वातावरण जोगाउँदै सिलसिला 

लक्ष्मी भण्डारी

जेष्ठ ५, २०७९ दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् । त्यहाँ मिनरल वाटरका खाली बोतल, अल्मुनियमका खाली क्यान, चाउचाउका खोल, कोकाकोला, फेन्टा र स्प्राइटलगायत पेय पदार्थका रित्ता बोतलका साथै थोत्रा कार्टुनको चाङ देख्न सकिन्छ । यी सबै काठमाडौंबासीका घरबाट जम्मा भएर निस्किएको फोहोर भएको उनी बताउँछिन् । ‘घर–घरबाट निस्किएको फोहोर सबैभन्दा पहिले ट्रान्सफर स्टेशन पुग्छ, त्यहाँ सामान्य रूपमा छानिन्छ । त्यसपछि हाम्रोमा आइपुग्छ’ उनले फोहोर व्यवस्थापनबारे बताउँदै भनिन्, ‘हाम्रो संकलन केन्द्रमा आइसकेपछि फोहोरको प्रकृति, रंग र विशेषताअनुसार छुट्याइन्छ । बोतल एकातिर, चाउचाउका खोल अर्कातिर, कार्टुन र अल्मुनियम क्यान छुट्टै राखिन्छ । एकै खालका वस्तुको छुट्टै चाङ बनाइन्छ । त्यसपछि बल्ल यी फोहोर कच्चापदार्थ बनेर कारखानामा जान्छन् र कामै नलाग्ने बाँकी फोहोर ल्यान्डफिल पठाइन्छ ।’ 

सिलसिला समाज, सहर र देशलाई फोहोर मुक्त बनाउने अभियानका लागि संस्था नै संचालनमा ल्याएकी छन् । ‘अभ्नी भेन्चर्स’ करिब तीन वर्षदेखि यो क्षेत्रमा सक्रिय रहेको उनले बताइन् । उनी आफ्नो अभियानलाई सेवामुखी र दिगो व्यवसाय भन्न रुचाउँछिन् । बाग्लुङमा जन्मिएकी उनी एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं छिरेकी हुन् । काठमाडौंबाट ‘प्लस टु’ गरेपछि सरकारी कोटामा चिकित्सा शास्त्र पढ्ने मन बनाइन् । कडा परिश्रमका कारण उनले चिकित्सा शास्त्र छनोट परीक्षामा निःशुल्क पढ्न पाउने गरी उत्तीर्ण गरिन् । तर, पछि यो विषय नपढ्ने निस्कर्षमा उनी पुगिन् । काठमाडौं विश्वविद्यालयबाट वातावरण विज्ञानमा बीएस्सी पढिन् । त्यसपछि उनले प्रतिस्पर्धाबाटै नेपाल र नर्वेजियन सरकारको छात्रवृत्ति पाइन् । नेपाल र नर्वेबाट उनले ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गरिन् । काठमाडौंका घर–घरबाट दिनहुँ निस्कने ठूलो मात्राको फोहोर र यसैका कारण सहरको दुर्गन्धको सास्ती आफूले मात्र नभएर धेरैले भोगेको मनन गर्दै उनी फोहोर व्यवस्थापन क्षेत्रमा प्रवेश गरेकी हुन् । 

‘नर्वेमा पढ्दा नेपाल फर्केर वातावरण क्षेत्रमा केही गर्छु भन्ने सोच बनाएँ । यहाँ आइसकेपछि हरित रोजगारका थुप्रै परियोजनामा काम गरें । ‘हाम्री बहिनी’ र ‘पर्दैन मैसँग झोला छ’ नामक अभियान मेरै अवधारणामा सफल भएका प्रोजेक्ट हुन्’ व्यावसायिक यात्राको सुरुवाती दिन सम्झदै उनी भन्छिन्, ‘त्यति मात्र नभई युवाका लागि वातावरणीय सचेतनामूलक कार्यक्रम, शिक्षालगायत सडकमा समेत धेरै काम गरें । मलाई यो एनजीओ मोडलले मात्रै मेरो उद्देश्य पूरा हुँदैन भन्ने लाग्यो । व्यवसाय नै यस्तो क्षेत्र हो जसले परिवर्तन ल्याउन सक्छ भन्ने लागेर लगानी गरेरै भए पनि वास्तवमै वातावरण परिवर्तन गर्न सकिने बाटोतर्फ लागें ।’

पछिल्लो समय सिलसिलाको ‘फाइन प्रोसेसिङ’ स्थलमा सय जना कर्मचारी छन् । तीबाहेक प्रत्यक्ष रूपमा उनीहरूसँग जोडिएका कामदार भने ४०० जना छन् । त्यसमा अधिकांश महिला छन् । उनले भनिन्, ‘महिलाका लागि यो काम निकै सहज र उपयुक्त छ । किलोको हिसाबले पैसा पाउँछन् । समयभित्र बाँधिनु पर्दैन । हामीकहाँ स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका बहिनीहरू पनि दुई–चार घन्टा आंशिक काम गरी राम्रो आयआर्जन गरिरहेकी छन् । वातावरण जोगाउने कामसँगै यसले रोजगार सिर्जनामा प्रत्यक्ष भूमिका खेलेको छ ।’ 

विदेशमा पढेर आएकाहरू त यस्तो फोहोरको काम गरेका छन् भनेर धेरैले उनलाई उदाहरणका रूपमा समेत लिने गरेको उनी बताउँछिन् । यसले अरुमा प्रेरणा थप्ने काम गरेको छ । उनले भनिन्, ‘यसरी सकारात्मक सोचको विकास गर्न सकियो भने मात्रै हामी हाम्रो वातावरण र प्रकृति जोगाउन सक्छौं र स्वच्छ ठाउँमा बस्ने वातावरण निर्माण गर्न सक्छौं ।’

रिफाइन प्रोसेसिङमार्फत निकालेको कच्चा पदार्थ फ्याक्ट्रीमा गएर ग्रयान्युएल्स बन्यो भने फेरि बोतल बनाउन प्रयोग गरिन्छ तर त्यसलाई धागो वा फाइबर बनाइयो भने लुगा, भुइँमा ओछ्याउने कार्पेट बनाउन सकिन्छ । ‘दिगो विकास र वातावरणीय मुद्दामा संसारभरि नै महिला संवेदनशील र अगाडि छन्’ उनले भनिन्, ‘पृथ्वी, प्रकृति, वन्यजन्तु संरक्षणका विषयमा महिलाहरूको सोच फरक छ । सन्तान र पुस्ताको संरक्षणमा पनि महिला अग्रपंक्तिमा छन् । प्रत्येक महिलाले घर–घरबाट अब यो विषयमा सोच्ने बेला आएको छ । स्वच्छ र स्वस्थ घर बनाउने जिम्मेवारी हाम्रै हो ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>