Successfully Copied

महँगियो विदेश, स्वदेशमै घुमघाम

पछिल्लो समय नेपालीहरूमाझ बाहिर घुम्न जाने ट्रेन्ड चलेको छ । त्यसैले त कसैले विदेश त कसैले स्वदेशमै विभिन्न आकर्षक ठाउँहरू घुम्न जाने योजना बनाउने गरेको पाइन्छ ।

चाडपर्वको मौसम सुरु भएसँगै धेरै नेपालीको मनमा एउटा गन्थनमन्थन सुरु हुन्छ–यसपालि कहाँ घुम्न जाने ? हो, पछिल्लो समय नेपालीहरूमाझ बाहिर घुम्न जाने ट्रेन्ड चलेको छ । त्यसैले त कसैले विदेश त कसैले स्वदेशमै विभिन्न आकर्षक ठाउँहरू घुम्न जाने योजना बनाउने गरेको पाइन्छ । अझ चाडपर्वको बिदाको सदुपयोग गर्न यस्ता योजना धेरैले बनाएका हुन्छन् । तीमध्ये धेरैले विदेश नै घुम्न जाने मानसिकता बनाएका हुन्छन् । तर, पछिल्ला केही वर्षयता यो मानसिकतामा परिवर्तन भएको देखिन्छ । कोरोना महामारी र इन्धनको मूल्य वृद्धिलाई पर्यटक व्यवसायीहरूले यसको प्रमुख कारण मान्छन् । ‘यात्रा होलिडेज’ का ‘टुर म्यानेजर’ रवि चन्दले यी दुई फ्याक्टरले ‘टुरिजम सेक्टर’ प्रभावित बनेको बताए । ‘कोरोना महामारीबाट हामी निस्कन के खोज्दै थियौं । इन्धनको मूल्य बढेसँगै हामी फेरि त्यही लेभलमा आइपुग्यौं’ उनले भने, ‘एयर टिकट महँगिएसँगै कोभिडकै कारण एयरवेजहरू राम्रोसँग नखुल्नु अर्को दुर्भाग्य बन्यो । त्यसैले विगतमा जस्तो घुमफिरका लागि त्यति धेरै भीड देखिन्न ।’ 

नेपालीहरूको सर्वाधिक आकर्षकको गन्तव्य इन्डोनेसियाको बाली घुम्न जानेको संख्या पछिल्ला वर्षहरूमा एकदमै कम छ । पहिले यही ठाउँ ६०–७० हजारमा घुम्न गइरहेकोमा हाल दुई लाखभन्दा बढी पर्न जान्छ । यहाँको फ्रि–भिसा बन्द भएसँगै मूल्य पनि बढ्न गएको हो । रविका अनुसार ‘नेपालमै घुम्नेहरूको संख्या पनि पहिलेको तुलनामा कम छ’ उनले भने, ‘गाडीको भाडा र हवाई टिकट बढेसँगै ट्राभल एजेन्सीहरूमार्फत जाने भन्दा पनि समूह बनाएर आफै जाने संख्या बढेको छ ।’ 

घुमघामलाई सहज बनाउन विभिन्न ट्राभल एजेन्सीले सहयोग गर्दै आएका छन् । चाडपर्वलाई लक्षित गरी यी एजेन्सीहरूले बर्सेनि ‘होलिडे प्याकेज’ सार्वजनिक गर्छन् । विभिन्न अफरसहित एजेन्सीहरूले आकर्षक प्याकेजहरू निकाल्छन् । प्याकेजमा देशभित्रमात्र होइन विदेशका कुना–कुनासम्म सयर गर्न सकिन्छ । एजेन्सीहरूले घुमफिरलाई सहज मात्र बनाएका छैनन्, यात्रामा निस्कँदा भोग्नुपर्ने कयौं समस्यालाई कम गरेका छन् । जस्तो, आफ्नो बजेटअनुसारको ठाउँ छनोटदेखि त्यहाँका घुम्न सकिने अन्य गन्तव्यबारे जानकारी पाउन सकिन्छ । त्यस्तै, कहाँ बस्ने ? कहाँ–कहाँ घुम्ने ? त्यहाँ के–के गर्न सकिन्छ आदि विषयको जानकारी उनीहरूबाट प्राप्त हुने भएकाले घुम्न जानेहरूलाई सजिलो हुने गरेको छ । 

विदेशमा थाइल्याड, दुबई, मलेसिया–सिंगापुर र नयाँ गन्तव्य अजरवैजान गरी चार वटा ठाउँको प्याकेज बढी बुकिङ हुन्छ । यसपटक पनि यी गन्तव्यमा घुम्न जानेहरूका लागि ट्राभल एजेन्सीहरूले बुकिङ खुल्ला गरेका छन् । अनलाइनमार्फत पनि बुकिङ गर्न सकिन्छ । तत्कालै बुकिङ गर्दा विशेष छुटको व्यवस्था रहेको रविले बताए । 

‘यसपालिको दसैं, यात्रा होलिडेजसँगै’ नारासहित ‘यात्रा होलिडेज’ले देश–विदेश घुम्ने प्याकेज सार्वजनिक गरेको छ । रविका अनुसार पछिल्लो समय नेपालमै घुमघाममा रमाउने समूह पनि बढ्दो छ । घरेलु पर्यटनलाई प्रवर्द्धन गर्ने हेतुले यतिबेला विभिन्न आकर्षक प्याकेजहरू सुलभ मूल्यमा निकालेको उनले बताए ।

 

 Image