Successfully Copied

मामाघरको सपना

नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए । आदित्य र असीमका चङ्गा भने नीलो आकाशलाई छुन हतारिँदै थिए । गोडाहरू छतमा चल्मलाए पनि सपनाहरू चङ्गासँग अनन्तमा उड्न खोज्दै थिए ।

लालीगुराँसको लाली धपक्क मुहारमा बाल्दै थचक्क बसी असीमले लामो स्वास फेर्दै आदित्यलाई फकाउन थाल्यो । ‘ठूलो मामुलाई भनन आदित्य, यसपटकको दसैंमा पनि तिम्रो मामाघर जान्छु नि, कति रमाइलो भएको थियो पोहोर, बरू तिम्रो होमवर्क म गरिदिन्छु, तिमीले भनेको पनि सबै कुरा मान्छु । के सोचेर हो, अचानक हातको लट्टाई भुईंमा यात्त राख्यो अनि आदित्यको मुहारमा हेरिरह्यो ।

सधै त तिमी हाम्रै मामाघर जान्छौ नि, यसपटक त आफ्नै मामाघर जाऊ, पोहोर पनि हजुरआमाले मम्मीलाई कराउँदै हुनुहुन्थ्यो–‘भएभरका फौज बोकेर आउँछे ।’ आफ्नो सीङ पो भारी हुँदैन, अरूको बोझ कपासै भए पनि भारी हुन्छ, मामा–माइजूले पनि भन्दै हुनुहुन्थ्यो–‘दसैंमा त्यसै त भीड हुन्छ । अझ ल्याउनु नपर्ने मान्छेलाई पनि घिसार्दै ल्याइनु भाछ दिदीले ।’

 ‘मैले आफ्नै कानले सुनेको थिएँ, मलाई पोहोरै नरमाइलो लाग्या थियो । बरू हामी सबैजना चन्द्रागिरि घुम्न जानुपर्छ म बाबालाई भन्छु ल । तिमी नरिसाऊ नि’ आदित्यले गम्भीर हुँदै असीमलाई सम्झायो ।

तर पनि मलिन अनुहार लगाएर असीम एकोहोरो आकाशतिर हेर्दै मस्तिष्कमा विविध चित्र कोर्दै थियो । 

हरेक वर्ष दसैंमा आदित्यको मावल जान्छु भनेर असीम जिद्दी गर्थ्यो । तर आज आदित्यले एकैपटक सम्झाएको भरमा नै चूप लाग्यो । अब असीम पनि बुझ्ने भएछ भन्दै मख्ख पर्‍यो । तर पनि मुटु कता–कता चसक्क दुख्यो । विचरा यो अबोध बालकलाई के थाहा संस्कृतिको पर्खाल भत्काएर नौलो संस्कृतिको बेर्ना उमार्दै गरेको समाजको कथा ।

गाउँमा हुँदासम्म त आधुनिक भइसकेका थिएनन् सविताका माइती पनि । जब सहरको हावा लाग्यो तब नव सम्भ्रान्त भए । माइतीमा सौतेनी आमा भए पनि बरू चित्त दुख्दैनथ्यो होला सविताको । ‘मलाई पो सासू भनेर सुनाउँदिन त, भित्रभित्र कति मन पोल्दो हो । आफ्नै छोरी, नातिनातिनाहरूको भावना पनि कस्तो बुझ्न नसकेका होलान् ? छ्या, भाइबुहारी पन्छिए पनि बाआमा त जिउँदैछन् । कस्तो घुमन्ते बानी लाग्यो । होइन, घुम्नै मन लागे पनि एक वर्ष पो हो त । हरेक वर्ष दसैं नै नमान्ने, त्यस्तो पनि हुन्छ । त्यो घरमा पनि हुर्कंदै गरेका बालबच्चा छन्, के सिक्छन् ?

धर्म परिवर्तन गरेर दसैं नमनाएका भनौं भने, धर्म परिवर्तन गरेका पनि छैनन् । हिन्दू हौं भनेर नाक फुलाएकै छन् । धनमा कली बस्छ भन्थे हो रहेछ । परिक्षित राजाको त मति भ्रष्ट भाथ्यो रे सुनको मुकुट लगाउँदा । कली युगका मान्छेको झन् के कुरा गर्नु ? नत्र आफ्नो राष्ट्रिय चाडपर्वलाई किन बेवास्ता गर्दैछन्, किन दसैं हाउगुजी हुँदैछ ?

