सम्बन्धको कोमल धागो मनसित जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब सीधा प्रभाव मनमा पर्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं । जब यी आशा–अपेक्षा टुट्छन् तब पीडा हुन्छ । यस्तोमा हाम्रो अपेक्षा कति सही छ र कुन हदसम्म तिनको पूर्ति हुने आशा राख्नु उचित छ भन्ने कुरा बुझ्नु जरुरी छ । सम्बन्धको सामञ्जस्य र सन्तुलनका यिनै समीकरणलाई हामीले बुझ्ने प्रयास गर्नु आवश्यक छ ।
अलग–अलग लक्ष्य
कसैलाई मन पराउनुहुन्छ र ऊसित जीवन गुजार्न चाहनुहुन्छ र पनि आपसी मतभेद सिर्जना हुन्छ । त्यसो हुनुको कारण हो, तपाईंका लक्ष्य अलग–अलग छन् । दुवैले आफ्नो जीवनलाई लिएर केही सपना बुनेका छन् र तिनलाई पूरा गर्ने चाहना छ, तर लाग्छ कि दुवैका लक्ष्य एक–अर्काका बाधक बन्दैछन् । तपाईंमध्ये कोही पनि आफ्नो लक्ष्य बलिदान गर्न चाहँदैन, कारण दुवैलाई नै त्यो महत्त्व राख्छ । परिणामस्वरूप अलग हुनु, मन टुट्नु, सम्बन्ध रित्तिनु । दुवै आ–आफ्नो बाटोतर्फ अग्रसर हुन्छन्, लक्ष्य पनि प्राप्त गर्न पुग्छन् तर मन दुख्नुको घाउ–पीडा जीवनभर साथ रहन जान्छ ।
सम्बन्ध निर्वाह गर्न समय नहुनु
सम्बन्ध चाहे श्रीमान्–श्रीमतीको होस्, आमा–छोराको वा सासू–बुहारी वा मित्रताको, यसलाई कायम राख्न समय दिनु जरुरी हुन्छ । आज हाम्रो जीवनशैली यस्तो भैसकेको छ कि न त आफ्ना लागि समय छ न आफन्तजनका लागि । हामी सबै भागदौड गर्दैछौं र दौडमा हाम्रा सम्बन्धहरू पछाडि छुट्न पुगेका छन्।
अतीत हावी हुनु
अतीतको छायाले हामीलाई हाम्रो सम्बन्ध निर्वाह गर्नमा बाधा पुर्याउँछ । कुनै कुरा, कुनै घटना वा कसैको धोकाले सम्बन्धमा अगाडि बढ्नमा रोक्ने काम गर्छ । तीता अनुभवहरूबाट सिक्नुको साटो हामी तिनलाई निरन्तर स्मरण गर्छौं । हामीले त्यसबाट केही सिकेर सही विकल्प खोजी गरी सम्बन्धलाई जोड्दै राख्ने प्रयासमा जुट्नुपर्छ ।
स–साना कुराको प्रभाव
‘उसले यस्तो किन भन्यो वा किन गर्यो’, मात्र यही कुरामा सोचविचार गरी हामी प्राय: आफ्नो प्रेमपूर्ण सम्बन्धलाई दाउमा लगाउँछौं । ‘म त उसको यति धेरै सम्मान गर्छु, तर उसले सबका सामु मेरो बेइज्जत गर्यो.....’ कुरा नै सम्बन्धमा चिरा पार्नका लागि पर्याप्त छ ।
सदैव खुसी सम्भव छैन
सम्बन्ध चाहे त्यो प्रेमको होस्, रगतको वा मित्रताको । त्यसबाट अधिकतम गरिएको अपेक्षाले प्राय: त्यो टुट्नुको कारण बन्छ । सम्बन्धबाट सदैव खुसी नै प्राप्त हुन्छ हुनुपर्छ भन्ने मान्नु नै सबैभन्दा ठूलो गल्ती हुन्छ । त्यो सम्बन्ध खुसी कायम राख्नका लागि नै हुन्छ तर कहिलेकाहीँ आफ्नो दु:ख यति धेरै ठूलो हुन्छ कि व्यक्ति दोस्रो पक्षलाई खुसी दिन सक्षम हुँदैन । अपेक्षा राख्नुपर्छ, कारण हामी सबैजना आफ्नो सम्बन्धबाट केही न केही आशा राख्छौं तर यति धेरै होइन कि ती पूरा नहुँदा दु:ख महसुस होस् वा यसका कारण वर्षौं पुरानो सम्बन्धमा शंका उत्पन्न होस् वा मन दुखोस् ।
धोका
धोका कुरा लुकाएर, रूपैयाँ–पैसाको हेरफेर गरेर वा विवाहेतर सम्बन्ध बनाएर कुनै पनि तरिकाबाट दिन सकिन्छ । एकजनाले अर्कोलाई छल्छ भने त्यो सम्बन्ध कायम राख्नुको अर्थ आफूमाथि अन्याय गर्नु वा दुई अपरिचित व्यक्तिका रूपमा जीवन गुजार्नुहुन्छ । धोकाबाट नै अविश्वासले जन्म लिन्छ र त्यसपछि सम्बन्धको अर्थ रहँदैन । हिजोआज एक–अर्कालाई चिट गर्नु सामान्य भैसकेको छ, कारण सबैले सम्बन्धलाई गम्भीरतापूर्वक नभई क्याजुयली लिन थालेका छन्, त्यसैले सम्बन्ध र मन टुट्ने अवस्था बढ्दो छ ।
साथीभन्दा पैसा प्यारो
रूपैयाँ–पैसाको भोकले व्यक्तिको सोच्ने–बुझ्ने शक्ति गुमाउनुका साथै प्रेमको अर्थ पनि परिवर्तन गर्छ । जीवन पैसाबिना चल्दैन, प्रेमबाट पेट भरिँदैन । यो मान्यता हिजोआज सर्वसुलभ छ । मनी नै हनी बन्दो छ । जब पैसा यति धेरै महत्त्वपूर्ण बन्छ तब प्रेम र सम्बन्ध गौण हुन पुग्छ । त्यसपछि सम्बन्ध टुट्न समय लाग्दैन, कारण जसमा यो आधारित रहन्छ त्यही नै बदलिन्छ ।
घृणाको भावना
आफ्नो साथी, आफन्तजन, मित्र वा परिवारका सदस्यहरूप्रति अवज्ञा वा घृणाको भावनाले सम्बन्ध तोड्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तपाईंको घरमा कोही आउँदा वा तपाईंले कसैलाई भेट्दा उसलाई अभद्र व्यवहार गर्नुहुन्छ, उसको तिरस्कार गर्नुहुन्छ वा उसलाई ऊ गुणवान् छैन, नराम्रो छ, अज्ञानी छ आदि कुरा व्यक्त गरे पक्कै पनि उसलाई राम्रो लाग्दैन । आपसी सम्मान सम्बन्धको धरोहर हुन्छ । तपाईं यसलाई सँगालेर, सम्हालेर राख्नुहुन्न भने अरू तपाईंबाट टाढिन थाल्छन्, कारण आफ्नो अपमान गराउन कसैले चाहँदैन ।