वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाको नाम नसुन्ने संरक्षण क्षेत्रमा लागेकाहरू बिरलै होलान् । कारण, उनले खिच्ने चरादेखि वन्यजन्तुका हरेक तस्बिर उत्कृष्ट हुन्थे । उनले कठिन परिस्थिति र जोखिम उठाएर तस्बिर कैद गर्थे । अझ विकट भौगोलिक अवस्था र हाईअल्टियुडको प्रतिकूल मौसममा पनि उत्तिकै चित्ताकर्षक तस्बिर खिच्थे ।
पछिल्लो पटक उनले तस्बिरसँगै उत्कृष्ट भिडियो पनि खिच्न थालेका थिए । युट्युब, फेसबुक र टिकटकमा राख्ने तराईदेखि हिमाल र जंगल यात्राका तस्बिर/भिडियोले उत्तिकै चर्चा पाउँथ्यो । तर, अबदेखि न चुङ्बा शेर्पाले क्यामेरा चलाएको देख्न पाइने छ, न उनले खिचेका नयाँ तस्बिर र भिडियो नै देख्न पाइनेछ । जति छन्, उनले यसअघि खिचेका तस्बिर मात्रै देखिनेछन् । ६ वर्षदेखि वन्यजन्तु फोटोग्राफीमा लागेका ६४ वर्षे शेर्पा गत पुस २८ गते उपचारका क्रममा भौतिक शरीर छाडेर बिदा भए ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ चौरीखर्कका शेर्पाले नेपालको वन्यजन्तु फोटोग्राफीलाई नयाँ उचाइ दिनका लागि खेलेको भूमिका निकै स्मरणीय हुनेछ । साथै, संरक्षण क्षेत्रका लागि उनको योगदान जति चर्चा गरे पनि कम हुन्छ । यसले पनि उनी सदाका लागि स्मरणीय बनेका छन् । भौतिक उपस्थिति नरहे पनि उनले खिचेका चरा, वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन् जसले उनी सधैं सम्झिइरहनेछन् । बाघ, जंगली हात्ती र जंगली याकको पटक–पटक आक्रमणमा परे पनि उनी फोटोग्राफीमा उत्तिकै सक्रिय थिए ।
उनले पंक्तिकारलाई चरा वन्यजन्तुको तस्बिर खिच्न निकै धैर्य र सीप चाहिन्छ भनेका थिए । ‘सेकेन्ड–सेकेन्डको मुभमेन्ट महत्वपूर्ण हुन्छ,’ उनले भनेका थिए्, ‘गोठालो लागेर बसिरहनुपर्छ ।’ उत्कृष्ट मुभमेन्ट क्यास गर्न सक्नु नै वन्यजन्तु फोटोग्राफरको खुबी हो भन्थे । अरुले खिचेकोभन्दा फरक एंगल र रौनकको तस्बिर खिच्दा उत्तिकै चित्ताकर्षक हुन्छ उनी भन्थे । अहिलेसम्म तराईका फाँटदेखि उच्च हिमाली भेकका तीन सय बढी प्रजातिका चराको तस्बिर उनले खिचेका थिए । तराईको जंगली बिरालोदेखि हिमालको याकसम्मलाई क्यामेरामा एक्सपोज दिइसकेको उनले सुनाएका थिए । ३५ प्रजातिभन्दा बढी वन्यजन्तुका उत्कृष्ट तस्बिर उनले खिचेका छन् । कन्जर्भेसन थ्रो लेन्सका अगुवा शेर्पा हामीबाट सदाका लागि भौतिक रूपमा बिदा भए पनि उनले खिचेका उत्कृष्ट तस्बिर यहाँ प्रस्तुत गरिएका छन् ।