आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

‘दुब्ली, पातली तर असल, मेहनती र भरोसा गर्न लायक केटी,’ करिब साढे तीन दशकअघि पाख्रीबासमा भेटिएकी विमला पौड्यालको बान्की र व्यवहारबारे पूर्वप्राध्यापक तथा मानवशास्त्री डा. उद्धव राई अहिले पनि उज्यालो मुहार बनाउँदै फेहरिस्तलगाउँछन्, ‘त्यो जमानामा त्यत्तिको आत्मविश्वासले भरिएकी, कर्मठ र लगनशील केटी देख्दा यिनले पक्कै पनि मेरो जीवनमा आइपर्ने सुखदुःखमा साथ दिन्छिन् भन्ने उतिबेलाकै ठम्याइ थियो ।’
पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालका श्रीमान् उद्धवले यसरी विगत सम्झिइरहँदा छेवैमा बसेकी उनी मुसुक्क हाँस्दै बोलिन्, ‘मलाई पनि उही बेला एक असल मानव, मनको कुरा ठ्याक्कै भनिहाल्ने, झूटो शब्दसँग कोशौं टाढा, गाउने, बजाउने, नाच्ने, खेल खेल्ने कुरामा ज्यादै उत्सुक तपाईंको निकै रसिक स्वभावले तानेको थियो ।’
विभिन्न विकास संघसंस्था हुँदै सन् २००४ देखि २०१५ सम्म राष्ट्रिय योजना आयोगको सदस्य, सन् २०१८ देखि २०२४ सम्मराष्ट्रियसभा सदस्य तथा सन् २०२३ मा परराष्ट्रमन्त्री बनेकी विमला हाल कृषि विश्वविद्यालय विकास अध्ययन संकायमा प्राध्यापकका रूपमा कार्यररत छिन् । सन् १९८६ देखि ९५ सम्म पिसकोर नेपाल,अरुण तेस्रो जलविद्युत् आयोजना, पाख्रीबास कृषि अनुसन्धान, विश्वबैंक आदिमा कार्यरत उद्धव सन् १९९८ देखि २०१५ सम्म त्रिविमा मानवशास्त्रका प्राध्यापकका रूपमा सक्रिय रहे । त्यसपछि उनी सन् २०१५ देखि २०१८ सम्म सेभ द चिल्ड्रेन भूटानमा रहेर काम गरे । थुप्रै पुस्तकका लेखक समेत रहेका उद्धव–विमलाको सहयात्राले ३३ वर्ष पार गरेको छ । जीवनको यो लामो यात्रामा दुवैले तितामीठा अनुभवसहितका उकाली–ओराली पार गरेका छन् ।
बर्माबाट नेपाल पसेको विमलाको परिवार निकै प्रगतिशील सोचले भरिपूर्ण थियो । महिनावारी हुँदा पुस्तक छुनु हुँदैन भन्ने समाजमा उनकी आमा भन्ने गर्थिन्,‘पुस्तक छुँदा पाप–धर्म हुन्छ भन्ने मलाई थाहा छैन, तर छोरी तिमीले पढिनौ भने दुःख निश्चित छ ।’ यही सोचले आफ्नी छोरीलाई टाढाको रामपुर क्याम्पसमा राखेर राम्रो शिक्षा दिइन् । पढाइ सकिएपछि विमला पाख्रीबास कृषि केन्द्र धनकुटा पुगेकी थिइन् । दाजु घनश्याम उद्धवका कलेजका साथी, जो पहिलेदेखि नै पाख्रीबासमा कार्यरत थिए । बहिनीलाई सहज हुने अभिभावकत्व पाउने सोचले उनले उद्धवलाई भेट्न सुझाएका थिए ।
‘विमला मलाई खोज्दै आइन्, घनश्यामकी बहिनी भनेपछि मैले बस्ने व्यवस्थाका लागि सहयोग गरिदिएँ,’ उद्धव भन्छन्, ‘विमलालाई अरु मान्छेले पनि मन पराउँथे, मैले नै कतिपटक भेट गराइदिएको छु तर उनले भने कसैलाई मनै नपराउने । अरु मान्छे मन नपराएपछि कतै मैलाई पो मन पराउने हुन् कि भन्ने लाग्यो । त्यसपछि दिनहुँ भेट हुन थाल्यो । वर्षदिनपछि, एक–अर्कालाई राम्ररी चिनेपछि ‘माई टाइप्स’ जस्तो भाव उत्पन्न हुन थाल्यो, हामी प्रेममा पर्यौं । त्यसको दुई वर्षपछि विवाह भयो ।’
विवाहपछि पनि दुवैले जीवनमा खास परिवर्तन महसुस गरेनन्, किनभने पहिलेदेखि नै उनीहरूको मनमुटु एक भइसकेको थियो । यत्ति हो उद्धवलाई जीवनभरको मिल्ने साथी पाएजस्तो लाग्यो भने विमलालाई रिस पोख्ने र खुसी बिसाउने ठाउँ मिलेजस्तो भयो । ‘विवाह गरेर मलाई उहाँले भोजपुरको घरमा लगेको भए अलि सकस हुनपनि सक्थ्यो तर हामीले आफ्नै छुट्टै संसार बसायौं,’ विमला भन्छिन्, ‘उहाँ असाध्यै अडानमा बस्ने आत्मविश्वासी मान्छे हो । मप्रति शतप्रतिशत सहयोग र विश्वास छ । म राति दुई–तीन बजे घर आउँछु, एक शब्द प्रश्न उठेको छैन आजसम्म । हामीबीच शंका र डाहा पटक्कै छैन । एक–अर्कालाई हौस्याउने, उत्प्रेरित गर्ने, प्रगतिशील हुन घचघच्याइरहने हामीबीच चलिरहने क्रियाकलाप हुन् ।’
