Successfully Copied

वाटर प्लान्ट्स

पोथोसको ट्रेन्ड पछिल्लो समय निकै बढेको छ । यो बिरुवा अहिले जोकोहीको रोजाइमा पर्ने गर्छ । यसको पात हार्ट सेपको हुन्छ ।

पछिल्लो समय सहरी क्षेत्रमा प्रदूषणको स्तर बढेसँगै यसबाट बच्ने अनेकौं उपाय अपनाउन थालिएको छ । वृक्षारोपण र घर–घरमा बगैंचाको प्रचलनमा व्यापकता आएको छ । फरक प्रकारका बोट–बिरुवा लगाउने, स्वास्थ्यमैत्री बिरुवा खोजी–खोजी बगैंचामा रोप्ने गरिन्छ । अझ रोप्ने ठाउँ नै नभए पनि कोठा, बाल्कोनी वा छतमा बोट–बिरुवा रोप्ने चलन सुरु भइसकेको छ । तर कतिपय अवस्थामा भने रोपेका बिरुवालाई सही तरिकाले स्याहार–सुसार एवं हेरचाह गर्न नसक्दा बिरुवा मर्छन् । यस्तो अवस्थामा सबैभन्दा सहज र सरल विकल्प ‘वाटर प्लान्ट’ हुनसक्छ । पानीमा रोपिएका बिरुवाको हेरचाह गर्न सजिलो हुन्छ । यस्ता बिरुवालाई धेरै समय दिन नपर्ने भएकाले घरैमा पनि रोप्न सकिन्छ । यो जुनसुकै खाली सिसी वा प्लास्टिकको भाँडोमा रोप्न सकिन्छ । यसले घर एवं कोठाको सौन्दर्य बढाउँछ । यसरी पानीमा रोपिएका बिरुवाले घरको अशुद्ध हावालाई शुद्धीकरण गर्छ । यहाँ पानीमा रोप्न सकिने बिरुवा र त्यसको हेरचाहबारे चर्चा गरिएको छ । 

लक्की बेम्बो
लक्की बेम्बो पानीमा हुने सबैभन्दा राम्रो बिरुवा हो । यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । यसको जरा पानीमा डुबेको हुनुपर्छ । यसलाई पुरै सुख्खा हुन दिनुहुँदैन । यो बिरुवा घरको जुनसुकै ठाउँमा राख्न सकिन्छ । कोठाको सुन्दरतालाई यसले दोब्बर बढाउँछ । तर, केही सावधानी अपनाउनुपर्छ । यसमा क्लोरिन भएको पानी र धाराको पानी राख्नुहुँदैन । साथै पानीमा लेउ जमेको हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ । बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ । बिरुवालाई पारदर्शी भाँडामा राख्दा यसको जरा अझ आकर्षक देखिन्छ । चिसो हावा आउने ठाउँमा बिरुवा राख्नुहुँदैन, साथै धेरै तातो हुने ठाउँमा पनि यो बिरुवा सप्रिँदैन ।

पोथोस/मनि प्लान्ट
पोथोसको ट्रेन्ड पछिल्लो समय निकै बढेको छ । यो बिरुवा अहिले जोकोहीको रोजाइमा पर्ने गर्छ । यसको पात हार्ट सेपको हुन्छ । यो धेरै प्रजातिमा पाइन्छ । कुनैको गाढा हरियो पात हुन्छ भने कुनैको हल्का हरियो हुन्छ । कुनैको ठूलो–ठूलो पात हुन्छ भने कुनैको सानो पात हुन्छ । यसलाई सिसाको बोतलमा राखेर सजाउन सकिन्छ । यसलाई माटोमा रोप्नुअघि पानीमा राख्यो भने चाँडै सर्छ । यसको कटिङ गर्दा दुई वा तीन पात छोडेर गर्नुपर्छ । यो बिरुवा कोठाको सेल्फ वा टेबलमाथि राख्दा सुन्दर देखिन्छ । झ्यालको छेउमा पनि राख्न सकिन्छ । यो बिरुवालाई सूर्यको हल्का किरण र हावाको आवश्यकता पर्छ । सातामा दुई पटक यसको पानी बदलिदिनुपर्छ भने नियमित रूपमा यसको कटिङ पनि गरिराख्नुपर्छ । यसले घरको सुन्दरता बढाउनुका साथै हावा शुद्धीकरण गर्छ ।
 
