‘शक्तिशाली’ जुजाना

दिनेश यादव

माघ ७, २०७८ पहुँचबिना राजनीतिको शीर्ष स्थानमा पुग्न महिलालाई गाह्रो हुने मान्यता धेरैको छ । त्यसैले राजनीतिमा महिला सहभागिता बढाउन विभिन्न मुलुकमा आरक्षणको व्यवस्थासमेत गरिएको छ । पार्टी राजनीतिमा पनि नेतृत्व पंक्तिमा पुग्न पार्टी इकाईको तल्लो तहबाटै सक्रिय भई लागेको हुनुपर्छ । तर, स्लोभाकियाकी ४८ वर्षीया जुजाना क्यापुटोभा यी सबकी अपवाद हुन् । उनीसँग न राजनीतिको ज्ञान थियो न धेरै पुरानो पार्टीको सदस्यता नै । नागरिक अभियानमा सहभागी हुँदै उनी स्लोभाकियाकी प्रथम महिला र मुलुककै कान्छी राष्ट्रपति बन्न सफल भइन् । हो, उनीसँग वकालत पेसा गर्ने शिक्षा र सीप भने पक्कै थियो । समय र परिस्थिति बुझेर जनताको पक्षमा आवाज बुलन्द गर्दै उनले इतिहास रचिन् । अमेरिकी चर्चित पत्रिका ‘फोर्ब्स’ को पछिल्लो संस्करणमा उनी विश्वकै ‘शक्तिशाली १०० महिला’ सूचीमा आफूलाई पार्न सफल भइन् । सूचीमा उनी ८६ औं स्थानमा छिन् । 

जुजानाको जन्म २१ जून १९७३ मा ब्राटिस्लाभास्थित एक मजदुर परिवारमा भएको हो । नजिकैको सहर पेजिनोकमा बढिन्–हुर्किन्, जहाँ उनी आज पनि बसोबास गर्छिन् । आफू जन्मे, हुर्केको ठाउँप्रति उनको अगाध माया छ । उनी आफ्नो बाल्यकाललाई ‘खुला दिमाग भएको घर’ मा बितेको बताउँछिन् अर्थात् उनको परिवार प्रगतिशील विचारधाराको थियो । शायद त्यसैले उनको पछिको विकास एउटा वातावरणीय कार्यकर्ताका रूपमा हुन पुग्यो । पछि अन्य मुद्दामा केन्द्रित हुँदै नेतृत्वदायी भूमिकामा उनी पुगिन् । 

सन् १९९६ मा ब्राटिस्लाभास्थित कोमेनियस विश्वविद्यालयबाट कानुन संकाय (राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा विशेषज्ञता सहित) स्नातक गरेपछि उनले स्थानीय पेजिनोकस्थित सरकारी निकायमा केही समय काम गरिन् । अन्ततः उनी त्यहीँकी उपमेयर बनिन् । तर, उनको भविष्यको लक्ष्य स्थानीयस्तरमा अल्झिने थिएन । त्यसैले उनी आफ्नो मार्ग फराकिलो बनाउने सोचका साथ अघि बढिन् । सन् २००१ मा उनी एउटा गैरसरकारी संस्था (एनजीओ) मा आबद्ध भइन् । सार्वजनिक प्रशासन र बाल संरक्षणका मुद्दाहरूमा ‘ओपन सोसाइटी फाउन्डेसन’ सँग मिलेर काम गर्न थालिन् । सन् २००१ देखि २०१७ सम्म उनले भाया आइयुरिसका साथ काम गरिन् । उक्त संस्था कानुनी शासनको प्रवर्द्धन गर्ने र नागरिक अधिकार तथा समाजलाई समर्थन गर्ने नागरिक संगठनका रूपमा लोकप्रिय थियो । 

पछि मुलुकमा जारी भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय रहँदै सन् २०१९ को जूनमा उनले चुनाव जितेर स्लोभाकियाको राष्ट्रपतिको पाँचवर्षे कार्यकाल सुरु गरिन् । आफ्नो उद्घाटन भाषणमा जुजानाले न्याय प्रणालीमा सुधार गर्ने, दण्डहीनताको अन्त्य गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरिन् । यी मुद्दाहरू जन–जनसँग सरोकार राख्ने भएकाले मतदाताहरू उनीबाट प्रभावित भई उनको पक्षमा मतदान गरे । उनको विजयपछि धेरैले उनलाई ‘डेमागोगुरीको समुद्रमा एक्लो राजनीतिक आवाज’ को संज्ञा दिए । 

नागरिक अभियान र आन्दोलनले थोरै समयमा उनको परिचय चुलिँदै गयो । उनले आफूलाई पश्चिमा मुलुक समर्थक, युरोपेली समर्थक, उदारवादी, वातावरणीय कार्यकर्ता र अधिवक्ताका रूपमा स्थापित गर्न सफल भइन् । जुजानाका आलोचकहरूले उनलाई अभियानका क्रममा ‘अज्ञात ठिटी’ वा ‘बजारको उत्पादन’ वा ‘एक महिनाअघिसम्म हामीले उनीबारे नसुनेकी केटी’ भनेर प्रचार गर्थे । वास्तवमा जुजानासँग स्लोभाक राजनीतिको अनुभव फिटिक्कै थिएन, तर उनी निश्चित रूपमै एउटी अनुभवी अधिवक्ता थिइन् । जनअपेक्षित आवाज बुलन्द गर्ने एक कार्यकर्ता पनि उनी थिइन् । 

