तरकारी खेती गर्न रुचाउनेहरूका लागि ‘किचन गार्डेन’ राम्रो विकल्प हो । सहरी क्षेत्रमा यसको ‘ट्रेन्ड’ बढ्दो छ । हाम्रो भान्सामा पकाइने अधिकांश तरकारी घरको करेसाबारीमै उत्पादन गर्न सकिन्छ । बजारमा पाइने तरकारीमा रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरिएको हुन्छ । यस्ता तरकारीले हाम्रो शरीरमा असर पारिरहेका हुन्छन् । मिर्गौलालाई असर गर्नेदेखि क्यान्सरसम्मको जोखिम बढाउने तथ्य विभिन्न अध्ययन–अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
हाम्रो स्वास्थ्यका लागि दैनिक आहार सन्तुलित हुनुपर्छ । फलफूल र तरकारीको सन्तुलन बनाइराख्नुपर्छ । तरकारीहरू भिटामिन, कार्बोहाइड्रेट, खनिज एवं लवणका राम्रा स्रोत हुन् । पोषणविद्का अनुसार सन्तुलित भोजनका लागि एक वयस्क व्यक्तिले प्रतिदिन ७५ ग्राम फलफूल र तीन सय ग्राम तरकारी खानुपर्छ ।
त्यसैले सके सबै नसके पनि केही तरकारी आफ्नै घरको करेसाबारीमा रोप्न सकिन्छ । ‘किचन गार्डेनिङ’ का लागि धेरै ठाउँ आवश्यक पर्दैन । घरमै खेतीयोग्य जमिन छैन भने गमला, माछा राख्ने भाँडा, प्लास्टिकका थैला, ‘ग्रो–ब्याग’ एवं बोरा काटेर पनि त्यसमा तरकारी रोप्न सकिन्छ । यसका लागि महँगो गमला नै खरिद गर्नुपर्छ भन्ने छैन । थोरै ठाउँको उपयोग गरी ताजा र रसायनमुक्त तरकारी सजिलै फलाउन सकिन्छ ।
‘किचन गार्डेन’ बनाउँदा केही सामान्य जानकारी भने हुनुपर्छ । कुन मौसममा के रोप्ने, कसरी रोप्ने, यसका लागि कस्तो मल–माटो तयार गर्ने, पानीको मात्रादेखि त्यसको हेरचाहसम्म थाहा पाइराख्नुपर्छ ।
सही ठाउँ
यसका लागि घरको छत, झ्यालको ग्रिल एवं बरन्डाको उपयोग गर्न सकिन्छ । घरको खाली भागमा ‘किचन गार्डेनिङ’ गर्न सकिन्छ । जहाँ पर्याप्त मात्रामा प्रकाश र हावा ओहोरदोहोर गर्ने ठाउँ हुनुपर्छ । नत्र बिरुवा सोचे जसरी सप्रदैन । तरकारी रोपेको ठाउँमा ६–७ घण्टा मज्जाले घामले भेट्नुपर्छ । यसले बिरुवा चाँडै बढ्न सहयोग गर्छ । ‘किचन गार्डेनिङ’ गर्ने ठाउँ सिंचाइ गर्न मिल्ने र पानीको निकासको राम्रो व्यवस्था भएको हुनुपर्छ ।
जैविक तरकारीमा जोड
घरमा तरकारी रोप्नुको अर्थ विनारसायनको ताजा तरकारी उत्पादन गर्नु हो । यसका लागि भान्साबाट निस्कने फोहोरलाई घरमै जैविक मल बनाउन सकिन्छ । यसले फोहोर व्यवस्थापन पनि हुन्छ । तरकारीको बोक्रा, अण्डाको खोल, चियापत्तीको खोस्टा आदिलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
के–के रोप्न सकिन्छ ?
काउली, बन्दा, ब्रोकाउली, मटरकोसा, धनियाँ, साग, भिन्डी, भन्टा, भेंडेखुर्सानी, खुर्सानी, गाजर, टमाटर, आलु, जडीबुटीहरू (तुलसी, करीपत्ता, रोजमेरी, घिउकुमारी, लेमन ग्रास, पुदिना), प्याज, लसुन आदि रोप्न सकिन्छ ।
कसरी हेरचाह गर्ने ?
तरकारी रोप्दा मौसमअनुसार छनोट गर्नुपर्छ । सुरुमा दैनिक थोरै–थोरै पानी हाल्नुपर्छ । बिरुवा जागेपछि सातामा एकपटक एक इन्चसम्म भिज्ने पानी पर्याप्त हुन्छ । धेरै पानीले पनि जरा कुहाउँछ । सही मात्रामा पानी पुग्नाले बिरुवाको वृद्धि र विकास छिट्टै हुन्छ । बिरुवामा पानी साँझ वा बिहान हाल्नुपर्छ । दिउँसो घाममा पानी राख्दा बिरुवा ओइलाउन सक्छन् । हामीलाई जस्तै बिरुवालाई पनि पोषणको आवश्यकता पर्छ । त्यसैले १५–१५ दिनको अन्तरालमा मल हाल्नुपर्छ । साथै त्यसमा लाग्ने रोगको सामान्य जानकारी हुनुपर्छ । किनभने ‘किचन गार्डेन’ का बिरुवामा अधिक कीरा लाग्न सक्छ । यसलाई भगाउन कीटनाशक औषधि भने भरसक प्राकृतिक नै प्रयोग गर्नुपर्छ । त्यसका लागि निमको तेल उपयुक्त हुनसक्छ । अन्यथा घरमा रोपेको र बजारबाट खरिद गरेर ल्याएको तरकारीमा केही फरक हुँदैन । यस्ता कीटनाशक औषधि घरमा पनि तयार गर्न सकिन्छ । कीरा लागेको बिरुवालाई अलग्गै राखेर औषधि छर्कनुपर्छ । यसले अन्य स्वस्थ बिरुवामा रोग सार्दैन ।
फाइदा
- शुद्ध, ताजा र रसायनमुक्त तरकारी खान पाइन्छ ।
- आफैंले सानो नर्सरी राखेर बिरुवा उत्पादन गर्न सकिन्छ । धेरै भएका बिरुवालाई बिक्री गर्न पनि सकिन्छ ।
- घरमा तरकारी उत्पादन गर्दा मासिक खर्च केही कम हुन्छ ।
- खाली बारी वा ठाउँको उपयोग हुन्छ । साथै खेर जाने पानीको सदुपयोग हुन्छ, जस्तो तरकारी पखालेको पानी ।
- तरकारी खरिद गर्न बजार गइरहनुपर्दैन ।
- आफूलाई व्यस्त राख्ने बहाना हुन्छ ।
- शारीरिक कसरत हुनुका साथै स्वस्थ एवं तन्दुरुस्त भइन्छ । साथै मनमा अनेकौं कुरा खेल्दैनन् ।
- भान्साबाट निस्कने फोहोरको सदुपयोग हुन्छ ।
- बालबालिकाहरूले पनि नयाँ कुरा सिक्न सक्छन् ।