सम्बन्ध जति पुरानो हुँदै गयो, उति गाढा र मजबुत हुने रहेछ । कृषि तथा खाद्य सुरक्षाविज्ञ डा. यमुना घले र नीति तथा अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष डा. विष्णुराज उप्रेतीले यही महसुस गरेका छन् । सहयात्राका तीन दशक पार गरिसकेको यो जोडीमा एक–अर्काप्रतिको जिम्मेवारी छ । विश्वास, सम्मान र समर्पण छ । यही कारण जीवनका हरेक सोपानमा उनीहरू हातेमालो गर्दै अघि बढिरहेका छन् ।
२०४३ सालमा चितवनको रामपुर कृषि क्याम्पस पढ्दा दुईबीच सामान्य देखादेख मात्रै थियो । त्यो समय निकट भइहाल्न त्यति सहज थिएन । ‘खासै कुराकानी केही भएन । म अलि राजनीतिमा सक्रिय भएकाले चुनावका बेला भोट माग्ने क्रममा बोलियो होला, त्यसबाहेक अन्य समयमा बोलेको सम्झना छैन,’ पुराना दिनको स्मृति ताजा गर्दै विष्णु भन्छन्, ‘बरु म विमला राई पौड्यालहरूसँग साथी–सहपाठीका हैसियतले अलि नजिक थिएँ ।’ यमुना चितवनकी स्थायी बासिन्दा, विष्णु दोलखाबाट पढ्न पुगेका ‘पाहुना’ विद्यार्थी । कहिलेकाहीँ ‘दाइ’ भनेर बोलेको याद भने रहेछ, यमुनालाई । विष्णु २०४६ सालमा रामपुर क्याम्पसबाट बिदा भए भने यमुना अर्को वर्ष ।
पढाइ सकेर काठमाडौं फर्किर्एपछि विष्णुले लोकसेवामार्फत १ नम्बरमा नाम निकालेर सरकारी सेवा प्रवेश गरे । आफूले रोजेको ठाउँमा बस्न पाइएला भनेर सोचेका थिए, तर पोस्टिङ भयो दिपायल । ४ हजार ६ सय रुपैंयाँ तलब । घर काठमाडौंपूर्व, कामको जिम्मेवारी पश्चिम । उनलाई चित्त बुझिरहेको थिएन । उही बखत मेची–पहाडी विकास कार्यक्रमका बारे उनले सुने । ‘यता पो ट्राई गरौं कि क्या हो भनेर प्रयास गरेको सफल पनि भइयो,’ भन्छन्, ‘कहाँको ४६ सय, कहाँको २७ हजार मासिक तलब, त्यसपछि म सरकारी जागिर छाडेर पाँचथर पुगें ।’
संयोग कस्तो भने यमुना पनि उही प्रोजेक्टमा काम गर्न फिदिम पुगेकी रहिछन् । यमुनासँगको पुनः भेट, सहकार्य र प्रेमबारे रसिक हुँदै विष्णु सुनाउँछन्, ‘यमुनालाई देख्दा छक्क परें । फिदिमको त्यो सबैभन्दा कलात्मक र फरक शैलीको घर अहिले पनि याद छ । त्यही घरको एउटा कोठामा यमुना बस्थिन्, म अर्को कोठामा ।’ यमुनालाई पाककलामा निकै रूचि थियो । मीठो पकाएर खुवाउँथिन् । कोब्रा स्टायलमा अगाडि बफ उठाएको कपाल, काममा दृढ, साहसी र निर्भीक स्वभावले विष्णु नजिक हुँदै गए । अन्ततः उनीहरूको प्रेमयात्रा सुरु भयो ।
