Successfully Copied

प्रतिभाशाली रम्यता

बीस वर्षअघि पाँच जना शेर्पा समुदायका महिला सगरमाथा हिमाल चढ्दै थिए । हिमाल चढ्ने पुरुषको दबदबा रहेको समयमा महिलाहरू पनि चढ्न सक्छन् भन्ने सन्देश सम्प्रेषण गर्ने उद्देश्य उनीहरूको थियो । त्यही समूहमा मिसिए पत्रकार रम्यता लिम्बू र सपना शाक्य ।

बीस वर्षअघि पाँच जना शेर्पा समुदायका महिला सगरमाथा हिमाल चढ्दै थिए । हिमाल चढ्ने पुरुषको दबदबा रहेको समयमा महिलाहरू पनि चढ्न सक्छन् भन्ने सन्देश सम्प्रेषण गर्ने उद्देश्य उनीहरूको थियो । त्यही समूहमा मिसिए पत्रकार रम्यता लिम्बू र सपना शाक्य । यी दुईलाई ती महिला समूहका गतिविधिहरू भिडियोमार्फत समेट्नु थियो । महिला आरोहीको साहसलाई उनीहरू सबैका सामु ल्याउन चाहन्थे । तर, चाहनाअनुरूप काम गर्न सहज थिएन । त्यसताका उनीहरूसँग न क्यामेरा थियो न त कुनै उपकरण । उनीहरूले विभिन्न संस्थासँग क्यामेरा सापट लिई आरोहीलाई पछ्याए । साथमा सोलार प्यानल पनि झुन्डाए । आरोहीलाई पछ्याउँदै उनीहरूका हरेक गतिविधि क्यामेरामा कैद गरिरहे । आँट र साहस बोकेर सगरमाथा चढ्ने महिलाहरूलाई उनीहरूले ‘डटर अफ एभरेस्ट’ नामक डकुमेन्ट्रीमार्फत सबैका सामु ल्याए । डकुमेन्ट्री लोकप्रिय हुन पुग्यो । विभिन्न संस्थाहरूबाट भिडियोको खुबै चर्चा र प्रशंसा भयो । यसले डकुमेन्ट्री मेकरमा रम्यता लिम्बूको चर्चा चुलियो । क्यामेरा चलाउनुदेखि सम्पादन र उत्पादन गर्नुमा उनलाई छुट्टै रमाइलो लाग्न थाल्यो । द्वन्द्वकालमा उनले ‘सारी सोल्जर’ नामक डकुमेन्ट्री तयार पारिन् । उनले द्वन्द्वको उद्गमस्थल रोल्पा पुगेर चुनौती उठाएकी थिइन् । त्यसबेला उनलाई साथ दिने एक अमेरिकी महिला साथी पनि थिइन् । उनले थुप्रै सामाजिक विषयवस्तुलाई डकुमेन्ट्रीमार्फत प्रस्तुत गरेकी छन् । 

रम्यता साहसी पत्रकारका रूपमा परिचित छिन् । उनको पत्रकारिता यात्रा ‘द काठमाडौं पोस्ट’बाट सुरु भएको हो । पत्रिकामा काम गर्ने र लेख्न सक्ने व्यक्तिको आवश्यकता देखेर जागिर खान आवेदन दिएकी थिइन् । पत्रकार नै बन्छु भन्ने उनको सोच थिएन, जागिर खाने सोच भने पक्कै थियो । उनले भनिन्–‘लेख्न चाहनुहुन्छ भने सम्पर्क गर्नु भन्ने थियो त्यहीँ देखेर आवेदन दिएँ तर पत्रकारिता गर्छु भन्ने चाहिँथिएन ।’ त्यसबेला मिडियामा महिलाहरूको संख्या न्यून थियो । अरुले गरेको काम आफूले पनि गर्न सक्छु भन्ने आँट भने उनमा थियो । उनले पत्रिकामा मासिक तीन हजार रुपैयाँ तलबमा रिपोर्टिङ गर्न थालिन् । सामाजिक विषयवस्तुलाई समेट्ने गर्थिन् । त्यसमा पनि महिलाका विषयलाई उजागर गर्थिन् । 

