हाम फालौं कि झैं भा’ छ त्रिशूलीको पानीमा
घरमा जाँदा सौता छे माइती सानीमा ।
यो पुरानो तीज गीत हो । पछिल्लो पुस्तालाई यो गीतबारे थाहा नहुनसक्छ । कसैले भन्यो भने पनि उनीहरू पत्याउँदैनन् । उल्टै आश्चर्य मान्दै प्रतिप्रश्न गर्छन्, ‘यस्तो पनि तीज गीत हुन्छ ?’ तर, हाम्रा हजुरआमा, आमाहरूले धेरै पटक गाएको गीत हो यो । पराइ घर गएकी छोरीले भोग्नुपरेको कुरालाई गीतको दुई अन्तराले खुलस्त पारिदिन्छ । सानैमा आमा बितेकी हुन्छिन्, छोरी विवाह गरी पराइको घर जान्छिन् । माइतीमा आमा गुमेपछि बाबुले अर्की आमा ल्याउँछन् । पराइघरमा श्रीमान्ले सौता ल्याउँछन् । यस्तो अवस्थामा चेली कहाँ जाने ? माइतीमा जाऊँ सौतेनी आमाको हप्कीदप्की सहनुपर्छ, तिखा बचन सुन्नुपर्छ । घर जाऊँ श्रीमान्ले सौता ल्याएको छ, सौतेनी आमा भन्दा चर्को पीडा आफ्नै सौताको छ । सही नसक्नु भएपछि मर्नुको विकल्प नदेखेको परिस्थितिलाई स्मरण गर्दै लेखिएको गीतिभाव हो यो । यस्ता गीत गाउँदा आँसु नआउनेहरूका आँखा पनि रसिला बन्थे । त्यस्तै, यस्ता गीतका टुक्का एकपछि अर्को आमाहरूले गाइरहँदा समय बितेको पत्तै हुँदैनथ्यो ।
तत्कालै शब्द टिपेर गीतका टुक्का हान्न सक्ने हाम्रा आमा/हजुरआमाहरू हुन् । तिनका शब्द संकलन मात्रै गर्न सक्ने हो भने गीत/संगीत धेरै समयसम्म जीवितै रहन्छन् । गाउँघरमा आमा/हजुरआमाहरू पुस्ता मात्रै होइन गीत/संगीतको खुला विश्वविद्यालय नै हुन् ।
हाम्रा बाबाले खनेको पोखरी टलक्कै टल्कियो मौलो बरिलै
पराइ घर गएकी छोरीलाई धिरेधिरे (बिस्तारै) माइतीघर नौलो बरिलै ......
यस्ता गीतमा खास छोरीचेलीका मर्म लुकेका हुन्थे, गीतबाट यथार्थता झल्किन्थ्यो । पुरुषहरू आफ्नै नातेदारहरू मात्रै हुन्थे, अश्लीलता भन्ने शब्द सुन्न सक्ने अवस्था थिएन । उनीहरूले निकै मीठो धुनमा मादल, झ्याली बजाउँथे, महिलाहरू गाउने/नाच्ने गर्थे । तर समयको चक्रलाई कसले रोक्न सक्यो र ? आखिर तीज त हरेक सालको पात्रोमा उही तिथिमा पर्ने हो केवल साल मात्रै फरक हो । तर पात्रोका पहिलेका तिथि र अहिलेका तिथिको त्यही तीजमा आकाश–पातालको फरकपन देखिन थालेको छ ।
हाम्रा बाबाको तीनतले घर
घुमीघुमी लगाउँला गेरु बरिलै......
सातै डाँडापारि दिनुभयो बाबाले
झल्को आउँदा कसरी हेरूँ बरिलै.....
यो गीत सुन्दा पछिल्लो पुस्ता झर्को मान्छ । उनीहरूले ‘के हो गेरु भनेको ?’ भन्न बेर लाउँदैनन् । अब पनि कसैले सात डाँडापारि छोरी दिन्छ ? प्रतिप्रश्नमै रमाउँछ यो पुस्ता । यस्ता गीतमा चासो, रस केही देख्दैन आधुनिक पुस्ता ।
तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्थ्यो । तीज भनेकै चार दिनको पर्व हो । यो पर्वमा शिवजीको आराधना गरी दिदीबहिनीहरूले राम्रा गीतहरू गाएर आफ्नो मन हल्का पार्थे ।
गोठमा राम्रो झालेमाले गाईले
माइतीमा राम्रो दाजुभाइले....
