Successfully Copied

लैङ्गिक विभेदका विरोधाभासहरू

लैङ्गिक हिसाबले महिला भेदभाव एवं हिंसाका विरुद्ध विश्वस्तरमा आवाज उठ्न थालेको अठारौं शताब्दीदेखि हो ।

लैङ्गिक हिसाबले महिला भेदभाव एवं हिंसाका विरुद्ध विश्वस्तरमा आवाज उठ्न थालेको अठारौं शताब्दीदेखि हो । त्यसभन्दा सयौं वर्षअघिदेखि महिलाहरू शोषण, अन्याय र अत्याचारबाट पीडित हुँदै आएका थिए । अझ भन्ने हो भने जंगली फिरन्ते युगको समाप्तिपछि जब मानिसहरू एउटा निश्चित परिवेशभित्र परिवारसहित स्थायी बसोबासमा लागे त्यतिबेलैदेखि पुरुषहरू परिवारको मालिक बने । त्यहीँबाट महिलामाथि भेदभाव प्रारम्भ भयो तर आफूले भोगेका असमानता र ज्यादतीहरू अमानवीय हुन् र तिनको विरोध गर्नुपर्छ भन्ने चेत नभएकै कारण त्यतिबेलाका महिलाहरूले स्त्रीधर्मकै रूपमा त्यस्ता कर्मलाई चुपचाप आत्मसात् गरिरहे । समय क्रमशः फेरिँदै गयो । नेपालको सन्दर्भमा समाज विकासको क्रमसँगै शिक्षा र चेतनाको घेरा पनि फैलन थाल्यो । फलस्वरूप शिक्षामा थोरै संख्यामा भए पनि महिलाहरूले आफ्नो पहुँच बिस्तार गर्न सके । यो क्रम निरन्तर बढ्दै गयो । शिक्षाले चेतनाको पाटो उघार्दै लग्यो र त्यही चेतनाले महिलाहरूलाई आफ्नो स्थान र हैसियतका बारेमा विश्लेषण गर्न सक्ने बनायो । मानव मर्यादाको हिसाबले महिला-पुरुष समान हुने भए पनि समाजले स्वीकार गरेको पितृसत्तात्मक सोच र व्यवहारले पुरुषहरूको तुलनामा आफू र आफ्नो समुदाय हेपिएको, थिचिएको निचोड निकाल्न चेतनशील महिला सक्षम हुँदै गए । त्यससँगै समाजमा महिलामाथि अन्याय एवं भेदभाव छ र त्यसलाई कम गर्दै लानुपर्छ भन्ने सन्देश फैलाउन कतिपय विवेकशील पुरुषको पनि महत्वपूर्ण भूमिका रहादै आयो ।