एउटै घरको छानोमुनि ठूलो बुवाका छोराछोरी दसैंमा रमाइलो गर्न मामाघर जान्छन् । विचरा यो नाति कहिल्यै जान पाएन आफ्नो मामाघर । ठूलीआमाले सँगै लैजान्छे कि भनेर सधै पछि लाग्नुपरेको छ । मामाघरको माया, प्रेम बुझ्न अर्काको मामाघर गएर हुँदो हो कि क्या हो । त्यही पनि हरेक साल जान खोज्छ । ठूलीआमाले पनि कति घिसारोस् । पोहोर–परार त लिएर गएकी थिई बरा । आफ्नै दुई–दुईवटा सन्तान छन् । उसलाई पनि अर्थ्याउनुपर्‍यो । प्रश्न त अरूले पनि गर्लान् नि ।’

 आफैसँग बर्बराउँदै थिएँ । सविताले बोलाउँदा पो झसङ्ग भएँ ।

 ‘आमा खाजा तयार भयो, खान आउनू चाँडो चिसो हुन्छ नत्र ।

हामी सासू–बुहारी भान्सामा खाजा खान थाल्यौं । आफूलाई त चित्त नबुझेको कुरा फ्याट्ट बोलिहाल्नुपर्छ । मुखमा आएको कुरा मनमा राख्दा छटपटी हुन्छ । त्यसैले भनिहालें–‘सविता तिम्रो मम्मीले साँच्चै क्याम्पस पढाउनुभएको थियो ?’

‘होइन आमा स्कुलमा दस कक्षासम्म सामाजिक शिक्षा पढाउनुहुन्थ्यो ।’

‘तिमीलाई चित्त दुख्ला आफ्नो माइती र मम्मीको कुरा गर्दा । तर मलाई तिम्रो मम्मीको यस्तो निर्णय फिटिक्कै मन परेन ।’

‘कस्तो निर्णय आमा, मैले त कुरै बुझिन ।’

‘दसैंमा जमरासम्म नराखी हरेक वर्ष पोको बोकेर घुम्न जाने निर्णय क्या ।’ होइन छोरा–बुहारीको खटनमा बाँच्नुपरेको भए पनि एउटा कुरा भन्नु । आफैं हर्ताकर्ता भएर पनि आफ्नै छोरा–बुहारीलाई कस्तो संस्कार दिँदै हुनुहुन्छ, सम्धिनीले । छोरी–ज्वाईं, नातिनातिना, भान्जाभान्जी, नन्द, आमाजू आउँदैनन् दसैंमा ? सधै ढोकामा ताल्चा ठोकेर हिँड्छन् कोही दसैंको मुखमा ?

पुगिसरी आएपछि मान्छेले धर्म, संस्कृति पनि पोलेर खाँदा रहेछन् । होइन आफूलाई घुम्न मन लाग्यो भनेर मात्र हुन्छ त ? इष्टमित्र, नाता, कुटुम्बलाई कस्तो असर पर्छ सोच्नु पर्दैन ? ‘बरू हेर त तिम्री जेठानी दिदीको माइतीमा के नै छ र, तर पनि रीतिरिवाज, परम्परा र संस्कार राम्रोसँग मान्दै आएका छन् । किन उरूलधुरूल गर्नुपर्‍यो ? सन्तुलन मिलाएर चाडपर्व मान्दा त भैगो नि ।’

हिजोआज यस्तो राम्रो सुविधा छ तर के गर्नु सुविधाले सद्बुद्धि नआउने रहेछ । जति धनी भए पनि आखिर के गर्नु ? पैसा खाने होइन होला ? संस्कार र संस्कृति नै बिर्सियो भने बाँकी के रहन्छ र ? ‘तिम्रा बुवा पनि उस्तै चाहिने ठाउँमा त श्रीमतीका कुराको विरोध पनि गर्नुपर्छ नि । तिम्रा भाइबुहारीको त झन् के कुरा गर्नु, उमेरदार छन् । उम्किन पाए को घरमा धस्सिएर बसोस् । घुम्न पाए के चाहियो र ?’

तर पनि जोरीपारीले के भन्छन्–हेक्का राख्नुपर्छ नि ? ‘मेरो कुरा सक्किन नपाउँदै सविता बिच्चैमा प्वाक्क बोली । ‘आ ठीकै त हो नि आमा, खौरेर मसिनो र खुवाएर आफ्नो कोही हुँदैनन् । खर्च पनि थोरैले पुग्दैन । यो दसैं आउन लाग्दा मलाई पनि दिक्क लाग्न थालिसक्यो । जति गरे पनि खुसी कोही हुँदैनन् । उता भने बुहारीलाई कति मस्ती छ, दसैंमा घुम्न निस्कियो आनन्द । उतै मन्दिरमा टीका लगायो । ठाउँ पनि देखिने मुख पनि फेरिने ।

