सुकराति र स्वन्ति 

दिनेश यादव

कार्तिक १५, २०७८ नेपालीहरूका लागि दसैंपछिको दोस्रो ठूलो पर्व तिहार हो । तिहारलाई यमपञ्चक पर्वका रूपमा धेरैले पाँच दिनसम्म मनाउँछन् । तर केही समुदायमा तीन दिन मात्रै पनि मनाउने चलन छ । नेपाल बहुसांस्कृतिक मुलुक भएकाले यहाँ बसोबास गर्ने हरेक समुदायले आ–आनै चलनअनुसार तिहार मनाएको पाइन्छ । यो आलेखमा नेवार र मधेसी समुदायले तिहार कसरी मनाउँछन् भन्ने विषयवस्तु समावेश गरिएको छ । 

मधेसी समुदायको ‘सुकराति’

कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि सुरु हुने दीपावली पर्व पाँच दिन मनाइने भनिए पनि तराई–मधेसको मैथिली भाषी क्षेत्रमा लक्ष्मीपूजा, गोवर्धनपूजा (गोधन) र भाइटीका (भातृद्वितीया) गरी तीन दिन मात्र मनाउने चलन छ । तिहारलाई मधेस क्षेत्रमा ठाउँअनुसार फरक–फरक नाम दिइएको छ । ती नामहरूमा दियावाती, दियारी, दीपावली, दिवाली, लक्ष्मीपूजा र सुख रात्रि (सुकराति) हुन् । मिडिया र बजारको प्रभावका कारण पछिल्लो समय धनतेरस मनाउनेहरू पनि बाक्लिँदै गएका छन् । धनतेरसका दिन धातुका नयाँ सामान खरिद गरी साँझ लक्ष्मीको आराधना गरिन्छ । दोस्रो दिन खासै केही गरिन्न । तेस्रो दिन कात्तिक औंसीको साँझ घरको चौदिशामा बत्ती बालेर देवी लक्ष्मीको स्थापना गरी पूजा–आराधना गरिन्छ । यो दिन राडी–खर वा जुटको सन्ठी (डाँठ) र रेसाबाट बनाइएको हुक्क (हुक्कालोली) दिउँसो घरको छानो वा छतहरूमा राखिन्छ । बेलुका तीमध्ये एउटा हुक्कालोली घरका मुलीले गोसाईंघर (कुलदेवता घर) मा बालेर सबै घर/गोठमा देखाएपछि करेसाबारीमा गाड्ने चलन छ । त्यसपछि बालबालिकाले हुक्कालोली खेल्न सुरु गर्छन् । केटाकेटीले बाँसको कोप्पडबाट बनाएको हुक्कालोलीमा आगो बाली हुक्कापाती खेल्छन् । यो चलन पछिल्लो समय हराउँदै गएको छ । यसको ठाउँमा कपडाको डल्लोलाई तारमा बाँधी मटीतेलमा डुबाई त्यसमा आगो सल्काएर ‘हुक्कापाती सुरुरु’ भन्दै त्यसलाई भाँज्ने चलन छ । केहीले यो दिन बेलुकी पख पाँच वटा दीप गोसाईंघरमा बाली सुनचाँदी, फलफूल राखेर लक्ष्मीमाताको पूजा बडो श्रद्धाभावले गर्छन् । पूजामा राखिएका सामग्रीहरू भोलिपल्ट मात्रै उठाउने प्रचलन छ । दीपावलीमा माटोकै दियो घर र झ्यालहरूमा राख्ने प्रचलन छ । लामो समय उज्यालो बाल्न दिबिया (औषधिको सिसीमा मटीतेलभित्र पातलो बत्ती राखेर बनाइएको) प्रयोग गरिन्छ । पछिल्लो समय विद्युतीय बत्तीले गाउँघर झकिझकाउ हुन थालेको छ । 

