प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको सोह्र दिने विश्वव्यापी अभियान संचालन हुन्छ । नेपालमा पनि विभिन्न संघसंस्था र सरोकारवाला निकायको समन्वयमा जनचेतनामूलक औपचारिक कार्यक्रम हुन्छन् । तर, विडम्बना सोही अवधिमा महिलामाथि जघन्य खालका हिंसा भइरहेकै हुन्छन् । हिंसा केवल शारीरिक रूपमा गरिने चोटपटक मात्रै होइन । शरीरको खाउ, खत मात्रै होइन हिंसा । हिंसाका विभिन्न स्वरूप हुन्छन् । तीमध्ये कुनै हिंसा देखिन्छन् कुनै मनभित्र गडिरहेका हुन्छन् । शारीरिक हिंसाको प्रमाण जुट्छ, यो भएको हो, यस्तो भएको हो भन्न सकिन्छ तर मानसिक हिंसाको न त प्रमाण हुन्छ न त न्याय पाउने आशा नै । मानसिक हिंसा भोग्ने महिलाहरू खासगरी सहरी भेगमा बढी छन् । उनीहरू सम्पन्न परिवारका हुन्छन्, परिवारको साँठगाँठ माथिल्लै निकायहरूसँग गतिलै गाँसिएको हुन्छ । चाहेर पनि यस्ता घटनाका पीडितहरू मुख खोल्न सक्दा रहेनछन् । बाहिरबाट हेर्दा महिलाहरू निकै खुसी, सम्पन्न देखिन्छन् । उनीहरूलाई राजसी सुखसयल नै पुगिसरी छ होला भन्ने आम आँकलन हुन्छ । तर, वास्तविकता कहालीलाग्दो हुने रहेछ ।
एक प्रतिनिधि पात्र
स्नातकोत्तर सकाएकी एक महिला, जसको राजधानीमा विशाल महल छ । श्रीमान्को कमाइ राम्रो छ । महिनामा आधा लाख त घरभाडा मात्रै आउँछ । सासू–ससुरा दुवै जागिरे छन् । यो परिवारलाई आर्थिक रूपमा कहिल्यै कुनै समस्या पर्दैन । उनकी आठ वर्षकी छोरी थिइन् । पहिलो बच्चा छोरै हुनुपर्छ भन्ने अडान सासूको थियो, छोरी जन्मिइन् । दोस्रो पटक फेरि छोरा पाउँछे भनेर चित्त बुझाइछन् । श्रीमान् अलि बुझकी नै थिए । उनी दोस्रो पटक गर्भवती भएपछि श्रीमान् पूरै बदलिएछन् । गर्भ रहेको दुई महिनापछि उनीमाथि मानसिक हिंसाको शृंखला सुरु भयो । पहिले छोरा छ वा छोरी परीक्षण गर्ने, छोरा भएमात्रै राख्ने नत्र फाल्ने भन्ने सल्लाह गरेछन् ।
ससुरा केही बोल्दैनथे, सासू र श्रीमान्को एउटै बोली दोहोरिन्थ्यो । कहिलेकाहीँ माइती आउने नन्द–आमाजूको पनि आमाछोराको बोलीमा समर्थन थपिन थाल्यो । एउटा भदा जसरी पनि चाहिन्छ, बेलैमा परीक्षण गर्नु, राख्नुपर्छ कि फाल्नुपर्छ, होस पुर्याउनु, ठाडै आदेश दिन्थे नन्द–आमाजूहरू । तिनीपनि सरकारी जागिरे हुन् । आर्थिक रूपमा आफै सक्षम छिन्, घरपरिवार अझ अब्बल छ । राजधानीमा बसोबास छ, बाहिरबाट हेर्नेलाई लाग्दो हो–वाह जिन्दगी त यसको जस्तो होस् । यिनलाई के कुराको कमी छ र ? कति चैन छ है यिनलाई ? तर, पैसा, घर, गाडी मात्रै सम्पत्ति त होइन नि ? मानसिक रूपमा ‘कति खुसी छु’ भन्ने कसैलाई थाहा छैन, थाहा पाउन पनि खोज्दैनन् । बेला–बेला उनी पीडाको भारी बिसाउन खोज्थिन् ।
