चेलीको पीडा

डा.बालकृष्ण साह

वैशाख ९, २०७९ मिठाईं खानु’, झोला खोलेर अगाडि सार्दै रामप्रसादले भन्यो, ‘आजै बनाएको ताजा रहेछ । तल गएर भर्खरै लिएर आएको ।’ 

‘होइन, के–को खुसी हो यस्तो ?’ माइला बाले आश्चर्य प्रकट गर्दै सोधे । 

‘के हुनु नि’ रामप्रसादले फुरुङ्ग हुँदै जवाफ दिए, ‘अमृताले एसईईमा ‘ए’ ग्रेड ल्याई ।’

माइला बाले एउटा मिठाईं टिपेर ओंठको छेउमा पुर्‍याउँदै भने, ‘छोरीले पास गरेको खुसीमा पो । छोरी भनेर हेप्नु हुँदैन । छोरीले नै हो यसरी आमाबुवाको अनुहारमा खुसी ल्याउने ।’

रामप्रसादको छाती गर्वले ढक्क फुल्यो । उनले कृतज्ञको भावमा भने, ‘हजुरले हिम्मत र हौसला दिनुभयो । त्यही भएर मैले पनि छोरीलाई निर्धक्क पढाएँ ।’

पहिलो सन्तानका रूपमा छोरी जन्मदा सुरुमा त खिन्न थिए रामप्रसाद दम्पती । तर, आज छोरीका कारण उनी फुरुङ्ग छन् । किनभने उनको वंशमा परिवारका अरु कुनै सदस्यले यतिसम्म पढेका छैनन् । त्यसैले रामप्रसाद चाहन्छन्, ‘छोरी ठूलो मान्छे बनोस् ।’ 

तर कस्तो ठूलो ? पुग्दो धनदौलत भएका धनीमानी ? सबैले चिन्ने नामी ?

अहा, रामप्रसादलाई अरु कुराको मतलब छैन । फगत छोरी गाउँमा आउँदा सबैले उनलाई हार्दिकता साथ ‘नमस्कार’ गरून् । गाउँ–छिमेकले श्रद्धा गरून् । 

सरकारी विद्यालयबाट एसईई उत्तीर्ण अमृतालाई अब कहाँ पढाउने ? के पढाउने ? कसरी पढाउने ? रामप्रसादसँग ठोस योजना छैन । छ त, केवल सपना । 

अब उनी छोरीलाई कहाँ पढाउने भनी दौडधूप गर्न थाले । रामप्रसादले आफूभन्दा जान्ने–बुझ्ने सबैसँग सोधे, ‘छोरीलाई कहाँ पढाउने ? के पढाउने ?’

आखिरमा विराटनगरस्थित आफन्तको घरमा राखेर पढाउने निधो गरे । नाताले त्यो घर उनका बहिनी ज्वाईंको रहेछ । बहिनी राधिका उनकी साख्खै फुपूकी छोरी । बहिनीमा सम्पत्तिको दम्भ भए पनि ज्वाईं भलाद्मी । रामप्रसादले यस्तै ठाने । 

खर्चको जोरजाम गरेर एक बिहान रामप्रसाद विराटनगर झरे, छोरीसँगै । उनी साँझतिर बहिनी ज्वाईंको घरमा पाहुना लागे । सहरिया रंगले छोइसकेकी बहिनी राधिका भने आफन्त पाहुना लाग्दा त्यति हर्षित भइनन् । बरु, उनी कता–कता बेचैनजस्तो देखिइन् । रामप्रसादले छोरी अमृतालाई त्यहीँ छाड्न र त्यही घरमा बसेर पढ्नका लागि बन्दोबस्ती मिलाउनुपर्‍यो भनेको सुनेपछि त राधिकाको मुख अँध्यारो भयो । 

