Successfully Copied

स्वप्न बगैंचा

सुन्दर बगैंचा सबैको सपना हो । सही जानकारी नहुनाले बगैंचाका बोट–बिरुवा सप्रिँदैनन् । सुन्दर बगैंचा निर्माणका लागि केही पूर्वतयारी गरे सजिलो हुन्छ ।

सुन्दर बगैंचा सबैको सपना हो । सही जानकारी नहुनाले बगैंचाका बोट–बिरुवा सप्रिँदैनन् । सुन्दर बगैंचा निर्माणका लागि केही पूर्वतयारी गरे सजिलो हुन्छ । कुन कुरालाई पहिलो प्राथमिकतामा राख्ने ? कस्तो बगैंचाको डिजाइन गर्ने ? कुन–कुन बोट–बिरुवा लगाउने आदि कुरामा ज्ञान भए समय र पैसा दुवैको बचत हुन्छ । 

कसका लागि ?
बगैंचा आफ्नो जीवनशैली र आफ्नो परिवारको आवश्यकताअनुकूल हुनुपर्छ । जस्तैः घरमा बच्चा भए उनीहरूका लागि खेल्ने ठाउँ चाहिन्छ । सबैभन्दा पहिला बगैंचा कसका लागि डिजाइन गर्दै हुनुहुन्छ, घरमा को–को सदस्य बस्नुहुन्छ ? बालबच्चा वा घरपालुवा जनावर छन्/छैनन्?नियमित आगन्तुकलगायतका कुरामा ध्यान दिनुपर्छ । बगैंचा हामीले जस्तै जनावरहरूले पनि मनपराउँछन् ।

के चाहन्छौ ?
बगैंचाबाट फलफूल वा तरकारी फलाउन चाहनुहुन्छ वा मौसमी फूलहरू रोपेर फुलाउन चाहनुहुन्छ ? वा दुवै ? सोहीअनुरूपको बगैंचा तयार गर्नुपर्छ । त्यस्तै बगैंचामा खाना वा चिया पिउन चाहनुहुन्छ भने त्यहाँ फर्निचर राख्नुपर्छ । बिहान र साँझ बगैंचामा बस्न सकिन्छ । बाहिरको हो–हल्ला वा गोपनीयताका लागि बगैंचामा ‘स्क्रिनिङ’ गर्न सकिन्छ अथवा पर्खालमा लगाउने लहरे बिरुवा लगाउन सकिन्छ ।



कस्तो रुचाउनुहुन्छ ?
तपाईं आफ्नो बगैंचाबाट कस्तो महसुस गर्न चाहनुहुन्छ ? बाहिरी वातावरणबाट केही समय छुटकारा पाउनका लागि आरामदायी समय बिताउन चाहनुहुन्छ ? वा तनावबाट मुक्त रहेर शान्त रहन चाहनुहुन्छ ? बगैंचा सोहीअनुरूपको डिजाइन गर्नुपर्छ । त्यसका लागि बगैंचा कस्तो शैलीको बनाउने आफ्नो रुचि र आवश्यकतालाई ध्यान दिनुपर्छ । चारैतिर हरियालीका साथै मौसमी बिरुवा लगाउनुपर्छ ।

कति समय दिन सक्नुहुन्छ ?
बगैंचा ठूलो र समय दिन नसकिने भए स्याहार–सुसार पुग्दैन र बगैंचाको रूपरंग नै बिग्रिन्छ । आफ्नो समयअनुकूलका बोट–बिरुवा छनोट गर्न सकियो भने राम्रोसँग मलजल पुगेर बगैंचा सुन्दर देखिन्छ ।

कहाँबाट सुरु गर्ने ?
बगैंचा निर्माणका लागि सबैभन्दा पहिला सही ठाउँको छनोट गर्नुपर्छ । ठाउँको छनोट गर्दा पानीको निकास, घाम पर्ने पारिलो ठाउँ हुनुपर्छ । पानी जम्ने ठाउँ भयो भने बोट–बिरुवा सप्रदैनन् ।