गर्भ रहेको तीन महिनामा‘भिडियो एक्सरे’ त गरिन् तर छोरा छ कि छोरी भनेर सोधिनन् । परिवारका आफन्तले सोध्थे, उनी गर्भमा छोरा छ भन्थिन् । छोरा छ भनेपछि छ महिनासम्म श्रीमान्, सासू, नन्द–आमाजू सबैले राम्रोसँग ख्याल गरे । उनकी छोरीलाई ‘अब तिम्रो भाइ आउँदै छ, भाइको नाम के राख्ने ? अब तिहारमा आफ्नै भाइलाई टीका लगाउने, भाइको माया कत्तिको गर्छौ ?’ भन्दै दिमाग एकोहोरो बनाइसकेका थिए । दिनभरि कार्यालयको थकाइ, साँझ घर जान पाएको छैन छोरीले सोध्थिन्–‘मामु हाम्रो भाइ कहिले आउँछ ?’ त्यो अबोध बच्चीको दिमागमा भाइबाहेक केही भरेका थिएनन् । के जवाफ दिने, के नदिने भन्ने अवस्थामा उनी पुग्थिन् । ‘अब अर्को महिनामा आउँछ भन्दै टार्थिन् । कहिलेकाहीँ त बाथरुममा गई आधा घण्टासम्म सधै रुन्थिन् । यदि छोरी जन्मिई भने यो परिवारले ‘मलाई के भन्लान् ? कस्तो व्यवहार गर्लान् ?’ भन्ने चिन्ता उनलाई थियो । हिजोसम्म एउटी छोरी भए पुग्छ भन्ने श्रीमान् पूरै बदलिएका थिए । उनको दिमाग कसरी ठेगानमा आउला ? अझ छोरीको मन कसरी सम्हालिएला ?भन्ने चिन्तामा उनी थिइन् । तर, उनी भने आफ््नो कोखलाई प्रयोगशाला बन्न नदिनेमा दृढ थिइन्। ‘दुई सन्तान पो ईश्वरका वरदान हुन्, छोरामात्रै ईश्वरका वरदान भन्ने कुरा त कहीँ भनिएको भेटाउँदिन मैले’ भन्दै उनको मनले अनेक कुरा सोच्थ्यो ।
पेटको हुर्किएको अबोध बच्चा छोरा भए मात्रै आजसम्म बाँचेको छ, यदि छोरी भएको थाहा पाएको भए आजसम्म मारिसक्थे उनी । यत्तिकैमा पेटमा झट्ट बच्चा चलेको आभास उनलाई हुन्छ । छोरी र छोराको चाल उही छ, उस्तै पीडा सहेर जन्माउनुपर्छ, उति नै समय गर्भमा राख्नुपर्छ, उही प्रक्रियाले जन्माउनुपर्छ अनि विभेद किन यतिविधि गरिन्छ ? के दोस्रो छोरीको जन्मिने अधिकार छैन ? ‘म यत्तिको जान्ने–बुझ्ने भएर पनि यो क्रममा सामेल भएँ भने मजस्तो अपराधी को होला ?’ भन्ने सोच्थिन् । जोखिम मोलेर बच्चा जन्मिने दिनसम्म उनले कुरिन् ।
घरमै व्यथा लागेपछि श्रीमान् र सासूले अस्पताल लिएर गए । अस्पताल पुगेको पाँच घण्टापछि दोस्रो बच्चा जन्मियो । जब डाक्टरले छोरी जन्मिएको समाचार सुनाए श्रीमान् र सासूको होस उड्यो । कसरी हुन्छ यस्तो ? के भयो यस्तो ? डाक्टरले गलत रिपोर्ट दिन मिल्छ ? गलत ‘एक्सरे’ गर्न मिल्छ ? कि बच्चा साटियो ? नवजात शिशुको मुख पनि नहेरी छोरी भन्ने शब्दसँग जुहारी नै चल्यो । वरपर उभिएका मान्छेहरू मुखामुख गरे । कोरोनाको पहिलो चरणको महामारीको बेला थियो । श्रीमान् र सासूले उनलाई एक्लै अस्पतालमा छाडेर घर गएछन् । प्रसव पीडाभन्दा बढी चोट उनीहरूले अस्पतालमा एक्लै
छाड्दा उनलाई भयो । आफूलाई यसो गरे भने पनि कोही उनलाई पत्याउने अवस्था थिएन । सबै दुःख–सुख साट्ने बहिनी थिइन्, उनी कान्छी बहिनीलाई फोन गरेर अस्पताल बोलाइन्, उनी आएर उनलाई खान दिइन्, बच्चाको स्याहार गरिन् ।
‘तँ कति अभागी दिदी, चिन्ता नगर, दिदी तेरा लागि बहिनी जिउँदै छे’ उसले भनेका शब्दले उनको आँसुको आहाल बन्यो । संवादका क्रममा उनले भनिन्, ‘तपाईंलाई कहानी जस्तो लाग्ला, सहरमा सबै सचेत भएको घरमा यतिसम्म पनि हुन्छ होला भनेर, तर यो पीडा कसलाई सुनाउने ? यसको न कुनै सबुत प्रमाण हुन्छ, हिंसा भयो भनेर भन्ने कुनै आधार पनि हुँदैन । साथीको नाताले तपाईंलाई भनेको मात्रै हो । ममाथि कुटपिट भएको भए देखिन्थ्यो तर दिनदिनै मन कुटिएको, मन चुँडिएको, मन मरेको कुरा कसलाई देखाउने ?’
