फेसन आर्टिस्ट विशाल गुरुङलाई धेरैले पोखराका सेलिब्रेटी स्टारका रूपमा चिन्छन् । सन् २००४ मा सम्पन्न मिस्टर–टिनका विजेता गुरुङ नेपालकै पहिलो मिस्टर–टिन हुन् । ५० भन्दा बढी फेसन शो तथा प्याजेन्टमा कोरियोग्राफी गरिसकेका उनी दुई दर्जन रन वेमा र्याम्प वाक गरिसकेका छन् । लगभग १ सय भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय प्याजेन्टमा निर्णायकको भूमिका निर्वाह गरेका विशालले १ दर्जन व्यावसायिक विज्ञापनमा आफ्नो कला प्रस्तुत गरेका छन् । सन् २०१५ मा एकेडेमिक फोर्स अफ मलेसिया अवार्डबाट सम्मानित उनी क्रयान एण्ड किम्बो कस्मेटिकका ब्रान्ड एम्बेसडर पनि हुन् । विशाल, पोखराको बालसंसार मोन्टेश्वरी एकेडेमीका संस्थापक अध्यक्ष तथा इभेन्ट्स फर यु प्रा.लि. का संस्थापक पनि हुन् । विशालले आमा–बुवा र छोरीसहितको दृष्टिविहीन परिवार एडप्ट गरी उनीहरूको संरक्षण र पालनपोषण गर्दै आएका छन् ।
नेपालमा फेसन तथा मोडलिङको पछिल्लो अवस्था कस्तो छ ?
अहिले आएर यी दुवै क्षेत्र राम्रो प्रगति भइरहेको छ । यसैबाट धेरैको आम्दानी र लाइफस्टायल सुधारिएको छ । अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि यो क्षेत्रमा लाग्नेले राम्रै स्थान पाइरहेका छन् ।
फेसन शो तथा ब्युटी प्याजेन्टले मानिसको करियर तथा जीवनमा कस्तो प्रभाव पारेको छ ?
म आफैं पनि सानै उमेरदेखि प्याजेन्टबाटै यो क्षेत्रमा प्रवेश गरेको हुनाले म आज जे र जहाँ छु यसैको देन हो । यसले मलाई जीवनमा धेरै कुरा सिकाएको हो । मानिसको चौतर्फी व्यक्तित्व विकासमा यसको विशेष भूमिका छ ।
आर्थिक रूपमा यो क्षेत्र कत्तिको सबल छ ?
अहिले यसको ‘वे अफ ट्ेरडिङ’ राम्रो भइरहेको छ । स्वदेश तथा विदेशसम्म नै पहुँच बढाइरहेको छ । यसैमा आर्थिक पक्ष जोडिएर आउँछ । जति फराकिलो मार्केट भयो आम्दानी सोही रूपमा बढ्ने हो । यसको ग्राफ उकालोमै छ ।
सोसल र डिजिटल मिडियाले यो क्षेत्रलाई कत्तिको सघाएको छ वा घाटा लागेको छ ?
खुबी भएका जोकोहीलाई पनि सोसल र डिजिटल मिडियाले सघाएकै छ । हरेक व्यक्तिको हातमै मिडिया भएका कारण प्रत्येकले आफ्नो कला तत्काल पस्किने ठाउँ पाएका छन् । क्षमतावान् मान्छेका लागि सोसल र डिजिटल मिडिया सहयोगी भइदिएको छ ।
नेपालको फेसन तथा मोडलिङ क्षेत्रलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा अझै प्रतिस्पर्धी बनाउन के आवश्यकता देख्नुहुन्छ ?
सबैभन्दा पहिलो कुरा त स्थायी सरकार हुनुपर्छ । किनभने थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्याजेन्टमा निर्णायकको भूमिका निर्वाह गर्दा मैले ती कुरा महसुस गरें । मिस नेपालकै कुरा गर्नुपर्दा पनि हामी टप थ्री, टप फाइभमा किन पुग्न सकेनौं त भन्दा, त्यो देशको सरकार, त्यहाँको राजनीतिक स्थिति, विकासको अवस्था, त्यहाँका बजार, भोलि त्यहाँ हुनसक्ने व्यापार–व्यवसाय सबैका बारेमा आयोजकले पहिल्यै रिसर्च गरेका हुँदा रहेछन् । त्यो देशमा कत्तिको व्यावसायिक अवसर छ त्यो पनि हेरिँदोरहेछ । त्यसैले स्थायी सरकार र सुशासन नै पहिलो कडी हो भन्ने मलाइ लाग्छ ।