन् ।
रिपोर्टर, डेस्कदेखि सम्पादकमम्मको भूमिकामा रहेर काम गरेका उनमा वृत्तचित्रप्रतिको रुचि चाखलाग्दो छ । द्वन्द्वकालमा मानिसहरू दैनिकजसो मारिन्थे । कालिकोटको कोटबाडामा धादिङका १७ जना मजदुर मारिएका थिए । आतंककारी ठानेर मारिएका उनीहरू वास्तवमा मजदुर नै थिए । खोज पत्रकारिताको केन्द्रमार्फत तयार पारिएको त्यही घटनाको फिचर ‘हिमालखबर’ मा छापियो । पछि उनलै त्यही घटनालाई लिएर ‘जोगीमारा’वृत्तचित्र नै बनाए, जुन चर्चित पनि बन्यो । वृत्तचित्र प्रदर्शनपछि धेरै धम्की पनि सहनुपरेको उनले सुनाए । भन्छन्, ‘आयोजकलाई त पछिसम्म पनि धम्कीआइरहन्थ्यो ।’
लेखनमा फड्को
रिपोर्टिङ गर्न होस् वा पत्रकारिताको तालिम दिन, उनी देशका कुनाकाप्चासम्म पुगिसकेका छन् । रिपोर्टिङकै क्रममा उनी तिब्बतको ताक्लाकोटसम्म पनि पुगे। सोही यात्राको वर्णन रेडियो सगरमाथाबाट बज्यो । त्यही बेला आफूलाई धेरैले पुस्तक लेख्न प्रेरित गरेको उनले सुनाए ।‘रेडियोको सामग्री हराएर जान्छ, पुस्तक सधैं बाँचिरहन्छ,’ उनले भने ।
२०५९ मा उनको पहिलो पुस्तक ‘उपल्लो थलो’ सावर्जनिक भयो । त्यसपछि ‘मान्ठा डराएको जुग’, ‘देखेको देश’, ‘आकाशमुखी’ (अंग्रेजी निबन्धको अनुवाद) हुँदै उनको लेखन यात्रा ‘मुकाम रणमैदान’ सम्म आइपुगेको छ ।
पुस्तक लेखनको जग नै पत्रकारिता रहेको उनी बताउँछन् । ‘अहिले धेरैले मलाई लेखकभन्नुहुन्छ तरपत्रकार भएकाले नै मैले यसरी लेख्न सकेको हो,’ उनले भने । उनी पुस्तकबाट कुनै लाभ खोज्दैनन््् । आश र लाभले पुस्तक नलेखेको बताउँदै उनले थपे, ‘पुरस्कार पाइएला, कमाइएला भनेर पुस्तक लेखिन्न । आफ्नोअनुभवलाई जीवन्त राख्नका लागि पुस्तक लेखिने हो,’ उनी भन्छन् । लेख्नका लागि पुस्तक पनि उत्तिकै पढ्छन् उनी । ‘गैरआख्यानले ज्ञान दिन्छ,आख्यानले लेख्नका लागि प्रेरित गर्छ, लेखन शैलीमा सघाउँछ,’ उनले भने ।