फुपूका छोरीहरू त झन् दसैं बिदा पारेर हरेक वर्ष दुबई, इन्डोनेसिया घुम्न जान्छन् । पोहोर मलेसिया गएका थिए । यसपटक फेरि कता जान्छन् । मलाई त उनीहरू घुमेको फोटो देखेर औडाहा हुन्छ । हरेक वर्ष दसैंमा अफर दिन्छ रे । आफू त मुन्टो तन्काएर मोबाइलका भित्ता हेरेकै भर । साथीहरू घुमेको फोटोमा लाइक र कमेन्ट गर्दागर्दै बौलाएर पागलै हुन्छु कि जस्तो लाग्छ । दसैं मान्ने पैसाले त बरू घुमेर पो आइन्थ्यो । तर के गर्नु हामीलाई मात्र मान्नुपर्ने यो दसैं ।’ सविता नीलोकालो मुख लगाएर भान्सामा भाँडा ठटाउँदै भुत्भुताउन थाली–‘कस्तो खप्पर र छ मेरो त । अरूलाई फेसन गरेरै संसार घुम्दा पनि पुगेकै छ । आफूलाई भने खाएर कहिले नअघाउने मान्छेहरूको टहल गर्नुपरेको छ । दसैंको पेस्कीले आजसम्म एउटा राम्रो साडी किन्न सकेको छैन । दक्षिणा दिँदै ठिक्क हुन्छ । बल्लतल्ल आएको पैसा अनावश्यक खर्चमा सकिन्छ । होइन त्यो मासु पनि कति खान सकेको । मलाई चाहिँ रहर लाग्दैन होला त ? दसैंमा घुम्न जान र माइत जान कसलाई मन नलाग्ला । हरेक वर्ष कम्मर भाँचिने गरी खट्नुपर्छ दसैंको नाममा । मैले मात्र गर्नुपर्ने अरूलाई माइती हिँड्दै ठिक्क छ । जति गरे पनि कसैले देख्ने होइनन् । पुर्पुरो गतिलो हुँदो हो त म पनि घरमा ताल्चा ठोकेर मस्तीले हिँड्थें । होइन यो घुम्ने संस्कृतिको विकास कहिले होला ? कुनै परिवार घुम्न निस्कियो भने पनि कुरा काट्नुपर्ने । जसलाई जे हर्दा ठीक लाग्छ गर्न दिए भैगो नि । आफू जान नपाए पनि म त खुसी छु । कम्तीमा माइतीमा त रमाइलो छ । बुहारी र मम्मीलाई कति सन्चो । दसैं आओस् कि जाओस् आफ्नो परिवार मिलेकै छन् । आफ्नो त जाने ठाउँ पनि कतै छैन । लोग्ने गतिलो भए पो, आमाले जे भन्छिन् हस् हजुर गर्दै जुनी जाने भयो आमाको लालको । सिलौटोमा मेरै त अचार बन्ने होला नि चाडपर्वमा ?’

‘के भाको होला तिमीहरूलाई सविता, दसैं भनेकै रमाइलो, भेटघाट, खानपिन एवं मान्यजनहरूको हातबाट टीका र जमरा थाप्दै आशीर्वाद लिने परम्परा होइन र ? जे उपलब्ध छ त्यसैमा रमाउँदै संस्कृतिको जगेर्ना गर्नुपर्छ, उरूको देखासिखी गर्ने होइन घाँटी हेरेर हाड निल्नुपर्छ । म पनि त छु । सबैले मिलेर काम गरौंला ।’ सविता असार–साउनको आकाशजस्तै अनुहार पारेर ठुस्स थिइन् । 

‘आमा π आज निकै टाउको दुख्यो ।’ असीम मेरो काखमा आएर थचक्क बस्यो । टाउको छामेर हेरें रनक्क रन्किएको थियो । ‘सिटामोल खान दिएँ । टाउको सुम्सुम्याउँदै लगेर कोठामा सुताएँ । एकैछिनमा भुसुक्क निदायो पनि । असीमको अनुहार राम्रोसँग हेरें । निकै उदास, हतास र गलेको देखें । मेरो छाती भारी भयो ।’ बाहिर आएर सवितालाई फेरि भनें–

 ‘हेर सविता असीमलाई मावल जान नपाएर भित्रभित्रै चोट परेको छ । मान्छे सामाजिक प्राणी हो, आफूलाई मन नलागे पनि समाज र कुटुम्बहरूका लागि चाडपर्व मान्नुपर्छ । एकपटक तिम्री मम्मीलाई पनि सम्झाऊ । दसैं मानेर हिँडे पनि हुन्छ । म नबोलेको मात्र हो, देखिराछु हरेक वर्ष एउटा–एउटा बहाना बनाएर चाडपर्वको मुखमा बेपत्ता हुन्छन् ।

