Successfully Copied

समझदार श्रीमती

​​​​​​​मुलुकमा बेरोजगारी र गरिबीका कारण अन्य युवाहरूजस्तै उनी पनि बिदेसिन बाध्य भए । साहूलाई आफ्नो घरबारी बन्धकी राखी म्यानपावर कम्पनीमार्फत उनी पनि मोटो रकम बुझाई त्यता लागेका रहेछन् । बूढीआमा, श्रीमती र सानो छोरालाई छाडेर बाहिरिनुपर्दाको पीडा सायद भोग्नेलाई मात्र थाहा हुँदो रहेछ ।

अच्युतमान सिंह प्रधान “उत्सुक”

मुलुकमा बेरोजगारी र गरिबीका कारण अन्य युवाहरूजस्तै उनी पनि बिदेसिन बाध्य भए । साहूलाई आफ्नो घरबारी बन्धकी राखी म्यानपावर कम्पनीमार्फत उनी पनि मोटो रकम बुझाई त्यता लागेका रहेछन् । बूढीआमा, श्रीमती र सानो छोरालाई छाडेर बाहिरिनुपर्दाको पीडा सायद भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । उनी अत्यन्तै दुःखी थिए । अझ भावविह्वल बिदाइको क्षण र बूढीआमाको आँखाबाट झरेको आँसुले उनको मन कम कुँडिएको थिएन । रुँदै श्रीमतीले गरेको अंकमाल र सानो छोराको अङ्गालो छुट्याउन उनलाई हम्मेहम्मे परेको थियो । बाध्यता त्यस्तै थियो, गहभरि आँसु र पीडा लुकाई उनी गाउँ, देश र परिवारै छाड्दै थिए । 

उनी बिदेसिनुको मुख्य लक्ष्य भनेको त्यहाँ मनग्य धनार्जन गर्ने नै थियो । त्यो धनबाट साहूलाई बन्धकीमा राखेको घरबारी फिर्ता लिनु र बाँकी रकमबाट स्वदेशमा कुनै काम गरी परिवारलाई सुखसँग राख्नु उनको उद्देश्य थियो । त्यसैले दिनरात अनि भोक–प्यास नभनी उनी विदेसी भूमिमा आफ्नो श्रम र पसिना बगाउन व्यस्त भए । कम्पनीमा सँगै काम गर्ने उनका साथीहरू भने बिदाका दिन बाहिर घुमेर रमाइलो गर्थे । उनी भने बिदामा पनि केही आम्दानी हुने आशमा ओभरटाइम (ओटी) काम गर्थे । त्यसरी कमाउने रकम बचत गर्दै नियमित रूपमा प्रत्येक महिना आफ्नो परिवारलाई पठाउँथे । उनकी श्रीमती पनि घरखर्चमा मितव्ययी बनी पतिले पठाएको रकम बचाई साहूलाई अलि–अलि गरी ऋण चुक्ता गर्थिन् । 

उनको र परिवारको दिनचर्या जसोतसो चलिरहेकै थियो । यसैबीच विश्वभरि कोरोना भाइरस (कोभिड–१९) महामारी फैलियो । त्यसको प्रभाव उनको कम्पनीमा पनि पर्‍यो । कम्पनीले आर्थिक भार थेग्न नसकेर विदेशी कामदार हटाउने निर्णय गर्‍यो । यो खबर सुनेर उनलाई छाँगाबाट खसेझैं लाग्यो । विदेश आउँदा देखेका उनका सबै सपना चकनाचुर भए । कम्पनीको उक्त निर्णयले उनी मात्रै प्रभावित हुने कुरै भएन । अन्य कामदारहरूको अवस्था पनि उस्तै थियो । कम्पनीले सबै कामदारलाई आफ्नो मुलुक फर्कने प्लेनको निःशुल्क टिकट, काम गरेको मितिसम्मको तलबमा केही बोनस रकम थप गरी सबैलाई बिदा गर्‍यो । 