करिब डेढ वर्षको प्रेम सम्बन्धपछि विवाह भयो । ‘पेसा एउटै, विचार र भावना मिल्ने, मलाई गाइड गर्ने उपयुक्त व्यक्तिसँग विवाह गर्दा जीवन सरल तरिकाले अगाडि बढ्छ भन्ने लाग्यो,’ यमुना सम्झिन्छिन्, ‘फिदिमको पञ्जिकाधिकारी कार्यालयमा गयौं, एक रुपैंयाँको टिकट टाँसेर विवाह दर्ता गरियो, विवाह सिद्धियो ।’ यमुना एकल सन्तान हुन् । स्कुल पढ्दादेखि नै विवाहका लागि लाहुरेहरू माग्न आउँथे, चलन र सोच पनि त्यस्तै थियो–लाहुरेलाई दियो भने छोरीले सुख पाउँछे । तर धेरै पढे–लेखेर आफू स्वनिर्भर नभई विवाह नगर्ने यमुनाको प्रतिबद्धता थियो । सबैले भन्थे–यसले धेरै पढी, अब मिल्दो केटो जातभित्र पाइँदैन, यसले बेजातसँग विवाह गर्छे ।
विष्णुसँग विवाह गर्दा आफूले त्यसो भन्नेहरूलाई नै प्रमाणित गरिदिएर झन् बल पुर्याएझैं लागेको थियो यमुनालाई । त्यसैले विवाह भइसकेपछि घरमा नभन्ने सल्लाह भएको थियो । काठमाडौं आएका बेला यमुनाकी दिदीलाई विष्णुले ‘यमुनाले कोही ब्राह्मण व्यक्तिसँग विवाह गरेको’ भनेर सुनाएछन् । तब ती दिदीले कड्किँदै ‘यो हुनै सक्दैन, यदि हो भने हामीले जानेका छौं’ भनेपछि आफूहरूलाई निकै अप्ठ्यारो लागेको विष्णु बताउँछन् ।
एकल सन्तान भएकाले यमुनामा बुवाप्रतिको जिम्मेवारी थियो । यसमा विष्णुले साथ दिए । विवाहको एक वर्षपछि बुवा पनि छोरीसँगै बस्न थाले, आजसम्म पनि सँगै छन् । यमुनाका अनुसार विष्णुका बुवा गाउँ पञ्चायत सचिव भइसकेका, संसार भ्रमण गरेका व्यक्ति भएकाले अन्तरजातीय विवाहकै कारण विभेद वा हीनताबोध महसुस गर्न नपरेको बताउँछिन् । ‘छोराजत्तिकै पढेको, विदेशी प्रोजेक्टमा जागिर खाएको, छोराले जत्ति नै कमाउने बुहारी भएपछि मलाई अरु के चाहियो ? भनेर ससुरा खुसी हुनुभयो । उता विवाहपछि पहिलो पटक दोलखा घर जाँदा एक्कासि हावाहुन्डरी चलेर ठूलो वर्षा भयो, नवदुलही घर भित्रिँदा पानी पर्यो भने लच्छिन हुने, लक्ष्मी भित्रिएसरह हुन्छ भन्ने मान्यता रहेछ, त्यही मान्यतामा अडिग भएर सासूले पनि सकारात्मक रूपमा लिनुभयो,’ कर्मघरबारे यमुना थप्छिन्, ‘दोलखामा पनि मलाई भातभान्सामा कहिल्यै विभेद भएन । आफूलाई मन लागेको कुरा आफैं पकाएर खाने हो ।’
उतिबेला नै दुवैको कमाइ राम्रै थियो । दुवै मिलेर कोटेश्वरमा घर बनाए । मेहनतको कमाइले आफ्नै संसार सिर्जना गरे । ‘पछि बुवा, उहाँका बुवाआमा, उहाँका भाइ–बहिनी सबै सगोलमा बस्न थाल्यौं । हरेक कुरामा आफ्नै निर्णय हुन थाल्यो,’ यमुना भन्छिन् । दुवैले एक–अर्काको संस्कृति, रहनसहन, खानपान, लवाइखवाइमा हस्तक्षेप नगर्ने सहमति विवाहअघि नै भएको थियो । सोहीअनुसार यमुनाले आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्दै गइन् भने विष्णुले पनि त्यसमा सहजीकरण गरे । ‘हाम्रो घरमा चलिआएका कतिपय चलनमा उनले परिवर्तन ल्याइदिएकी छन्,’ विष्णु थप्छन्, ‘दसैंमा छोराछोरी दुवैलाई टीका लगाउनुपर्ने र ठूलोबाट नभएर सानोबाट टीका सुरु गर्नुपर्ने बनाइन् । उनीसँग भएको नेतृत्व क्षमता पनि विशेष छ ।’ यसमा पनि श्रीमान्को साथ–सहयोग र बल प्राप्त नभएको भए गाह्रै हुने यमुना बताउँछिन् ।