सबैजना जमरा नै नराखी दसैंमा घुम्न निस्कने हो भने दसैं कसले मान्छ अनि दसैंलाई कसरी बुझ्छ आउने पुस्ताले । सबैले यसरी नै दसैंलाई हलुका रूपमा लिए भने हाम्रो सभ्यता कता पुग्ला ? भोलि पुस्तकका पानामा मात्र दसैंको इतिहास खोज्ने दिन आयो भने ? होइन त्यत्रो पढाएको मान्छे परम्परा र संस्कृतिको संरक्षण र सम्मान गर्नुपर्छ भन्ने थाहा छैन होला त ? परदेश गएकाहरू पनि राष्ट्रिय चाड भनेर दसैंमा घर फर्कन्छन् । भत्किएका भित्ताहरू मात्र टालटुल पारिँदैन दसैंमा, भत्किएका मन र सम्बन्धहरू पनि जोडिन्छ । भेटघाट र आशीर्वादको बहानामा टालटुल पारिन्छ सम्बन्धहरू । अनि पो सुन्दर र मजबुत हुन्छन् नाता । खोइ कस्तो सम्पन्नता छाएको हो यो सहरमा, म त बुझ्न सक्दिन । आफ्नो नातिको मुटु छियाछिया भएको देखेर मात्र बोलेकी हुँ, नत्र अन्ठाउने मान्छेहरूलाई सचेत पार्न कहाँ सकिन्छ र ?’

 ‘आमा π यहाँ जस्तो होइन नि हाम्रो माइतीमा धेरै मान्छेहरू आउँछन् । गर्नै गार्‍हो हुन्छ । मम्मी पनि गर्दागर्दा वाक्क भएर अब त हिँड्न थाल्नुभयो । घुम्ने समय अरू बेला जुर्दैन, त्यसैले हो । कति गर्नु त गर्न पनि । जसले गर्छ उसैलाई धेरै दुःख हुने त हो । दसैंभरि अब कोही खट्न सक्दैनन् ? बरू घुम्ने बहानामा फुत्त निस्कियो आनन्द । बल्लतल्ल दसैंमा बोनस आउँछ त्यो पनि खानपिनमै झ्वाम हुन्छ । आफ्नो लागि कहिले गर्नु वाक्क लाग्दो । बरू अबदेखि हामी पनि जाऊँ न आमा कतै घुम्न ।’

 ‘हे प्रभु π तिम्रो बुद्धि किन यस्तो भयो । तिम्रो संस्थामा बिदा पाइँदैन र ? बिदा लिएर कुनै बेला घुम्न जानु नि छोरासँग । किन चाडपर्व नै बहिस्कार गर्नुपर्‍यो । बोल्दाबोल्दै असीम सुतेको कोठाबाट असीम चिच्याएको आवाज आयो । हामी दगुरेर कोठामा पुग्दा त थर्थर काम्दै असीमले सवितालाई ग्वाम्म अङ्गालो हालेर बर्बरायो–‘मामु π मामाघर ःः जाने । मामालाई ःः भनिस्यो न हामी पनिःः दसैंमा मामाघर आउने ःःः स्कुलमा पनि होमवर्क दिएको छ–‘दसैं र मामाघर’ शीर्षकमा कथा लेख्न ।’

असीम ज्वरोले निकै तातेकोले स्याँ ःःस्याँ गर्दै बोल्दै थियो । अचानक बेहोस भयो । हतार–हतार एम्बुलेन्स बोलाएर अस्पताल दगुरायौं । असीमको सिरानीमुनि स्केच बुक थियो । हतार–हतारमा हिँड्दा पनि स्केच बुक त हातमै रहेछ । असीम आइसीयूमा थियो । ‘उसको होस खुल्ने प्रतीक्षामा हामी बाहिर पर्खिरहेका थियौं । अनायास असीमको स्केच बुक पल्टाएँ–मामा घरमा उन्मुक्त भएर खेलेको, हाँसेको, घुमेको र चित्रहरू बनाएको रहेछ मेरा आँखा जलमग्न भए सवितालाई देखाएँ, उनी पनि मूर्छा परेर रुन थालिन् ।’

असीम एकोहोरो भएको धेरै दिन भएको थियो । आदित्यसँग पनि त्यति बोल्दैनथ्यो । न मोबाइल चलाउँथ्यो, न खेल्थ्यो । जहिले पनि एक्लै टोलाएर बस्न मन पराउँथ्यो । खाना खान पनि उति मन गर्दैनथ्यो । भोक लाग्यो त कहिल्यै भनेन । ‘हेर्दाहेर्दै दुब्लाएर असीम सिन्काझैं भएको चालै पाएनौं । डाक्टरले आज भन्दा पो झसङ्ग भयौं ।’ असीमलाई दसैं र मामाघर जान नपाएको चिन्ताले भित्रभित्रै टोकिरहेको रहेछ । निकै लामो समयदेखि असीम तनाबले घेरिएको रहेछ । 

 Image