Successfully Copied

स्वस्थ रहन योग र खाना 

योगले सबैलाई एउटै किसिमको प्रभाव पार्छ भन्ने छैन । खानपान र जीवनशैली स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो ।

मानिसको स्वास्थ्यमा योगको भूमिकाबारे स्पष्ट पारिदिनुस् न ? 

योगले सबैलाई एउटै किसिमको प्रभाव पार्छ भन्ने छैन । खानपान र जीवनशैली स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । मानिसले कस्तो खाना खान्छ, दिनभर कत्तिको सक्रिय रहन्छ सोहीअनुसारको प्रभाव स्वास्थ्यमा पर्ने हो । पछिल्लो समय रोग निको पार्ने भनेर योग गर्नेको होडबाजी छ । शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न हामीले योग गर्छौं । बिहान योग गर्दा दिनभरि स्वस्थ हुन सकिन्छ । प्रत्येक दिन योग गरे तनावमुक्त भई फुर्ती महसुस हुन्छ । यसको अर्थ के भयो भने हामी प्रत्येक दिन नै स्वस्थ भयौं । योगले शरीरलाई सन्तुलनमा ल्याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्या नियन्त्रण गर्छ । शरीरलाई रिफ्रेस गराउँछ । दिनभरि अल्छी लाग्दैन र थकान महसुस गराउँदैन ।

योगको आवश्यकता किन ?

भनिन्छ, हिजो गइसक्यो, भोलि देखेका छैनौं तर आज छ । हामीले आजलाई ठीक बनाउनुपर्‍यो । आज ठीक भयो भने भोलि आफैं ठीक हुन्छ । त्यसैले आजलाई ठीक राख्न हरेक दिन योग गर्नुपर्छ । यसले हाम्रो सोचाइमा सकारात्मक प्रभाव पार्छ । कतिपयले मलाई केही भएको छैन मैले योग किन गर्ने भन्ने सोच्छन् । तर, रोग लागिसकेपछि योग गर्नुभन्दा रोग नै नलाग्न दिनु उत्तम हो । त्यसैले सुख, शान्ति र तनावमुक्त जीवन जिउनका लागि हरेक दिन योग, ध्यान एवं प्राणायाम गर्नुपर्छ ।

निरोगी रहन के–कस्ता योगाभ्यास गर्न सकिन्छ ?

सूक्ष्म व्यायाम, योग, ध्यान, श्वासप्रश्वासको प्रक्रिया गर्न सकिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अंगलाई चलाउनुपर्छ । सुरुमा हात, टाउको, गर्दन, काँध र त्यसपछि घुँडा, खुट्टा, औंलासम्म बिस्तारै चलाउनुपर्छ । त्यस्तै निरोगी रहन योगले मात्र पुग्दैन । योगसँगै खाना पनि सन्तुलन मिलाएर खानुपर्छ । हामी मासुले मात्र तागत दिन्छ भन्ने सोच्छौं तर फलफूल, ताजा तरकारी, ड्राई फ्रुट्स, सिडहरूको पनि मात्रा मिलाएर खान सके धेरै हदसम्म हामी निरोगी रहन सक्छौं ।

(नीलिमा योग प्रशिक्षक हुन् )

 

 Image