Successfully Copied

महिला : कानुन र समाज 

महिला हिंसाविरुद्धको एउटा कार्यक्रममा दिनभरि घाँटी सुकाएर सरला घर फर्किन्छिन् । बेलुका मोबाइल खोलेर भोलि बिहानका लागि अलार्म सेट गरी फेसबुकतर्फ आँखा डुलाउँछिन्–एकछिन ।

महिला हिंसाविरुद्धको एउटा कार्यक्रममा दिनभरि घाँटी सुकाएर सरला घर फर्किन्छिन् ।

बेलुका मोबाइल खोलेर भोलि बिहानका लागि अलार्म सेट गरी फेसबुकतर्फ आँखा डुलाउँछिन्–एकछिन ।

फेसबुकमा अहिले ट्रेन्डिङमा मोना/सहज काण्ड रहेको छ । मोना र सहज दुवै उदाउँदै गरेका मोडल हुन् । दर्जनौं चर्चित गीतमा सँगै अभिनय गरेका दुवैलाई मन पराउने प्रशंसकहरूको संख्या उत्तिकै छ । सरलाले पनि उनीहरूलाई राम्ररी चिन्छिन् । मोना र सहजबीचमा प्रेम सम्बन्धको चर्चा पनि व्यापक थियो तर केही दिनअघि मात्र मोनाले सहजद्वारा आफूमाथि शारीरिक दुराचार भएको जानकारी दिएपछि उनीहरूको सम्बन्धबारे चारैतिर बहस सुरु भयो । कसैले सहजको बचाउमा लेखिरहे भने कसैले मोनाको न्यायका लागि बोलिरहे । उता कानुनले आफ्नो फैसला अगाडि बढाएको छ भने यता आम नागरिकले आ–आफ्नै ढंगको फैसला सामाजिक सञ्जालमा रंगाइरहेका छन् । धेरै दिनदेखि लेख्छु भन्दाभन्दै नभ्याएकी सरलाले पनि आज समय निकालेर फेसबुकमा आफ्नो एउटा स्टाटस पोस्ट गर्छिन् मोनाको पक्ष लिँदै ।

‘बहिनी तिमी आफूमाथि भइरहेको दुर्व्यवहारविरुद्ध नडराई लड्नुपर्छ । तिमीले आफ्नो साहसलाई डगमगाउन दिनुहुँदैन ताकि आफ्नो आवाजलाई दबाइरहेका तिमीजस्तै अरु नारीले पनि तिमीबाट केही सिकून् । हामी महिला अधिकारकर्मी सधै तिम्रो साथमा छौं । तिम्रो न्यायका लागि मैले पनि आफ्नो तर्फबाट सहयोग गर्ने वाचा गर्छु ।’

