Successfully Copied

व्यवसाय गर्दा मेहनत र धैर्य जरुरी 

कुनै पनि व्यवसाय गर्दा मेहनत र धैर्य हुनुपर्छ ।

संगीता पाण्डे 

संस्थापक, आमाको अचार

अचार बनाउने सोच कसरी आयो ? सुरुवात कसरी गर्नुभयो ?

मैले व्यवसाय सुरु गरेको ११ वर्ष भइसक्यो । बुटवलमा हुँदा मैले अचार बनाउने तालिम लिएकी थिएँ । श्रीमान्को जागिरको सिलसिलामा परिवारसहित १९ वर्ष भारतमा बसें । त्यहाँ नै मैले अचार बनाउन सिकें । त्यसै पनि मलाई अचार बनाउन एकदमै जाँगर चल्थ्यो । मैले बनाएको अचार खानेजति सबैले मन पराउँथे । एकदिन छोराहरूलाई अब मैले बनाएको अचार सबैलाई चखाउनुपर्‍यो भनें । त्यसैले छोराहरूले ‘आमाको अचार’ नाम राखिदिए । 

सुरु गर्दा कति पैसा लगानी गर्नुभएको थियो ?

तीन हजार रुपैयाँ लगानी गरेकी थिएँ । १० केजी खुर्सानी किनेर सुरु गरेको हो । त्यतिबेला तीन सय रुपैयाँ केजी पर्थ्यो ।

सुरुवाती दिनमा कत्तिको कठिन भयो ?

श्रीमान्को सहयोगविना नै मैले काम सुरु गरेकी हुँ । उहाँले किन दुःख गर्नुपर्‍यो भन्नुहुन्थ्यो । मेरा बुवाको पनि मञ्जुरी थिएन तर छोराहरूले सहमति एवं हौसला दिए । हरेक काममा मलाई सहयोग गरे । 

कहाँ बेच्नुहुन्छ ?

सुपर मार्केटहरूमा बिक्री गर्छौं । त्यसबाहेक युरोप, अमेरिका, बेलायत, क्यानाडा, इटाली, जापान, अस्ट्रेलिया, कोरियालगायतका देशमा पनि जान्छ । २६ प्रकारको अचार विदेशमा र नेपालमा १७ प्रकारको अचार बिक्री भइरहेको छ ।

यो व्यवसायले तपाईंलाई आत्मनिर्भर बनाएको छ ?

आत्मनिर्भर बनाउँछ । कुनै पनि व्यवसाय गर्दा मेहनत र धैर्य हुनुपर्छ । सम्भावना छ । कतिपय महिला घरमा त्यत्तिकै बस्नुहुन्छ । आफ्नो सीप खेर नफालौं । आफूसँग जुन सीप छ त्यही काम गर्‍यौं भने अवश्य पनि सफल भइन्छ । कुनै पनि कामलाई सानो वा ठूलो भनेर दाँज्ने नगरौं । सुरु गरे सानो व्यवसायले पनि धेरै हुन्छ । घरमा त्यत्तिकै बस्दा मनमा नकरात्मक कुरा खेल्छन् । यस्तो काम गरेर आफूलाई व्यस्त राख्न सकिन्छ । मैले एक्लैले सुरु गरको व्यवसायमा अहिले धेरै जना महिलालाई रोजगारी दिएकी छु । भान्साबाट सुरु गरेको अहिले फ्याक्ट्री बनेको छ ।

अचार मीठो बनाउन के गर्नुपर्छ ?

सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । अचार हेर्दै खाऊँ–खाऊँ लाग्ने हुनुपर्छ । त्यसका साथै गुणस्तर एवं सरसफाइमा ध्यान दिनुपर्छ । फाइदामात्र हेरेर हुँदैन । बजारमा कसरी टिक्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । 

 Image