हाल २८ वर्षका छोरा अभिषेक वर्षदिन पुगेका थिएनन् । विमला एक्सन एडमा काम गर्थिन् । विद्यावारिधि छात्रवृत्तिको तयारी गर्नु थियो, जसको म्याद सकिन दुई दिनमात्रै बाँकी थियो । घरमा बच्चा, सासू–ससुरा, जागिरको धपेडीपछि उनले श्रीमान्सँग आफ्नो इच्छा सेयर गरिन् । तब उद्धवले अफिसबाट १० दिनको छुट्टी लिन र घरमा छुट्टी लिएको कुरा नभन्न सुझाए । गरिन् पनि विमलाले त्यस्तै । घरबाट अफिस जाने भनेर दिनभर श्रीमान्को अफिस बबरमहल छेउमै बसेर विद्यावारिधि पूर्वतयारीमा लागिन् । बेलुका घर फर्किंदासँगै फर्किन्थे । विमलाले छात्रवृत्ति पाइन् । उद्धवले चिचिला दुई सन्तान (छोरा अभिषेक र छोरी अनुसुया) लाई स्याहारेर पनि श्रीमतीलाई विदेश पढ्न पठाए । एउटी महिलाको जीवनमा सफलताका लागि माया र विश्वास गर्ने प्रगतिशील विचारधाराको पुरुषको खाँचो हुने विमलाको तर्क छ ।
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आजपनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ । ‘हरेक कुरा सेयर हुन्छ । अलि ग्याप भयो भने भ्याकुम फिल हुन्छ । अनि म त फोन गरेर भन्छु, तिमीसँग कुरा गर्नुछ,’ उद्धव भन्छन्, ‘सम्बन्धमा त्यति धेरै गम्भीर हुनु जरुरी देख्दिनँ । जीवनमा सुखदुःख हुन्छन्, त्यस्तो बेला सामान्य नजरभन्दा तेस्रो नजरबाट हेर्नुपर्छ । हरेक कुराको समाधान हुन्छ। विमला सार्वजनिक जीवनमा आइसकेपछिकसैले ‘ओहो मन्त्रीज्यूको श्रीमान्’ भनेर हल्ला गर्दाडोमिनेटेड फिल नहुने होइन तर त्यस्ता कुराको व्यवस्थापन कसरी गर्ने मलाई थाहा छ ।’
घरमा सहयोगीहरू छन् । सबै काम आफैंले गर्नुपर्दैन भन्दै आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्न विमलालाई उद्धवसधैं सुझाउँछन् । विमलाको स्वभाव भने सबैकाम आफैंले गर्दा चित्त बुझ्ने खालको छ, यसलाई परिवर्तन गर्नेमा उद्धवको सधै जोड हुन्छ । ‘हामी दुवै प्रोफेसनल भएकाले एक–अर्काका लागि सधै सहयोगी भूमिका रहँदै आएको छ । मेरा भाषण, लेख–रचना, विचारमा उहाँको ‘आउटपुट’ ले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ, उहाँकोमा मेरोले । मेरो अनुभवमा साना–तिना कुरालाई क्षमा गर्ने, सकारात्मक सोच राख्ने, एक–अर्कालाई सम्मान गर्ने, कम्प्लिमेन्ट दिने, कृतज्ञता प्रकट गर्ने गर्यो भने दाम्पत्य जीवन सहज, सरल र रमाइलो हुन्छ ।’
त्यसो त उद्धव श्रीमतीको खुसीमा निकै खुसी हुन्छन् । श्रीमतीलाई खुसी बनाउने विभिन्न सूत्र उनलाई थाहा छ । निकै रसिक उनी जन्मदिन, नयाँ वर्ष, विवाहोत्सवलगायतका पर्वमा उपहार दिन बिर्सिदैनन् । विमला भने सहयात्रालाई सन्तुलित र खुसीयालीपूर्ण बनाउन आजका युवापुस्ताले धैर्यसिक्न जरुरी भएको बताउँछिन् ।
विमलाको नजरमा उद्धव
बलियो पक्ष: मिलनसार ।
कमजोरी: त्यति धेरै गम्भीर हुनुहुन्न ।
लत: असाध्यै पढ्ने ।
सुधार्नुपर्ने : आफ्नो स्वास्थ्यका लागि अलि केयरफुल हुनुपर्छ ।
मनपर्ने पुस्तक: कन्डम एन्ड क्यावेज तथा प्रेरणादायी बायोग्राफीहरू ।
बोल्ड महिला: मेरी आमा ।
कस्ताश्रीमान्: समझदार ।
के भएको हेर्ने रहर छ: परिवारलाई समय दिएको र लेखनमा लक्ष्य पूरा भएको ।
उद्धवको नजरमा विमला
बलियोपक्ष : मेहनती ।
कमजोरी : सबै काम आफैंले भ्याउनुपर्ने ।
बोल्ड नेता : विद्यादेवी भण्डारी ।
मनपर्ने गीत–संगीत: पुराना कालजयी गीतहरू ।
सुधार्नुपर्ने कुरा : नो भन्न नसक्ने, कहिलेकाहीँ भन्नु पनि पर्छ ।
कस्ती श्रीमती : मायालु र जिम्मेवार ।
के भएको हेर्ने रहर छ : स्वस्थ भएर अझ धेरै पुस्तक लेखेको ।