यति पोस्ट गरेर सरला बिस्तारामा पल्टिन्छन् । निद्रा आउनुभन्दा पहिले उनको मानसपटलमा आफ्नो विगतले परिक्रमा गर्न थाल्छ । उनी सम्झिन्छन्–उनी स्कुलकै सबैभन्दा राम्री र कक्षाकै सबैभन्दा जेहेन्दार विद्यार्थी थिइन् । नौ कक्षा पढ्दा नै दर्जनौं प्रेम प्रस्ताव आइसकेका थिए तर उनको ध्यान केवल पढाइमा मात्र थियो । एकदिन अंग्रेजी विषयका शिक्षकलाई पितृशोक पर्छ र केही दिन बिदामा बस्नुपर्ने हुन्छ । त्यतिबेला हेड सरका छोरा विवेक भारतबाट पढाइ सकेर घर आएका हुन्छन् । अंग्रेजी शिक्षकको बिदा अवधिभरमा विवेकले अंग्रेजी पढाउनुपर्ने हुन्छ । विवेकको उपस्थितिले स्कुलको रौनक नै बदलिन्छ । लक्काजवान, सर्लक्कको शरीर, बोल्ने शैली, मानिसहरूलाई हेरेको हेरै बनाउने त्यो मुस्कान । उनले पढाउन थालेदेखि अंग्रेजी पढ्न झ्याउ मान्ने विद्यार्थीहरू पनि निकै चाख मानेर पढ्न थाल्छन्, अझ छात्राहरू बढी । दुई–चार दिनमै सरला र विवेक बीचमा आत्मीयता बढ्दै जान्छ । कक्षामा विवेकले सरलालाई अलि बढी ध्यान दिएको कुरा अन्य विद्यार्थीहरूले पनि भेउ पाउन थाल्छन् । सरला पढाइमा राम्रो विद्यार्थी त थिइन् नै त्यसमा पनि सबैभन्दा सुन्दरी । अरु केटाहरूलाई खासै नगन्ने सरलाको विवेकप्रति भने बढी नै झुकाव हुन थालेको थियो । यो देखेर सरलालाई मन पराउने केही विद्यार्थीहरू विवेकसँग भित्रभित्रै जल्न थाल्छन् । कसैले त एकान्तमा भेटेर विवेकलाई कुट्ने योजना बनाएका हुन्छन् । एकदिन सरलाको कक्षाबाट पिकनिक जाने योजना बन्छ । जसमा विवेक पनि सामेल हुन्छन् । पिकनिककै दिन सबैजना नाचगान, फोटो खिच्ने, खाना बनाउने तरखरमा व्यस्त भइरहँदा विवेक र सरला गायब हुन्छन् । खाना खाने बेलासम्म पनि ती दुईजना हराइरहँदा खैलाबैला मच्चिन्छ । यही हो मौका भनेर सरला र विवेकको सम्बन्ध माथि जलन भइरहेका चार–पाँच जना विद्यार्थी उनीहरूलाई खोज्न हिँड्छन् । केही पर एकान्तमा दुवैजना एक–अर्काको हात समातेर बसेको देखेपछि उनीहरूको फोटो खिचिन्छ । त्यसपछि सबैजना गएर उनीहरूलाई घेर्छन् ।

सरला सम्झिन्छिन्, त्यो जमानामा केटा र केटी अलि नजिक भएर बोलेको देखे त अनेकथरी कुरा काट्ने चलन थियो । अझ त्यसमाथि एकान्तमा शिर जोडेर, हात समातेर बसेको त ठूलै अपराधसरह हुन्थ्यो गाउँमा । 