अत्यन्तै निराशाजनक यो अवस्थामा उनी आफ्नो जीवनलीला समाप्त गर्नेसम्म सोच्न पुगे । तर, बूढीआमा, श्रीमती र नाबालक छोराको सम्झनाले उनलाई त्यसो गर्न दिएन । त्यसैले जस्तोसुकै समस्या आए पनि त्यसको सामना गर्ने उनले निर्णय गरे । एक पटक नेपाल फर्केर आफ्नी श्रीमतीसँग सरसल्लाह गरी निर्णयमा पुग्ने निष्कर्षमा पुगे । 

उनलाई आफ्नी श्रीमतीप्रति निकै विश्वास र भरोसा पनि छ । श्रीमतीले त उनलाई बिदेसिनुअघि पनि दुवै जना मिलेर स्वदेशमा कुनै व्यवसाय गर्ने सल्लाह दिएकी थिइन् । पहिले पनि तिनले दुःख–पीडा परेको समय उनलाई ढाडस दिएकै थिइन् । विवाहअघि उनकी श्रीमतीले कक्षा १० सम्म पढेकी थिइन्, पछि गाउँमा प्लस टु पढ्ने स्कुल नभएकाले पढाइ छोड्नुपरेको थियो । श्रीमती समझदार थिइन् । 

यसैबीच ती युवा बिदेसिएको एक वर्ष नबित्दै फर्कने तरखरमा थिए । आफू नेपाल फर्कन लागेको खबर परिवारलाई दिन उनको मनले मानेन । कम्पनीमा सँगै काम गर्ने अरू साथीहरूले भने स्वदेशमा रहेका आफ्ना परिवारलाई आफू फर्कन लागेको खबर गर्छन् । परिवारका लागि आवश्यक सामानहरू किनमेल गर्छन् । तर, ती युवाले यस्तो दुःखद खबर के भनेर दिने भन्ने अलमलमा थिए, परिवारलाई खबर गर्न उचित ठानेनन् । साथीहरूले घरपरिवारका सदस्यहरूका लागि उपहार किनेको देखेर उनले पनि मन भारी गरेर आमा, श्रीमती र आफ्नो सानो छोरालाई कपडा किन्छन्, तर आफ्ना लागि भने केही किन्दैनन् । उनलाई सामान होइन पैसाको खाँचो छ, आफ्नो धितो निखार्न । 

उनी भारी मन गरेर नेपाल फर्कने प्लेन चढे । प्लेन आकाशमा एक नाश उडेझैं उनको मन पनि हावामा उडिरहेको थियो । मनमा विभिन्न कुरा खेलिरहेका थिए । सायद त्यसैले होला, प्लेनले मातृभूमि टेकेको उनले पत्तै पाएनन् । एयर होस्टेजले काठमाडौं विमानस्थलमा विमान अवतरण गरेको जानकारी माइकमा दिएपछि बल्ल उनलाई आफू स्वदेशमा फर्केको थाहा हुन्छ । सबै यात्रु हतार–हतार लाइनमा बसेर प्लेनबाट ओर्लन्छन् । तर उनको मन अझै बोझिलो र अमिलो थियो । लगेज लिने लाइनमा बसेर उनले आफ्नो झोला उठाए, बिस्तारै विमानस्थलबाट बाहिरिए । सँगै आएका साथीहरू एक–अर्कासँग बिदा हुँदै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने तयारीमा थिए । 

तीमध्ये दुईजना काँधमा झोला भिरेर लुरुलुरु हिँडेर विमानस्थल बाहिर पुगी गङ्गबु नयाँ बसपार्क जाने सार्वजनिक बस चढे । बसपार्कमा पुगेर बिहान घर जाने बसका लागि दुईवटा टिकट कटाए । बसको टिकट लिनेहरूको लाइन लामै थियो । त्यसपछि दुवै बसपार्क नजिकैको एउटा सामान्य होटलमा एक रातका लागि कोठा लिए । त्यहीँ हल्का खाजा खाई साँझपख दुवै एकछिन बजार गई घर लानका लागि आवश्यक सरसामान किनमेल गरे । पुनः होटल फर्की बेलुकीको खाना खाई भोलि बिहानीको प्रतीक्षामा निदाए । 

