Successfully Copied

रिबनमा सिर्जना गर्दै दिलाशा

दिलाशाले रिबनका साथै वायरबाट थरीथरीका फूलहरूको आइडिया क्रेट गरी बुके बनाएर बेच्दै आइरहेकी छिन् । उनले सनफ्लावर, लिल्ली, रोज, स्ट्रबेरी, चेरीलगायत बुके बनाएर अर्डरअनुसार बेच्ने गर्छिन् ।


आरती पौडेल

दिलाशा ११ मा पढ्दै थिइन् । खाली समयमा बसिरहेको बेला उनलाई केही नयाँ काम गरौं भन्ने भयो । पसलबाट रिबन किनेर बुके बनाइन् । त्यसलाई साथीको जन्मदिनमा उपहार दिइन् । दिलाशा आफैले बनाएको भनेपछि उनका साथीहरू दंग परे ।
‘मैले बनाएको भनेपछि सबै जनाले प्रशंसा गरे । भेटेको साथीहरू सबैले आफूहरूलाई पनि बनाइदिन भनेका थिए,’ उनले भनिन्, ‘टिकटकमा एउटा भिडियो देखेकी थिएँ । म त्योभन्दा फरक र राम्रो बनाउन सक्छु भन्ने सोचेर बनाएकी थिएँ । साँच्चिकै त्यसै भयो ।’
त्यसपछि साथीहरूले नै उनलाई हौसला दिए । उनको परिवारले पनि आफूले जानेको काम गर्नुपर्छ भनी प्रोत्साहन गरे । ‘आमाबुवा, दिदीहरू र साथीहरूले तिमीले राम्रो गरेकी छौ । खाली समयमा बनाउने गर । राम्रो हो भनेपछि अब त्यही काम सुरु गर्छु भनेर लागें,’ उनले भनिन् । त्यसपछि दिलाशाले ‘फजी ब्लुम’ नामसँगै अनलाइन बिजनेसका लागि पेज बनाइन् ।
सुरुका दिनमा साथी, आफन्त एवं छिमेकीहरूले रिबनका बुकेहरू अर्डर गर्न थाले । ‘आफ्नै सर्कलले अरूलाई पनि भनेपछि विस्तारै मैले गर्ने कामको बारेमा सबैलाई थाहा हुन थालेको थियो,’ उनले भनिन् । आफ्नो पढाइ सकेर खाली समयमा मात्र बनाउने गरे पनि उनलाई राम्रो फाइदा भएको थियो । ‘कलेजको असाइनमेन्ट सकेर केही समय पढी खाली समयमा बनाउँथें,’ उनले भनिन्, ‘धेरै अर्डर आइरहन्थ्यो । समय मिल्नेबित्तिकै बनाएर दिन्थें ।’


दिलाशाले गरेको कामको प्रशंसा कलेजमा समेत हुन थालेको थियो । ‘कलेजमा पनि सबै साथीले, म्यामहरूले थाहा पाएर प्रशंसा गरेका थिए । त्यस कुराले मैले मेरो कामलाई अझै राम्रो गर्नुपर्छ भन्ने भयो,’ उनले भनिन् ।
दिलाशाले रिबनका साथै वायरबाट थरीथरीका फूलहरूको आइडिया क्रेट गरी बुके बनाएर बेच्दै आइरहेकी छिन् । उनले सनफ्लावर, लिल्ली, रोज, स्ट्रबेरी, चेरीलगायत बुके बनाएर अर्डरअनुसार बेच्ने गर्छिन् ।
आफूलाई सबैभन्दा खुसी लाग्ने क्षण भनेको एउटै ग्राहकले बारम्बार आफ्नो सामान अडर गर्नु रहेको उनले सुनाइन् । ‘एकपटक अर्डर गरेपछि प्रडक्ट मन परेर बारम्बार अर्डर गर्छन् । त्यो देखेर सबैभन्दा खुसी लाग्छ,’ उनले भनिन् ।
खाली समय भएका कारण धेरै अर्डर आउने र बनाएर दिने गरेको उनले सुनाइन् । ‘पढाइ नबिग्रियोस् भनेर प्लस टुको परीक्षा दिने समयमा गरिन् । परीक्षा सकिएपछि फेरि बुके बनाउन थालें । अहिले घरमा बसेर बनाउँछु र अर्डरअनुसार बेच्ने गरेकी छु,’ उनले भनिन् ।
उनको परिवारको डिपार्टमेन्ट स्टोर छ । उनले पसलको एउटा स्थानमा आफूले बनाएका बुकेट राख्छिन् । त्यहाँ पनि निकै राम्रो व्यापार हुने गरेको उनी सुनाउँछिन् । ‘अनलाइन अर्डर पनि धेरै आउँछ । आमाबुवाले घरकै पसलमा पनि राख धेरैलाई थाहा हुन्छ भनेर सामान राख्ने गरेकी छु । कति छिटो बिक्री हुन्छ,’ उनले भनिन् ।
दिलाशालाई सबैले किन्न सक्ने खालको मूल्य हरेक कुरामा हुनुपर्छ जस्तो लाग्छ । ‘मैले १ सयदेखि माथिका बुके बनाउँछु,’ उनले भनिन्, ‘सबैले किन त्यति धेरै सस्तो भन्नुहुन्छ, मलाई एउटै सामानबाट धेरै पैसा लिएर अर्को पटक ग्राहकले किन्नै नसक्ने बनाउनु नराम्रो हो जस्तो लाग्छ ।’


दिलाशालाई ग्राहकको विश्वास र माया सधैंभरि कमाउनुपर्छ जस्तो लाग्छ । त्यसैले आफूले धेरै नाफा नखाई सस्तो मूल्यमा बेच्ने गरेको उनी सुनाउँछिन् ।
सुरुका दिनमा साथीलाई जन्मदिनमा उपहार दिन रिबनबाट बुके बनाएकी दिलाशाले अहिले १६ वर्षको सानै उमेरमा अनलाइन प्लेटफर्ममार्फत आफ्ना सामान बेचिरहेकी छिन् । दिलाशाले भविष्यमा नेपालमै बसेर व्यवसाय गर्ने र आफ्नो पढाइलाई निरन्तरता दिने सोच रहेको सुनाइन् । उनी बुके मात्र नभएर आफूले नयाँ काम सिकेर नेपालमै व्यवसाय गर्ने सोच रहेको सुनाउँछिन् ।  

 Image