Successfully Copied

कतै घुम्न जाऊँ

अक्सर विवाहलगत्तै हनिमुनको बहानामा दम्पतीले घुम्ने योजना तय गर्छन् । वैवाहिक जीवनलाई सधंैभरि स्मरणीय एवं रोमाञ्चक बनाउने राम्रो उपाय हो–हनिमुन ।

अक्सर विवाहलगत्तै हनिमुनको बहानामा दम्पतीले घुम्ने योजना तय गर्छन् । वैवाहिक जीवनलाई सधंैभरि स्मरणीय एवं रोमाञ्चक बनाउने राम्रो उपाय हो–हनिमुन । त्यस क्रममा घुमिएका ठाउँ, खिचिएका तस्बिर, गरिएका कुराकानी, चाखिएका व्यञ्जन जीवनभर सम्झनलायक हुन्छन् ।

विवाहपछि जीवनलाई फरक लयमा दौडाउनुपर्ने हुन्छ । विवाहपछि छोराछोरी जन्मन्छन्, पारिवारिक आवश्यकता बढ्दै जान्छ भने जिम्मेवारी पनि थपिँदै जान्छ । बिस्तारै घर–गृहस्थीमै जीवन गुज्रन थाल्छ । यस्तो अवस्थामा दम्पतीबीचको सम्बन्ध जति रसपूर्ण हुनुपर्ने हो त्यति हुन पाउँदैन । नयाँपनको अनुभूति धूमिल हुँदै जान्छ । फलत: दाम्पत्य जीवनको खुसी, आनन्द एवं रोमाञ्चकता क्रमश: कम हुँदै जान्छ ।

यस्तो परिस्थितिबाट जोगिँदै दाम्पत्य जीवनलाई रोमाञ्चक बनाउने राम्रो विकल्प हो–यात्रा । घरको सम्पूर्ण तनाव बिर्संदै श्रीमान्–श्रीमतीले केही दिनका लागि घुमफिरको योजना बनाउनुपर्छ, जसले जीवनमा नयाँपन ल्याउन सकोस् । छोराछोरीलाई घरकै अरू सदस्यका साथ छाडेर यात्रामा निस्कनुपर्छ । आवश्यक कपडा बोकी खर्चको व्यवस्था गरेर निस्फिक्री यात्रामा निस्कनुपर्छ । त्यसका लागि आफूलाई मन पर्ने गन्तव्य रोज्न सकिन्छ जहाँ आपसमा रमाउने, खेल्ने, हाँस्ने, जिस्किने काम खुलेर हुनसक्छ । यस किसिमको अभ्यासले जीवनमा छुट्टै रोमाञ्चकता ल्याउँछ ।

कहाँ जाने ? योजना बनाउनुपर्छ । सहरको आसपास, कुनै हिल स्टेशन, समुद्री किनार वा मुलुकबाहिरको कुनै पनि मनोरम स्थल जहाँ पनि घुम्न सकिन्छ । आफ्नो बजेट, मुड, समय एवं रुचिलाई आधार बनाएर घुम्ने स्थान तय गर्नुपर्छ । छोटो यात्राका लागि आसपासकै खास ठाउँ रोज्नुपर्छ, जहाँ आफन्त वा चिनेजानेका मानिसहरू पनि भेटिऊन् । अप्रत्याशित कुनै समस्या भए उनीहरूबाट आवश्यक सहयोग लिन सकिन्छ ।

कहाँ घुम्ने ?

घुमघामका लागि गन्तव्यको कमी छैन । सौराहा गएर जंगल सफारी गर्न सकिन्छ, पोखरामा नौका विहारको मज्जा लिन सकिन्छ, मुस्ताङमा पदयात्राको अनुभूति सँगाल्न सकिन्छ ।

समुद्रको छालसँग खेल्न तथा त्यसको किनारमा बसेर न्यानो घाम ताप्न हामीले छिमेकी मुलुक भारतसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । भारतमा उडिसा, केरल, गोवा आदि थुप्रै त्यस्ता स्थान छन्, जहाँ निस्फिक्री समुद्री छालसँग खेल्न सकिन्छ । समुद्री तटमा बसेर अस्ताउँदो सूर्यको दृश्यावलोकन गर्न सकिन्छ वा रोमाञ्चक नौका विहारको आनन्द लिन सकिन्छ ।

