Successfully Copied

बहुआयामिक गुलाब

गुलाबको महत्व धेरै छ । यसलाई प्रेमको प्रतीक पनि मानिन्छ । खासगरी प्रेम अभिव्यक्त गर्न रातो गुलाब आदान–प्रदान गर्ने चलन छ । प्रणय दिवसमा होस् वा हनिमुनमा यसको प्रयोग गरिन्छ । ‘भ्यालेन्टाइन विक’ को सुरुवात ‘रोज डे’ बाटै हुन्छ ।

गुलाबको महत्व धेरै छ । यसलाई प्रेमको प्रतीक पनि मानिन्छ । खासगरी प्रेम अभिव्यक्त गर्न रातो गुलाब आदान–प्रदान गर्ने चलन छ । प्रणय दिवसमा होस् वा हनिमुनमा यसको प्रयोग गरिन्छ । ‘भ्यालेन्टाइन विक’ को सुरुवात ‘रोज डे’ बाटै हुन्छ ।
त्यसो त घरको शोभा बढाउनदेखि शरीरको सौन्दर्य बढाउनसम्म गुलाब उपयोगी छ । घरको बगैंचा, बार्दलीमा ढकमक्क फुलेको गुलाबले समग्र घरलाई नै आकर्षक बनाइदिन्छ । घरमा उपलब्ध ठाउँअनुसार सानो–ठूलो झ्याङको गुलाब लगाउन सकिन्छ ।
गुलाब सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । गुलाबका पत्रलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । त्यस्तै, यसलाई सजावटका लागि पनि प्रयोग गरिन्छ । ‘कट फ्लावर पट’ मा पानी राखेर टेबलमा सजाउँदा घरलाई सुन्दर देखाउनुका साथै ताजगी महसुस गराउँछ ।

गुलाबका प्रकार
सयभन्दा बढी जाति र हजारभन्दा बढी प्रजातिमा पाइने गुलाबका अधिकांश प्रजाति एसियामा पाइन्छन् । यूरोप, उत्तरी अमेरिका तथा उत्तरी पश्चिमी अफ्रिकामा पनि यसका केही प्रजाति पाइन्छन् । गुलाब विभिन्न प्रजाति एवं धेरै प्रकारका हुन्छन् । 
एउटा झ्याङ झुप्प हुने खालको गुलाब हुन्छ । यो गमलामा रोप्न सकिन्छ । यसको बोट धेरै अग्लो हुँदैन तर झाँगिएर फुल्छ । यस्ता बोटमा स–साना धेरै फूल फुल्छन् । 
अर्को लहरा जाने खालको गुलाब हुन्छ । यस्तो गुलाब गेट, बार्दली वा पर्खालमा लगाउन सकिन्छ । त्यस्तै सामान्य उचाइमा फुल्ने गुलाब हुन्छ, जुन ८–१० इन्चको उचाइमा फुल्छ । यसमा निकै आकर्षक फूल फुल्छन् । यो छत वा कौसीमा रोप्न सकिन्छ । पछिल्लो समय हाइब्रिड गुलाब धेरैको रोजाइमा पर्ने गरेको छ । कट फ्लावरमा यो धेरै नै प्रयोग हुन्छ । यस्तो गुलाबको फूल धेरै दिनसम्म रहन्छ । बटन रोज एकैसाथ स–साना धेरै फूल फुल्ने भएकाले यस्तो गुलाब धेरै आकर्षक देखिन्छ । यसको एउटै हाँगाबाट गएको गुच्छामा छ–सात वटा फूल फुल्छन् ।

कसरी रोप्नुपर्छ ?
गुलाब रोप्नका लागि सबैभन्दा पहिला उपयुक्त उत्पादन स्थलको छनोट गर्नुपर्छ । पानी जम्ने ठाउँमा यसको बिरुवा रोप्नुहुँदैन । बलौटे किसिमको माटोमा गुलाबको फूल राम्रोसँग फस्टाउँछ । यसमा माटोबाहेक प्रांगारिक मल, कोकोपिट मिसाउन सकिन्छ । साथै माटोमा कार्बनिक पदार्थको मात्रा प्रशस्त हुनुपर्छ । गाईको मल, फस्फोरस, पोटास मिसाएर तयार पारिएको मलमा गुलाब राम्रोसँग फुल्छ । त्यस्तै फूलमा प्रशस्त मात्रामा सूर्यको प्रकाश पुग्नुपर्छ ।
नेपालमा यो फूलको खेती व्यावसायिक र व्यक्तिगत दुवै तरिकाबाट भइरहेको छ । घरमै रोप्नका लागि गमला वा जमिनमा रोप्न सकिन्छ भने व्यावसायिक तरिकाले गुलाबको खेती गर्नका लागि ग्रिन हाउसको आवश्यकता पर्छ । गुलाबको कट फ्लावर नेपालमा मात्र नभई विदेशमा समेत निर्यात हुन्छ ।
नसर्रीबाट गुलाबका बिरुवा किनेर ल्याएको भए घरमा केही दिन राखेर गमलामा रिपट गर्न सकिन्छ । यसको कटिङ भने वर्षामा उपयुक्त हुन्छ । गुलाबको पुरानो बोटबाट कटिङ गर्न सकिन्छ । यसको बिरुवा बीउबाट पनि तयार पार्न सकिन्छ । तर यसको सरल विधि भनेको कटिङ नै हो । कटिङ गरेर रोपिएको बिरुवामा जरा र नयाँ पात राम्रोसँग पलाएपछि मात्र अर्को ठाउँमा सार्नुपर्छ ।

