Successfully Copied

प्रतिभाशाली दिदीबहिनी

गायिका, मोडल तथा कलाकार नवश्रीको ‘हर नाद’ गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ ।

गायिका, मोडल तथा कलाकार नवश्रीको ‘हर नाद’ गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ । उनको सुमधुर स्वर र गजब अभिनय यसमा देख्न र श्रवण गर्न सकिन्छ । गितार र पियानो बजाउन अब्बल उनले १३ वर्षको उमेरदेखि नै ‘वेस्टर्न भोकल’ र ‘इस्टर्न क्लासिकल म्युजिक’ सिकेकी हुन् । उनी त्यही उमेरदेखि स्कुललगायत विभिन्न कार्यक्रममा प्रस्तुति दिँदै कलाकारितामा आफ्नो परिपक्वता कायम गर्न सफल भइन् । भन्छिन्, ‘काठमाडौंबाट विद्यालय र ए–लेभेलको शिक्षा सकी अमेरिका पुगेपछि म म्युजिकतर्फ झनै तानिएँ । युनिभर्सिटी अफ भर्जिनियामा मिडिया स्टडिजमा ब्याचलर गर्दै गर्दा पुनः म्युजिक क्लासमा भर्ना भएँ । यसरी मैले संगीतमा आफूलाई अझै निखार्ने मौका पाएँ ।’ उनी नवश्री संगीतबाहेक नृत्य, अभिनय, स्क्रिप्ट राइटिङ र बास्केट बलमा पनि अब्बल छिन् । उनले भर्जिनियाको लाइभ आर्टस थिएटरमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । त्यसबाहेक उनी कलेज पढ्दा ताका ‘मेरी वेदर लेविस फेलोसीप’ का लागि हजारौंमध्ये २५ जनाभित्र परिन्, त्यहाँ उनले आफ्नो अतिरिक्त क्षमता देखाउने मौका पाइन् । नेपाली, अंग्रेजी, हिन्दी, स्पेनिस तथा फारसी भाषामा दख्खल राख्ने नवश्री उत्सुक पाठकसमेत हुन् । उनलाई विलियम डेलरिम्पल जस्ता विशेष क्षमता बोकेका लेखकका पुस्तक पढ्न रुचि छ । हाल उनी स्नातकोत्तरको तयारीमा छिन् । ‘जति जे गरे पनि मेरो पहिलो प्राथमिकता पढाइ नै हो । शिक्षाले मैले गरेका हरेक कामलाई मूर्तरूप दिन र सफलता हात पार्न बलियो भूमिका खेल्ने तथ्य मैले बुझेकी छु’ उनले भनिन् । स्वस्थ र पौष्टिक आहारयुक्त खाना बनाउनमा रुचि राख्ने उनको अध्यात्मतर्फ उस्तै रुचि छ । उनी दैनिक योग छुटाउँदिनन् । गायन र अभिनय क्षेत्र, जीवन यात्रा र युवापुस्ताबारे नवश्रीसँग गरिएको संवादको सम्पादित अंश :

नवश्रीको धारणा

तपाईंको जीवन यात्रा कस्तो चल्दैछ ?

खुसी र रमाइलोसँग जीवन यात्रा चलिरहेको छ । 

युवा पुस्ताका लागि के–कस्ता करियर चुनौती छन् ?

पछिल्लो समय जे कुरा पनि तत्काल प्राप्त गर्नुपर्ने ‘हसल कल्चर’ छ । यसले करियरमा निकै कठिन अवस्था सिर्जना गरिदिएको छ । प्रतिस्पर्धा धेरै छ । मेरो क्षेत्रको कुरा गर्नुपर्दा कलाकार हुन झनै गाह्रो छ । मेरा लागि सबैभन्दा ठूलो चुनौती यस धार भन्दा अलग भै आफ्नो लक्ष्यतिर केही ठोस प्रस्तुत गर्दै अगाडि बढ्नु रहेको छ । तर म मेरो प्रयासप्रति विस्वत छु । साँच्चै नै कलाका साधकहरूलाइ अहिलेको माहोल सहज छैन । तर कलाका साधकहरूको अहिले एकदमै खाँचो छ । मेरो परिवारको साथ–सहयोगले मलाई यस क्षेत्रमा सहज भएको छ । 

नेपाली परिवेशमा युवा पुस्ताले लक्ष्य हासिल गर्न के गर्नुपर्ला ?