बिहानीको मिरेमिरेसँगै ती युवा ब्युँझिए । अनि साथीलाई पनि उठाइदिए । बिहान सबैरै उठ्ने उनको सानैदेखिको बानी थियो । सानैमा बुवा बितेका हुनाले आमालाई घरायसी काममा सघाउनुपर्ने अनि पानी लिन जानुपर्ने हुनाले बिहान सबैरै उठ्नुपर्थ्यो । बस गुड्ने समय भइसकेकाले आ–आफ्नो सामान बोकी बसपार्कतर्फ लागे । बस गुड्नै लागेको थियो । हत्तपत्त दुवै जना बस चढे । बस आफ्नो गन्तव्यतर्फ लम्कियो । बस जति अघि बढ्थ्यो, उति नै उनको मनको धड्कन पनि बढ्थ्यो । अब के गर्ने ? कसरी साहूको ऋण तिर्ने ? गुजारा कसरी चलाउने ? .... यस्तै कुरा उनका मनमा आइरहन्थे । उनका साथी एकनाशले उनीसँग कुरा गरिरहेका थिए । तर, उनलाई भने ती कुरामा कुनै चासो नै थिएन । 

दुवै सानैदेखिका मिल्ने साथी हुनाले दुवैको कुरो पनि निकै मिल्थ्यो । साथी हाँसो गर्ने स्वभावका हुनाले बाटोभरि उनलाई हँसाउन खोज्थे । उनी भने नचाहँदा नचाहँदै पनि ङिच्च दाँत देखाई बनावटी हाँसो प्रदर्शन गर्थे । उनी सोच्दै थिए, साथीलाई पनि आफूलाई जस्तै दुःख छ, तर पनि कति मस्तसँग कुराकानी गरिरहेका छन् । ‘म भने चाहेर पनि बनाबटी हाँसो हाँस्न सकेको छैन’ उनी मनमनै सोच्दैथिए । यसरी रमाइला कुराकानी गर्दै जाँदा बाटो कटेको पनि उनीहरूलाई पत्तै भएन । बीच–बीचमा खाजा खान र पिसाब गर्नबाहेक उनीहरू बसबाट कतै ओर्लिएनन् ।

बस गाउँ नजिकैको बसपार्कमा पुगेर रोकियो । सबै यात्रु आ–आफ्ना घरतिर लागे । उनीहरू पनि आ–आफ्ना झोला बोकीे घरतिरलागे । सुरुमा साथीको घर जाने बाटो आउँछ । साथी छुट्टिएपछि उनी पनि आफ्नो घरतिर लाग्छन् । जब उनी आफ्नो घरको आँगनीमा पुगे, चारैतिर चकमन्न अँध्यारो थियो । बन्द झ्यालबाट दियोको मधुरो प्रकाश आइरहेको उनले देखे । सोचे, सबै खाना खाई सुत्ने तरखरमा होलान् । छोरा त सुतिसके होलान् । यस्तै सोच्दै उनले घर पुगी ढोका घच्घचाए । केही क्षणमै उनकीश्रीमती र छोरा हातमा टुकी बोकी ढोका खोले । आफ्ना अगाडि पतिलाई देख्दा उनी अचम्ममा परिन् । ‘ओ हो तपाईं ? केही खबर नै नगरी ?’ अनि आफ्नो छोरालाई ‘हेर त छोरा बाबा आउनुभयो ।’ अनि आफ्नी सासूलाई ‘हेर्नुहोस् त आमा, तपाईका छोरा आउनुभयो’ ढोकैबाट भनिन् । आमा–‘के भयो बुहारी, अनि के भन्छ्यौ तिमी ? छोरा आयो रे ?’ अचम्म मानी आमाले बुहारीलाई प्रश्न गरिन् । 