म्हपूजा

दियावातीको दोस्रो दिन गोवर्धनपूजा गरिन्छ । यो दिन गोठघरमा गोबरका दुईवटा मूर्ति बनाइन्छ । त्यसमा एउटा महिला र अर्को पुरुषको आकृति बनाइन्छ । त्यहीँ गोबरकै दुईवटा सखारी (अन्न राख्ने भाँडो) पनि निर्माण गरिन्छ । त्यसमा दाल, चामल, धानसहितको अनाज राख्ने चलन छ । यसैगरी गोबरकै जाँतो पनि बनाइन्छ । गाईको गोबरबाट बनाइएका यी सबै आकृतिलाई विभिन्न फूल राखेर सजाइन्छ । विशेषतः घिरौलाको फूल प्रयोग गरिन्छ । यसैदिन पशुधन (गाई, गोरु, भैंसी) को विशेष पूजा (चुमाउने) गरिन्छ । चुमाउनुअघि महिलाहरूले ओखलमा धान, सिन्दूर, दूबो र पिठार कुट्ने गर्छन् । यो मिश्रण रंगमा हालेर पशुधन (गाई, गोरुसहित) लाई रंग्याउन प्रयोग गरिन्छ । चुमौनका लागि दौरा (सिकी वा बाँसको चोयाले बनाइएको भाँडो) मा धान, दूबो, फलफूल, पान, सुपारी, पैसा, पिठार (अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दूर, तोरीको तेल र गंगाजल अनिवार्य मानिन्छ । यी सामग्रीबाट पशुधनको पूजा गरी सिङमा तेल लगाउने र खुट्टामा गंगाजल हालिएको पानी राखिदिने परम्परा छ । यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने गरिन्छ । भैंसीलाई राडी–खरले बनेको बेलनाकार वस्तुले हुर्रा खेलाउने चलन छ । हुर्रा खरबाट बनाइएको डल्लोमा कालो कम्बल राखिएको हुन्छ । त्यसलाई खर (सबई) को डोरीले बाँधेर भैंसीको सामुन्ने याँक्ने गरिन्छ । कतिपय भैंसी तर्सेर भाग्ने, कतिपय त्यसलाई सुँघ्ने र सिंहले हान्ने गर्छ । यसो गरिसकेपछि पशुधनमाथि पानी खन्याउने चलन छ । हुर्राहुरीमा सुँगुरको पाठो पनि केही ठाउँमा प्रयोग गरिन्छ । तर, यो प्रथामा जीवलाई पीडा पुर्‍याएको भन्दै विरोध पनि हुन थालेको छ । हुर्रा खेलेको वा लिएको भैंसीका धनीले हुर्रास्थलमा ढोल बजाउनेलाई कपडा (गम्छा) दिनुपर्ने प्रचलन छ । पशुधनको चुमौनपछि दौरामा राखिएको पैसा पनि ढोल बजाउने (ढोलिया) लाई वा पशुधनको हेरचाह गर्नेलाई दान दिइन्छ । पशुधनलाई तोरी तेल, मरिच र बकाइन (स्थानीय वनस्पति) सहितको वस्तु काइढ (बाँसबाट मनाइएको भाँडो) बाट खुवाउने परम्परा छ । गोवर्धनपूजाको दिन ‘लक्ष्मी आबे, काल भागे (लक्ष्मी आऊ, काल भाग)’ भन्दै घर–घरमा सुपा (नाङ्लो) ठटाउने चलन छ । पछिल्लो समय यी चलनहरू हराउँदै गएका छन् । 

गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ । मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले मनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान–सुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखिदिएर न्यौत दिन्छन् । पिँढीमाथि बसेका दाजुभाइको हात पखालिदिएर पान–सुपारी एवं मिठाईं हातमा राखिदिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाईं खुवाइने चलन छ । न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर–पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउजसहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ । 

म्हपूजा

तराई–मधेसतिर मनाइने चाडपर्व विशेषतः दीपावली र छठ गरिब, श्रमजीवि तथा शिल्पी समुदायका लागि अवसर भएर आउने गर्छ । उनीहरूको उत्पादनले बढी महत्व पाउँछ । खासगरी गरिब कृषकले उत्पादन गरेका फूल, ज्यामिर, अदुवा र केरालगायतले बजार पाउँछन् । दीपावलीमा लक्ष्मीपूजास्थलमा केराका थामबाट द्वार बनाउने चलन छ । यो प्रयोजनमा प्रयोग हुने कोथा (नयाँ हुर्केका बिरुवा) बिरुवाको माग धेरै हुन्छ । अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, पथिया, छिटा, छिटी, नाङ्ला, चालैन र चोयाबाट बनाइने अन्य सामग्री तथा माटाका भाँडा (कलश राख्ने गाग्रो), तौला, दियौरी नभई हुँदैन । 

नेवार समुदायको ‘स्वन्ति’