यसो त उनी चर्चामा आउनुका अन्य थुप्रै कारण छन् । तीमध्ये सन् २०१६ मा आफ्नै गृहनगरको एउटा विषालु ल्यान्डफिलविरुद्धको सफल नेतृत्व गर्नु पनि हो । त्यसपछि त उनी स्लोभाकियाकी ‘एरिन ब्रोकोविच’ उपनामले चिनिन थालिन् । किनभने उनले स्थानीय एक धनाढ्य भूमि डेभलपरविरुद्ध १४ वर्षसम्म संघर्ष गरेकी थिइन् । त्यस क्रममा उनले युरोपेली संघमा विरोध प्रदर्शन, मुद्दा दायर र मुद्दा लड्ने काम गरेकी थिइन् । यो अभियानले सन् २०१६ मा उनलाई प्रतिष्ठित ‘गोल्डमेन वातावरण’ पुरस्कारसमेत प्राप्त भएको थियो । 

त्यसलगत्तै त्यहाँको संसदीय चुनावमा एकपटक पनि सहभागिता नजाएको नयाँ राजनीतिक दल ‘प्रोग्रेसिभ स्लोभाकिया पार्टी’ की उपाध्यक्ष बनिन् । उनले प्रहरी र अभियोजकहरूलाई राजनीतिक प्रभावबाट हटाएर भ्रष्टाचारविरुद्ध लड्ने वाचाका साथ आफ्नो चुनावी अभियान थालेकी थिइन् । अझ त्यसताका खोज पत्रकार जान कुसियाक र उनका मंगेतर मार्टिना कुसिनरोभाको हत्या भयो । उक्त हत्याले राजनीतिमा भ्रष्टाचार मुद्दालाई सार्वजनिक चर्चाको अग्रपंक्तिमा पुर्‍यायो । यो मुद्दालाई क्यास गर्दै उनी कुसियाकको हत्याका कारण आफू राष्ट्रपतिको चुनाव लड्ने निर्णय गरेको उद्घोष गर्न पुगिन् । कुसियाकले त्यहाँका राजनीतिक अभिजात वर्गले गर्ने भ्रष्टाचारको पर्दाफास गर्थे । 

सन् २०१८ को फेब्रुअरीमा कुसियाकको गोली हानी हत्या गरिएको थियो । पाँच व्यक्तिमाथि हत्या आरोप लगाइएको थियो, जसमा सेन्टर–लेट पोलिटिकल पार्टी, स्मेरका साथ एकजना करोडपति पनि समावेश थिए । जुजानाले कुसियाकको हत्यालाई राजनीतिक मुद्दा बनाउँदै सरकारविरोधी प्रदर्शनहरूको नेतृत्व गरिन् । प्रदर्शनमा हजारौं मानिसलाई आकर्षित गर्न उनी सफल भइन् । भ्रष्टाचारविरोधी आन्दोलन देशव्यापी बन्यो । अन्ततः प्रधानमन्त्री र स्मेर नेता रोबर्ट फिको आफ्नो पद छाड्न बाध्य भए । यो उनका लागि ठूलो उपलब्धि बन्न पुग्यो । त्यसपछि जुजानाले समलैंगिक विवाह, गर्भपतन, शिशु काख लिने जस्ता जल्दाबल्दा मुद्दाको पक्षमा वकालत गर्दै युवा मतदाताहरूलाई आफूतिर आकर्षित गर्न सफल भइन् । चुनाव प्रचारका क्रममा उनले भन्थिन्, ‘एलजीबीटी काख लिनु बच्चालाई अनाथालयहरूमा छाड्नुभन्दा राम्रो हो ।’ गर्भपतनको पक्षमा आफ्नो मन्तव्य दिँदै भनेकी थिइन्, ‘गर्भपतनको निर्णय गर्नु महिलाको अधिकार हुनुपर्छ ।’ यी र यस्तै चुनावी मुद्दाहरूले उनलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्‍याइदिए । 

नयाँ वर्ष २०२२ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जुजानाले स्लोभाकियालीहरूले स्वास्थ्य संकटसँगै भविष्यमा कुनै पनि संकट टार्नका लागि एकजुट भई मानवताको पक्षपाती बन्न आग्रह गरिन् । ‘अहिले पनि आशा छ कि संकटले समाजलाई बलियो बनाउन सक्छ र मानिसलाई ती सामान्य कुराहरूको प्रशंसा गर्न अनुमति दिन सक्छ जुन उनीहरूले महामारीका कारण आनन्द उठाउन सकेका थिएनन्’ उनले भनिन्, ‘यो भनेको पहिलेको तुलनामा अझ राम्रो बन्ने मौका हो । कुनै पनि समाजमा संकटको व्यवस्थापन गर्न एकजुटकै आवश्यकता पर्छ ।’ 

अन्त्यमा, जुजाना सधै मुस्कुराइरहने स्वभावकी छन् । उनी राजनीतिमा उच्च पदमा त पुगिन् तर आफ्नो दाम्पत्य जीवनलाई विभिन्न कारणले निरन्तरता दिन सकिनन् । दुई छोरीकी आमा उनी श्रीमान्सँग सम्बन्धविच्छेद गरी छुट्टै बस्दै आएकी छन् । 

(एजेन्सीहरू)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>