मधुरो बत्तीको प्रकाशमा आफ्नो छोरालाई देखेपछि ‘ओहो छोरा तँ आइपुगिस्, किन यति राति ?’ उनले आमालाई ढोग गरे । ‘भाग्यमानी भएस् छोरा’ आमाले आशीर्वाद दिइन् । श्रीमतीले पनि उनलाई ढोगिन् । उनी पनि के कम ‘सौभाग्यवती भएस्’ भन्दै श्रीमतीलाई आशीर्वाद दिए । श्रीमती लाज मानी आफ्नो साडीको टुप्पो टोक्न पुगिन् । ‘ओहो छोरा अझसम्म पनि नसुतेर बसेको ? बाबा आउनुहुन्छ भनेर हो ?’ छोरालाई पतिको अङ्गालोबाट छुटाई बोकिन् । छोरा पनि लजाएर पिताको ढाडमा मुख लुकाउन पुगे ।

‘छोरा तिमी थाकेर अनि भोकाएर आएका हौला, हातमुख धोएर एकछिन आराम गर । बुहारी, छोरालाई खाना पकाऊ । म नातिलाई सुताउँछु । आइज मेरो नाति भन्दै नातिलाई बोकी सुताउने प्रयासमा लागिन् । छोरा के सुत्थ्यो, यति लामो समयपछि बुवासँग भेट भएको थियो । मुस्कुराई आफ्नो बूढीऔंला चुस्न थाले, हजुरआमाको अङ्गालोबाट झरी बुवाको पछि लागे । श्रीमतीले उनको झोला घरभित्र लगिन्, अनि एक करुवा पानी हातमुख धुनका लागि ल्याइन् । उनी करुवा लिई हातमुख धुन गए । हातमुख धोएपछि अगेना छेउको गुन्द्रीमा बसे । छोरा उनको काखमा आई लुटुपुटु गर्न थाल्यो । श्रीमती आगो फुकी भात पकाउनमै व्यस्त भइन् । आमा उनका सामु आई बत्ती कात्न थालिन् । ‘छोरा हामीले भरखरै खाना खाएका हौं । तिमीले आउने खबर पनि गरेनौ । तिमी आउने खबर पाएको भए सँगै भात खान्थ्यौं । ल बुहारी अलि छिटो गर, छोरालाई भोक लाग्यो होला ।’

बत्तीको मधुरो प्रकाशमा पनि श्रीमतीको अनुहार उज्यालो देखिन्थ्यो । यस्तो दुःखमा पनि श्रीमतीको हँसिलो मुख देख्दा उनी प्रसन्न थिए । केही समयपछि श्रीमतीले खाना ल्याइन् । श्रीमतीले पकाएको मीठो खाना खाएपछि श्रीमान् निकै खुसी भए । 

खाना खाएपछि उनले विदेशबाट ल्याएको कोसेली सबैलाई बाँडिदिए । आमा र श्रीमतीलाई धोती–साडी अनि छोरालाई लुगा, खेलौना र चकलेट आदि दिएपछि सबै खुसी भए । छोरा अघिदेखि कुरिराखेको चकलेट मुखमा राखी गाडी गुडाउन थाले । छोरा खुसी भई खेलेको देखेर सबै हाँसिरहेका थिए । उनले आमालाई कम्पनीबाट पाएको अन्तिम तलब हातमा राखी ढोग गरे । आमा खुसी भई फेरि आशीर्वाद दिइन् । 

