असारे रोपाईं सकिएपछि साउन एक गतेबाट हाम्रा चाडबाडको एउटा शृंखला नै सुरु हुन्छ । त्यसमा व्यस्त भएपछि समय बितेको पत्तै हुँदैन । हाम्रो संस्कृतिमा अन्न, रुख, झार, घाँस, सर्प, काग, कुकुर, गाईगोरु, खोला आदि सबै देउता । सबैलाई देउता मान्न हाम्रो संस्कृतिले हामीलाई प्रकृतिको सम्मान र जगेर्ना गर्न सिकाएको छ ।मानवजाति र प्रकृतिबीचको अन्तर सम्बन्धलाई प्रस्टसँगउजागर गराएको छ । प्रकृतिलाई सम्मान गर्नु मानवीय जीवनलाई स्वस्थ, सरल र रमाइलो बनाउनु हो। हामी जति प्रकृतिको नजिक हुन्छौं त्यति नै स्वस्थ हुन्छौं भन्ने तथ्यलाई विज्ञानले पनि प्रमाणित गरिसकेको छ । यसरी हाम्रा चाडबाडले हामीलाई प्रकृतिको सम्मान गरेर स्वस्थ हुँदै जीवनमा रमाइला पलहरू थप्न मद्दत गरेका छन् ।
अहिले महिलाहरूको विशेष चाड तीज नजिकिएको छ । अहिले दिदीबहिनीहरूलाई माइती, मामाघर एवं साथीभाइकोमा गएर दर खाने, नाचगान गर्ने, सुन्दर भएर हिँड्ने, आफूलाई सजाउने र रमाइलो गर्ने चटारो छ । जीवनको दौडादौडमा हामी एकोहोरो कामकाम भनेर दौडिरहेका छौं । यो अवस्थामा आफूप्रति ध्यान दिन पनि धेरैलाई फुर्सद हुँदैन । न त आफन्तलाई भेटघाट गर्ने समय नै छ । तर, हाम्रा चाडबाडले हामीलाई ती व्यस्तताका बीच पनि भेटघाटको मौका प्रदान गर्छन् । यिनले हाम्रो व्यस्त र एकोहोरो हुँदै गएको जीवनमा नयाँ ऊर्जा थपिदिन्छन् ।
जीवन एउटा निरन्तर परिवर्तन भैरहने प्रक्रिया हो । त्यसैको फलस्वरूप समयको बहावसँगै हाम्रो चाडबाड मनाउने तरिकामा पनि परिवर्तन हुँदै आएको छ । त्यसैले आजभन्दा ५० वर्षअघि जसरी यी चाडबाडहरू मनाइन्थ्यो आज पनि त्यसरी नै मनाउनुपर्छ भन्ने सोचाइ राख्नु समयको प्रवाहमा नबग्नु मात्र हो । अहिलेमान्छे शिक्षित भएका छन्, सोचाइ परिष्कृत भएको छ । देश–विदेश घुमेका छन्, सबैतिरको चालचलन देख्ने मौका पाएका छन् । कसैको राम्रो वा रमाइलो लागेको चलनको सिको गर्नुलाई नराम्रो भन्न मिल्दैन ।
पहिले हाम्रा आमा–हजुरआमाहरू घरमै बसेर घरको सबै कामको व्यवस्था मिलाउँथे । घरमा सहयोग गर्ने मानिसको कमी थिएन । नत उहाँहरूलाई कमाउन जानुपर्ने बाध्यता नै थियो । पुरुषहरूले मात्र आयआर्जनको जिम्मा लिएका थिए । तर, आजको समयमा महिलाहरूमा पनि घरबाट बाहिर गएर काम गर्ने अनि आयआर्जन गर्ने जिम्मेवारी थपिएको छ । यसरी घरबाहिरको पनि जिम्मेवारी बहन गरी व्यस्त हुनु परेकाले आजका नारीहरूले हाम्रा आमा–हजुरआमाहरूले जस्तो गरी चाडबाड मनाउन सम्भव छैन । र, त्यो जरुरी पनि छैन । हाम्रो जीवनको लक्ष्य नै समयसँगै परिवर्तन हुँदै, खुसी र आनन्दित हुनु हो ।
पछिल्लो समयकै प्रसङ्ग जोडौं, तीज आउनुभन्दा महिना, डेढ महिनाअघिबाटै महिलाहरूले दर खाँदै हिँड्नुले समाजको नियम र संस्कार बिगार्दै गएका छन् भने आरोप नारीमाथि लाग्न थालेको छ । तर कसैले सोचेको छ किन यस्तो भयो ?
आज श्रीमान्–श्रीमती दुवैलाई घरबाहिर गएर काम गर्ने बाध्यता छ । त्यसैले उनीहरू घरपरिवारसँग मात्र नभएर साथीभाइसँग पनि चाडबाडको रमाइलो आदानप्रदान गर्नु जरुरी छ । परिवार सानो हुँदै जानु र साथीभाइ धेरै हुनु सबैले महसुस गरेको तथ्य हो । त्यसैले चाडबाडहरू पनि परिवारको घेराबाट निस्केर साथीभाइमाझ पुगेका छन् । यसरी परिवारबाट निस्केर साथीभाइको बीचमा पुगेका चाडबाडहरूलाई आफ्ना साथीभाइहरूसँग मनाउन नपाउनु यो कस्तो विडम्वना ? किन महिलाहरूले सुन्दर पहिरनमा सजिएर रमाइलो गर्न नपाउने ?
हो, अधिकांश समाजमा धर्म, संस्कृति अनि संस्कार जोगाउने जिम्मा नारीको काँधमा बढी छ । तर, त्यसो भन्दैमा पुरुषले कुनै पनि कामको जिम्मा लिनु पर्दैन भन्ने होइन । आज हाम्रो समाजमा आमाले निराहार व्रत बसेर तीजको पूजा गरेको देखेका केटाकेटीले बुवाले सोही दिन बाहिर रेस्टुराँमा गएर खाएको पनि देखेकै हुनुपर्छ । जसले गर्दा उनीहरूले चाडबाड र चलनलाई हल्का रूपमा लिएका छन् । प्रायः सबै धर्ममा श्रीमान्–श्रीमतीले चोखो खाएर सँगै पूजाआजा गरे फलदायी हुने बताइन्छ । आमाबुवा दुवैले हरेक काम गरेमा आफ्ना सन्ततिले पनि त्यसको सिको गर्दै जान्छन् । त्यसैले हामीले पनि चाडबाड मनाउने तरिकामा केही परिमार्जन गर्नुपर्ने बेला आएको छ । चाडबाडलाई रमाइलोसँग मनाएर धर्म–संस्कृतिको जगेर्ना गर्नुपर्ने कर्तव्य नारीको मात्र नभएर पुरुषको पनि हो ।