Successfully Copied

सुगन्धित सजावट

अहिले बजारमा सुगन्धका लागि विभिन्न अत्याधुनिक सामग्री उपलब्ध छन् ।

आँखाले देख्दा राम्रो भएर मात्र मानिसको मन भरिँदैन । मानिसको मन छुन पाँचै इन्द्रियलाई प्रभावित तुल्याउनु आवश्यक छ अन्यथा पलाँसको सुन्दर फूल टाढाबाट हेरेर लोभिए पनि नजिक गएपछि वासनाको अभावमा पैदा हुने नमीठो भावनाजस्तो हुन्छ । मृगले आफ्नै कस्तूरीको वासना खोज्दै भौंतारिएको कथनले पनि वासनाको महत्व दर्साउँछ । पौराणिक कालमा पनि धूप, दीप एवं नैवेद्यको वासनाले सबैलाई मन्त्रमुग्ध तुल्याउने उपाय अपनाइँदै आएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । 

समृद्ध एवं सम्भ्रान्तहरू मात्र होइन सामान्य मानिसहरू पनि बिहान–बेलुका धूप बाली घरै मगमग बनाउँछन् ।

अझ पर्वका अवसरमा घरलाई सुगन्धित पार्ने काम बढी नै हुन्छ । धूप, मैनबत्तीलगायतका सामग्रीलाई अहिले विभिन्न फ्लेबरका इसेन्स मिसाई बढी सुगन्ध आउने बनाइएको छ । त्यसैगरी धूपी, बाटेको धूप, सिन्के धूप, विभिन्न ड्राइ फ्लावर आदि बालेर पनि घरलाई सुगन्धित बनाइन्छ । हिजोआज सुगन्धलाई पनि घर सजावटको एक अङ्ग मानिन्छ । बालुवाटारकी सुमी विष्ट सजावटले सम्पन्न घरबाट कुनै सुगन्ध आएन भने त्यसलाई पूर्ण मान्दिनन् । विष्ट भन्छिन्–आन्तरिक तथा बाह्य सजावटले भरिपूर्ण घरबाट सुगन्ध नआउनु भनेको देख्दा राम्रो अनि मीठो तर नुन नहालेको तरकारीसरह हुन्छ । सुमी आफ्नो घरलाई वासनादार बनाउन कहिले माटाको धुपौरोमा कोइला हाली धूपी बाल्छिन् त कहिले विभिन्न फ्लेबरका सिन्के धूप तथा क्यान्डल सल्काउँछिन् । 

अहिले बजारमा सुगन्धका लागि विभिन्न अत्याधुनिक सामग्री उपलब्ध छन् । रुम तथा इयर फ्रेसनर, कपूर, मैनबत्ती, फरक–फरक वासना छर्ने धूप, पृथक् शैलीका इसेन्स आयलहरूले घरलाई सुगन्धित बनाउने मात्र होइन कीरा–फट्यांग्रा, साङ्ला, छेपारा, माउसुली आदिलाई घरभित्र छिर्न पनि दिँदैनन् । यस्ता सामग्रीको सुगन्धले घरको वातावरण स्वच्छ हुनुका साथै त्यसले आगन्तुकहरूलाई समेत खुसी तुल्याउँछ । बौद्धकी निमा लाक्पा शेर्पा भन्छिन्–अरूकहाँ विशेषत: चाडबाडका बेला मात्र घरलाई सुगन्धित पार्ने काम हुन्छ तर हामीकहाँ सधैं घरबाट वासनादार हावा बाहिरिइरहन्छ । हामी बौद्ध धर्मावलम्बीहरू पूजापाठ गर्नुभन्दा धूप बालेर चोखो पानी छर्कन्छौं । मीठो वासनाबाट भगवान् पनि मोहित हुन्छन् भन्ने हाम्रो विश्वास छ ।’ 

 Image