Successfully Copied

‘अब हरेक क्षेत्रमा असल शासन’

तोसिमा कार्की, सांसद, रास्वपा


पेसाले मेडिकल डाक्टर तोसिमा कार्की संविधानसभा निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ ललितपुर–३ बाट निर्वाचित सांसद हुन् । सहिद धर्मभक्त स्कुल, नख्खुबाट प्राथमिक शिक्षा र मोडर्न इन्डियन स्कुल, चोभारबाट प्लस टु गरेकी कार्कीले किस्ट मेडिकल कलेज, ललितपुरबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरेकी छिन् ।
युवा नेतृ, मेडिकल अभियन्ता, नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्यलगायतका फराकिलो परिचय बनाएकी कार्कीको लक्ष्य जनताप्रति इमानदार हुँदै ‘स्वस्थ नेपाली : सुखी नेपाली’ निर्माण गर्नु हो ।
अहिले भारी मतका साथ जित हात पार्नुको कारण ?
नेपाली जनता पुरातन सोच र शैलीबाट आजित भइसकेका थिए । उनीहरू परिवर्तन चाहन्थे । यसपटकको परिणाम नै जनताले स्थिर सरकार चाहेका छन् भन्ने हो । अघिल्ला सरकारहरू सत्ताको खेलमा मात्रै अल्झिइराखे । जनताका एजेन्डा सम्झौतामै परे, ओझेलमा परेको पर्‍यै भए । अहिले जनता भ्रष्ट खेलबाट टाढा रहेका बेदाग युवा र परिवर्तनको पक्षमा उभिए ।
नयाँ नेतृत्व आउँदै गर्दा के कुरा नयाँ र फरक देख्न पाइएला ?
आजसम्म जनताले मीठो बोलेको मात्रै सुने, राम्रा काम गरेको देख्न पाएनन् । अबको मूल उद्देश्य भनेकै असल शासन हो । निजामती, शिक्षा, पर्यटन, स्वास्थ्य, आर्थिक, सामाजिक राजनीतिक हरेक क्षेत्रमा असल शासन । रास्वपाले मध्यमवर्गीय स्थापना गर्ने भनेर स्पष्ट भनिसकेको छ । अबको नयाँ नेतृत्वले युवा निर्यात गर्ने होइन, वस्तु निर्यात गर्छ । पुरानाले धेरै व्यक्ति निर्यात गरे । अब हामी यहाँ उत्पादित वस्तु निर्यात गर्नेछौं ।
महिला र युवाका लागि कस्ता योजना छन् ?
महिला र युवावर्गको सशक्तीकरण घरैबाट सुरु गर्न जरुरी छ । व्यवहारमै परिवर्तन गर्न आवश्यक छ । ओसिएमसी सेवालाई अझै दु्रत र प्रभावकारी बनाउनुपर्छ । म पनि महिला भएकीले हिंसारहित समतामूलक समाज निर्माण गर्नु नै मेरो सपना हो । हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्नेछौं । अहिले हामीसँग प्रत्येक दिन १७ देखि १९ जना युवाले आत्महत्या गरेको तथ्यांक छ, यसमा गम्भीर भएर काम गर्नेछौं ।
उच्चतहमा महिला संख्या बढाउन तपाईंहरूको नेतृत्वको भूमिका कस्तो हुन सक्ला ?
सशक्त भइसकेका महिलालाई नै अग्रसर गराउनेछौं, जसले अर्को महिलालाई आफूजस्तै बन्न प्रेरित गर्ने मात्रै नभएर सघाउनेछ । हरेक महिला महिलाका लागि र हरेक पुरुष पनि महिलाका लागि ‘स्ट्यान्ड’ गर्ने वातावरण सिर्जना गर्नेमा जोड रहन्छ । व्यवहारत: हामीले हस्तक्षेप गर्न पनि सक्नुपर्छ । 

 Image