Successfully Copied

मिठाईं कति स्वस्थकर ?

तिहार उत्साह र उल्लासको पर्व हो । यो पर्वको रौनक मिठाईंबिना अधूरो मानिन्छ । जिब्रोलाई सजिलै लोभ्याउने मिठाईं भने सबैका लागि हितकर हुन्न । यतिबेला सेलरोटी, लाखामरी, फिनी, अनरसा र खजुरीबाहेक बजारमा पाइने मिठाईंहरूको पनि प्रशस्त उपयोग हुन्छ ।

तिहार उत्साह र उल्लासको पर्व हो । यो पर्वको रौनक मिठाईंबिना अधूरो मानिन्छ । जिब्रोलाई सजिलै लोभ्याउने मिठाईं भने सबैका लागि हितकर हुन्न । यतिबेला सेलरोटी, लाखामरी, फिनी, अनरसा र खजुरीबाहेक बजारमा पाइने मिठाईंहरूको पनि प्रशस्त उपयोग हुन्छ । घरमा बनाइने परिकारले स्वास्थ्यमा खासै असर नगरे पनि बजारकाले समस्या निम्तिन सक्छ, सबैले यी मिठाईं खाँदा सावधानी अपनाउनुपर्छ । बजारमा पाइने अधिकांश मिठाईंमा अखाद्य वस्तु मिसाइएको पाइन्छ । मिसावटयुक्त मिठाईंले स्वास्थ्यमा नकारात्मक असर गर्ने चिकित्सकहरूको भनाइ छ । 

मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार मिठाईं स्वस्थ व्यक्तिले ‘चाख्न’ मात्र सक्छन् । मिठाईंका परिकारहरूमा चिनी, घिउ, वनस्पति घिउ, तेल, मैदा, दूधको प्रयोग गरिएको हुन्छ । ‘त्यसैले मिठाईं एउटा यस्तो खाद्यपदार्थ हो, जसमा अत्यधिक मात्रामा क्यालोरी, बोसो र चिनी हुन्छ’ उनी भन्छन्, ‘ती सबै हाम्रो शरीरका लागि एकदमै हानिकारक हुन्छन् ।’ उनका अनुसार वनस्पति घिउमा ‘ट्रान्स फ्याट’ भएकाले यसबाट बनेका मिठाईं शरीरका लागि फाइदाजनक हुँदैनन् । 

पोषणविद् नानीशोभा श्रेष्ठ पनि डा. अनिलसँग सहमत नजिक छिन् । उनी भन्छिन्, ‘मिठाईंमा शरीरलाई फाइदा पुर्‍याउने कुनै तत्व नै हुँदैन । यो जिब्रोको स्वादका लागि मात्र हो ।’ मिठाईं मुख मिठाउनका लागि मात्र प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । उनी थप्छिन्, ‘तिहारमा मिठाईंको प्रयोगसँगै अन्य गह्रौं खानेकुराको प्रयोग पनि हुन्छ । यसले शरीरमा क्यालोरी, चिल्लोको मात्रा बढाउँछ ।’ 

मिठाईंमा मिसावट

तिहारलाई लक्षित गरी बजारमा विभिन्न प्रकारका मिठार्इं उपलब्ध हुन्छन् । यतिबेला मिठाईंको माग ह्वात्तै बढ्ने भएकाले मिठाईंमा मिसावट पनि धेरै हुने गरेको पाइन्छ । मिठाईंलाई आकर्षक देखाउन विभिन्न रंग मिसाइन्छ । त्यसमा चाँदीजस्तो टल्किने वस्तुको प्रयोग पनि गरिन्छ । मिठाईं बनाउन प्रयोग गरिने रंग, घिउ, तेलजस्ता सामग्री गुणस्तरहीन हुन सक्छन् । मिठाईंमा सिन्थेटिक दूध, गुणस्तरहीन तेल, आल्मुनियम, अखाद्य रंगको प्रयोग गरेको पाइन्छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बर्सेनि ‘चाडबाड लक्षित’ अनुगमन गर्दै आएको छ । काठमाडौंका नाम चलेका मिठाईं पसलमा विषाक्त रसायन र हानिकारक वस्तु मिसावट भएको अनुगमनको क्रममा फेला नपरेको होइन । अनुगमनमा (हाइड्रो–१) सेतो कपडामा प्रयोग गरिने नीरसमेत फेला परेको थियो । तर, पनि यसको प्रयोगमा कमी आएको छैन ।

