Successfully Copied

ममी नै मेरो डिजाइनर

प्राकृतिक मेकअपमा जोड दिन्छु । म भारी मेकअप गर्दिन ।

सन् २०१५ की ‘मिस नेपाल’ हुन्–इभाना मानन्धर । काठमाडौं विश्वविद्यालयबाट उनले एमबीए सकेकी छन् । उनी पछिल्लो समय पारिवारिक व्यवसायमा संलग्न छिन् । सुन्दरता र फेसनमा उत्तिकै ध्यान दिन्छिन् । फेसनमा आफूलाई सुहाउने पहिरन लगाउनुपर्ने सुझाव उनको छ । अरुको देखासिकीमा पहिरन लगाउँदा आफूलाई असहज हुने उनको बुझाइ छ । उनी मेकअप र फेसनमा के गर्छिन् त ?

पहिरन

पहिरनको कुरा गर्दा मेरी ममीलाई सम्झन्छु । मैले लगाउने हरेक पहिरन ममीमै निर्भर हुन्छ । ममी फेसन डिजाइनर भएकीले मेरा लागि हरेक पहिरन उहाँले नै बनाइदिनुहुन्छ । ‘मिस नेपाल’ देखि हरेक इभेन्टमा ममीकै डिजाइन मैले लगाएकी छु । म प्रायः सबै प्रकारका पहिरन लगाउँछु । संस्कार र संस्कृति झल्कने पहिरन मलाई मन पर्छ । नेवारी पहिरन पनि लगाउँछु । साडी, कुर्ता अनि नेवारी हाकुपटासी पनि लगाउँछु । चाडपर्वमा यिनै पहिरनलाई महत्व दिन्छु । क्याजुअल ककटेल ड्रेस पनि मलाई मन पर्छ । व्यावसायिक क्षेत्रमा धेरै फर्मल ड्रेसहरू नै लगाउँछु । यसले व्यावसायिक क्षेत्रमा व्यक्तित्व झल्काउँछ । मलाई रातो कलर बढी मन पर्छ । 

मेकअप

प्राकृतिक मेकअपमा जोड दिन्छु । म भारी मेकअप गर्दिन । दैनिक मेकअप गर्ने बानी पनि छैन । मेकअपबिना धेरै हिँड्छु । मेकअपमा म आइब्रो बनाउन कहिल्यै छुटाउँदिन । मेकअप गर्नुपर्दा सनस्क्रिन, फाउन्डेसन, लिपग्लस मस्कारा लगाउँछु । लिपिस्टिकमा रातो, गुलाबी रंग बढी मन पर्छ । मेकअपका सामानहरूमा विदेशी–स्वदेशी दुवै प्रयोग गर्छु । 

हेयर र स्किन केयर

हेयरलाई म एकदमै महत्व दिन्छु । हेयर स्टाइलले पनि व्यक्तित्वलाई फरक देखाउँछ । हेयर ट्रिटमेन्ट गर्नेदेखि तेल मसाज गरिरहन्छु । स्क्रिन केयरका लागि पानी बढी खान्छु । 

फुटवेयर 

फुटवेयरमा पहिरनअनुसार छनोट गर्छु । बुट, हिल तथा स्पोर्ट सुजहरू लगाउन मन पर्छ । 

बढी खर्च

मेरो बढी खर्च पहिरनमै हुन्छ । नयाँ–नयाँ डिजाइन बनाउन मन लाग्ने भएकाले पनि अलि खर्च हुन्छ जस्तो लाग्छ ।

 Image