स्पाइडर प्लान्ट 
स्पाइडर प्लान्टलाई पानीमा राखेर कोठामा सजाउन सकिन्छ । यो बिरुवा टाढाबाट हेर्दा स्पाइडर जस्तो सेपमा देखिने भएकाले यसलाई स्पाइडर प्लान्ट भनिएको हो । यसको लुक्स असाध्यै आकर्षक देखिने भएकाले यसले कोठाको सुन्दरतामा थप निखार्छ । यसले धेरै मात्रामा अक्सिजन फाल्ने भएकाले कोठामा राख्न एकदमै राम्रो हुन्छ । यो बिरुवा हेरचाह गर्न एकदमै सजिलो हुन्छ । यसलाई घामबाट टाढै राख्नुपर्छ । पानीमा राख्दा यो बिरुवाको जरा मात्र पानीमा डुब्नुपर्छ, यसको पात पानीमा पर्‍यो भने सुक्न थाल्छ । यसको पानी भने दुई/तीनदिनमा बदलिराख्नुपर्छ । 

इंग्लिस आइवी
इंग्लिस आइवीले जोकोहीलाई आकर्षित गर्छ । यो हेर्दा निकै आकर्षक देखिन्छ । यसको सही हेरचाह गर्न सके यो बिरुवा चाँडै बढ्छ । यो बिरुवालाई छायाँ परेको ठाउँ निकै मनपर्छ । यसका लागि सामान्य तापक्रम र हल्का ओसिलो भएको ठाउँ उपयुक्त हुन्छ । यसलाई कहिलेकाहीँ ताजा हावाको पनि आवश्यकता पर्छ । त्यसैले केही समयको अन्तरालमा यो बिरुवालाई झ्यालको छेउ वा बाल्कोनीमा राख्न सकिन्छ । यसलाई पानी राखेर पारदर्शी भाँडोमा राख्दा निकै आकर्षक देखिन्छ । यसको पानी सातामा एक वा दुई पटकसम्म बदल्न सकिन्छ । 

फिलोडेनड्रोन
यो बिरुवा सजिलैसँग रोप्न सकिन्छ । यो सदाबहार बिरुवा हो । यसको हेरचाह गर्न त्यति गाह्रो छैन । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्छ । कटिङ गर्दा यसको तीन वा चार वटा पात छोडेर गर्नुपर्छ । पानीमा राखेको केही सातामै यसको जरा पलाउन थाल्छ । फिलोडेनड्रोन धेरै प्रजातिमा पाइन्छ, जुन हेर्दा पनि निकै आकर्षक देखिन्छ । यसको बिरुवालाई कुनै पनि सेपको सिसाको कचौरामा राख्न सकिन्छ । यसको पानी चारदेखि पाँच दिनमा बदल्नुपर्छ । यो बिरुवामा पानीको मात्रामा मात्र ध्यान दिए पुग्छ । पानीको लेभल कम हुन नदिन बेलाबेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ । 

पिस लिली
तपाईं घरमा फूल फुल्ने र आकर्षण देखिने बिरुवाको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि सबैभन्दा राम्रो विकल्प ‘पिस लिली’ हुनसक्छ । यो बिरुवाले पनि हावा शुद्धीकरण गर्छ । साथै यसले घरको सुन्दरता पनि बढाउँछ । यो बिरुवाको स्याहार–सुसारमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यसलाई सिधा घाम पर्ने ठाउँमा राख्नुहुँदैन । तर यो बिरुवाको वृद्धि विकासका लागि सूर्यको प्रकाश आवश्यक पर्ने भएकाले झ्यालको छेउ वा रुखहरूबाट छिरेर आउने घाम भएको ठाउँमा राख्नुपर्छ । पिस लिली राखिएको कोठा उज्यालो हुनुपर्छ । यसलाई एसीमुनि वा पंखामुनि राख्नुहुँदैन ।

 Image