आफ्नो जीवनमा यमुना जोडिएपछि निकै आत्मविश्वास बढेको विष्णुको भनाइ छ । विवाहपछि एक–अर्काको करिअरको गति अझै तीव्र बन्दै गयो । विवाहको वर्ष दिनमै छोरी अस्मिता जन्मिइन् । करिब दुई वर्षकी छोरीलाई यमुनाले आफ्ना बुवाको जिम्मा लगाइन्, दुवैजना पढाइका लागि नेदरल्यान्ड्स पुगे । त्यो क्षण दुवैका लागि दुःखद् भएको उनीहरू अहिले सम्झिन्छन् ।
आत्मनिर्भरतालाई जीवनको मूल कडी मान्ने यमुनाले विष्णु पोस्ट–डक्टरेटका लागि बेलायत रहँदा घरपरिवार ढपक्क ढाकेर बसिन् । आफ्नो जिम्मेवारीमा एक इन्च चुकिनन् । यसले विष्णुलाई यमुनाप्रति नतमस्तक बनाएको छ । यमुनालाई भने कामप्रतिको लगाव र परिवारको भ्यालु बुझेर उनीहरूलाई महत्व दिने विष्णुको स्वभावले आकर्षित गरेको छ । आफूहरूबीच कहिल्यै खासै मनमुटाव नभएको बताउँदै यमुना भन्छिन्, ‘मूलतः छोराछोरीको कुरामा श्रीमान्–श्रीमतीको झगडा पर्ने हो, हाम्रा छोराछोरी असाध्यै ज्ञानी निस्किए । राम्रोसँग पढे । अहिले छोरी अस्मिताले मुम्बईको राफल्स् डिजाइन कलेजबाट स्नातक गरेर बलिउडका चर्चित कलाकारसँग काम गरिसकेकी छिन् भने छोरा आयुष अमेरिकामा बैंकर्स छन् ।’
दर्जनौं पुस्तकका लेखक विष्णुको पहिलो पाठक र सल्लाहकार यमुना नै हुन् । जति नै पदप्रतिष्ठामा पुगे पनि जीवनसाथीको दर्जा समान हैसियतको हुने विष्णु बताउँछन् । प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था । हाम्रो सवालमा प्रेमलाई संस्थागत गर्न सफल भएकाले विवाहपछि सम्बन्ध अझ मजबुत हुँदै गयो । अहिले आएर एक–अर्काप्रतिको प्रेम र केयर अझ बढ्दै गएको छ ।’ विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगमा काम गरिसकेकी यमुनाको करिअरले यत्तिको उचाइ लिनुमा विष्णुको ठूलो योगदान छ । मुलुककै सर्वोच्च निकायमा गरिमामय पदमा रहेर काम गरेका विष्णुको सफलतामा यमुनाको सहयोग पनि उत्तिकै प्रशंसायोग्य छ ।
विष्णुको नजरमा यमुना
बलियोपक्ष : आत्मविश्वासी, निडर ।
कमजोरी : जिद्दीपन ।
लत: बगैंचा व्यवस्थापन र पकाएर खुवाउनुपर्ने ।
मनपरेको पुस्तक: खाद्य सुरक्षासम्बन्धी जुनसुकै ।
कस्ती श्रीमती ?: आदर्श ।
के भएको हेर्ने रहर छ ?: सन्तुष्ट र खुसी ।
यमुनाको नजरमा विष्णु
बलियो पक्ष : परिवारको भ्यालु बुझेर महत्व दिने ।
कमजोरी: वर्काहोलिक ।
लत: लेख्ने र पढ्ने ।
मनपरेको पुस्तक: द्वन्द्व र युद्धसम्बन्धी जुनसुकै ।
कस्ता श्रीमान् ?: मैले चाहेजस्ता ।
के भएको हेर्ने रहर छ ? : खुसी र स्वस्थ ।