बौद्धिक नम्रता

प्रकृति दाहाल

आश्विन ५, २०७९ देशमा ०४६ मा प्रजातन्त्र स्थापनासँगै थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । तीमध्येका अंग्रेजी ‘द इन्डिपेडेन्ट’ साप्ताहिक पनि हो । राजनीतिक र सामाजिक विषय समेटेर हरेक साता प्रकाशित हुने उक्त पत्रिकामा नम्रता शर्माका आँखा दौडिरहन्थे । त्यसताका पत्रिकाका त्रय सम्पादक थिए–जन शर्मा, राम प्रधान, मनोरञ्जन के.सी. । उनीहरूको चर्चा पनि चुलिएको थियो । नम्रतालाई उक्त पत्रिकाको छाप यति पर्‍यो कि जागिर खोज्दै उनी ‘द इन्डिपेडेन्ट’ कार्यालयमै पुगिन् । बिना कुनै अनुभव र दक्षतामै उनी त्यहाँ पुगेकी रहिछिन् । अझ उनको रहर राजनीति विषयमा लेख्नु थियो । पत्रकारिता गर्ने धोकोले उनी एक जना बेलायती पत्रकारसँग अन्तर्वार्ता लिन पुगिन् । उनलाई अनुभव नभएको भन्दै फर्काइयो । उनी फर्किदै थिइन्–उही पत्रकारले सम्पादकले बोलाउनुभएको छ, भनेका थिए । उनलाई सम्पादक मनोरञ्जनले सोधे–‘कहिलेदेखि काम गर्ने तपाईंले राजनीति बुझ्नुभएको छ, तपार्इंको अंग्रेजी पनि राम्रो रहेछ, काममा जोडिनुस् ।’ उनी एकछिन अकमकिइन् र भोलिबाटै आउने भन्दै बिदा भइन् । कार्यालयले उनलाई रिपोर्टिङ भन्दा संयोजकका रूपमा नियुक्ति दियो । त्यसबेला अफिसमा एउटा मात्र कम्प्युटर थियो । कसैलाई कम्प्युटर चलाउन आउँदैनथ्यो । नम्रता चलाउन सक्छु भनेर दुई औंलाले टाइप गर्न थालिन् । उनले टाइप गर्दै सम्पादकले भनेअनुसार समाचार, आर्टिकल सम्पादन पनि गर्न सिकिन् । उनले कम्प्युटर चलाउन बाहिर सिक्थिन् र अफिसमा आएर काम गर्थिन् । 

कम्प्युटर चलाउने कामबाट मात्रै उनी सन्तुष्ट हुन सकिनन् । उनलाई राजनीतिक विषयवस्तुमा कलम चलाउने भोक छँदै थियो । लेख्छु, रिपोर्टिङ गर्छु भन्दा उनलाई सहज त थिएन नै । तर आफ्नो इच्छानुसार लेख्ने काममा अग्रसर भइरहिन् । रिपोर्टिङ गर्दै सम्पादकलाई देखाउन थालिन् । सुरुमा उनको लेखनलाई हल्का रूपमा लिइएको थियो । धेरै पटकको प्रयासपछि भने पत्रिकामा उनको बाइलाइन आउन थाल्यो । राजनीतिक विषयमा उनको कलम चल्न थाल्यो । पत्रिकामा महिला पत्रकारको बाइलाइनले उनलाई आँट र ऊर्जा थप्नेहरू बढ्दै गए । त्यसताका राजनीति विषयमा लेख्ने, रिपोर्टिङ गर्ने उनी एक्ली थिइन् । के साँझ, के बिहान, के रात उनी रिपोर्टिङ गर्न थालिन् । ०४६ को चाक्सीबारीमा भएका घटनाका साक्षीमध्ये उनी पनि एक हुन् । थुप्रै समाचार र घटनाहरू उनले निरन्तर प्रवाह गरिरहिन् । टेप रेकर्ड बोकेर रिपोर्टिङ गर्दै हिँड्थिन् । त्यसताकाका नेताहरू गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादका बारेका थुप्रै समाचार उनले लेखिरहिन् । ०४६ पछि नेपालमा महिला आन्दोलन सुरु भयो । महिलाहरूमा पैतृक सम्पत्तिमा पनि उनको कलम चलिरह्यो । पत्रकारिता सुरु गर्दा उनी आमा बनिसकेकी थिइन् । दुई वर्षको बच्चा छोडेर उनी रिपोर्टिङमा हिँड्थिन् । संयुक्त परिवारकी उनी कान्छी बुहारी थिइन् । तर, उनले त्यो भूमिकामा आफूलाई बाँध्न चाहिनन् । सुरुमा कामप्रति परिवारको केही असहजता भएपनि पछिल्ला दिनमा भने उनलाई पूरै समर्थन भयो । उनले भनिन्, ‘महिलाहरूले आफूलाई प्रमाणित गर्दै लान सके साथ र समर्थन पनि बढ्दै जाने रहेछ ।’