केहि समय अघि काठमाडौं महानगरले बजार अनुगमनको क्रममा मिठार्ईं पसलमा अखाद्य 

तेल भेटिएको थियो । महानगरको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितीको संयोजक एवं उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गरिएको अनुगमनमा मिठाईं बनाउने सामग्रीहरु अखाद्य भेटिएकोले नष्ट गरिएको थियो ।

खाद्य निरीक्षक विजन श्रेष्ठ भने अनुगमनका कारण पहिले जस्तो मिठार्इंमा अखाद्य वस्तु मिसाउने क्रम घटेको दाबी गर्छन् । ‘अहिले मिठाईंमा प्रयोग हुने भनेको मुख्य रंग हो’ उनले भने, ‘नियमित अनुगमनका कारण मिठाईंमा अखाद्य रंग मिसावट पछिल्लो समयमा घटेको छ । तर पनि खान योग्य रंगको प्रयोग सही तरिकाले हुनुपर्नेमा उनको जोड छ । विजनका अनुसार खाद्य ऐनले प्रतिकेजी दुई मिलिग्राम रंगको प्रयोग तोकेको छ । साथै रंगलाई पकाउन पाइँदैन । पकाएको रंगले हाम्रो शरीरलाई फाइदा हुँदैन । सरकारले आठवटा प्राकृतिक रंग र ११ वटा कृत्रिम वा सिन्थेटिक रंग स्वीकृत गरेको छ । त्यस्तै, तेलको पटक–पटक प्रयोग गर्न नपाइने भनेको छ । तातेको तेलमा ‘टोटल पोला मटेरियल’ को मात्रा २५ प्रतिशतभन्दा कम हुनुपर्छ । ‘टीटीएम मिटर’ को सहायताले यसको मापन गर्न सकिने उनको भनाइ छ । 

खाद्य वस्तुमा अखाद्य मिसाइएको प्रमाणित भए जिल्ला अदालतसँग सहकार्य गरी मुद्दा चलाउन सकिने कानुनी व्यवस्था छ । खाद्य ऐन २०२३ र नियमावली २०२७ मा खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको पाइए कम्तीमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुन सक्ने उल्लेख छ । 

मिठाईंको असर

मिठाईंको अत्यधिक, लामो समयसम्म र नियमित प्रयोग गरे शरीरमा मोटोपना, मुटु रोगको जोखिम, मधुमेह र अन्य नसर्ने रोगहरूको जोखिम बढाउने डा. ओममूर्ति बताउँछन् । उनी थप्छन्, ‘चिनीयुक्त गुलियो खानेकुराले मुटु र रक्तनलीसम्बन्धी रोगहरू बढाउन सक्ने विभिन्न अनुसन्धानमा देखिएको छ ।’ त्यसैले यसको प्रयोग एकदमै कम हुनुपर्छ । अझ मुटु रोगी, मधुमेह, उच्च रक्तचापका रोगीहरू मिठाईंबाट जोगिनुपर्ने उनको सुझाव छ । ‘तिहारमा मिठाईंको प्रयोगसँगै अन्य गह्रौं खानेकुराको प्रयोग पनि हुन्छ ’ नानीशोभा भन्छिन्, ‘यसले शरीरमा अझ धेरै क्यालोरी, चिल्लोको मात्रा बढाउँछ ।’ मिसावट भएको मिठाईंले पेट बिग्रने, कोलस्टोरोल बढ्ने, मानसिक विकासमा असर गर्न सक्छ । अखाद्य रंगले क्यान्सरको जोखिम बढाउने उनी बताउँछिन् । 