बेलुकीको खाना खाइसकेपछि रामप्रसादले ज्वाईंसमक्ष बिन्ती गरे, अमृतालाई यहीँ राखेर पढाउनका लागि । ज्वाईं उति रुखो थिएनन् । उनले सहजै ‘हुन्छ’ भनिदिए । रामप्रसाद बल्ल ढुक्क भए । उनको मनमा के–के खेल्यो । रातभर राम्ररी निदाउन सकेनन् । उनी छोरीलाई ठूलो मान्छे बनाउने रहर पूरा हुँदै गरेको कल्पनामा डुबिरहे । 

अर्को दिन ज्वाइकै   सल्लाहअनुसार अमृतालाई क्याम्पस भर्ना गरिदिए । सबै कुरा ठीकठाक भएपछि बडो सन्तोष मान्दै रामप्रसाद त्यहाँबाट बिदा भई गाउँ फर्किए । 

अमृतालाई आफ्नो परिवारको दुःख थाहा थियो । अनि थाहा थियो, बुवाको सपना । त्यसैले उनी आज्ञाकारी भएर पढ्न थालिन् । फुपाजु भने धेरैजसो समय घरबाहिर हुन्थे, कामको सिलसिलामा । फुपाजुले अमृतालाई माया पनि गर्थे । 

साँझ–बिहान फुपू राधिकालाई काममा सहयोग गर्थिन् । तर, राधिका उति खुसी थिइनन् । अमृतालाई त्यहाँ बस्न रुचि थिएन । तर, कहाँ जाने ? अन्त बस्ने अवस्था थिएन । 

राधिकाको पक्षपाती व्यवहार र उपेक्षाले गर्दा अमृतालाई मानसिक तनाव हुन्थ्यो । राधिका न उनीसँग राम्ररी बोल्थिन्, न कुनै कुरा गर्थिन् । राधिकाको यस्तै व्यवहारले गर्दा अमृता उदास थिइन् । उनको उदासीपन अनुहारमा प्रस्ट देखिन्थ्यो । 

कलेजका सहपाठीलाई थाहा थियो, अमृताको मन खुसी छैन । उनको मनमा आँधी चल्दैछ । त्यसैले साथीहरूले उनलाई सोधे, ‘के भएको छ तिमीलाई ? किन हाँसीखुसी देखिँदैनौ ?’ 

सुरुमा त उनले आफ्नो कुरा ढाकछोप गरिन् । तर, साथीहरूले केरकार गरेपछि उनले आफ्नो पीडा ओकल्न बाध्य भइन् । उनीसँग मिल्ने पाँच जना सहपाठी थिए, तीन जना केटी र दुई जना केटा । उनीहरू एउटै समूहमा थिए, कलेजमा पनि । अमृताको कुरा सुनिसकेपछि उनीहरूको सहानुभूति थप बढ्यो, अमृताप्रति । 

अमृता पढाइमा तेज थिइन् । साथै मिलनसार र मायालु पनि । त्यसैले उनलाई साथीभाइले माया र हौसला दिन्थे । साथीहरूसँग उनी ‘कम्बाइन स्टडी’ गर्थिन् । हाँसखेल गर्थिन्, रमाउँथिन् । अमृता र कमलबाहेकका साथीहरू स्थानीयवासी थिए । उनीहरूको विराटनगरमै घर थियो । कम्बाइन स्टडीका लागि सबैजना कमलको डेरामा भेला हुन्थे । 

अब धेरैजसो अवस्थामा अमृता साथीसंगीसँग हुन्थिन् । उनी घर पुग्न अबेर हुन्थ्यो । फुपू राधिका उनीसँग रिसाउन र झर्किन थालिसकेकी थिइन् । यस्तो दिन हुँदैनथ्यो, जुन दिन अमृताले फुपूको मुखबाट तीखो बचन सुन्न नपरेको होस् । 

