माधव अर्याल, पाल्पा
पूर्णमाया महर्जन (८६) राणाकालीन परिवारसँगको संगतमा हुर्के–बढेकी हुन् । १९९४ सालमा तानसेन बजारको मूलढोका (मखनटोल) मा जन्मे–हुर्केकी महर्जनको माइतीको थर पनि महर्जन नै हो । कहिल्यै अर्काको कुभलो नचिताएकै कारण आफूले प्रगति गर्न सफल भएकोे उनको दाबी अझै छ । १७ वर्षको उमेरमा विवाह गरेकी महर्जन सानामै परिश्रमी थिइन् ।
पाल्पा जिल्ला मात्र होइन मुलुकभर आफ्नो पहिचान बनाउन सफल महर्जन अहिले समाजसेवासँगै ढाका कपडा उद्योग संचालन गर्छिन् । उद्योग, पसलको रेखदेखमा दैनिक खटिने हिम्मत अझै छ । अहिले ढाड दुख्ने समस्या भएकाले लौरो टेकेर हिँड्नुपरेको छ । ‘उमेर पनि धेरै भएर होला पहिला जस्तो काम गर्न किन सकिन्थ्यो र ?’ उनले भनिन्, ‘जहिलेसम्म सक्छु तहिलेसम्म नै उद्योग र पसलको रेखदेख गर्छु ।’
पूर्णमाया तानसेन समाजसेवी तथा पाल्पाली ढाका कपडाका संस्थापक स्वर्गीय गणेशमान महर्जनकी श्रीमती हुन् । तर उनको जीवनशैली र पहिचान भने ढाका कपडाकै संस्थापकका रूपमा चिनिएको छ । बुवा स्व. पुनसिंह महर्जन र आमा स्व. लक्ष्मीकुमारी श्रेष्ठ (महर्जन) को कोखबाट जन्मिएकी उनका एक जना दाजु थिए । मूलतः छोरीचेली विवाहपछि श्रीमान्को घरमा जाने प्रचलन थियो । तर श्रीमान्लाई अगुवा बनाउन सक्ने क्षमता देखाएको उनले बताइन् ।
‘त्यसैले नै होला म अघि बढ्न सफल भएँ,’ उनले भनिन्, ‘श्रीमान्लाई साथ दिएकाले नै हामी सफल भयौं ।’ पूर्णमायाका चार छोरा र दुई छोरी छन् । विवाह गरेर झन्डै तीन वर्ष भारतको दिल्लीमा बिताएको उनले बताइन् । महर्जन परिवारलाई तानसेन, टक्सार टोलका स्व. पूर्णमान शाक्यले तानसेनमै बसेर कारखाना खोल्न प्रेरणा दिएका हुन् । उनले उद्योग संचालनका साथै तानसेनको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अगुवाइ गरेकी छन् ।
छिटै विवाह भएपछि पढ्न मन लागे पनि नपाएको गुनासो पूर्णमायामा छ । घरमा पढ्ने वातावरण नभएकाले लुकी–लुकी किताब पढ्ने गरेको सुनाइन् । श्रीमान् (स्व. गणेशमान महर्जन) भारतको दिल्ली बस्ने भएकाले विवाहपछि तीन वर्षजति उतै बसेको सुनाइन् । उनले दिल्लीमै बसेका समयमा श्रीमान्संँगै ढाका बुन्ने काम पनि सिकेकी हुन् । ‘श्रीमान्ले पनि सिक्नुभयो । मलाई त्यहा“ बस्न मन लागेन त्यसैले ठूली छोरीको जन्मपछि म एक्लै नेपाल फर्कें,’ र ‘त्यही वर्षको दसैंमा उहाँ पनि आउनुभयो । तानसेनमै मैले र श्रीमान्ले मिलेर आफ्नै घरमा तीन वटा कपडा बुन्ने तानको सुरुवात गरियो ।’