समयको गतिसँगै समानतामूलक समाज निर्माणको बृहत् अभियानमा त्यस्ता महिला, पुरुषहरूको आवाज र कदम एउटै बिन्दुमा समाहित भएर अघि बढ्न थाल्यो । जनसंख्याको आधा भाग ओगट्ने महिलाहरूको स्तरोन्नति नभई समग्र देशको विकास सम्भव छैन भन्ने कुरामा राजनीतिक दल एवं सरकार संचालकहरू पनि एकमत भए, फलस्वरूप महिला शक्तिलाई अग्रदिशातर्फ उन्मुख गराउन उनीहरूको पनि सहयोग जुट्न थाल्यो । यसरी सबैको चासो र प्रयत्नका कारण लैङ्गकि समानताको दिशामा सकारात्मक एवं प्रभावकारी परिणाम हासिल हुँदै गयो । सदियौं अघिदेखि शिक्षा, चेतना, प्रोत्साहन, अवसर आदिबाट खुम्च्याइएका महिलाहरूलाई समान गतिमा हिँडाउन विशेष प्राथमिकताका उपायहरू पनि अवलम्वन नगरी नहुने स्थिति देखियो । त्यसका लागि अहिले सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन आरक्षणको व्यवस्था, शिक्षामा प्रोत्साहनका कार्यक्रम, विशेष प्रावधानसहित कानुनमा समयानुकूल परिमार्जन, लैङ्गकि हिंसा अन्त्य गर्ने कानुनको निर्माण, समानताको संस्कृति अभिवृद्धि गर्ने सरकारी कार्यक्रमहरू, सकारात्मक विभेदको नीति आदि उपायहरूद्वारा पछाडि पारिएका महिलाहरूलाई पुरुषकै समान गतिमा हिँडाउने प्रयास भैरहेको छ । यी विभिन्न प्रक्रियाले विगतको तुलनामा लैङ्गकि विषमताका खाडल पुरिँदै गएका छन् तर पनि पूर्णरूपमा लैङ्गकि समतामूलक समाज बन्ने क्रममा अझ थुप्रै चुनौती एवं व्यवधान बााकी नै छन् । पुरुषवर्गको तुलनामा नेपाली महिला समुदाय असमान त छ नै, महिला समुदायभित्रका सबै महिलाको हैसियत एक समान छैन । अधिकार र शक्तिको उपभोगको हिसाबले कतिपय महिला आमनेपाली पुरुषहरूभन्दा धेरै माथि छन् भने महिला जगत्को ठूलो हिस्सा अझै पनि दासकालीन नियति भोग्न बाध्य छ । हाम्रो परिवेशमा पुरुषसँग कााधमा कााध मिलाएर सरकार संचालन गर्ने, नीति निर्माण गर्ने तहमा पुगेका महिलादेखि अझै पनि छाउपडीमा पशुतुल्य जीवनलाई स्वीकार गर्ने महिलाहरूबीचको फरकपन सजिलै देख्न सकिन्छ ।

बहुसंख्यक पुरुषको तुलनामा माथिल्लो ओहदामा पुगेका महिलाहरूको शान र रवाफ उत्कृष्ट देखिने भए पनि समान तहमा रहेका पुरुषहरूको तुलनामा महिलाहरू खुम्चिएरै बसेका हुन्छन् । त्यसैले हरेक समान तहका महिला र पुरुषहरूको अवस्था विश्लेषण गर्दा प्रत्येक तह र परिवेशमा महिलाहरू सबै कुराले पुरुषभन्दा पछाडि नै देखिन्छन् । यद्यपि यो विश्लेषणतर्फ नलागी 'महिलाहरूलाई संरक्षण र अवसर चाहिनेभन्दा बढी नै भैसक्यो, उनीहरूका पक्षमा बनेका कानुनले पुरुषहरू पीडित हुन थालेका छन्, महिलाहरू अटेरी र दम्भी भैसके, त्यसैले अब महिलाका आरक्षण र विशेषाधिकार कटौती गरेर पुरुषवर्गप्रति लक्षित गर्नुपर्‍यो' भन्ने खालका टिप्पणी पनि सुनिन थालेको छ ।