एकातिर फुपूको रुखो व्यवहार । अर्कोतिर सहपाठी कमलको कोमल सम्बन्ध । फुपूसँग उनको दूरी बढ्यो । कमलसँग उनको निकटता बढ्यो । उनीहरूले आफूलाई सम्हाल्न सकेनन् । कमल र अमृताबीच भावना र उमेर मिल्यो । उनीहरूले एउटा भूल गरे । 

दुवै कच्चा उमेरका । न पढाइ सकिएको छ । न कुनै रोजगारी, उद्यम छ । बैसको उन्मादले उनीहरूलाई थाहै नपाई असहज मोडमा हुत्याइदियो । 

अमृताको मासिक स्राव रोकियो । उनको पेट बढ्न थालेको भान भयो । भावनात्मक रूपले पनि अमृता कमजोर देखिइन् । उनको शरीर त यसै पनि गल्दै थियो । 

कमल अब कोमल होइन, कठोर बन्न थाले । उनी अहिले नै अमृतालाई सम्हाल्ने वा घरजम गर्ने परिस्थितिमा थिएनन् । त्यसैले उनले अमृतासँगको सम्बन्ध उस्तै सुमधुर राखेनन् । रुखो बन्दै गए । 

यस्तो कुरा कति दिन नै लुकाउन सकिन्छ र ? फुपू राधिकाले उनीमाथि शंका गर्न थालिन् । अमृता लाचार थिइन् । जतिसुकै कठोर भए पनि फुपू भनेको फुपू नै हुन् । उनले कुनै न कुनै उपाय निकाल्छिन् । यस्तै सोचेर अमृताले सबै कुरा बेलीबिस्तार लगाइन् । 

तर, परिस्थिति उनले सोचेजस्तो भइदिएन । फुपू बेपत्तासँग रिसाउन र उफ्रिन थालिन् । उनले तुरुन्तै फुपाजुलाई फोन गर्दै सुनाइन्, ‘अर्काकी छोरी राखेर ठूलो धर्म गर्ने भएको होइन ? धर्म देखाइदियो । अब के–के हुने हो सबै आफैं हेर्नू ।’

अमृताको सास रोकिएजस्तै भयो । अब के गर्ने ? उनी निरुपाय थिइन् । यतिबेला उनले आफ्ना बुवाको निर्दोष अनुहार सम्झिइन् । सोझी आमालाई सम्झिइन् । आमाबुवाको सपना सम्झिइन् । अनि आफैंलाई धिकार्न थालिन् । 

अमृतालाई मर्न मन लाग्यो । उनी आफैलाई झुन्ड्याएर यो सबै झमेलाबाट मुक्त हुन चाहन्थिन् । तर, बुवा ? आमा ? के हुन्छ उनीहरूको हालत ? गाउँलेले के भन्लान् ?

आमाबुवाको अनुहार सम्झेर अमृताको मन छियाछिया भयो । अब उनीसँग केही थिएन, आँसु सिवाय । उनी रोइरहिन्, रोइरहिन् । आखिर रुनु पनि कहिलेसम्म ? आँसु सकिएला तर पीडा सकिँदैन ।

उनी बस्ने घर नजिकै एकजना दाइ थिए । बेलाबखत भेट हुँदा अमृतासँग कुराकानी हुन्थ्यो । उनी सहृदयी छन् भन्ने लाग्थ्यो । अन्ततः अमृताले उनै दाइसँग आफ्नो पीडा पोख्न चाहिन् । दाइले उनलाई सम्झाउँदै भने, ‘डराउनु पर्दैन । मैले गर्भपतन गराउने ठाउँ चिनेको छु । तर पाँच हजार रुपैयाँ चाहिन्छ ।’

उनीसँग त्यतिका पैसा थिएन । कहाँबाट ल्याउने ? सहपाठीहरूलाई उनले सहयोगको याचना गरिन् । सबैले जोरजाम गरेर पैसा जुटाइयो । 

