Successfully Copied

विवाहिताको सफल यात्रा 

महिलामाथि हुने हरेक प्रकारका हिंसा अन्त्यका लागि बलियो कानुन बनाउनुपर्छ । महिला स्वयं अब आवाज उठाउन सक्ने हुनुपर्छ ।

आत्मविश्वास र दृढ संकल्पका साथ अगाडि बढेकाहरू सफल भएका धेरै उदाहरण भेटिन्छन् । यसरी सफल भएकाहरूमा पुरुषको तुलनामा महिलाको संख्या कम हुन सक्छ । तर, महिलाहरूले सफलताको जुन शिखर चुमेका छन्, त्यो चानचुने पक्कै छैन । अझ विवाहित र सन्तानका आमा भएरै पनि आफ्नो लक्ष्यमा पुग्न सक्नु धेरैको बस र बुँताको कुरा हुँदै होइन । त्यस्तै, साहसी र दृढ संकल्पित दुई विवाहिता दीक्षा केसी र उषा रजकलाई यो अंकमा समावेश गरेका छौं । दीक्षा ‘मिसेस नेपाल वर्ल्ड–२०२१’ की विजेता हुन् भने उषा ‘मिसेज नेपाल इन्टरनेसनल २०२१’ की ताज पहिरन सफल व्यक्तित्व हुन् । 

ललितपुरमा जन्मिएकी दीक्षा केसी सानैदेखि चिरिच्याट्ट परेर कतै जान रुचाउँथिन्, ‘मिस नेपाल’ मा रुचि राख्थिन् । आफ्नो त्यही रुचिलाई पछ्याउँदै अघि बढ्दा उनी ‘मिसेस नेपाल वर्ल्ड–२०२१’ बन्न सफल भइन् । अब भने दीक्षा यो वर्षको डिसेम्बरमा हुने ‘मिसेज वर्ल्ड’ मा सहभागिता जनाउन अमेरिका जाने भएकी छन् । विवाहपछि महिलाको पढाइ, करियरलगायतका कुरामा बाधा पुग्छ भन्ने भनाइलाई असत्य साबित गर्दै उनले श्रीमान् र परिवारको सहयोगमा यो सफलता हात पारेकी हुन् । ‘सानैदेखि चिरिच्याट्ट परेर हिँड्न रुचाउने मलाई पहिल्यैदेखि मिसेस नेपालमा रुचि थियो । केही वर्ष स्थगित भएको यो प्रतियोगिताको फारम खुलेको थाहा पाएपछि श्रीमान्ले नै यसमा सहभागी हुन प्रोत्साहन गर्नुभयो,’ दीक्षाले भनिन्, ‘एउटी महिलालाई श्रीमान् र परिवारको साथ, सहयोग र विश्वास भए उनीहरू जे पनि गर्न सक्ने आँट राख्छन् ।’ 

दीक्षा आत्मविश्वासी र सशक्त छिन् । काठमाडौं युनिभर्सिटीबाट प्राथमिक शिक्षा पूरा गरेकी दीक्षा अहिले इन्दिरा गान्धी विश्वविद्यालयबाट टुरिजममा ब्याचलर गर्दैछिन् । त्यसबाहेक उनी फेसन डिजाइनिङ कोर्स पूरा गरिसकेकी छिन् भने हाल उनले मन्टेश्वरी स्कुल सञ्चालन गरिरहेकी छन् । भन्छिन्, ‘मलाई शिक्षामार्फत सामाजिक समानता कायम भएको हेर्ने मन छ, त्यसैले यसैमा प्रयासरत छु ।’

सुन्दरी प्रतियोगिताले महिलामा कसरी आत्मविश्वास र सशक्तीकरण बढाउने काम गर्छ ?

यस्ता प्रतियोगिताले थुप्रै बाटाहरू खुलेको महसुस भइरहेको छ । कसरी बोल्ने, हिँड्ने, खानेदेखि अरुका अगाडि आफूलाई कसरी प्रस्तुत गर्ने भन्नेसम्मका ग्रुमिङका कुरा यसले सिकायो । आफूभित्रको क्षमता चिन्ने अवसर पाइयो । आफूमा भएको ज्ञान खुलेर आउँदा आत्मविश्वास बढेको छ । अब म अरुको आवाजको माध्यम बन्न सक्छु भन्ने हिम्मत बढेको छ ।

महिला सबल र हरेक कोणबाट सशक्त हुन के आवश्यक देख्नुहुन्छ ?