त्यस दिनपछि गाउँ तथा स्कुलभरि विवेक र सरलाको बारेमा नानाथरी चर्चा हुन थाल्यो । विवेकलाई स्कुलबाट छिट्टै निकाल्ने दबाब दिन थालियो । आफैले पढाउने छात्रामाथि हातपात गरेको समेत आरोप उनलाई लाग्न थाल्यो । सरलालाई पनि मुख देखाएर हिँड्न गाह्रो पर्न थाल्यो । सरलाका दाजुहरू, आफन्तहरू एकदिन हेड सरको घर घेराउ गर्न जान्छन् । सरलाको इज्जतमाथि दाग लाग्यो अब उसको कसैसँग विवाह हुन सक्दैन । त्यसैले यो घरमा बुहारी बनाएर तत्कालै भित्र्याउनुपर्छ भनेर माग राखियो । हेड सरले अहिले नै छोराको विवाह गरिदिन चाहन्नथे । सरला र विवेक पनि विवाहका लागि राजी थिएनन् । तर आफन्त र गाउँलेको दबाबअगाडि उनीहरूको केही लागेन । सरलालाई पनि विवेकजस्तो केटा तैंले पाउदिनस्, पढेलेखेको छ, सम्पत्ति टन्न छ, बाबुको पनि सबैतिर पहुँच छ, यस्तो मौका छोड्नुहुँदैन भनेर भड्काउने काम भयो । उनको अपरिपक्व दिमागले पनि अरूले जसो भन्यो त्यही सही सोच्यो । आखिर उनले पनि विवेकले आफूलाई फकाई–फुल्याई एकान्तमा लगेको बयान गाउँलेको सामुन्नेमा दिइन् । त्यसपछि दुवैको विवाह भयो । एक–दुई वर्षजति सम्बन्ध राम्रै भयो । सरलाले स्कुलको पढाइ पूरा गरिन् । क्याम्पस पढ्न गाउँभन्दा टाढा जानुपर्थ्यो । कहाँ पठाउने भन्ने सल्लाह हुँदै थियो । यसैबीचमा सरला गर्भवती हुन्छिन् । यस्तो बेला घरबाट टाढा पढ्न पठाउन घरपरिवार असमर्थ हुन्छ । उता विवेकले भने दुबईमा जागिरका लागि प्रोसेस गरेका हुन्छन् । उनको भिसा लाग्छ । विवेक बिदेसिन्छन् । सरलाले बच्चा जन्माएर, हुर्काएर बच्चा स्कुल जाने हुँदासम्म पनि विवेक फर्केर आउँदैनन् । न घरमा कुनै सम्पर्क नै गर्छन् । कतैबाट हल्ला सुनिन्छ कि विवेकले काठमाडौंमा घर किनेर अर्कै केटी विवाह गरेर राखेको छ । सरलाले अझै हिम्मत हार्दिनन् । छोरालाई राम्रो स्कुलमा पढाउने बहानामा विवेकलाई भेट्न सरला काठमाडौं पस्छिन् । निकै संघर्षपूर्ण दिनहरू बित्छन् उनका । घरपरिवारबाट आर्थिक सहयोग भए पनि श्रीमान्को उपस्थितिविना एक्लै छोरा हुर्काउन सजिलो थिएन उनलाई । छोरा अलि ठूलो भएपछि आफूले पनि पढाइलाई निरन्तरता दिन्छिन् । अब त विवेक आफ्नो जीवनमा फर्केर आउने आश पनि मरिसकेको हुन्छ । बिएसम्मको पढाइ सकेर उनी एक गैरसरकारी संस्थामा जागिर गर्न थाल्छिन् । यसैगरी विभिन्न महिला अधिकारसम्बन्धी कार्यहरूमा पनि सक्रियता हुन्छ उनको । देश–विदेश घुम्ने, धेरै कुरा जान्ने अवसर पनि मिल्छ । अब त छोराको पनि विवाह गर्ने उमेर भइसकेको छ । कम्प्युटर इन्जिनियर छोराका लागि राम्रो कुलघरानाकी असल बुहारी खोज्नु भनेर आफ्ना सहकर्मीहरूलाई पनि जानकारी गराएकी हुन्छिन् । 

दिनहरू बित्दै जान्छन् । यता मोना र सहजको घटनाले निकै चर्चा पाउँछ । अदालतले सबै औपचारिकता पूरा गरेर अन्तिम फैसला सुनाउँछ । कानुनको नजरबाट सहज दोषी ठहरिन्छ । सहजलाई कानुनबमोजिम कारागारमा पठाइन्छ । 

आरोप झूटो थियो या सत्य, त्यो कि त भगवान्लाई थाहा थियो कि घटनाका भुक्तभोगीहरूलाई नै । तर जुटाइएका प्रमाण र नेपालको कानुनमा उल्लेख गरिएका धाराहरूका आधारमा सहजको हार भएको थियो भने मोनाको विजय ।

मोनाको विजयको खुसीमा बधाईस्वरूप सरलाले एउटा फेसबुक स्टाटस लेख्दै थिइन्–उनको फोनको घण्टी बज्छ ।

नमस्कार म्याम, ‘म पत्रकार आरती, तपाईंसँग केही कुरा गर्न चाहन्छु । फुर्सदमा हुनुहुन्छ भने एकैछिन आउँछु नि तपाईंको अफिसमा ।’