यसरी समग्र महिला वर्गलाई नै गलत देख्ने गरी कतिपय पुरुषबाट यस्ता टिप्पणी आउनुका पनि कारण छन् । कानुनले दिएको विशेषाधिकारको कतिपय महिलाबाट दुरूपयोग हुादा पुरुषहरू सााच्चै पीडित भएको दृष्टान्त एकातिर छ भने अर्कातिर पुरुषकै कारण परिवारमा विखण्डन आएको र त्यसको कारक तत्व महिलालाई मानी विश्लेषण गर्ने आम सामाजिक परिपाटी छ । त्यसैगरी कमाइका लागि विदेश गएका पुरुषले आफ्नो दुःखको आम्दानी छोराछोरीको राम्रो पढाइ लेखाइ, घरघडेरीको उचित प्रबन्ध, गार्‍होसार्‍होमा बचतजस्ता सपना सााचेर पठाउाछन् । परिवारप्रतिको कर्तव्य निर्वाहमा उनीहरूले आफ्ना सारा दुःखसमेत बिर्सिएका हुन्छन् तर तीमध्ये कतिपयले साँचेको सपना महिलाको गलत कदमले चकनाचुर पारिदिएको पनि बेलाबेलामा सार्वजनिक हुने गरेको छ । यस्ता घटनाबाट पीडित हुने पुरुषहरूको दर्द र बर्बादीलाई कम आाक्न मिल्दैन यद्यपि संख्यामा गन्न सकिने महिलाबाट भएका यस्ता गलत कदमका कारण समग्र महिला जगत्माथि नै कलंक लगाइनु सुहाउने कुरा हुन सक्दैन । हरेक मानिसको व्यक्तिगत प्रवृत्ति फरक-फरक हुन्छ, महिला भएकै आधारमा उनको सबै प्रवृत्ति असल हुन्छ भन्न नसकिएझैं पुरुष भएकै आधारमा कसैको सबै प्रवृत्ति खराब नै हुने जिकिर पनि गर्न सकिँदैन । यद्यपि अहिले महिलाका कारण पीडा खेपिरहेका कतिपय पुरुषको दृष्टान्त पेस गरेर समग्र महिलाप्रति नकारात्मक धारणा बनाउने मानिसहरूको संख्या बढ्दै गएको छ । त्यसैले त्यस्तो खालको पीडा खेप्ने पुरुष तथा त्यस वरपरका मानिसहरू महिलाहरू पीडित छन् भन्ने कुरा सुन्नसमेत चाहँदैनन् । उनीहरूको बुझाइमा लैङ्गकि विभेदअन्तर्गत अब महिलाद्वारा पुरुषहरू पीडित भएको चर्चा हुनुपर्छ, महिलाको पीडाबाट पुरुषलाई मुक्त गर्न कानुन परिमार्जन हुनुपर्छ भन्ने हुन्छ ।

अहिलेका महिलाहरू आत्मनिर्भर एवं स्वावलम्वी छन् । तथापि महिलाहरू जति आत्मनिर्भर र सशक्त भए पनि आफ्नो नाजायज नियन्त्रण र बन्धनबाट कहिल्यै उन्मुक्त हुनुहुँदैन भन्ने पुरुष मानसिकता अझ हटेको छैन । अझ जस्तोसुकै हिंसात्मक अवस्था भए पनि श्रीमती भएका आधारमा चुपचाप सहेर बस्नुपर्छ भन्ने परिपाटीबाट शिक्षित भनिएकै व्यक्तिसमेत ग्रसित भएको देखिँदै आएको छ । यस्तो स्थितिमा त्यो पारिवारिक संरचनाबाट आफूलाई अलग नगरी बााच्न नसक्ने बाध्यात्मक अवस्थामा कतिपय महिला हुन्छन् तर समाजले उनको बाध्यताप्रति आाखा चिम्लन्छ अनि उनको आत्मनिर्भर र स्वावलम्वी स्थितिलाई मात्र दोषी देख्छ । यसैलाई आधार बनाएर समेत महिलाबाट पुरुष पीडितको सन्देश प्रवाह गरिन्छ । चाहे सन्दर्भ पुरुषको होस् वा महिलाको कतिपय अनपेक्षित घटनाले समाजमा नयाँ तरंग ल्याइदिन्छ तर त्यस्ता एकाध घटनालाई अपवादकै रूपमा बुझ्नुपर्छ । केही छिटफुट घटनामा महिलाका कमी-कमजोरी देखिए भन्दैमा सदियौंदेखि उनीहरूले भोग्दै आएको विभेदको अन्त्यका लागि भैरहेको प्रयास रोक्नुहुँदैन । समाजको पूर्ण विकासका लागि महिला र पुरुष दुवैको गति समान हुनुपर्छ । यनीहरूबीच प्रतिद्वन्द्वीको भावना भन्दा परस्पर सहयोगी भावनाले लैङ्गकि समानताको गन्तव्यलाई सुनिश्चित बनाउँछ ।

- उषा थपलिया

 Image