शिक्षा र आर्थिक सशक्तीकरणका साथै महिलाको स्वास्थ्य ।

अबको शताब्दीमा महिलाका प्रमुख मुद्दा के हुन सक्छन् ?

महिलामाथि हुने हरेक प्रकारका हिंसा अन्त्यका लागि बलियो कानुन बनाउनुपर्छ । महिला स्वयं अब आवाज उठाउन सक्ने हुनुपर्छ ।

सौन्दर्य सीप र आत्मविश्वासमध्ये एउटा रोज्नुपर्दा के रोज्नुहुन्छ ?

सीप प्रमुख कुरा हो । सीप भयो भने आत्मविश्वास बढ्दै जान्छ । सौन्दर्य भनेको त सोच हो ।

ॅमिसेस वर्ल्ड’ मा तपाईंको विशेष प्रस्तुति के रहनेछ ?

शिक्षामार्फत मानसिक स्वास्थ्यलाई जोडेर प्रस्तुति दिनेछु । त्यसबाहेक क्यान्सर सचेतना र मानसिक स्वास्थ्यसम्बन्धी प्रोजेक्ट त छँदैछ ।

महिला विकास, उत्थान र देशका लागि तपाईंले गर्न सक्ने के हुनसक्छ ?

स्वास्थ्य राम्रो भए जे पनि गर्न सकिने हो । अहिले मैले गरिरहेको काम पनि यही नै हो । मेरो कामले समग्र महिलामा थोरै किन नहोस् प्रभाव पार्न सक्यो भने मैले केही गरेको ठहरिनेछ ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? 

क्यान्सरसम्बन्धी प्रोजेक्टमै केन्द्रित भइरहेकी छु । त्यसबाहेक मानसिक स्वास्थ्यसम्बन्धी कुनै प्रस्तुति दिने मन छ, यसबारे अध्ययन गरिरहेकी छु । 

आगामी योजना के छन् ?

मैले चलाइरहेको मन्टेश्वरी स्कुलमार्फत शिक्षामा समानता ल्याउने र सानैदेखि भेदभावरहित वातावरणमा बालबालिकालाई हुर्काउने परिस्थिति निर्माण गर्न निरन्तर काम गरिरहनेछु ।

ललितपुरको धोबीघाटमा जन्मिएकी उषा रजक एकताकाकी हिट नायिका, रंगकर्मी तथा मोडल हुन् । उनी हालै मात्र ‘मिसेस, नेपाल इन्टरनेसनल २०२१’ को ताज पहिरन सफल भइन् । ‘मिसेस इन्टरनेसनल’ मा सहभागी हुन उनी सिंगापुर जाने तयारी थालेकी छन् । सात वटा म्युजिक भिडियो खेलेर चर्चाको शिखरमा पुग्न सफल उनी सन् २००५ मा चितवनमा सम्पन्न राष्ट्रिय नाटक प्रतियोगितामा उत्कृष्ट अभिनेतृको अवार्ड प्राप्त गरेकी थिइन् । गुरुकुलमा नाटक खेल्न सक्रिय भएकै बेला ‘कुसुमे रुमाल २’ मा उनलाई मुख्य नायिकाको अफर आयो । त्यसपछि ‘इकु’ र ‘वान डे’ चलचित्र खेलिन् । त्यही वर्ष ‘मिस युनिभर्सिटी’ टाइटल जितेकी थिइन् । उनका चलचित्रहरू धमाधम रिलिज भइरहेकै बेला किर्गिस्तानी नागरिक सर्गी इगो रोभसँग उनको भेट भयो, विवाह पनि भइहाल्यो । विवाहपछि उनी किर्गिस्तान पुगिन् । उता संयुक्त राष्ट्रसंघमा संचार विशेषज्ञका रूपमा काम गरिन् । त्यसपछि उनी किर्गिस्तानको अनलाइन पोर्टलमा खोज पत्रकारितामा सक्रिय भइन् । 

