दैवज्ञ ज्योतिष रतिदेवी जोशी श्रेष्ठ, अध्यक्ष, राष्ट्रिय महिला ज्योतिष संघ
हामीले जति पनि चाडपर्व मनाउँदै आएका छौं ती सबै ‘वर्ष कृत्य दीपक’ जस्ता शास्त्रसम्मत ग्रन्थहरूबाट निर्देशित छन् । तीजको विषयमा वर्ष कृत्य दीपकले भाद्र शुक्ल पक्ष तृतीयाका दिन गौरीपूजा गर्नु भनेको छ । यो दिन पूजा गर्दा गणयोग श्रीमहादेव खुसी भएर भक्तजनलाई चिताएको वर प्रदान गर्ने कुरा उल्लेख छ । भाद्र शुक्ल पक्ष द्वितीयासहितको तृतीया परे विधवा भए व्रत बस्नु नपर्ने हुन्छ । त्यस्तै चतुर्थीसहितको तृतीया भए स्त्री जाति विधवा नहुनुका साथै पुत्रपौत्रादिले युक्त हुन्छन् भन्ने भनाइ छ तसर्थ तीजको व्रतलाई अति उत्तम मानिन्छ ।
कुनै पनि व्रत दम्पती मिलेर लिनु उत्तम हुने कुरा पनि शास्त्रमा उल्लेख छ । अत: यो व्रत दुवैले मिलेर लिए दीर्घायु भएर लामो समयसम्म दाम्पत्य सुख प्राप्त गर्न सकिन्छ । तीज, गणेश चतुर्थी तथा ऋषिपञ्चमी तीन दिन मनाइने पर्व भएकाले यसलाई तीज भनिएको हो । हिमालय पुत्री गौरी (पार्वती) को विवाहका सम्बन्धमा श्रीहरि पटक–पटक सामेल भएर श्रीमहादेवसँग विवाह सम्पन्न भएको हुँदा यो पर्वलाई हरितालिका पनि भनिन्छ । पार्वती आमाबुवालाई समेत सहमत गराई आफ्नो इच्छाअनुसार श्रीमहादेवसँग विवाह गर्न सफल भएकीले यो पर्व महिलाको स्वतन्त्रताको पर्वका रूपमा प्रचलित छ । पार्वतीले श्रीमहादेव वर पाऊँ भनी कठोर व्रत बसेको कुरा स्मरण गर्दै यो पर्वमा महिलाको स्वतन्त्रता, कर्तव्यनिष्ठा अनि समर्पणजस्ता कुरालाई आत्मसात् गर्नुपर्छ ।
बेला न कुबेला बजि नयेला भन्ने उखान हाम्रो समाजमा नयाँ होइन । समाजमा कुनै किसिमको विसंगति नआओस् भन्ने हेतुले यस्तो उखान प्रचलनमा आएको हो । आज तीजको विषयमा पनि कहिँ–कतै यस्तै भएको छ । तीजको व्रत निराहार बस्नुपर्ने वर्ष कृत्य दीपकमा उल्लेख छ तर दर खानुपर्ने कुरा कतै उल्लेख छैन । व्रतमा निराहार बस्नुपर्ने भएकाले मात्र अघिल्लो दिन दरो ( भोलिपल्टसम्म पुग्ने गरी मीठो–चोखो) खाने चलन चलेको हो । आज महिनौंअघिदेखि दर खाने चलन छ । घरपरिवारभित्र मात्र होइन यो सर्वत्र फैलिएको छ । जुन सामाजिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक कुनै पनि दृष्टिले उचित होइन । प्रत्येक दर खाएको भोलिपल्ट व्रत चाहिँ बस्नु नपर्ने, दर मात्र किन खाने ? यो अस्वाभाविक भएन र ?
तीजको व्रतको एक दिनअघि दर खाने चलन पुरानो हो । भोलिपल्ट व्रतका दिन शरीरलाई असर नपरोस् भनेर अघिल्लो मध्यरातमा खाने चलन पुरानो भए पनि यस विषयमा केही जानकारी हुनु आवश्यक छ । प्रत्येक आजसँग गते, बार सम्मिलित हुन्छ । प्रत्येक गते रातको १२ बजेपछि फेरिन्छ भने बार त्यही दिनको सूर्योदयसँगै बदलिन्छ अर्थात् १ गतेबाट २ गते हुन रातको १२ बज्नुपर्छ भने आइतबारबाट सोमबार हुनुले बिहानको सूर्योदयसँग सरोकार राख्छ । अत: प्रत्येक दिन गते र बारको मिश्रणबाट बनेको हुँदा दर खाने समय रातको १२ बजे उप्रान्त बन्द गर्दा शास्त्रसम्मत हुन्छ ।
तीन दिन मनाइने तीजमा पहिलो दिन दर खाने, हरितालिका र ऋषिपञ्चमी ब्राह्मण, क्षेत्रीहरूका लागि विशेष छ भने गणेश चर्तुथीका दिन नेवारहरूले चथा पर्व मनाउँछन् । ब्राह्मण–क्षेत्रीले तीजलाई निक्कै खुसीका साथ मनाए पनि चतुर्थीमा पर्ने चथा पर्वका दिन मीठो भोज खाए दसैं पनि राम्रोसँग मनाउन पाइन्छ भन्ने नेवारहरूमा विश्वास छ ।