हेरचाह
बिरुवा रोपिसकेपछि यसलाई उपयुक्त सिचाइको आवश्यकता पर्छ । गमलामा बिरुवा लगाइएको छ भने पानी माथिबाट छर्कनुपर्छ जसले गर्दा शाखा बिरुवाहरू चाँडै उम्रन्छन् । बिरुवाको वृद्धि विकासमा पानी र सूर्यको प्रकाशको उपयुक्त मात्रामा निर्भर हुन्छ । यसको बिरुवालाई अन्य बिरुवाको तुलनामा अलि बढी पानीको आवश्यकता पर्छ । तर यसो भन्दैमा आवश्यकभन्दा बढी पानी पनि हाल्नुहुँदैन । अत्यधिक पानीले बिरुवाको जरा सडाउने वा फंगस लाग्न सक्छ । माटोको माथिल्लो सतह हल्का सुख्खा हुन थालेपछि पानी हालिदिनुपर्छ । त्यस्तै स्वस्थ बिरुवाका लागि मलबाहेक नाइट्रेट, फस्फोरस, म्याग्नेसियम, म्याग्निज, सल्फरजस्ता पोषक तत्वको पनि आवश्यकता पर्छ ।
त्यस्तै, गुलाबको बिरुवामा एफिड नामको कीरा लाग्न सक्छ । हरियो रंगको यो एफिडले बिरुवालाई नोक्सान पुर्‍याउन सक्छ । यसका साथै रेड स्केल, रोजवेफरजस्ता कीरा पनि लाग्न सक्छन् । यसबाट बच्नका लागि बिरुवामा कीटनाशक विषादीको प्रयोग गर्नुपर्छ ।
बेलाबेलामा यसको पात हेरिरहनुपर्छ । पातको भागमा टाँसिएको जस्तो देखिएमा कपडा वा ब्रसको सहायताले हटाइदिनुपर्छ । यसका साथै निमको तेल पानीमा मिसाएर १०–१५ दिनको अन्तरालमा स्प्रे गर्न सकिन्छ । फंगसबाट बचाउनका लागि पानी नियन्त्रित मात्रामा हालिदिनुपर्छ ।
यो फूललाई बेलाबेलामा फर्टिलाइजरको पनि आवश्यकता पर्छ । यस्तो फर्टिलाइजर घरमै पनि बनाउन सकिन्छ । त्यसका लागि केराको बोक्रा दुई–तीन दिन घाममा सुकाउने र त्यसलाई पिसेर पाउडर बनाउन सकिन्छ । यो पाउडर एक चम्चा १५–१५ दिनमा माटोमा हाल्न सकिन्छ । त्यस्तै ग्रिनटी वा चियापत्ती पानीमा उमाल्ने र सेलाएपछि गुलाबको फेदमा हालिदिने । यसले फर्टिलाइजरको काम गर्छ । एसिडिक माटोमा गुलाबको बोट राम्रोसँग फस्टाउँछ ।

कटिङ कहिले गर्ने ?
गर्मी महिना यो फूलको सिजन होइन । त्यतिबेला यसको प्रुनिङ गर्नुपर्छ । यसको पहेंलो पात भएको हाँगा काटिदिनुपर्छ । यसरी काटिएको तलको भागबाट बोट घना र स्वस्थ भएर पलाउँछ । गुलाबको बोट काटेर त्यत्तिकै छोडिदिँदा कहिलेकाहीँ फंगस लाग्न सक्छ । त्यसैले काटेको ठाउँमा बेसार र पानीको घोल बनाएर लगाउन सकिन्छ ।

 Image