आफ्नो ‘प्यासन’ र आफूभित्रको क्षमता पहिचान गरीनिरन्तरता दिन सकियो भने लक्ष्य हासिल गर्न गाह्रो छैन । 

आफूमा भएको कुन प्रतिभाले तपाईंलाई फरक शैलीमा स्थापित हुँदैछु भन्ने लाग्छ ?

म गोपाल योञ्जनकी नातिनी भएकीले परिवारभित्रै संगीतको विरासत छ । यसलाई मैले निरन्तरता दिएकी हुँ । म भित्रको सकारात्मक सोच र कुनै पनि काम गर्न सक्छु भन्ने हिम्मतले मलाई स्थापित गराउँदैछ भन्ने लाग्छ । 

गाउन सजिलो कि अभिनय गर्न ?

म गायनमा आनन्द महसुस गर्छु । 

गायन र अभिनयबाहेक अन्य रुचिहरू के छन् ?

गायन त मेरो ‘प्यासन’ नै भइहाल्यो त्यसबाहेक मलाई अभिनय गर्न, चलचित्रमा काम गर्न, पढ्न, यात्रा गर्न मन पर्छ । 

तिहारमा दाजुभाइ नै चाहिन्छ भन्ने मान्यता र परम्पराबारे तपाईंको धारणा के छ ?

म दाजुभाइको संगतमा हुर्किएकी केटी होइन र मलाई त्यो अनुभव पनि छैन । हामी तीन दिदीबहिनी धेरै वर्ष यतादेखि तिहारमा ‘बहिनी टीका’ गर्दै आएका छौं । मलाई लाग्दैन कि खुसी वा उत्सव र भाइटीका मनाउन दाजुभाइ नै चाहिन्छ । अपनत्व र भातृत्व आफ्नाबीच बढाउन सक्नुपर्छ । भाइटिकाको मूल मर्म, एक अर्कालाइ माया गर्नु, साथ दिनु, रक्षा गर्नु हो । जुन हामी दिदीबहिनीले नै निभाउन सक्छौ । यसका लागि महिला–पुरुष वा लैंगिक रूपले छुट्याउनैपर्छ भन्ने लाग्दैन । 

तिहारको सप्तरंगलाई जीवनसँग कसरी जोडेर हेर्नुहुन्छ ?

जीवन रंगीन छ । यसभित्र विभिन्न रंग छन् । आफ्ना हरेक इच्छालाई उजागर गर्दै त्यसलाई सेलिब्रेट गर्नुपर्छ । सप्तरंगी टिकाले दिने अर्थ जस्तै, आकाश झैं ठूलो मनको र उदार हुनु, रातो रंग् जस्तै वीर र स्वाभिमानी हुनु, सेतो रंग जस्तै निश्चल र निष्कपट हुनु, पहेलो जस्तै सकारात्मक सोच राख्नु आदि म यी रंगहरूमा बुझछु ।

नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?

काममा दृढ भएर लागिराख्नु नै गन्तव्यसम्म पुग्ने बाटो तय गर्नु हो । हामी युवाहरू अन्तरमुखी बनी स्थिर हुन प्रयास गर्नुपर्छ । त्यस्तो अवस्थामा आफ्नो खुबी र रुचि खोज्दै आफनो लक्ष्य प्राप्तिका लागि धैर्य धारण गरि सही ढंगले अघि बड्न सक्नुपर्छ ।

पाठकका लागि कस्तो सन्देश दिन चाहनुहुन्छ ?