उनले थपिन्, ‘म भन्दा त गाउँका आमाहरू भाग्यमानी लाग्छ, कम्तीमा उनीहरूले भगवान्का प्रसाद ठाने, जति जन्माउनुपर्छ जन्माए कम्तीमा भ्रूण हत्या त गरेनन् । सन्तान हत्याको पाप त भोग्नु परेन । मेरो जस्तो परिवारका कति महिला मजस्तै पीडामा बाँचेका होलान् सहरमा ? उनीहरूको पीडा कहाँ र कहिले, कसले सुन्ने ? यतातिर कसैको ध्यान जाँदैन, कसैले सरोकार पनि गर्दैन ।’ तीन महिने प्रसूति बिदा सकाएर अफिस आएकी ती साथीका पीडाका कथाहरू सुनिरहँदा निकै विरक्त लाग्यो । उनलाई सुत्केरी अवस्थामा डिप्रेसन भयो, छोरी पाएकै कारण राम्रोसँग स्याहार–सुसार भएन, न्वारान त राम्रोसँग गर्दिएनन्, अरु कुराको के अपेक्षा गर्ने ?
दराजभरि नयाँ लुगाको चाङ छ । पाँच–सात तोला सुनका गहना छन् ।आलिसान महल छ, श्रीमान् कार चढ्छन् । सबैजना जागिरे छन् । ‘मेरो आफ्नै जागिर छ, दुईछोरी छन् तर म जत्तिको अभागी कोही छैन । पहेंलपुर भएर सुनैसुनले छापिएर हिँडेपनि मेरो मन खुसी छैन भने त्यो पहेंलोको के अर्थ ?’ उनले भनिन्, ‘ठूली छोरी चीजकी रे सबैले माया गर्छन्, कान्छी छोरीलाई उसका बाउले पनि वास्ता गर्दैनन्, यस्तो सोंच कुन बाउको हुन्छ होला ? यो कुरा माइतीमा सुनाऊँ आमा बाउले काँचै खान्छन्, अरुसँग बोल्ने कुरै भएन । तँलाईं त्यस्तो स्वर्गजस्तो घर, देवताजस्ता ज्वाईं पाउँदा पनि नहुने ? यही जवाफ आउँछ । हो, मेरा बा–आमाका ज्वाईंले कुनै राजकुमारीको भन्दा कम सुखसयलमा राखेका छैनन् मलाई । तर भौतिक भोग विलासका साधन मात्रै स्वर्गका प्रतीक हुन् कि मानसिक रूपमा पनि शान्ति हुनुपर्ने हो ? मेरो मन पलपलमा मरिरहेको छ भने नक्कली हाँसोमा सुनैसुनले छाइएर कारमा हुइँकिनुको के अर्थ ? मानसिक शान्ति कहाँबाट पाइन्छ ? यो शिक्षा कहीँबाट पनि पाउन सकिन ।’
उनकी बहिनीले आफै मन पराएको केटासँग विवाह गरिन् । बाउआमा रुष्ट हुँदाहुँदै पनि उनले जिद्दी गरिन् र विवाह गरेरै छाडिन् । आर्थिक हैसियत मिलेन भनेर उनका बुवाआमाले दुई वर्षसम्म माइतीमा आउन पनि दिएनन् । उनका बहिनी–ज्वाईं दुवैजना प्राइभेट अफिसमा जागिर खान्छन्, एउटा छोरा छ । ‘काठमाडौंमा डेरामै बस्छन् तर यति खुसी छ मेरी बहिनी । उसले स्वर्गको भोग यही जुनीमा गरिसकिन् । ज्वाईं निकै बुझकी छन्, गाउँमा बुवाआमा बस्छन्, बेला–बेलामा काठमाडौं आउँछन्’ उनले बहिनीबारे बिस्तार गर्दै भनिन्, ‘घरपरिवार एकदम बुझेका छन्, गाउँका सबै अबुझ कहाँ हुन्छन् र ?गाउँमा अबुझ हुनेहरू चेतनाको अभावमा भए होलान् तर मेरा परिवारजस्ता सचेत, शिक्षित अनि राजधानीमा बस्नेहरूको कथा कसलाई सुनाउने ? बहिनी डेरामा बसेर पनि भाग्यमानी छ, म आलिसान महलमा बसेर पनि नर्कको अनूभूति गरिरहेकी छु । जसले जे भने पनि आफ्नाश्रीमान्को दह्रो साथ पाउने हो भने कुनै पनि नारी हिंसामा पर्दैनन् ।’
