प्रयोगात्मक सिकाइले बालबालिकालाई व्यावहारिक बनाउँछ

नारी संवाददाता

असार ८, २०७९ विद्यालयमा बालबालिकाको सिकाइ कस्तो हुनुपर्छ ?

बालबालिकाको सिकाइ समयानुसार परिवर्तन हुँदै जानुपर्छ । पछिल्लो समय डिग्री भन्दा व्यक्तित्व महत्वपूर्ण हुन थालिसक्यो । चौतर्फी ज्ञान र विकासका लागि व्यावहारिक सिकाइ आवश्यक छ । दैनिक दिनचर्यासँग मेल खाने शिक्षा हुनुपर्छ । प्रयोगात्मक सिकाइले नै बालबालिकालाई व्यावहारिक बनाउँछ । 

घरको वातावरणले विद्यालयमा कस्तो असर र प्रभाव पार्छ ?

घर, विद्यालय र समाज बालबालिकाका सिकाइका मूल तत्व हुन् । घरमा गलत कुरालाई गलत नै भन्न सक्ने वातावरण हुनुपर्छ, माया पनि गर्नुपर्छ तर गर्नुपर्ने कुरामा मात्रै । बालबालिकाले ‘नो’ भन्ने कुरालाई स्वीकार गर्न सक्ने वातावरण घरबाटै हुनुपर्छ । 

बालबालिकालाई अनुशासित बनाउन कस्तो सिकाइ जरुरी छ ?

अनुशासन भन्नेबित्तिकै मैले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा बुझाउनु हो । अनुशासनका लागि सकारात्मक उत्प्रेरणा दिनु जरुरी हुन्छ । कक्षामा स्टारबोर्ड राख्न सकिन्छ, जसमा राम्रो गर्ने विद्यार्थीको स्टार थपिदिने, यसले उनीहरू प्रेरित हुन्छन् । नचाहिने कुरा गर्दा यो किन गलत हो भनेर पनि बुझाउन सक्नुपर्छ । कार्ड सिस्टम पनि व्यावहारिक हुन्छ । ‘ग्रिन कार्ड’ले राम्रोको संकेत दिन्छ, जसले धेरै ग्रिन कार्ड पाउँछ त्यो बच्चा आपसे आप मोटिभेटेड हुन्छ । सम्झाएर सकारात्मक तरिकाबाट बालबालिकाहरूलाई अनुशासनको पाठ सिकाउन सकिन्छ । 

अहिलेका बालबालिकाहरू धेरै गृहकार्यसँग दिक्क मान्छन्, जति धेरै कक्षाकार्य र गृहकार्य दिनसक्यो उत्ति नै बालबालिका तीक्ष्ण हुन्छन् भन्ने बुझाइ सही हो ?

यत्तिलाई नै मात्रै बुझ्दा म गलत भन्न सक्छु तर गृहकार्य, कक्षाकार्य नै चाहिँदैन भन्ने होइन । बालबालिकालाई पेजका पेज लेख्न लगाउँदा दिक्क मान्छन् तर सिर्जनात्मक तरिकाले कक्षाकार्य र गृहकार्य दिन सकिन्छ । गृहकार्यको मोडालिटी चेन्ज गर्न सकिन्छ । बालबालिकाले कति सिके लेखेर मात्रै थाहा हुने होइन । बालबालिकालाई विषय दिएर एउटा सानो पावरप्वाइन्ट बनाएर ल्याई साथीहरूका अगाडि प्रस्तुत गर्न लगाउन सकिन्छ । यसो गर्दा उनीहरूमा प्रस्तुतीकरण, सञ्चार क्षमता वृद्धि हुन्छ । अर्को कुरा समाजमा जाने, घुलमिल हुने कुनै विषयबारे छलफल गर्ने, प्रश्न सोध्ने गर्दा उनीहरूमा सिर्जनात्मक क्षमता वृद्धि हुँदै जान्छ । त्यसैलाई गृहकार्य बनाउँदा राम्रो हुन्छ । 

बालबालिकालाई सिर्जनशील र सक्रिय बनाई एउटा असल नागरिक निर्माणमा के–कस्ता कुराले भूमिका खेलेका हुन्छन् ?

विषयगत ज्ञानभन्दा बाहिर गएर व्यावहारिक र प्रयोगात्मक ज्ञानमा बढावा दिनुपर्छ । संसारमा विभिन्न संस्कार छन् जुन एक ठाउँमा सही हुन्छ अर्को ठाउँमा त्यही कुरा गलत हुन सक्छ । यस्तो अवस्थामा विद्यार्थीलाई कारणसहित जानकारी र सूचना दिनुपर्छ, बुझाउनुपर्छ । 

तपाईं बालबालिकाको शैक्षिक र बौद्धिक मापन कुन आधारमा गर्नुहुन्छ ?

हामीकहाँ ग्रेडिङ सिस्टम छ तर हामीले उनीहरूका हरेक क्रियाकलापलगायत स–साना कुराहरू नियालिरहेका हुन्छौं । विद्यार्थी कत्तिको सिर्जनशील छ, कत्तिको अनुशासित छ, संचार संवादमा कत्तिको तीक्ष्ण छ, दिएको काम कसरी र कुन तरिकाले पूरा गरेको छ त्यसका आधारमा मूल्यांकन गर्छौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>