हामी जस्ता युवाको कामलाई हेरेर प्रेरणा र हौसला दिनुहोस् भन्न चाहन्छु । भातृत्वको पर्व तिहारको सबैलाई शुभकामना । 

सर्वश्रीका सिंह

सिनेम्याटोग्राफीमा खासै महिला जान खोज्दैनन्, कारण यो पेशामा बल चाहिन्छ त्यसैले हुनसक्छ यो क्षेत्रमा अहिलेसम्म पुरुषकै हालीमुहाली छ । भर्खरै ११ कक्षा सकेर १२ पढ्दै गरेकी सर्वश्रीका सिंह त्यो चुनौती मोल्न तयार किशोरी हुन् जसले आफुलाई कलिलै उमेरमा कुशल सिनेम्याटोग्राफर सावित गरिसकेकी छिन् । ‘हर नाद’ भिडियोमा उनको कार्यदक्षता देख्न पाइन्छ । अमेरिकाको भर्जिनियास्थित कम्युनिटी ल्याब चार्टर आइबी स्कुलमा डिप्लोमा गर्दै गरेकी उनी उक्त स्कुलकै अब्बल विद्यार्थीमा गनिन्छिन् । स्कुलबाट बिभिन्न समयमा फरक बिषयमा कार्यक्रममा प्रतिनिधित्व गर्नुपर्ने हुन्छ त्यतिबेला उनैलाई नै छानिन्छ ।

मिडिल स्कुल हुँदा उनलाई इञ्जिनियरिङमा ठुलो रुची थियो । तर पछि उनको फोटो तथा सिनेम्याटोग्राफी, ग्राफिक्स डिजाइन, एनिमेशन र इडिटिङ तर्फ रुची बढ्दै जान थाल्यो । समर ब्रेकको २ हप्ते समर क्याम्पमा उनी लगायत अन्य २ जना साथी मिलेर निर्माण गरेको सर्ट हरर फिल्म ‘फर्गो–मुरहेड किड्स फेन्टास्टिक फिल्म फेस्टिबल’ मा चयन भएको छ । फुटबलको समेत बेस्ट गोलकिपर उनी स्क्वास खेल्न र उपन्यास पढ्न रुचाउँछिन् । ‘म अमेरिका बसेपनि नेपाली पुस्तक र उपन्यासहरू खोजी खोजी पढ्छु । मलाई आफ्नो भाषा, संस्कृति र परम्पराको सम्बर्द्धन र प्रबर्द्धनमा ठुलो चाख छ ।’ १७ वर्षिया भर्सटायल किशोरी भन्छिन्–‘त्यसबाहेक मलाई मनपर्ने भनेको बेकिङ हो । म मेरो घरपरिवार र साथीभाइको जन्मदिनमा खुब मेहनतका साथ किसिम–किसिमका केक बनाउँछु । त्यसबाहेक मलाई गाउन र नाच्न तथा सिलाइ–कटाइमा पनि रुची छ । म हलोइनका लागि फेन्सी ड्रेसहरू पनि आफैं तयार पार्छु ।’ सुरिलो लय निकालेर सारङगी बजाउने सर्वश्रीका लाई चुनौती सामना गर्न असाध्यै रमाइलो लाग्छ । बिना चुनौतीका कामहरू खल्लो लाग्ने उनी बताउँछिन् । 

सर्वश्रीकासँग संवाद

सिनेम्याटोग्राफीमा कसरी रुचि बढ्यो ?

सुरुमा त इन्जिनियरिङ पढ्ने मन थियो । स्कुल पढ्दा विभिन्न भिडियो प्रोजेक्टहरू गर्नुपर्थ्यो । सोही क्रममा भिडियो कक्षाहरूमा बसें । सर्ट भिडियो बनाएँ । मलाई ‘एक्टिङ’ भन्दा पनि पर्दा पछाडि गरिने सिर्जनात्मक काम ‘सिनेम्याटोग्राफी’ तथा एडिटिङमा रुचि बढ्दै गएपछि यता लागेकी हुँ । 

महिलाका लागि यो क्षेत्र कत्तिको चुनौतीपूर्ण छ ?