यस्ता सयौँ गीत छन् । तर, गाउने कसले ? गाइहाले पनि सुनिदिने कसले ?
गाउँघरतिर बर्खाभरि घरको कामधन्दामा बेफुर्सदी भएका छोरीहरू खेतीपातीको हिलोमैलो र कामको चटारो सकिएपछि मीठो–मसिनो खान, वर्षभरिका दुःख–गुनासाहरू पोख्न र मन हल्का बनाउन माइतीमा जाने चलन थियो । टाढाका माइतीहरू धाएरै चेलीलाई लिन आउँथे । छोरीहरू तीजमा माइती जान पाउँदा अर्कै संसारमा पुगेजस्तो अनुभूति हुन्थ्यो ।
पछिल्लो समय सूचना प्रविधिले चेली र माइतीको दूरीमात्रै घटाएको छैन संस्कार, संस्कृति र आडम्बरलाई पनि उत्तिकै चुनौती दिन थालेको छ । अचेल तीजका गीत कुन हुन् ? रत्यौली के हो ? भन्ने कुराको भेउ पाउन मुस्किल छ । महिलाको पर्व भनिन्छ, दोहोरी नगाएसम्म, महिला–पुरुष ननाचेसम्म तीजका गीत बन्दैनन् अचेल । दोहोरी पहिलेका गीतमा पनि हुन्थे जस्तो आमाले छोरालाई तीज आइसक्यो दिदी लिन जाऊ बाबु भन्ने, अनि छोराले के कोसेली लिएर जाने ? भन्ने यस्ता सवालजवाफमा निकै पारिवारिक, शालीन र भद्र तरिकाले दोहोरीका अन्तरा गाइन्थे । अचेल यस्ता गीतका अंश पनि सुन्न पाइँदैन । अहिलेका छोरीहरू चिन्ता, व्यथा र पीडामा समय खेर फाल्दैनन् । स्मार्ट छोरीहरू स्मार्ट प्रविधिमा रम्न थालिसकेका छन् । सूचना प्रविधिले सधै तीजको रौनक दिलाएको छ, एक दिनको कुनै महत्व छैन भन्ने अनुभूति हुन थालेको छ । लवाइ र गायनमा मौलिकता छैन, नृत्यमा फिटिक्कै मौलिकता भेटिन्न । हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, बीमाकुमारी दुराहरूका तीज गीत बजारमा बिक्दैनन् । दुर्गेश थापाहरूका पुस्ताले बजार तताएका हुन्छन् । गीतको मर्म के हो ? गीत आखिर केका लागि गाइन्छ ? किन तीजको गीत भनियो ? अरु गीत र तीजको गीतमा के अन्तर छ ? कस्ता शब्द राखेर गाउँदा खास तीजको मर्म मर्दैन भन्ने हेक्का छैन । बजारमा म्युजिक भिडियो र गीत पठाउनुपर्छ, उत्तेजित शब्दहरू मिसाउनुपर्छ, आधुनिकता झल्कनुपर्छ बस् तीजको गीत यही हो । यो मात्रै होइन तीजको दर खाँदा बियर खाइन्छ, नो व्रत प्लिज भन्ने गीतहरू पनि निस्किए ।
हाम्रा आमा/हजुरआमाहरूले दर खाने भनेर तीजको एक दिनअगाडि सात्विक खाना खाने गरेको मात्रै याद छ । आमाहरू कहिल्यै साता/महिनौंसम्म दरका नाममा खाएर हिँड्नु भएन, हिँड्ने अवस्था पनि थिएन । दरमा पनि दूधबाट बनेका परिकारमात्रै बन्थे, शुद्ध शाकाहारी भोजन दरका रूपमा खाइन्थ्यो ।
आपसी सद्भाव, भेटघाटको माध्यम, आपसमा मेलमिलापको भावना अंकुरन गराउनका लागि केही हदसम्म यो माध्यम सहायक बन्न सक्ला तर समाजमा देखाउनकै लागि, आडम्बर प्रदर्शन गर्नकै लागि महिना दिनअघिदेखि दरका नाममा पैसा सकाउने र गहना तथा लुगाको प्रदर्शनी गर्ने काम किमार्थ राम्रो होइन र समाजका लागि पाच्य पनि होइन । हरेक कुराको गरिमा र महत्व त्यही दिनमात्रै हुन्छ । जुन दिनमा त्यसको महत्व हुनुपर्ने हो महिना दिनअघि नै सकाए पनि खास दिनमा के गर्ने त ? खास दिनमा त्यसको के महत्व होला ? के औचित्य होला ?