बुवाले ल्याएको गाडी खेलाउँदा–खेलाउँदै सानो छोरा गुन्द्रीमै निदाए । त्यसपछि सबैले आपसमा सामान्य भलाकुसारी गरे । बूढीआमाले उनीतर्फ हेरी ‘रात पनि निक्कै बितिसकेछ । भोलि बिहानै उठ्नुपर्छ । छोरा तँ पनि थाकेको होलास्, सुत्न जा । भोलि कुरा गरौंला’ बुहारीलाई भन्छिन्, ‘बुहारी, नाति पनि निदाइसकेछ । अबदेखि नाति मसँग सुत्छ । तिमीहरू दुवै सुत्न जाऊ । केही गरी राति नाति ब्युँझेर दुःख दिए तिमीलाई उठाउँला । अब त नातिलाई मसँग सुताउने बानी बसाल्नुपर्छ’ यसो भनी अगेना छेउको गुन्द्रीमाथि एउटा पातलो ओछ्याउने बिछ्याई नातिलाई च्यापी पल्टिइन् । 

श्रीमतीले बिछ्यौना तयार गरिन् । अनि दुवै बिछ्याउनामा पल्टिएर सुख–दुःखका कुरा गरे । घरायसी कुरा गरेपछि उनले आफू सधैका लागि घर फर्केको कुरा श्रीमतीलाई सुनाए । पहिले त श्रीमती अचम्म पर्छिन् । उनले कोरोना संक्रमण विश्वभर फैलिएको हुनाले कम्पनीले विदेशी कामदार कटौती गरेको अनि विदेशी कामदारहरू आ–आफ्नो देश फर्काएको कुरा बताए । श्रीमतीले उनका कुरा सुनेपछि ‘नआत्तिनू, गाउँमै बसी केही गरौंला । अनि बिस्तारै साहूको ऋण तिरौंला । कमसेकम परिवारसँग छुट्टिएर त बस्नुपर्दैन । बाबु सानै छ, अनि सासूआमा पनि बूढी हुनुभयो । अब दुवै मिलेर सानो छोरा र बूढीआमाको स्याहार गरौंला ।’ श्रीमतीको सल्लाह उनलाई जायज लाग्यो । श्रीमतीको आँट तथा आत्मविश्वास देखेर उनलाई पनि आफ्नै गाउँमा बसी केही गर्न सक्छु भन्ने आत्मबल बढ्यो ।’ नारी सहनशील हुन्छन् अनि जस्तो समस्या पर्दा पनि आत्तिँदैनन् । कुनै पुरुष सफल हुनमा नारीको पनि उत्तिकै हात हुन्छ । पति–पत्नी एक रथका दुई पाङ्ग्रा हुन्’ एक्लै मनमनै गुनगुनाए । आफ्नी श्रीमतीको आँट र भरोसाले उनलाई अब गाउँमै बसी ‘केही गर्न सक्छु’ भन्ने आत्मविश्वास बढ्यो । 

छोटो समय भए पनि विदेशमा बसेर आएका हुनाले साहूलाई कसरी खुसी बनाउने भन्ने उनले पनि जानिसकेका हुनाले दुई बोतल विदेशी रक्सी ल्याएका थिए । भोलि नै साहूलाई विदेशबाट कमाएर ल्याएको केही रकमका साथै त्यही विदेशी रक्सी कोसेलीका रूपमा लगिदिने दुवैको सल्लाह भयो । ‘साहू पनि त्यति निर्दयी छैनन् । कोसेली देखेर साहू पनि खुसी हुनेछन् ।’ विदेशी रक्सी भनेपछि साहू पनि भुतुक्कै हुन्छन् । अनि यही मौकामा तिर्नुपर्ने बाँकी रकम बिस्तारै किस्ता–किस्ता गरी तिर्छु भनेर साहूसँग निवेदन गर्नुपर्ला । श्रीमतीको उत्साहवर्द्धक सल्लाहले उनलाई अब जीवनमा केही गर्न सक्छु भन्ने लाग्यो । सबै समस्या उनलाई अब सहज लाग्न थाल्यो । रात पनि निक्कै बितिसकेको थियो । त्यसपछि दुवै सुखद् भविष्यको कल्पना गर्दै मस्तसँग निदाए । 

 Image