भगवतीको पत्रकारिता क्रेज 

नारी संवाददाता

वैशाख ५, २०७९ करिब २८ वर्षअघि कामना पब्लिकेसन्समा ‘साइकल ब्वाई’का लागि आवेदन मागिएको थियो । त्यसताका भगवती तिमल्सिनाले पनि आवेदन दिइन् । उक्त पदका लागि आवेदन दिने उनी एक्ली महिला थिइन् । ‘साइकल ब्वाई’ पदमा आवेदन दिएर पब्लिकेसन्स छिरेकी उनी प्रशासनको काम सम्हाल्दै सह–सम्पादकका रूपमा कार्यरत छिन् । ‘नारी’ पत्रिकाले‘पत्रकार महिलाको संघर्ष’ स्तम्भमा यसपटक भगवतीलाई समेट्ने जमर्को गरेको छ । 

काभ्रेपलाञ्चोक धुलिखेलमा जन्मिएकी उनी पढाइको क्रममा काठमाडौं आइपुगिन् । स्नातक तहमा पढ्दा उनी जागिरको खोजीमा थिइन् । त्यतिबेलाकामनाले ‘साइकल ब्वाई’ को आवेदन मागेको थियो । उनी साइकल चलाउन पोख्त भएरै उक्त पदका लागि आवेदन दिन पुगिन् । उनलाई पब्लिकेसन्सले तत्काल प्रशासनको जिम्मेवारी दियो । त्यहाँ मासिक १२ सय रुपैयाँमा उनले जागिर खान थालिन् । प्रशासनको काम गर्दै गर्दा समाचारलाई नजिकबाट नियाल्थिन् । उनलाई पनि अरुले लेखेका समाचारले तान्न थाल्यो । समाचार लेख्ने हुटहुटीले उनी पनि कलम चलाउन थालिन् । उनको रुचिमा थप हौसला दिए प्रधान सम्पादक पुस्करलाल श्रेष्ठले । पत्रकारिताको आकर्षणले उनी फिल्डमा जान थालिन् । जब उनी फिल्डमा पुग्थिन् केही न केही समाचार लिएर आउँथिन् । उनलाई कार्यालयदेखि सम्पादक सबैको सहयोग मिल्यो । उनले सामाजिक, अपराध विषयवस्तुमा निरन्तर कलम चलाउन थालिन् । 

बाइक चलाउने पत्रकार महिला 

साइकल चलाएर जागिरमा छिरेकी उनी बाइक चलाएर रिपोर्टिङमा हिँड्न थालिन् । ०५३ यता उनी बनेपाबाटै काठमाडौंस्थितपत्रिकाको कार्यालयमा आउने–जाने गरिरहिन् । उनी क्यालिभर बाइक चलाउँथिन् । त्यो समयमा बाइक चलाउँदा सबैले उनलाई छक्क परेर हेर्थे । केटा मान्छेले चलाउने बाइक केटीले चलाएको भनेर धेरैले भन्थे । क्यालिभर चलाएर हिँड्दा बच्चाहरू अनौठो मान्थे । उनी जब बाइक लिएर हिँड्थिन् अन्य पत्रकारहरूले उनीसँग सूचना छ भनेर जानकारी पाउँथे । उनले भनिन्–‘जब म बाइक लिएर हिँड्थें अन्य पत्रकारहरू अब दिदीले समाचार लिएर आउने भई भन्थे ।’

