Successfully Copied

कमलाको काँधमा सञ्चारिका

२०६२ सालदेखि नै साधारण सदस्य हुँदै केन्द्रीय सदस्य, महासचिव–सचिवजस्तो पदमा जिम्मेवारी निर्वाह गरिसकेकी छन् । तर अध्यक्षको जिम्मेवारी ओजिलो र चुनौतीपूर्ण लागेको छ उनलाई ।


एउटा सानो अन्तरले ठूलो सपना रोकिन्छ । तर त्यही हारले अगाडि बढ्ने हौसला र हिम्मत पनि दिन्छ । पत्रकार तथा सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीका लागि एक भोटको हार त्यस्तै एउटा क्षण थियो । अघिल्लो चुनावमा उनको अध्यक्ष बन्ने ढोका त बन्द भयो तर अगाडि बढ्ने बाटो भने रोकिएको थिएन । अघिल्लो पटकको पराजयलाई जितमा बदल्दै उनी फेरि त्यही ठाउँमा आइपुगेकी छन्, जुन उनको लक्ष्य बनेको थियो । ‘अध्यक्ष बन्ने हुटहुटी बाँकी नै थियो, यो पटक पूरा गर्न सफल भएँ,’ उनी भन्छिन्, ‘अनुभव, अठोट, विश्वास र साथीहरूको सहयोगले विजय हुन सकें ।’ हुन त उनका लागि सञ्चारिका समूह नयाँ संस्था भने होइन । २०६२ सालदेखि नै साधारण सदस्य हुँदै केन्द्रीय सदस्य, महासचिव–सचिवजस्तो पदमा जिम्मेवारी निर्वाह गरिसकेकी छन् । तर अध्यक्षको जिम्मेवारी ओजिलो र चुनौतीपूर्ण लागेको छ उनलाई । अध्यक्षको भूमिकामा भने उनका अगाडि चुनौतीका चाङ छन् । संस्थामा बजेटको अभाव मुख्य समस्या हो । यसले गर्दा सोच र योजनामा तालमेल नमिल्ने हो कि भन्ने लागेको छ उनलाई ।सञ्चारिकाले सञ्चालनमा ल्याएका अनलाइन टेलिभिजन कार्यक्रम बन्द भइसकेका छन्, अनलाइन प्लेटफर्म केवल डमीमै सीमित छ । उनी भन्छिन्, ‘आर्थिक संकटले अनलाइन नवीकरण पनि गर्न सकेको रहेनछ, यसलाई कसरी अगाडि बढाउने भन्ने योजनामा छौं,’ उनले भनिन् । महिला र महिला पत्रकारको आवाज बोकेको सञ्चारिका समूहमा महिलाका मुद्दादेखि नीतिनियम बनाउने निकायसम्मलाई झकझकाउन जरुरी रहेको उनी बताउँछिन् ।



कमलाले २०५८ सालबाट पक्रकारिता यात्रा सुरु गरेकी हुन् । त्यसबेला मुलुकमा राजनीतिक संत्रमण चलिरहेको थियो । रेडियोबाट सुरु भएको उनको पक्रकारिता यात्रा समकोण कार्यत्रमको सहायक प्रोडुसरसम्म पुगेको छ । त्यसबेला रेडियोको छुट्टै क्रेज थियो । उनी भन्छिन्, ‘देशका कुनाकुना समाचार पुग्ने माध्यम थियो रेडियो, रेडियोमार्फत जनताका दुःखसुखदेखि राजनीतिक बहस हुन्थ्यो ।’ रेडियोमार्फत नै उनले महिला, बालबालिका तथा मानव अधिकारदेखि मानव बेचबिखनका अनगिन्ती विषय उठाइन् । समाचार, फिचरदेखि रिपोर्टसम्म बनाइन् । पत्रकारितामा पाइला टेकेदेखि नै उनलाई महिला मुद्दाले छोएको थियो । उनलाई लाग्यो महिलाका मुद्दाहरू छायामा छन् । ‘महिलाका विषयमा सञ्चारमा संवेदनशीलता र गहिराइ देखिँदैनथ्यो, त्यसैले म आफैंले ती मुद्दा उठाउन थालें,’ उनी भन्छिन् । रेडियो म्यागजिनहरूमा उनी लामो समयसम्म आबद्ध रहिन् । आवाजविहीनलाई आवाज दिने काम गरिन् । सुदूरपश्चिमका गाउँदेखि इलामको चिया बगानसम्म पुगेकी छन् । त्यसबेला चिया बगानमा फरक दृश्य देखिन् उनले । महिलाहरू न्यून ज्यालामा काम गरिरहेका, आˆना नानीहरूलाई प्लास्टिकले बेरेर चिया टिपिरहेका दृश्यले भित्रैसम्म छोएको बताउँछिन् उनी ।

उनले सुदूरपश्चिममा बालविवाह र बहुविवाहका पीडित भेटिन्, मानव बेचबिखनमा परेकाहरूको जीवनको पीडा बुझ्ने प्रयास गरिन् । पत्रकारिता आँसु र भावनामा बग्नु हुँदैन भने पनि उनी धेरैपटक रोएकी छन् । महिला मुद्दालाई प्राथमिकता नदिनु, ज्यालादेखि हरेक कुरामा विभेद देख्दा उनको मन चिमोटिरहन्छ । एक अन्तर्वार्तामा १२ वर्षकी छोरीलाई बुबाले बेचिदिएको पीडालाई सुन्दा उनी भक्कानिइन् । ‘आफ्नै बुवाले छोरीलाई कसरी बेच्न सक्छन्, कति गैरजिम्मेवार हुन्छन् मानिसहरू,’ उनी भन्छिन् । सञ्चारमाध्यममा महिला मुद्दा उठाउनु मात्र उनले आफ्नो कर्म लिएकी छैनन्, यसलाई त उनले व्यक्तिगत सहयोग पनि गर्छिन् । 

सञ्चारमाध्यममा महिला टिकाउनु पनि सञ्चारिका समूहको दायित्वका रूपमा हेर्छिन् उनी । सञ्चारमाध्यमहरूलाई जीवन्त बनाउने, महिला पत्रकारलाई थप सक्षम बनाउने र नीतिगत स्तरमा सुधार ल्याउने योजनासहित अघि बढेकी छन् । यसका लागि विभिन्न योजना पनि बुनिरहेकी छन् । महिलालाई पारिवारिक सपोर्ट नहुँदा र आर्थिक रूपमा पनि पत्रकारितामाथि उठ्न नसक्दामहिलाहरू यो क्षेत्रबाट बाहिरिने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘मिडियाको लगानी मिडियामै नगरी अन्यत्र लगानी गरिँदा आज सञ्चारकर्मीहरू आर्थिक संकटमा परेका छन्,’ उनी भन्छिन्, ‘श्रमजीवी पत्रकार ऐन लागु नहुनु, उचित पारिश्रमिक नपाउनु, असुरक्षित रोजगार आदि समस्याले पत्रकार हतोत्साहित भएका छन् ।’ महिलाहरू पत्रकारितामा हरेक कुरामा अब्बल भए पनि नेतृत्व तहमा पुग्न नसेकेको उनी स्वीकार गर्छिन् । तर उनमा आशा हराएको छैन । भन्छिन् ‘महिलाहरू हरेक क्षेत्रमा अब्बल देखिएका छन्, अब नेतृत्व तहमा पुग्छन् भन्ने विश्वास बढेको छ ।’ उनलाई लाग्छ, पत्रकारितामा अझै पनि सामाजिक परिवर्तन आवश्यक छ ।

 Image