Successfully Copied

बच्नुपर्छ है !

सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूको मासिक रुटिन सोध्ने हो भने कम्तीमा पनि महिनामा दुई पटक ब्युटिपार्लर जाने उत्तर आउला।

सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूको मासिक रुटिन सोध्ने हो भने कम्तीमा पनि महिनामा दुई पटक ब्युटिपार्लर जाने उत्तर आउला। त्यस हिसाबले महिलाहरू सामान्यतया वर्षका १२ महिनामा २४ पल्ट ब्युटिपार्लर जान्छन्। अरू केही नगर्नेहरू पनि 'थ्रेडिङ' का लागि पार्लर जाने चलन छ। ब्युटिपार्लर जानुको एक मात्र कारण के हो भने हामी बाहिरी सरसफाइ र सुन्दरतामा सचेत छौं।

अब प्रश्न उठ्छ, हामी आफ्नो आन्तरिक शारीरिक स्वस्थताका लागि के गर्छौं त ? आफ्नै परिवारभित्रको एउटा स्वास्थ्यसम्बन्धी घटनाले झस्काएर यसप्रति मेरो ध्यान तानिएको हो। पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) का सम्बन्धमा नसुनेको-नजानेको त होइन, तर यो थाहै नपाई भित्रभित्रै कसरी बढिरहेको हुँदो रहेछ भन्ने एउटा नराम्रो उदाहरण हाम्रासामु आइदियो। म यो विषयको विज्ञ त के खासै ठूलो जानकार पनि होइन, तर एकजना आफन्तलाई अचानक समस्या परेपछि यही विषयमा चर्चा गर्न मन लाग्यो।

मेरी ती आफन्तलाई सेतो पानी बग्नेबाहेक अरू कुनै समस्या थिएन। अरू कसैको स्वास्थ्य जाँच गर्दा उनले आफ्नो त्यो समस्या पनि 'यसो देखाइहालौं न त' भनेर डाक्टरको सल्लाह लिन खोज्दा उनलाई क्यान्सर भैसकेको थाहा भयो। तीनजना हुर्किसकेका सन्तानकी आमा र दुईटा नाति-नातिनाकी हजुरआमाले आफ्नो शरीरभित्र के भैरहेको छ भन्ने कुराको रत्तिभर संकेत पाएकी थिइनन्। कारण, बाहिर महसुस हुने गरी केही भएकै थिएन।

केहीअघि चर्चित अभिनेतृ मनीषा कोइरालालाई पनि यस्तै समस्या हुँदा तपाईं-हामी थुप्रै झस्किएका थियौं। पछि उनले दिएका अन्तर्वार्ता र अभिव्यक्तिहरू पढ्दा-सुन्दा उनले पनि आफ्नो शरीरभित्र के भैरहेको छ भन्ने पत्तै नपाएको नै भान हुन्थ्यो। उनलाई पेट गडबढ भैरहने जस्तो हामीलाई सामान्य लाग्ने समस्या मात्र थियो रे। तर पछि पत्ता लाग्यो-उनको शरीरभित्र क्यान्सरले जरा गाडिसकेको रहेछ।

मनीषा कोइरालाको स्वास्थ्य समस्या खुलासा भएको केही समयपछि मैले बीबीसीका लागि डाक्टर सरिता घिमिरेसँग पाठेघरको मुखको क्यान्सरका सम्बन्धमा जिज्ञासामूलक अन्तर्वार्ता लिएकी थिएँ। त्यस क्रममा उनले दिएको जानकारी थियो, 'देशका मुख्य-मुख्य सातवटा अस्पतालमा गरिएको एक अध्ययनअनुसार नेपालका महिलाहरूलाई हुने क्यान्सरमा पाठेघरको क्यान्सर एक नम्बरमा पर्छ। अझ सबै मानिसमा हुने क्यान्सरमा पनि एक नम्बरमा कहिले फोक्सोको क्यान्सर त कहिले पाठेघरको क्यान्सर हुन्छ।'

भन्नुको तात्पर्य पाठेघरको मुखको क्यान्सरले नजानिँदो रूपमा हाम्रो समाजमा दह्रो जरा गाडिसकेको छ। वास्तवमा यसले एउटा भाइरसका रूपमा हाम्रो शरीरमा देखा परेपछि क्यान्सरको रूप लिँदो रहेछ। त्यो भाइरसले क्यान्सरकै रूप लिन वर्षौं पनि लाग्न सक्दो रहेछ। त्यसैले यदि उक्त भाइरसका सम्बन्धमा बेलैमा जानकारी भए क्यान्सरबाट जोगिन सकिने रहेछ र त्यसका लागि नियमित जाँच नै उत्तम विकल्प रहेको डा. घिमिरेले बताइन्। उनले यसका लागि स्त्रीरोग विशेषज्ञकहाँ गएर वर्षको एकपल्ट एउटा साधारण जाँच, जसलाई 'प्यापस्मेयर टेस्ट' भनिन्छ, मात्र गरे पुग्ने बताइन्। त्यो पनि तीनपटक लगातार 'नेगेटिभ' आए तीन वर्षमा एकपटक मात्र गरे हुने रहेछ।

वर्षमा एकपटक डाक्टरबाट जँचाउनेबाहेक हामीले आफ्नो शरीरमा भएका विशेष खालका परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्ने रहेछ। आफूलाई आफ्नो शरीर कस्तो महसुस हुन्थ्यो र अहिले कस्तो हुन्छ भन्ने कुराको ख्याल गरिराख्नुपर्दो रहेछ। उही खानपिन र उही किसिमको दिनचर्यामा पनि हामीलाई सामान्यभन्दा फरक महसुस हुन थालेको छ भने पनि कतै कहीं गडबड त छैन भनेर ध्यान पुर्‍याइहाल्नुपर्दो रहेछ।

माथि उदाहरणमा उल्लेख गरिएकी मेरी आफन्तले लामो समय सेतो पानी बग्नुलाई 'खासै समस्या' नमानेकाले गम्भीर उपचारमै जानुपर्ने स्थिति आइपर्‍यो। गाइनोकोलोजिस्ट मिरा हाडाले उनलाई जाँच्नेबित्तिकै भनेको पहिलो वाक्य नै 'अहिलेसम्म किन हेलचक्र्याइँ गरेको' भन्ने थियो।

निष्कर्ष के भने पाठेघरको मुखको क्यान्सर (र अरू थुप्रै क्यान्सरको पनि) का लक्षणहरू अस्पष्ट हुने हुँदा नियमित जाँच र त्यसबाट बच्ने उपायहरूलाई आफ्नो जीवनशैलीमा अपनाउनु अपरिहार्य छ। डाक्टर हाडाले पनि नियमित स्वास्थ्य जाँचमै जोड दिने गरेकी छिन्।

 Image