‘कुरा के विषयमा आरतीजी ?’ सरलाले सोध्छिन् ।

‘अस्ति पाउनुभएको अवार्ड र तपाईंले महिला हिंसाविरुद्धमा गर्नुभएका योगदानहरूका बारेमा हो ।’

‘ए, ए, हस्, म फुर्सदमै छु आउनुहोस् न’ सरलाले अन्तर्वार्ताका लागि समय दिन्छिन् ।

एकछिनपछि उनकै कार्यालयमा औपचारिक अन्तर्वार्ता रेकर्ड हुन्छ ।

बिदा हुने बेलामा सरलाले आरतीलाई चियाको अफर गर्छिन् । त्यसपछि नजिकैको क्यान्टिनमा गएर उनीहरू सँगै चिया पिउँछन् । सरला र आरतीबीचमा व्यक्तिगत कुराकानी पनि हुन्छ । कुरा गर्ने क्रममा सरलाले आफ्नो छोराको विवाह गर्न केटी खोजिरहेको पनि जानकारी गराउँछिन् । 

‘हेर्नुस् न हजुरले खोजेकै केटीसँग विवाह गर्ने हो भनेको छ, तपाईंको नजरमा पनि कुनै राम्री केटी भए भन्नुहोला है’ भन्दै थिइन् । यत्तिकैमा आरतीले तिनै मोडल मोनालाई सम्झिन्छिन् र सरलालाई भन्छिन्– ‘मोनासँग मेरो राम्रो चिनजान छ म्याम, तपाईंले मोनाको साहसबारे प्रशंसा गर्दै धेरै स्टाटस पोस्ट गर्नुभएको पनि देखेकी छु । तपाईंको छोरासँग उमेर पनि मिल्छ प्रस्ताव राखौं त एकपटक मैले मोनासँग ?’

आरतीको कुरा सुनेर सरला कुर्सीबाट जुरुक्क उठ्छिन् । उनी अलि झस्किएजस्तो, अकमकाएजस्तो गर्दै ‘आरतीजी, कसैको नामसँग जोडिएर समाजमा बदनाम भएकी केटीलाई बुहारी बनाउने विषयमा सोचेकी छैन मैले । मेरा छोराको हैसियत हेरेर कुरा गर्नुभएको भए राम्रो हुन्थ्यो ।’ सरला रिसाएर उठ्छिन् । आरतीले बोल्नका लागि कुनै शब्द भेटाउँदिनन् । चियाको पैसा तिरेर सरला आरतीतर्फ हेर्दै नहेरी कार्यालयतर्फ लाग्छिन् । आरती हेरेको हेरै हुन्छिन् । 

बेलुका आरतीको कार्यक्रममा सरलाको अन्तर्वार्ता बज्छ । सरलाले समाजलाई परिवर्तन गर्ने आदर्शको कुरा गरिरहँदा आरतीलाई लाग्छ, सबैभन्दा महत्वपूर्ण कुरा त सबैले आफ्नो सोचलाई परिवर्तन गर्नुपर्दो रहेछ । सायद समाज बदल्ने उद्देश्य बोकेर हिँड्नुअघि सबैले आफ्नो सोचलाई बदल्ने हो भने समाज आफैं बदलिने थियो । 

कार्यक्रम सिद्धिनासाथ आरतीले आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गर्छिन्–

‘कानुनी रूपमा निर्दोष ठहरिए पनि समाजले दोषी ठहराउने प्रवृत्तिले आफूमाथि भइरहेको अन्याय लुकाउन बाध्य हुन्छौं हामी नारी । आखिर हाम्रो कानुन नै गलत हो त ? के हाम्रो समाजले पचाउने हदसम्मको कानुन बनाउनुपर्दैन थियो त ? के कानुनका धाराहरूले समाज परिवर्तन गर्न सक्छन् त ?’

 Image