‘मिठाईंको प्रयोग भरसक कम गर्नुपर्छ’ डा. ओममूर्ति भन्छन्, ‘मिठाईं खानैपरे सबैभन्दा सुरक्षित मिठाईं रसबरी हो ।’ यसको रस निचोरेर खाँदा धेरै बेफाइदा नहुने उनको भनाइ छ । मिठार्ईंमा ट्रान्सफ्याट, स्याचुरेट फ्याट हुन्छ । चिनी स्वास्थ्यका लागि राम्रो होइन । धेरैजसो मिठाईं बनाउन मैदा प्रयोग गरिन्छ । मैदाले स्वास्थ्यलाई असर गर्छ । घिउले क्यालोरी र कोलेस्टेरोल बढाउँछ । तेलमा ‘अनस्याचुरेटेड 

फ्याट’ हुने भएकाले यसको प्रयोग धेरै गर्नुहुँदैन । मिठाईं बनाउन एउटै तेल पटक–पटक प्रयोग गरिने भएकाले हानिकारक हुनसक्छ । 

सुरक्षित छैन सुगर फ्रि मिठाईं

मिठाईंका परिकारमा चिनी, तेल, मैदा, घिउको प्रयोग अनिवार्य हुन्छ । ती सबै स्वास्थ्यका लागि फाइदाजनक छैनन् । डा. ओममूर्ति भन्छन्, ‘चिनी मात्र त नहुने हो अरु सबै स्वास्थ्यलाई बेफाइदा गर्ने वस्तु मिठाईंमा पाइन्छ ।’ चिनीबिनाको मिठाईंमा चिल्लो र बढी क्यालोरी यथावत् रहन्छ । खासमा मिठाईं नखानु नै उत्तम हुने उनी बताउँछन् । 

यसमा नानीशोभा सहमत हुँदै भन्छिन्, ‘सुगर फ्रि मिठार्इं दाबी गरिएपनि त्यसमा कोलेस्ट्रेरोल र क्यालोरी नहुने भन्ने हुँदैन ।’ सुगर फ्रि भन्दै मधुमेहका बिरामीले टन्नै मिठाईं खाने गरेका छन् । यसले अन्य रोगको जोखिम बढाउने उनी बताउँछिन् । 

कस्तो मिठाईं प्रयोग गर्ने?

मिठाईंले विशेषगरी उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह, मुटु रोगीलगायतका समस्या भएकाहरूलाई झनै बढी असर गर्छ । मोटोपना बढाउने जोखिम त छँदैछ । बजारका मिठाईं खरिद गर्दा ‘प्याकेजिङ’ भएको हुनुपर्छ । त्यसमा उत्पादन र उपभोग्य मिति लेखिएको हुनुपर्छ । मिठाईंको नकारात्मक प्रभाव त्यसको उत्पादन र भण्डारणमा पनि हुन्छ । पसलमा राखिएको मिठाईं कहिलेदेखि भण्डारण भएको हो थाहा हुँदैन । यस्ता मिठाईं ताजा हुँदैनन् भने भण्डारण गर्दाताका तापक्रम नियन्त्रणलगायतको उचित प्रक्रियाबारे उचित जानकारी हुँदैन । यस्ता मिठाईं खाँदा बान्ता, पखाला, पेट दुख्ने आदि विभिन्न समस्या निम्तिन सक्छन् ।

खुल्ला वा सडकछेउमा राखिएका मिठाईंमा फोहोर, धूलो आदि जमेको हुनसक्छ । झिँगा भन्किने, लामखुट्टे बस्ने भएकाले मिठाईं दूषित भएर स्वास्थ्यमा प्रतिकूल असर पार्छ । मिठाईं खाएपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । भरसक घरमै बनाएका मिठाईं खानुपर्छ ।

 Image