पूर्णमायाले नै पाल्पाली ढाका कपडा बुन्ने पहिलो तान (ढाका कपडा बुन्ने हाते मेसिन) राखेकी हुन् । त्यसबेला तीन हजार रुपैया“ ऋण खोजेर तान राखेको उनले सम्झिइन् । लगत्तै सात वटा राख्न सफल भएको उनले बताइन् । काम गर्ने मान्छेलाई सिकाएर राखेकी थिइन् । पूर्णमाया आफै पनि वार्पिङ्देखि लिएर सबै काम गर्थिन् । श्रीमान्ले ढाका बुन्ने गर्थे । २०१४ सालमा ढाका कपडाको तान राखेर काम गर्दा ‘बौलायो’ भन्नेहरू पनि थिए ।
सुरुमा हातले बुनेका ढाका कपडा किन्दैनथे । ‘हातैले बुनेका कपडा पसलमा लगेर छाड्यो, सधै बिकेको छैन भन्थे,’ उनले भनिन्, ‘जे होस् सुरुवातमा हामीले दुःखका साथ गरियो ।सुरुवातमै राम्रो भयो ।’
पाल्पाली ढाका कपडा २०१५ सालमा सरकारी निकायमा दर्ता भएको हो । तर, तान राखेर कपडा बुन्न थालेको २०१३÷०१४ सालबाट हो, उनले बताइन् । श्रीमान् र उनी दिल्लीको दरियागञ्जमा बस्दा काम सिकेका र तानमा कपडा बुन्न सिक्दा विभिन्न रंग र बुट्टामा बुन्न थाले । त्यही सिकाइले नै पछि आएर ढाका कपडा बुन्न थालियो । अरु कपडा विभिन्न प्रकारका धागोले बुनिन्थ्यो । तर, पछि ढाका कपडा दर्ता गरेर बुन्न थालेका हौं । त्यो सुतीको धागोबाट मात्र बुनिन्थ्यो ।
तानमा खद्दरका साडी, अरु कपडा बुन्ने गरिन्थ्यो । बंगलादेशको राजधानी ढाकामा बुन्ने कपडाको डिजाइन भित्राउने पनि महर्जन परिवार नै हो । त्यही डिजाइनमा बुनेर सुरु गरेपछि बल्ल ढाका कपडा भएको उनले सुनाइन् । तान राख्ने र त्यसलाई पूरा गर्न निकै समय लाग्थ्यो । ढाका कपडाका विषयमा बुझेकाहरूकै कारण मह“गोमा खरिद–बिक्री हुन थाल्यो ।
तानसेनमा घरेलु शिल्पकला भण्डार खुलेपछि बिक्री गर्ने झन्झटबाट मुक्त भइयो । त्यहीमार्फत देशका विभिन्न स्थानमा पठाउन थालेको उनले सुनाइन् । त्यसपछि बजारमा ढाका कपडाको खोजी भयो । ढाकाको पछ्यौरा, खद्दरको साडी, तन्ना त्यतिबेला बढी बिक्री हुन्थे । त्यतिबेला बिक्री भण्डारले धेरै सहयोग ग¥यो । तत्कालीन राजा महेन्द्र, पछि वीरेन्द्रबाट पनि पाल्पाली ढाकाको विषयमा सोधीखोजी हुन्थ्यो ।
सन् १९८७ मा नेपालको राजधानी काठमाडौंमा भएको सार्क शिखर सम्मेलनले ढाका कपडालाई अझ बढी पहिचान दिलाएको दाबी महर्जनको छ । उक्त सम्मेलनमा धेरैै साडीको माग आएको उनलाई सम्झना छ । कारखानामा निकै हतार–हतार गरेर ढाकाका साडी बनाएको सम्झना ताजै रहेको उनले सुनाइन् । ‘पहिलो पटक यति धेरै साडीको माग आयो कि काम गर्नेलाई निकै हतार भयो,’ उनले भनिन्, ‘ती अनुभवबाटै मुलुकका विभिन्न ठाउँबाट माग आउन थाल्यो ।’
