Successfully Copied

जाडो मौसमका फूल

मौसमी तापक्रमअनुसार बोट–बिरुवाको छनोट गर्न सकियो भने फूल राम्रोसँग फुलाउन सकिन्छ । यसले बगैंचाको सौन्दर्य पनि बढ्छ ।

मौसमी तापक्रमअनुसार बोट–बिरुवाको छनोट गर्न सकियो भने फूल राम्रोसँग फुलाउन सकिन्छ । यसले बगैंचाको सौन्दर्य पनि बढ्छ । यतिबेला फूल–बिरुवा खरिद गर्नेहरूको भीड बढेको छ । कोरोना महामारीले फूलको कारोबारमा असर पारे पनि पछिल्लो समय यसको व्यापार ह्वात्तै बढेको छ । जाडो मौसम बिरुवा रोप्ने सही समय हो । मंसिर–पुस महिना बिरुवा रोप्न उत्तम मानिन्छ । यो मौसममा धेरै प्रजातिका फूल फुल्छन् । यो मौसममा जुनसुकै बिरुवा पनि सजिलै सर्छन् र हुर्कन्छन् । 

पिटुनियाको माग बढी
जाडोमा पिटुनियाको माग बढी हुन्छ । जाडो मौसममा फुल्ने भए पनि यो फूललाई पारिलो घामको आवश्यकता पर्छ । नेपालमा मात्र होइन विश्व बजारमै यो फूलको माग बढी छ । पिटुनिया सिंगल र डबल दुवैमा पाइन्छ । यो फूल धेरै रंगमा फुल्ने भएकाले पनि धेरैको रोजाइमा परेको छ । सिंगलमा १२–१५ रंगमा पाइन्छ भने डबलमा सात–आठ रंगमा पाइन्छ । 


कटिङ गर्ने समय
यो मौसम बिरुवाहरूको कटिङ गर्ने उपयुक्त समय हो । अहिले गुलाबको हाँगा काटेर मल हाले त्यहाँबाट नयाँ हाँगा पलाउँछ, जुन स्वस्थ देखिन्छ र यसले राम्रो फूल दिन्छ । त्यस्तै कटिङ गरेर हाँगा गाडेर यसको बिरुवा फैलाउन पनि सकिन्छ । हाइड्रेनियाको पनि कटिङ गर्ने बेला यही हो । 

स्याहार–सुसार
जाडो मौसममा फुलाउने फूलमा धेरै मलको प्रयोग हुँदैन । दिन बिराएर पानी हाल्नुपर्छ । जाडोमा इन्डोर प्लान्टलाई धेरै स्याहार–सुसारको आवश्यकता पर्छ । यो मौसममा बिरुवालाई कम मात्रामा पानी दिनुपर्छ । यतिबेला बिरुवा कम बढ्छन् । तर फूल फुलिरहेको बिरुवालाई भने पानीको आवश्यकता पर्छ । 
जाडो मौसममा बिरुवा रोप्न एउटा गमलामा गाईको मल, आधा हिस्सा कोकोपिट, थोरै माटो मिलाएर माटो तयार गर्नुपर्छ । माटो तयार गरेको २४ घण्टापछि बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि १५ दिनसम्म पानीका अतिरिक्त बिरुवालाई अन्य कुराको आवश्यकता पर्दैन । त्यसपछि थोरै–थोरै मल हालिदिनुपर्छ । 


फूल रोप्दा ध्यान दिनुपर्ने कुरा
कुन बिरुवा रोप्ने हो सोहीअनुरूप बीउको जोहो गर्नुपर्छ । बीउ लगाउने ठाउँमा प्रशस्त मात्रामा पानी बग्ने व्यवस्था हुनुपर्छ । नत्र बीउ उम्रनुभन्दा पहिले नै कुहिएर जान्छ । बीउ छर्दा फंगीसाइट पाउडर राख्न बिर्सनुहुँदैन । जाडोमा फुल्ने फूल भए पनि यी फूलहरूलाई पर्याप्त घामको आवश्यकता पर्छ । त्यसैले बिरुवा घाम लाग्ने ठाउँमा राख्नुपर्छ । गमला वा ‘ग्रो ब्याग’ को आकारअनुसार बिरुवाको छनोट जरुरी हुन्छ । गमला वा ग्रो ब्यागमा पानीको निस्काशन भएको हुनुपर्छ । 

कुन–कुन फूल लगाउने ?
पेन्सी, पिटुनिया, जिनिया, सिनेरिया, गजेनिया, डेन्थस, आइस लोवर, स्टक सिन्ड्रेरा, बन्डरलेन्ड, भर्बेना, एन्टेरिनम, कार्नेसन, क्यालेन्डुला ।

कति पर्छ ?
पिटुनिया–२० देखि १०० 
पेन्जी–२० देखि ५०
डेन्थस–२० देखि ५०
क्यालेन्डुला–२० देखि ५०
भर्बेना–२० देखि ५०
भर्बेना (पेरिनल भेराइटी)–५० देखि २००
सिनेरिया–२० देखि ३००
एन्टेरिनम (भ्यागुते फूल)–२० देखि २००
कार्नेसन–५० देखि ५००
 

मीनबहादुर तामाङ
अध्यक्ष, फ्लोरिकल्चर
कोरोनाकालमा फूलको बजारमा केही कमी आए पनि पछिल्लो समय फूलको कारोबार फस्टाएको छ । नेपालीहरूले बढी विदेशी फूल रुचाउँछन् । बर्सेनि विदेशबाट नेपालमा बीउ आयात गरिन्छ । नेपालबाट पनि फूल, गाना विदेश निर्यात गरिन्छ । सयपत्री, मखमली, गोदावरी नेपाली फूल हुन् । क्यालेडियमको यूरोपमा माग बढी हुन्छ । यूरोप, खाडी मुलुक, भारतलगायतका देशहरूमा कटिङ लावर जान्छ । 

शिवबहादुर खड्का
सिर्जना नर्सरी

यो मौसममा फूल फुल्ने बिरुवाको माग बढी हुन्छ । पिटुनिया र पेन्जी फूल धेरैको रोजाइमा पर्छन् । इन्डोर प्लान्टको अफ सिजन हो । कोरोना महामारीको समयमा इन्डोर प्लान्टको माग बढेको थियो । यी बिरुवाले हावा शुद्धीकरण गर्ने भएकाले बिक्री धेरै भयो । 
 

 Image