चार वर्षयता फेरिएको दैनिकीले लक्ष्मी बोटेको मुहारमा खुसी मात्रै थपेको छैन आत्मनिर्भर पनि बनाएको छ । ०७७ पुसदेखि चितवनको बनकट्टाका बोटे समुदायले सञ्चालनमा ल्याएको सामुदायिक होमस्टेले उनी घरैमा स्वरोजगार भएकी छन् । यसअघि जीविका चलाउन दिनहुँ कृषि मजदुरीमा जानुपर्थ्यो । दिनभर हाडनङ्ग्रा घोटेर मजदुरी गरेबापत आठ सयदेखि हजार रुपैयाँ ज्याला पाउँथिन् । मजदुरी गर्ने बेला घामपानी, दुःखबिमार भन्न पाइँदैनथ्यो ।
होमस्टे चलाउन थालेदेखि पाहुनाको स्वागत–सत्कार गरेर घरैमा कमाइ हुन्छ । ‘आफ्नै भएपछि कसैको करकापमा पर्नु परेन । पाहुना आउँछन्, हामी स्वागत–सत्कार गर्छौं,’ हालैको भेटमा लक्ष्मीले भनिन्, ‘त्यसबापत घरैमा दुई–चार पैसा कमाइ हुन्छ ।’ देशी–विदेशी पर्यटक, विद्यार्थी, संघसंस्थाका कर्मचारीहरू होमस्टेमा आतिथ्य लिन पुग्छन् । मौलिक वेशभूषा, पोसाक, पहिरनमा सजिएका बोटे महिलाहरू फूलका गुच्छा र अबिर लगाएर पाहुनालाई स्वागत गर्छन् । फूलका गुच्छा राख्न बाँस, बेतले बुनेका डालाको प्रयोग गर्छन् । स्थानीय उत्पादनका परिकारहरू खुवाउँछन् । बोटेनी नाच, जघ्या नाच, मछुवारी नाच, मारुनी नाच देखाएर पाहुनालाई मनोरञ्जन गराउँछन् ।
माडी नगरपालिकामा पर्ने बनकट्टाको बोटे बस्ती चितवन राष्ट्रिय निकुञ्ज छेवैमा माडीको पश्चिमी भेगमा पर्छ । जहाँ, रिउखोला र मरठखोला दोभाननेर सदियौंदेखि ११० घर लोपोन्मुख बोटे समुदाय बस्दै आएका छन् । प्रकृतिपूजक उनीहरूको जीविकोपार्जन वनजंगल र खोलानालामा आश्रित छ । आर्थिक र सामाजिक हिसाबले पछाडि पारिएका उनीहरूसित जग्गा–जमिनमाथिको स्वामित्व भने कम छ । थोरबहुत खेती पनि निकुञ्जबाट आएका वन्यजन्तुले खाइदिएर नष्ट पार्छन् । परम्परागत रूपमा बोटे पुरुषहरू खोलामा माछा मार्ने, सुन चाल्ने र बोटे महिलाहरू जंगलमा निगुरो टिप्न जाने, कृषि मजदुरी गर्ने गरेर जीविकोपार्जन गर्दै आएका छन् । संरक्षित वन्यजन्तु र निकुञ्जको संरक्षणका लागि भनेर सरकारले कार्यक्रम लागू गरेपछि प्राकृतिक स्रोतमा बोटे समुदायको पहुँच खुम्चिँदै गयो । बनकट्टालगायत मध्यवर्तीका समुदायले जीविकोपार्जनका लागि वैकल्पिक पेसाका रूपमा होमस्टे सञ्चालनतर्फ लागेपछि दैनिकी फेरिँदै र सहज हुँदै गएको छ ।
बनकट्टामा १३ बोटे परिवारले होमस्टे चलाउँछन् । यो होमस्टे बोटे समुदायबाट सञ्चालित नेपालकै एक मात्र सामुदायिक होमस्टे हो । होमस्टेमा पाहुनाको स्वागत–सत्कारमा महिलाहरूकै प्रत्यक्ष सहभागिता हुने भएकाले लक्ष्मीसहितका बोटे महिलाहरू वैकल्पिक आयआर्जनबाट आत्मनिर्भर हुँदैछन् । यसबाट बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा सहयोग पुगेको सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले भने । ‘अघि बढ्नका लागि शिक्षा नै पहिलो कुरा रहेछ, त्यही भएर हामी नयाँ पुस्ताको शिक्षामा लगानी गर्नेमा केन्द्रित छौं,’ उनले भने, ‘हाम्रो समुदायका दिदीबहिनीहरू मजदुरीमा जान नपरेपछि बालबालिकाको हेरविचार र विद्यालय पठाउने काममा पनि टेवा पुगेको छ ।’ खेती–किसानी गर्दा जसोतसो गुजारा चल्नेहरूका लागि होमस्टेले बचत गर्ने बानी पनि बसालेको छ ।