कस्तो माटोको छनोट गर्ने ?
बगैंचा सुन्दर बनाउन राम्रो माटो छनोट गर्नुपर्छ । बोट–बिरुवाको स्वास्थ्यका लागि माटो राम्रो हुनुपर्छ । मलिलो माटो भयो भने बोट–बिरुवा राम्रोसँग सप्रिन्छन् । बलौटे माटोमा बिरुवा चाँडै बढ्छन् । त्यस्तै, बिरुवा रोपेपछि बेलाबेलामा माटो लुज गरिदिनुपर्छ । यसले बिरुवाको जरासम्म हावा र अक्सिजन पुग्न सहयोग पुग्छ । कडा माटोमा बिरुवा बढ्न सक्दैनन् र बिरुवामा पोषक तत्व पनि पुग्दैन अनि बिरुवा सुकेर जान्छन् ।


सही बिरुवाको छनोट
बगैंचामा लगाउन लामो समयसम्म रहने खालका बिरुवाको छनोट गर्नुपर्छ । बगनबेली, हिविकक्स, इन्द्रकमल, टेकुमा, चेरीब्लुसम, गुलाब आदि फूल लगाउन सकिन्छ । यसका साथै आफ्नो इच्छानुसार अन्य बिरुवा पनि लगाउन सकिन्छ ।

पानीको सही मात्रा
प्रशस्त मात्रामा पानी हाले बिरुवा चाँडै बढ्छन् भन्ने हाम्रो सोचाइ हुन्छ । बिरुवाअनुसार त्यसलाई चाहिने पानीको मात्रा पनि फरक हुन्छ । त्यसको सही जानकारी हुनुपर्छ । बिरुवालाई धेरै वा थोरै पानी दिँदा बिरुवा मर्न सक्छन् । बिरुवाका जरामा मात्र नभएर पातमा पनि हालिदिनुपर्छ वा स्प्रे गर्न सकिन्छ । यसले पातमा भएकाकीरा पखालिनुका साथै पातमा भएको फोहोर पखालिन्छ ।

पानी दिने सही समय
बिरुवालाई पानी दिने सही समय पनि हुनुपर्छ । बगैंचाका बिरुवालाई पानी दिन साँझको समय उपयुक्त हुन्छ । बिहान पानी दिँदा दिउँसोको घामका कारण बिरुवा बाफिन्छन् र ओइलाउँछन् । इन्डोर बिरुवामा भने बिहान पानी दिनुपर्छ । साँझ पानी दिँदा घाम नभएर रातभर जरा भिज्न गएर कमजोर हुन सक्छन् । त्यस्तै मौसम हेरेर बिरुवालाई पानी दिँदा उपयुक्त हुन्छ । अहिले वर्षायाममा बाहिर भएका बिरुवालाई धेरै पानीको आवश्यकता पर्दैन । त्यस्तै, फूल फुल्ने बिरुवालाई धेरै पानीको आवश्यता पर्छ । त्यसैले यस्ता बिरुवामा बिहान–बेलुकी पानी हालिदिनुपर्छ ।

समय–समयमा ट्रिमिङ जरुरी
बिरुवाको सही किसिमको वृद्धि विकासका लागि समय–समयमा ट्रिमिङको आवश्यकता पर्छ । यसले बिरुवा झाँगिन्छन् । बोट–बिरुवा लामो समयसम्म बढेका छैनन् भने आवश्यकतानुसार ट्रिमिङ गरिरहनुपर्छ ।

बगैंचाको सही हेरचाह
बिरुवा चाँडै मर्नु र नसप्रनुको कारण बगैंचाको सही तरिकाले हेरचाहको जानकारी नहुनुले हो । प्रायः बिरुवामा पानी भयो भने चाँडै बढ्छन् भन्ने सोच्छौं, जुन गलत हो । हरेक बिरुवालाई पानीको मात्रा पनि फरक–फरक चाहिने हुन्छ । त्यसैले बिरुवा खरिद गर्दा, बगैंचामा लगाउँदा त्यसबारे जानकारी हुनुपर्छ ।
 

 Image