नेपाली बजारमा पनि वि.सं. २०३० सालतिर ढाका कपडाको माग बढेको थियो । त्यतिबेला जग्गा पनि सस्तो भएकाले टहरा बनाएर बारुदखान (तानसेन–४) मा पनि तान राखेको उनले बताइन् । बजारमा यति धेरै बिक्यो कि ढाका कपडा र अन्य कपडाको माग पु¥याउनै नसक्ने अवस्था आयो । ‘हामीले काम सिकाएकाहरू बाहिर गएर । पछि खोजेर ल्याएर पनि काममा लगाइयो,’ उनले भनिन्, ‘त्यतिबेला ५ सय जना कामदार कारखानामा काम गर्थे । जसमा अधिकांश महिला थिए । उनीहरूलाई काम सिकाउने मात्र नभै जागिर नै खुवाउने गरिन्थ्यो ।’
उद्योगमा क्यान्टिन चलाउने, महिनावारी पैसा जम्मा गर्न पास बुक बनाउने, पैसा जम्मा गर्ने जस्ता काम गर्नुपर्ने उनले बताइन् । त्यो समयमा गाउँगाउँबाट मात्र होइन बाहिर जिल्लाबाट समेत कामका लागि महिला आउ“थे । ‘५ सय कामदार राखेकी मैले अहिले २६ जनामा चित्त बुझाएकी छु,’ उनले भनिन्, ‘अहिले कामदार पाइँदैनन् । नक्कली ढाका बजारमा आए । पुराना तान त्यसै थन्किएका छन् । कामदार नपाएपछि समस्या भएको छ ।’ अहिले पनि भएका कामदार महिला नै छन् ।
वृद्धावस्थामा महिलासँग बसेर दिन बिताउँदा आनन्द लाग्ने उनले बताइन् । पछिल्लो समय पाल्पाली ढाकाको नाममात्र हुन थालेको उनको गुनासो छ । मेसिनमा बुनेका ढाकालाई पाल्पाली भनेर बिक्री गरेकोमा चित्त दुखाइ छ । गोरखपुर, सुनौली, काठमाडौमा मेसिनमा बुनेर कमसल ढाकालाई पाल्पाली भनेर बिक्री गर्दा समस्या आएको उनले बताइन् ।
‘पाल्पाली भनेको हाते तानको ढाका कपडा हो । यहीँका महिला, पुरुषलाई स्वरोजगार बनाउनुपर्छ,’ उनले भनिन्, ‘बाहिरको ढाका ल्याएर बिक्री गरी पाल्पाली भन्नु गलत हो । यसका लागि अहिलेका स्थानीय, प्रदेश र संघ सरकारको ध्यान जान नसक्नु दुःखको कुरा हो ।’ अर्को कुरा पाल्पाली र बाहिरको ढाका फरक हो भनेर बिक्री गर्नुपर्ने सुझाव उनको छ । ढाका बुन्ने कामदार नेपाली भन्दा भारततिरबाट ल्याउनुपर्ने अवस्था छ । अनि उनीहरूले सिकेर भारततिरै बुन्छन् । धागोमा कर तिर्नु नपर्ने, साइकलमा सुनौलीबाट बँेर्डरतिरै पास गराउने अनि त्यही कमसल धागो प्रयोग गरेका ढाकालाई पाल्पाली भनेर बिक्री गर्ने गरेका छन् । पाल्पाली ढाका अहिले बजारमा पाइने सामानको मूल्यमा पाइँदैन । यहाँ बुनेको ढाका महँगो पर्छ ।
पाल्पाली ढाका र नक्कली ढाकाबीचको फरक बुझ्नु जरुरी छ । रंगमा फरक, धागो मिसावट, सुती नै धागो राखे पनि कमसलको कारण रहेको उनले सुझाइन् । ती कुरालाई सबै उद्योगी, व्यापारी, व्यवसायीले बुझ्नु जरुरी रहेको उनले बताइन् ।