चारैतिर निकुञ्जले घेरिएको माडी नगरपालिकाका छ स्थानमा आदिवासी समुदायका पुन मगर, बोटे, थारू, दुरा, दराई र खस आर्य समुदायका ७२ परिवारले होमस्टे सञ्चालन गरिरहेका छन् । गन्धर्व समुदायको होमस्टे निर्माणाधीन छ । यसका लागि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीका उपभोक्ता समिति र तराई भू–परिधि कार्यक्रम (ताल) ले सहयोग गरेका छन् । चितवनस्थित तालका क्लस्टर इन्चार्ज प्रेम पौडेलका अनुसार सबै होमस्टेमा बर्सेनि सात हजारदेखि दश हजार हाराहारी पाहुनाहरू आउँछन् । होमस्टे सुरुवात गर्नुअघि विभिन्न जिल्लाका होमस्टे अवलोकन–भ्रमण गराउने, आतिथ्यसम्बन्धी तालिम प्रदान गर्ने, होमस्टे व्यवस्थापनमा अनुदान दिने गरेर तालले सहयोग गरेको छ । होमस्टेका अतिरिक्त वनजंगल र खोलानालामा आधारित जीविका चलाउँदै आएकालाई बस्तीभित्रै माछापालन, घाँसखेती, सुधारिएको गोठ, खोर, बधुवा पशुचौपाया पालन, मौसमी/बेमौसमी तरकारी खेती, फलफूल खेतीतर्फ उन्मुख गरिरहेको छ । वन्यजन्तु बस्ती छिर्न नदिन तारबारको व्यवस्था गरेको छ । पाहुनाहरूलाई घुमफिर गर्न नेचर गाइडको तालिम दिइएको छ । होमस्टेमा आएका पाहुनाहरूलाई नेचर गाइडहरूले घुमाउँछन् ।
होमस्टेले वैकल्पिक आयआर्जनका साथै परम्परागत तथा मौलिक कला–संस्कृति जगेर्नामा सहयोग पुगेको छ । माडीको पूर्वी भेगमा पर्ने शिवद्वारका पुन मगरहरूले होमस्टे चलाउन थालेपछि आफ्नो कला, संस्कृतिलाई पुनर्जीवन दिए । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । कला, संस्कृति पुस्तान्तरणको अवसर नपाएका पछिल्लो पुस्ताले एक दशकयता होमस्टे थालेपछि यसको महत्व बुझे । ‘हाम्रा बाआमाहरूले सिकाउनुभएकै थिएन, त्यसो भएपछि हाम्रो संस्कार, वेशभूषा, पोसाक हामीले थाहा पाउने कुरै भएन,’ होमस्टे सञ्चालक ५० वर्षीर्या सोममाया पुन मगरले भनिन्, ‘होमस्टे चलाउने भएपछि कला–संस्कृति देखाउनुपर्ने भयो, हामी ठाउँ–ठाउँ खोज्न गयौं, सिकेर अहिले पाहुनालाई देखाउँछौं ।’ मादल, मारुनी, सोरठी नाचहरू देखाउँछन् । उनीहरू पुन मगरहरूको संस्कृति संग्रहालय बनाउने योजनामा छन् ।
०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । ९५२.६३ वर्ग किमि कुल क्षेत्रफल भएको निकुञ्ज चितवन, मकवानपुर, नवलपरासी पूर्व र पर्सासम्म फैलिएको छ । माडीसहित निकुञ्ज वरपरको ७२९.३७ वर्ग किमि भूभागलाई ०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।
तस्बिरहरू: विद्या राई