रमणीय प्राकृतिक दृश्य हेर्दै पैदल यात्रामा रमाउनेहरूका निम्ति पनि थुप्रै विकल्प छन् । त्यसका लागि पहाडी क्षेत्रको यात्रा गर्नुपर्ने हुन्छ । स्थानीय जनजीवन, रहनसहन, भाषा तथा संस्कृतिसँगको साक्षात्कारले पनि यात्रालाई रोमाञ्चक बनाउँछ ।

फेवातालमा डुँगा सरर

ताल, गुफा र हिमशृंखलाको दृश्यावलोकन पोखराका मुख्य आकर्षण हुन् । फेवाताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोटजस्ता स्थलले जोकसैको मन सजिलै लोभ्याउँछन् । पोखराबाट धौलागिरि, अन्नपूर्ण तथा मनास्लु शृंखलालगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल देख्न सकिन्छ । फेवाताल पोखराको मुख्य आकर्षण हो । यहाँ माछापुच्छ्र्ेर हिमालको प्रतिबिम्ब देखिन्छ । पातले, महेन्द्र एवं गुप्तेश्वर गुफा पोखराका थप आकर्षण हुन् । वेगनास तालमा गरिने डुँगा सवारी तथा अन्नपूर्ण पदयात्राबाट पनि पोखरा भ्रमणको मज्जा लिन सकिन्छ ।

सौराहामा जंगल सफारी

हात्तीमा चढेर गरिने जंगल सफारी तथा राप्ती नदीको किनारबाट साँझको सूर्यास्त हेर्न पाउनु सौराहाको विशषेता हो । यहाँ पर्यटकहरूलाई आकर्षित गर्न बर्सेनि अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हँुदै आएको छ । सौराहामा सुविधासम्पन्न होटल, रेस्टुराँहरू छन् । त्यहाँ गैंडा, बाघ, नील गाई, गोही, अजिङ्गर, चितुवा आदि वन्यजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत यी वन्यजन्तुहरूको संरक्षण गरिँदै आएको छ ।

पदयात्राका लागि मनाङ

विभिन्न अन्तर्राष्टिय सर्वेक्षणले अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेको छ । मनाङ अन्नपूर्ण पदयात्रा मार्गको महत्वपूर्ण हिस्सा हो । पर्यटकीय दृष्टिले पिसाङ, भ्राखा, खाडसागर, टंकिमनाङ, नार र फु, थोन्चे, तिलिचो ताल आदि यो पदयात्राका महत्वपूर्ण गन्तव्य मानिन्छन् । अन्नपूर्ण पदयात्रा मार्गमा होमस्टेको सुविधा छ ।

लुम्बिनीमा लुकामारी

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्धमार्गीको पवित्र धार्मिक स्थल मात्र नभई विश्वभरका पर्यटक तान्ने आकर्षक गन्तव्य पनि हो । पुरातात्विक महत्वको लुम्बिनीका खास आकर्षण हुन्–अशोक स्तम्भ, मायादेवी मन्दिर तथा विश्वशान्ति दीप । त्यसबाहेक पनि पर्यटकलाई लक्षित गरेर त्यहाँ आकर्षक कृत्रिम संरचनाहरू निर्माण गरिएका छन् ।

मन अघाउँदैन से–फोक्सुन्डोमा

से–फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । जीवविहीन यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले पहरा दिएका छन् । एउटा प्रचलित किंवदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष देखिन्छ । से फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा यो ताल र से गुम्बा छ । उपल्लो डोल्पामा पर्ने से गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ ।

राराकी अप्सरा

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको यो ताल हेर्दा साँच्चै स्वर्ग पुगेको अनुभूति हुन्छ । मुगु जिल्लामा अवस्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० हजार वर्गफिटमा फैलिएको यो तालको पानीको निकास कतै देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो पनि छ । राराको कञ्चन पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रीडामा मस्त देखिन्छन्. ।