दाइले अमृतालाई एक सानो क्लिनिकमा पुर्‍याए । त्यहाँ दुई जना महिला र पुरुष थिए । अमृताले उनीहरू डाक्टर र नर्स होलान् भनिन् । अमृताका साथीहरू पनि त्यहाँ आएका थिए । उनीहरूलाई बाहिर बस्न लगाएर अमृतालाई भित्रको कोठामा लगियो । 

पीडाको क्षणमा यसै त घडीको काँटा सुस्त लाग्छ । त्यो क्षण उनीहरूलाई समय नै रोकिएजस्तो भइरहेको थियो । एक–एक सेकेन्ड बिताउन पनि कठिन थियो । कतिबेला गर्भपतन गरेर अमृता बाहिर निस्किन्छिन् भनेर उनीहरू अधैर्यसाथ प्रतीक्षामा थिए । 

समय बित्यो । घडीको काँटाले फन्को लगाइरह्यो । तर, अमृता निस्किनन् । साथीहरूलाई छटपटी भयो । उनीहरूले त्यहाँको सानो प्वालबाट भित्र हेरे । भित्रको दृश्य देखेर उनीहरूको मुटु काँप्न थाल्यो । किनभने भित्र बेडमा अमृता लम्पसार परेकी थिइन् । त्यहाँ रगत लतपतिएको थियो । कोठामा अरु कोही थिएनन् । पछाडिको ढोका खुल्ला थियो । अमृता अर्धचेत अवस्थामा देखेपछि साथीहरू कराउन थाले । उनीहरू जबर्जस्ती कोठाभित्र पसे र अमृतालाई उठाउन खोजे । तर, अमृता निकै शिथिल थिइन् । अन्ततः उनीहरूले हत्तपत्त बोकेर अमृतालाई अस्पताल पुर्‍याए । अमृतालाई भर्ना गरे । रगत मगाए । 

अस्पतालमा हस्याङ–फस्याङ गर्दै राधिका पुगिन् । अमृताका साथीहरूको आँखामा आँसु र गहिरो चिन्ता देखे । अमृताको रगतका लागि दौडधूप गरेको अनि गहिरो चिन्ता गरेको आफ्नै आँखाले देखिन् । राधिका आफूले उनीप्रति गरेको व्यवहार सम्झिन् । आफूले माया गरेको भए यस्तो अवस्था आउँदैन थियो कि ? भन्ने सोचले पिरोलिन थालिन् । अमृताले आफूलाई समस्या बताएको बेला सम्झाएर सुरक्षित गर्भपतन गराउन लिएर आएको भए ? फुपूको मनमा आँधीबेहरी आउन थाल्यो । यस्तैमा अमृताको होस आयो । राधिका दौडिएर गइन् । सारा कुरा बिर्सेर अंगालोमा बेरिन् । 

पाँच जनाको समूहमा कमल पनि अस्पताल आएका थिए । तर भित्र छिर्न सकेनन् । अमृताको अगाडि कसरी मुख देखाउनु ? उनले केही सोच्न सकेका थिएनन् । आत्मविश्वास बटुलेर अमृताको नजिक पुगे । अमृताले कमलतिर हेर्न चाहिनन् । कमलले अमृताको हात बिस्तारै समाए । अमृता कमलतिर फर्किइन् । कमलले भने, ‘अमृता, आई लभ यू । गल्ती दुवैले गरेछौं । अबको जिन्दगी सँगै बिताउनेछु ।’ अमृताका आँखा खुसीले रसाए । साथीसंगी सबैले अमृता र कमलका चारवटै हात एकपछि अर्को गर्दै खप्ट्याइदिए । फुपूले भनिन्, ‘ल, मेरो तर्फबाट दुवैजनालाई आशीर्वाद । अबको जिन्दगी हाँसीखुसीसाथ बितोस् ।’ सबैजना एक–अर्कालाई हेर्दै खुसी व्यक्त गर्न थाले ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>