क्यामेराको क्रेज

मदन भण्डारी मृत्यु प्रकरणले देश तातेको थियो । त्यतिबेला आरके धर्मस्थलीले उनलाई क्यामेरा बोकेर बाइक पछाडि कुँदाए । उनले भने–‘तिमीले जे देख्छ्यौ त्यही खिच्नु’ । आज्ञाकारी छात्राझैं उनले रिल क्यामेरामार्फत फोटो खिचिरहिन् । त्यसबेला सडक जाम थियो । जताजतै अश्रुग्यास छरिएको थियो । उनले बाटोमा जे देखिन् त्यही फोटो खिचिरहिन् । उनले खिचेको पहिलो फोटो पत्रिकामा छापिएपछि उनलाई फोटोग्राफीमा पनि रुचि बढ्न थाल्यो । उनले २८ सय रुपैयाँमा पहिलो क्यामेरा किनेर आफैं फोटो खिच्न थालिन् । बाइकसँगै क्यामेरा साथमा हुँदा उनलाई पत्रकारिता गर्न आत्मविश्वास बढ्दै गयो । उनले भनिन्, ‘जब आफैं फोटो खिच्न थालें तब काम गर्न सहज महसुस गर्न थालें ।’ 

द्वन्द्वकालमा पत्रकारिता 

द्वन्द्वकालमा होस् वा अन्य समयमा उनले निरन्तर रिपोर्टिङ गरिरहिन् । माओवादी द्वन्द्वकालमा ज्यान जोगाउँदै सडकको ढलमा सुत्नेसम्मको अवस्था उनले भोग्नुपर्‍यो । उनी कहिले एम्बुस थापेको ठाउँमा पुगिन् त कहिले बम पड्किरहेको स्थलमा । उनी के रात, के दिन, रिपोर्टिङमा हिँड्थिन् । उनले द्वन्द्वकालमा थुप्रै कारुणिक दृश्यलाई शब्द र फोटो दुवैमा कैद गरेकी थिइन् । उनलाई समाचारप्रतिको यति क्रेज थियो कि समाचारका लागि कुनै पनि जोखिम उठाउन पछि परिनन् । काठमाडौंबाट घरसम्म पुग्दा साँझमा त्यसबेला कर्फ्यु लागिसकेको हुन्थ्यो । घरमा पुग्दा सुरक्षाकर्मी वा माओवादीको धर्ना हुन्थ्यो । समाचारको स्रोतको विषयमा दबाब आइरहन्थ्यो । समाचार लेखेको भरमा धम्की धेरै आइरहन्थे । एकपटक त उनले कोठा नै सर्नुपर्‍यो । उनलाई लाग्थ्यो सूचना लुकाउनु हुँदैन, जनतामा पुर्‍याउनुपर्छ । चुनौतीको सामना गर्दै अघि बढ्दा उनको धेरै प्रशंसा भयो । समाचार छापिँदैन भनेर उनलाई कुनै समस्या थिएन । कामनाको दिउँसोमा महानगर र बिहान समाचारपत्र छापिने भएकाले उनका समाचार छुट्दैनथे । बिहान पत्रिकामा छुटे दिउँसो र दिनमा छुटे भोलिपल्ट बिहान छापिन्थ्यो । उनले भनिन्, ‘दुःख गरेर संकलन गरेको समाचार पत्रिकामा छापिँदा भने आनन्द हुन्थ्यो ।’

पत्रकारिता खुल्ला विश्वविद्यालय 

पत्रकारितामा २८ वर्ष समय बिताएकी उनले पछिल्लो समय सामाजिक तथा स्वास्थ्य विषयमा कलम चलाइरहेकी छन् । पत्रकारिता जति सिके पनि पूर्ण नहुने उनले बताइन् । उनले भनिन्, ‘पत्रकारिता यस्तो क्षेत्र हो जो–जति सिके पनि कहिल्यै पूर्ण हुँदैन ।’ पत्रकार उनलाई जानकार होइन सिकारु हो जस्तो लाग्छ । पछिल्लो समय प्रविधिले धेरै फड्को मारेको छ । प्रविधिसँगै हिँड्न सकिएन भने पत्रकारिता धेरै गाह्रो हुने उनको अनुभव छ । उनले भनिन्, ‘पत्रकारिता एउटा खुल्ला विश्वविद्यालय हो जुन सिकेर कहिल्यै सकिँदैन ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>