बुवा सर्वोच्च अदालतका वकिल थिए, आमा भने बैंकर्स । निम्न वर्गीय समुदायका मुद्दाहरू उनका बुवाले उठाइरहन्थे । विपन्न वर्गका मुद्दाहरूबारे बहस गरिरहन्थे । उनले बाल्यकालदेखि नै अन्याय सहन हुन्न भन्ने बुझेकी थिइन् । त्यसकारण पनि उनमा थुप्रै प्रश्न आइरहन्थे । उनले भनिन्, ‘विद्यालयमा पनि म प्रश्न गरिरहन्थें, अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने मेरो बुझाइ थियो । बुवाका अतिरिक्त पुस्तकहरू घरमा थुप्रै हुन्थे । उनलाई कोर्सका किताबसँगै बाहिरी किताब पढ्नमा रुचि थियो । संयुक्त परिवारमा हुर्केकी उनका साथी किताब नै हुन्थे । उनले लुकीलुकी थुप्रै किताब पढ्ने गर्थिन् । उनले भनिन्, ‘बत्ती बालेर अतिरिक्त पुस्तक पढेको थाहा पाउनुहुन्छ भनेर सिरकभित्र टर्च बालेर पढ्ने गर्थें ।’ ती किताबले पनि उनलाई लेख्नमा धेरै प्रेरणा मिलेको बताउँछिन् । 

पढाइ, लेखाइ र बौद्धिक भएका कारणले उनले छिट्टै अन्तर्राष्ट्रिय संस्थाहरूमा फड्को मारिन् । बेलायत, केन्या एवं भारतमा उनले विभिन्न संस्थाको निर्देशकका रूपमा काम गरिन् । ‘ह्युमन राइट’मा आवाज उठाइरहिन् । भारतमा अहमदावादमा इन्डियन ‘स्कुल अफ माइक्रो फाइनान्स’ मा पहिलो निर्देशक बनेर उनले संस्था नै स्थापित गरिन् । जहाँ गए पनि उनको लेखाइ भने रोकिएन । बेलायतमा हुँदा पनि नेपालमा प्रकाशित हुने ‘समय’ पत्रिकामा आलेख पठाइरहन्थिन् । उनले लामो समय विदेशमै बिताइन् । पत्रकारिता गर्दा उनी खोज पत्रकारिताका केन्द्र (सिआइजे) को पहिलो महिला अध्यक्ष पनि बनिन् ।

अध्यक्षको कार्यकाल सम्हाल्दा अन्तर्राष्ट्रिय स्तरका पत्रकारहरूको सम्मेलन गराउनुका साथै भ्रष्टाचार, अवैधधन्दा बाहिर ल्याउने कामसमेत भएको उनले बताइन् । उनको कार्यकालमा महिलाहरूलाई खोज पत्रकारितामा ल्याउन प्रशिक्षण कार्यक्रम संचालन गरिन् । यसले महिला पत्रकारहरू पत्रकारिता क्षेत्रमा सशक्त छन् भनेर देखाउन सहयोग पुगेको उनले बताइन् । महिला पत्रकारहरू सशक्त भए पनि उनीहरूले अझै पनि नेतृत्वमा अवसर नपाएको उनको भनाइ छ । ‘महिला पत्रकारहरू संख्यात्मक रूपमा पनि बढ्न सकेका छैनन्’ उनले भनिन्,‘राजनीतिक पहुँच, नेटवर्किङ र पावर सेयरिङमा महिलाहरूमा कम भएकाले पनि नेतृत्वमा पुग्न नसकेका हुन् ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>