हिमाल हेर्न सैलुङ

दोलखा जिल्लामा अवस्थित सैलुङबाट रमणीय हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसो त सैलुङ धार्मिक पर्यटनका लागि पनि उत्तिकै परिचित छ । सैलुङमा हरेक १२ वर्षमा गोदावरी फूलको विशेष मेला लाग्छ । सयवटा थुम्का भएको सैलुङ पुग्न खोलाखर्कबाट पैदल हिँड्नुपर्छ ।

मन लोभ्याउने बन्दिपुर

तनहुँ जिल्लामा अवस्थित बन्दिपुर पनि घुम्नलायक ठाउँ हो । नेवारी संस्कृतिमा आधारित बन्दिपुरको सहरी संरचना साढे २ सय वर्ष पुरानो मानिन्छ । बन्दिपुर आसपासका क्षेत्रमा मगर संस्कृति अवलोकन गर्न पाइन्छ । आँखैअगाडि देखिने हिमशृंखला, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैलिएको फाँट आदिले जोकसैको मन लोभ्याउँछ । मुग्लिङबाट आधा घन्टाको दूरी छिचोलेपछि डुम्रे बजार पुगिन्छ । त्यहाँबाट पिप्ले हुँदै बन्दिपुर पुग्न सकिन्छ ।

कन्याम र सन्दकपुर

इलाम भ्रमणमा कन्याम र सन्दकपुर फन्को लगाउन सकिन्छ । थुम्का–थुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि प्राकृतिक सुन्दरताको अनुपम झझल्को दिन्छ । सूर्योदयको दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माईपोखरी र सन्दकपुरसम्मको यात्राले इलामको भ्रमणलाई सार्थक बनाउँछ ।

घान्द्रुकको यात्रा

अन्नपूर्ण पदमार्गका क्रममा पर्ने रमणीय स्थल हो–घान्द्रुक । यहाँको प्राकृतिक सौन्दर्यले आगन्तुकहरूको मन सजिलै लोभ्याउँछ । यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, ङयोवराह ताल यहाँका थप आकर्षण हुन् ।

जोमसोममा हावा सरर

घुमघामका सौखिनहरूले एकपटक पुग्नैपर्ने गन्तव्य हो–जोमसोम । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिन्छ । यहाँको अनौठो भू–बनोटले आगन्तुकहरूको मन पगाल्छ । पर्यटनमै आधारित जोमसोमबाट धौलागिरि तथा नीलगिरि हिमाल अवलोकन गर्न सकिन्छ । जोमसोम प्रख्यात तीर्थस्थल मुक्तिनाथ र लोमान्थाङ जाने प्रवेशद्वार पनि हो ।

प्रकृतिको क्रीडास्थल ककनी

काठमाडौंबाट छोटो यात्रामै पुग्न सकिने गन्तव्य हो–ककनी । यो प्रकृतिको क्रीडास्थल नै हो । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल स्पष्टसँग देख्न सकिन्छ । मनोरम हिमाली भेगदेखि समतल नदीका फाँटसम्म अवलोकन गर्न सक्नु ककनीको खास आकर्षण हो । यहाँ कृत्रिम बगैंचा तथा स्मारकहरूसमेत निर्माण गरिएको छ ।

मनमोहक जलजला

माओवादी द्वन्द्वकालमा धेरै चर्चा हुन्थ्यो–जलजलाको । माओवादीले क्रान्तिको प्रतीकका रूपमा मान्दै आएको यो पहाड अहिले प्राकृतिक, धार्मिक एवं सांस्कृतिक आकर्षण बोकेको गन्तव्य भएको छ । रोल्पाको सदरमुकाम लिवाङबाट २४ कोस पूर्वको व्यापारिक केन्द्र सुलिचौरबाट २२ कोस उत्तरमा अवस्थित छ यो ठाउँ । डाँफे, मुनाल, घोरल, मृगजस्ता पशुपन्छी अवकोलन गर्न सक्नु जलजलाको विशेषता हो ।

बीसहजारी ताल

भरतपुरबाट करिब ६ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित बीसहजारी ताल विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य हो । विभिन्न मुलुकबाट बसाइ सराइ गरी आउने मौसमी चाराहरूको आश्रयस्थल बीसहजारी तालमा गोही, माछा तथा अजिङ्गर आदि पनि पाइन्छन् ।

 Image