दर खाने बहानामा मदिरा पानमा निर्लिप्त हुने दिदीबहिनीको कुरा कसरी गरौं ? स्वतन्त्रता चाहिन्छ तर स्वतन्त्रताको बहानामा खुट्टै टेक्न नसक्ने हुनु पनि राम्रो होइन । शिक्षित, सहरिया महिला तीज तपाईंहरूकै चाड हो तर तपाईंहरूकै हरिबिजोग भएपछि तीजको के अर्थ होला र ? धर्म, संस्कृति, संस्कारलाई हामीले बिस्तारै बिर्सेर आधुनिकता र आडम्बरमा रम्न अभ्यस्त भइसकेका छौं, पछिल्लो समयमा दृष्टान्तहरू यसकै द्योतक हुन् भन्दा फरक पर्दैन ।
तीजको धार्मिक पृष्ठभूमि
धार्मिक मान्यतानुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने कुरा थाहा पाएपछि बेखुसी भएकी पार्वतीले आफूले मन पराएको वर पाउन शिव लिङ्गको स्थापना गरी निराहार व्रत बसेको र पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भई आशीर्वाद दिएको र शिव–पार्वतीको विवाह भएको मानिन्छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले परापूर्वकालदेखि आजसम्म सोही तिथिमा हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको र सोही दिन हरितालिका तीजका रूपमा चित्रित भएको उल्लेख छ ।
अन्त्यमा
संस्कार सपार्ने/बिगार्ने हामी नागरिकको जिम्मेवारी हो । हामी आधुनिक बन्न खोज्छौं, आफ्नो बिर्सेर पराइको संस्कार नजिक बनाउन खोज्छौं, गल्ती त्यहीँबाट सुरु हुन्छ । आपसी मेलमिलाप, भेटघाट गर्नु, रमाइलो गर्नु सकारात्मक कुरा हो तर टोलै थर्काउने गरी चर्काचर्का स्वरमा गीत बजाउनु, भड्किलो पहिरन, पार्टी प्यालेसमा दरको बहानामा दारु पार्टी गर्नु, गहना र लुगाको प्रदर्शनी गर्नु गलत कुरा हो । हैसियत हुनेहरूले दिनैपिच्छे आडम्बर देखाउन सक्लान् तर चाडबाड त करोडपतिको जत्ति हो रोडपतिको पनि उत्ति नै हो नि होइन र ? बाटोमा मकै पोलेर जीविका चलाउने आमाले त्यही बाटोमा मकैका घाोगाभन्दा मोटा गहनाले धपक्कै बलेका महिलाहरू हिँडेको देख्दा कस्तो अनुभूति गर्लिन् ? ती आमाका लागि तीज जति महत्वपूर्ण छ, अर्की गहनावाला महिलाका लागि पनि उत्तिकै महत्वको हुनुपर्ने हो । यहाँ त हुनेखाने र हुँदा खानेको अलग–अलग पर्वका रूपमा तीज चिनिन थालेको छ ।
संस्कार, संस्कृति हामीले नसुधारे कसले सुधार्ने ? तीजमा डिस्कोमा नाचिन्छ भनेर गीत गाउने, तिनै गीतमा झुमीझुमी नाच्नेहरू बढेपछि संस्कृति बिग्रेको चिन्ता गर्नेहरूको हालत के होला ? यस्ता गीत हामीले बहिष्कार गरौं त अर्कोपटक हतोत्साही भएर त्यस्ता कलाकार आफै किनारा लाग्छन् । जुन पर्व हो त्यसैसँग मेल खाने शब्द चयन गर्न, गाउन किन सक्दैनौं ? दरका नाममा दारु खाऔं भन्ने, माता पार्वतीले उपासना गरेको पवित्र दिनलाई परापूर्वकालदेखि मान्दै आएका सनातनीहरूको मर्म विपरीत ‘नो व्रत प्लिज’ भन्दै उफ्रने अनि ढाडे बिरालोजस्ता शीर्षक राखेर गीत गाउने सर्जकहरूबाट के अपेक्षा गर्ने ? तीजका गीत बिग्रेकी हामी बिग्रिएका हौं ? आत्मसमीक्षा गर्ने अवस्था आएको छ । गलत कुरालाई सुधार्न सकिन्छ तर नियतवश गलत गर्नेहरूबाट सुधारको अपेक्षा गर्न सकिँदैन । यसर्थ, हामी आफू सुधारको मार्गमा लाग्यौं भने गीत आफै सुध्रिन्छन् ।