यो क्षेत्रमा पुरुषको संख्या धेरै छ । अझैसम्म नगन्य मात्रै महिलाको उपस्थिति छ । म सिनेम्याटोग्राफी समर क्याम्प जाँदा पनि केटाहरू धेरै हुन्थे । यो क्षेत्रमा २५ प्रतिशत मात्रै महिला छन् । पछिल्लो समय भने यो क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा छ । यो सकारात्मक पक्ष हो । यसो त महिलालाई अन्य क्षेत्रमा जस्तै यसमा पनि पुरुषको तुलनामा धेरै चुनौती छन् । ठूलो र गह्रौं क्यामेरा तथा गियर ह्यान्डिल गर्नुपर्दा गाह्रो हुन्छ । हुनत, पछिल्लो समय हल्का र पोर्टेबल क्यामेरा पनि आइसकेका छन् । यी नव प्रविधिले केही सहज भन्ने पक्कै भइरहेको छ । 

तपाईंलाई कस्ता व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ?

यो टिम मिलेर गर्नुपर्ने काम हो । टिममा सानातिना कन्फ्लिक्ट नहुने भन्ने होइन तर टिमभित्र कम्पिटिसन हुनु हुँदैन भन्ने मेरो मान्यता हो । टिम वर्कमा विश्वास गर्ने भएकाले मलाई उमेरले कुनै फरक पारेको छैन । आफूलाई थप निखार्नका लागि प्रतिस्पर्धा त झनै आवश्यक हुन्छ ।

सम्पादनका बेला तपाईंका प्राथमिकतामा परेका विषयहरू के–के हुन् ?

‘हर नाद’ फिल्मिङ गर्दा मेरी हजुरआमा र मम्मीले आइडिया दिनुभएको थियो र मैले फरक शैलीमा काम गर्न रुचाएँ । हामीजस्ता यही विषय पढेका युवाले धेरै व्याख्या चाहँदैनौं । सटिक सूचनामा विश्वास गर्छौं । पात्रको मनोविज्ञानलाई अध्ययन गरी प्रस्तुत गर्नु हाम्रो ध्येय रहन्छ । त्यसबाहेकका अनावश्यक र अल्झाउने कुरा फालिदिनु नै उत्तम हुन्छ । 

तपाईंका अन्य रुचिहरू के छन् ?

मलाई पुस्तक अध्ययन गर्न निकै मनपर्छ । फोटोसप, ग्राफिक्स डिजाइनिङ, बेकिङ गर्न र स्क्वास खेल्न मन पर्छ । 

किशोर–किशोरीलाई के भन्ने मन छ ?

कलिलो उमेरमै सबै कुरा हासिल गर्न चाहने ट्रेन्ड र माइन्डसेट छ । बलियो प्रतिस्पर्धा त छँदै छ । यी दुवैलाई सन्तुलित राख्न हाम्रो उमेरका किशोर–किशोरी अत्यन्त चनाखो हुन जरुरी छ । किन हतार गर्नुपर्‍यो, समय लिएर गर्दा हुन्छ, किनभने हामीसँग प्रशस्त समय छ । यसले राम्रो काम पनि हुन्छ । 

तिहारलाई कस्तो चाडका रूपमा लिनुहुन्छ ?

तिहार मेरो सबैभन्दा मन पर्ने चाड हो । तिहारको मौलिकता, विशेषता र यसको वास्तविक कथा मनपर्छ । झिलिमिली बत्ती, फूलको सुगन्ध, देउसीभैलोले मलाई निकै आकर्षित गर्छ । हामी अमेरिकामा पनि नेपाली कम्युनिटीमा देउसीभैलो खेल्छौं ।

पाठकलाई केही सन्देश छ कि ?

नेपाली भाषालाई माया गरौं । यसको संरक्षण र सम्बर्द्धन गरौं । हामी जहाँ बसे पनि हामीलाई नेपाली संस्कार, संस्कृति र संगीत नै मनपर्छ । जहाँ छौं स्वच्छ हृदयले सच्चा नेपाली भएर बाँचौं । 

 

पहिरन : मञ्जु बञ्जारा ढकाल, ड्रिम वेयर कुपण्डोल  

मेकअप : शमशेर तामाङ

हेयर : निशा राई, प्लस सलुन एण्ड मेकअप एकेडेमी, कमलादी

गहना : श्री बालाजी डायमण्ड, न्यूरोड

लोकेसन : होटल हिमालय, कुपण्डोल

तस्बिर : महेश प्रधान 

 

 Image