आफ्नो बारेमा उनी भन्छिन्, ‘मलाई प्याजेन्ट गर्ल भन्दा पनि हुन्छ किनभने म सुरुवाती दिनदेखि प्याजेन्टकै माध्यमबाट अगाडि बढेकी हुँ ।’ उषा एउटी कुशल पेस्ट्री सेफ पनि हुन् । उनी पत्रकारिता र आमसञ्चार विषयमा स्नातक हुन् । बच्चामा एक्लै शान्त बस्न रुचाउने अन्तर्मुखी स्वभावकी उनी पढाइमा अब्बल थिइन् । विभिन्न प्रतियोगिताले उनलाई बहिर्मुखी बनाउँदै लगेको र पछिल्लो समय आफू जस्तो परिस्थितिमा पनि आवाज उठाउन सक्ने आत्मविश्वासी बनेको उषाको भनाइ छ । हाल उनी १२ वर्षीया छोरी लुना इगोरोभाका साथ काठमाडौंमा बस्छिन् ।

ॅमिसेस इन्टरनेसनल’ को तयारी कस्तो चल्दैछ ?

पूरा शक्ति र व्यक्तिगत ग्रुमिङसँगै सामाजिक र अन्य पाटाहरूमा आफूलाई कसरी थप दक्ष बनाउने भन्नेमा केन्द्रित छु । त्यहाँ प्रस्तुत गर्ने प्रोजेक्टमा पनि शोध, अनुसन्धान र बाँकी कामहरू हुँदैछन् ।

यस्ता प्रतियोगिताले महिलामा कसरी आत्मविश्वास र सशक्तीकरण बढाउने काम गर्छ ?

यस्ता प्याजेन्टमा नारी उभिनु नै एउटा उपलब्धि हो । यस्ता प्लेटफर्मले महिलाको व्यक्तिगत, सामाजिक र व्यावसायिक उन्नतिमा ठूलो भूमिका खेल्छ । आवाज मुखरित गर्न प्रेरित गर्नुका साथै आत्मविश्वासी बनाउँछ ।

महिला सबल र हरेक कोणबाट सशक्त हुन के आवश्यक देख्नुहुन्छ ?

शिक्षा र आर्थिक स्वतन्त्रता ।

आफू अगाडि बढ्न सामाजिक सञ्जालले कत्तिको सघाएझैं लाग्छ ?

सामाजिक सञ्जाल चक्कुजस्तै हो भन्छु म । किनभने यसलाई सही प्रयोग गर्न सके मीठा परिकार बनाउन सहयोगी हुनसक्छ, दुरुपयोग गरियो भने मान्छे मार्न पनि सक्छ । प्रयोगमा भर पर्ने कुरा हो । म यसलाई सक्दो सदुपयोगका साथ प्रयोग गरिरहेकी छु ।

कुनै कुराको निर्णय लिनुपर्दा दिमाग प्रयोग गर्नुहुन्छ कि दिल ?

म त दिमाग नै प्रयोग गर्छु मनले निर्णय बिगार्छ जस्तो लाग्छ ।

ॅमिसेस इन्टरनेसनल’ मा तपाईंको विशेष प्रस्तुति के रहनेछ ?

नेपाली स्टायलमा ब्याले डान्स गर्न मन छ । नेपाली नारीको बहादुरीलाई विश्वभर चिनाउने प्रस्तुतीकरण दिने इच्छा छ । अर्को कुरा पर्यटन प्रवर्द्धनका लागि कुनै विशेष प्रस्तुति पनि गर्ने योजनामा छु ।

महिला विकास, उत्थान र देशका लागि तपाईंले गर्न सक्ने के हुनसक्छ ?

यो प्लेटफर्मले हाम्रो आवाज पनि सुनिनेसम्म बनाइदिएको छ । म सम्पूर्ण नेपालीको आवाज बनेर गुञ्जिन चाहन्छु । साथै मनोरञ्जन क्षेत्रका लागि पनि आवाज उठाइरहेकी छु जुन सबैका लागि हो ।

अबका योजना के छन् ?

म नेपाल आएकै कला क्षेत्रका लागि हो । थिएटर (रंगमञ्च) र चलचित्रका अफरहरू आइरहेका छन् । लेखन र पत्रकारितामा पनि पुनः एकपटक आउने मन छ ।

 Image