यी साथीको पीडाले धेरैदिनसम्म ऐठन बनायो । अरुका अधिकारबारेमा समेत बेला–बेलामा आवाज उठाउँथिन्, निकै बोल्न सक्ने खालकी थिइन् तर बाहिरी सुखसयलको मापनले मात्रै मानसिक सुख, खुसीको मापन कहिल्यै हुँदैन रहेछ । यी त एक प्रतिनिधि पात्र मात्रै हुन्, यस्तै खाले मानसिक हिंसा सहने महिलाको संख्या विशाल छ । कोही दाइजो कम ल्याएको बहानामा, कोही छोरी पाएको बहानामा, कोही जागिर खान नसकेको बहानामा मानसिक रूपमा प्रताडित भएकै छन् । कोही महिला त कस्तोसम्म देखियो भने श्रीमान्को परस्त्रीसँग सम्बन्ध छ भन्ने थाहा छ, प्रमाणपनि छ तर परिवारले यति ढाकछोप गर्छन् कि उल्टै महिलामाथि नै शंका गरिन्छ । खान–लाउन देकै छ, के कुराको कमी बनाएको छ र ? उसको विरुद्धमा बोल्दै हिँड्ने ? मर्दका दस वटी थाहा छैन ? यस्तो दुर्वाच्य बोलेर मानसिक हिंसा गर्नेको संख्या पनि धेरै रहेछ । महिलाहरू आफै श्रीमान्का विरुद्धमा जान सक्दैनन्, परिवारले साथ दिँदैन । अनि महिलाहरू भित्रभित्रै डिप्रेसनमा जाने, आत्महत्या गर्ने, मानसिक रूपमा विछिप्त हुने कारण यस्तै–यस्तै हुने रहेछन् ।
देखिने हिंसा मात्रै महिला हिंसा होइनन्, नदेखिने र भोगिने सबै खाले हिंसाका विरुद्धमा आवाज उठाउन सक्नुपर्छ । हिंसाका स्वरूप, प्रकृति फरक–फरक छन् तर घरघरमा महिला हिंसाका झिल्काहरू देखिन्छन् । जागिरे परिवारमा एकजना बुहारी बेरोजगार हुनुपर्छ, ती महिलाजत्तिको प्रताडित त्यो घरमा कोही पनि हुँदैन । छोरैछोरा पाउने बुहारीको बीचमा एकजना छोरी पाउने बुहारी हुनुपर्छ ऊ सबैतिर पीडित बन्नुपर्छ । दाइजो धेरै ल्याउनेको बीचमा एकजना निम्छरो बुहारी भित्रनुपर्छ हरेक तिरबाट उहीमाथि मानसिक आक्रमण हुन्छ । तर, यी हिंसाका प्रारूप कही कतैपनि दर्ज भएको पाइँदैन । यी हिंसाको पीडा भोग्नेहरूलाई मात्रै थाहा हुन्छ । जबसम्म घर सबैखाले हिंसामुक्त हुँदैन, सहरमा नारा–जुलुस गरेर महिला हिंसा अन्त्य हुँदैन । यसर्थ, महिलामाथि हुने सम्पूर्ण हिंसाको पूर्णरूपले अन्त्य गरौं अनि मात्र यस्ता अभियानको तात्विक अर्थ रहन्छ ।