‘द काठमाडौं पोस्ट’ पछि ‘नेपाली टाइम्स’मा काम गर्न थालिन् । सधै नयाँ काम र चुनौतीमा अग्रसर हुने उनको रुचि छ । ‘नेपाली टाइम्स’मा रहँदा उनले नेपाली महिला कामदारलाई पछ्याउँदै हङकङसम्म पुगिन् । महिला कामदारहरूको जाने प्रक्रियादेखि हङकङमा उनीहरूको अवस्थाबारे चिरफार गरिन् । उनको त्यो समाचारलेउनलाई थप उचाइमा पुर्‍यायो । साथै अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा हुन थाल्यो । पत्रकारिता र विषयवस्तुमा जसरी उनी फड्को मार्दै गइन् त्यसरी नै मिडिया हाउसमा फड्को मार्दै गइन् । उनी भारतीय टेलिभिजन र अलजजिरा टेलिभिजनजस्ता अन्तर्राष्ट्रिय मिडिया हाउसमा पुग्न सफल भइन् । करिब १० वर्ष उनले प्रिन्ट मिडियामै बिताइन् । सन् १९९८ मा मिडिया फेलोसिप पाएर अमेरिकामा पुगेपछि भने उनको पत्रकारितामा फरकपन आयो । अमेरिकन मिडियामा धेरै अनुभव बटुलेपछि उनी भिडियो बनाउने सोचका साथ फर्किइन् । भिडियोमा काम गर्न उनलाई थप सहयोग गर्‍यो ‘काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबलले ।’ यो संस्थामा आबद्ध भई उनले स्क्रिप्ट लेख्नेदेखि भिडियो बनाउने सम्पूर्ण काम सिक्दै जान थालिन् । उनले भनिन्–‘अमेरिकाबाट फर्केपछि भने मैले भिडियोलाई नै निरन्तरता दिन थालें ।’ हाल उनी उक्त संस्थाकी अध्यक्ष हुन् । 

उनी लाहुरेकी छोरी भएकीले शिक्षा–दीक्षामा कुनै कमी भएन । उनले काठमाडौंबाट विद्यालय शिक्षा हासिल गरेपछि भारतको दार्जीलिङबाट राजनीति शास्त्र, इतिहास र अंग्रेजीमा स्नातक पूरा गरिन् । उनका अनुसार सुरुमा पत्रकारिता गर्न परिवारबाट असहज भएको थियो । पछि बुवाले उनलाई स्कुटर किनिदिएपछि रिपोर्टिङ गर्न सहज भयो । विवाहपछि दुई सन्तानकी आमा बनिसक्दा पनि उनलाई काममा अवरोध कहिल्यै भएन । ‘बच्चा साना हुँदा पनि आमालाई छोडेर म निरन्तर काममा खटिरहेँ ।’ उनले भनिन्–‘परिवारको साथ पाएमा हरेक व्यक्तिले सफलता हासिल गर्न सक्छन् ।’ 

नेपाली तथा विदेशी मिडियाको अनुभव लिएकी उनले नेपाली मिडिया निकै साँघुरो रहेको उनको अनुभव छ । रम्यताका अनुसार नेपालमा राजनीतिक घटनाहरूले मात्रै प्राथमिकता पाउने गरेका छन् । राजनीतिकरिपोर्टिङ गर्ने पत्रकारलाई मात्रै ‘हाइलाइट’ गरिन्छ । तर विदेशी मिडियामा सामाजिक विषयलाई प्राथमिकता दिइएको छ, पत्रकारलाई पनि सम्मान गरिन्छ । नेपाली मिडियाहरूले विभिन्न जल्दोबल्दो विषयको उठान गरेपनि त्यसलाई निष्कर्षमा पुर्‍याउन नसकेको उनको भनाइ छ । उनले भनिन्–‘मिडियाले मुख्य तथा भेरिफाइ गर्ने, साक्षी बस्दिने, सेन्स दिलाइदिने, विषय उठान गर्ने हो तर यी विषयमा मिडिया चुकिरहेको छ ।’

सोसल मिडियाबाट अन्य मिडियाहरूलाई चुनौती थपिएको उनले बताइन् । सञ्चार गृहमा महिलाहरूको उपस्थिति उल्लेख्य भएपनि उनीहरू संख्या र क्षमता वृद्धिका लागि ठोस नीति/नियम निर्माण हुनुपर्ने उनको सुझाव छ । 

(प्रकृति दाहालसँगको कुराकानीमा आधारित)

 Image