नेवार समुदायमा मोहनी (दसैं) पछि मनाउने अर्को ठूलो चाड तिहार हो । यसलाई ‘स्वन्ति’ पनि भनिन्छ । यमपञ्चकमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, म्हपूजा र भाइटीकामध्ये नेवार समुदायले लक्ष्मीपूजा, म्हपूजा र भाइटीका विशेष महत्व दिएर मनाउँछन् । लक्ष्मीपूजाका दिनदेखि भाइटीकासम्म तीन दिन तिथि भएको चाड (स्वन्हु तिथि) लाई छोटकरीमा ‘स्वन्ति’ भनिएको हो । यो समुदायले कात्तिक कृष्ण द्वादशीका दिन कुकुर पूजा, स्वाती नक्षत्र संयुक्त भएको औंसीका दिन बिहान गाईपूजा र बेलुकी लक्ष्मीपूजा गर्छन् । त्यस्तै, कार्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्द्धन पूजा, बली राजाको पूजा र बेलुकी आनै शरीरको पूजा (म्हपूजा) गरी मनाउने परम्परा रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । ती ग्रन्थहरूका अनुसार त्यसको भोलिपल्ट कार्तिक शुक्ल द्वितीयाका दिन दिदीले भाइलाई वा बहिनीले दाजुलाई पूजा गर्ने चलन छ । कागलाई मनपर्ने खाना विशेष गरी मासु, दाल, भात, तरकारी र रोटीहरू काग आउने ठाउँमा राखिदिएर काग पूजा गर्छन् । त्यसैगरी, घरैमा पालेको वा बाहिरका भए पनि घरको मूलढोका अगाडि कुकुरलाई ल्याई टीका र माला लगाई पूजा गरिन्छ । त्यसपछि मासु, रोटी आदि मीठो खानेकुरा खान दिएर कुकुरतिहार मनाइन्छ । लक्ष्मीपूजाअघि गरिने यी दुई पूजा भव्यतापूर्वक गर्ने चलन छैन ।

गोधन पूजा

चुन्दा बज्राचार्यको पुस्तक ‘नेवाः सांस्कृतिक चाडपर्व’ अनुसार लक्ष्मीपूजाका दिन लक्ष्मी, महालक्ष्मी, वसुन्धरा र अन्नपूर्णको पूजा गर्ने परम्परा छ । धान, गहुँ खेतबाट उत्पादन हुने भएकाले अन्न देवीका रूपमा वसुन्धरालाई, खानीबाट निस्कने सम्पत्ति (हीरा, माणिक, पन्ना, सुन) को देवी भनेर अन्नपूर्णलाई र पशुधनकी देवीका रूपमा महालक्ष्मीलाई पूजा गर्ने चलन छ । समग्रमा धान, चामल, हीरा, मोती, रुपैंयाँ, गाई आदिको पूजा नै लक्ष्मीपूजा भएको यो समुदायको मान्यता छ । लक्ष्मीपूजाका दिन आफैंले पालेको वा अरुले पालेको वा बाटोमा छाडिएको गाईलाई सम्मानपूर्वक पूजा गर्ने चलन छ । लक्ष्मीपूजाका दिन गाईलाई पूजा गर्दा जनैपूर्णिमाका दिन हातमा बाँधेको डोरी गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ । लक्ष्मीपूजा नेपाल संवत्मा वर्षको अन्तिम दिन पनि हो । लक्ष्मीपूजा नयाँ वर्षको स्वागत गरी पुरानो वर्षको अन्त्य हुने भएकाले नयाँ वर्ष झलमल्ल भई चारैतर्फ उज्यालो फैलन सकोस् भनी झलमल्ल बत्ती बाल्ने गरिन्छ । यो समुदायले लक्ष्मीपूजाको दिन लिपपोत गरी सफा–सुग्घर पारेर बिहान गाईपूजा र बेलुका घरको चारैतिर बत्ती बाली सुगन्धित धूप बाल्ने, ढिकुटीमा अबीर र अन्य पञ्चरंगले लक्ष्मी माताको मण्डप लेख्ने, लावा, अक्षता, धान, सुवासित फूल र तेलले मण्डप बनाई पूजा गर्छन् । त्यही कुचो र जल भरेको घैला स्थापना गरी दही, बिमिरा, केरा, मुला, ओखर आदि फलफूल र मिठाईं चढाई पञ्चोपचार विधिले लक्ष्मीमाताको पूजा गर्ने विधान छ । घरकी चेलीले लक्ष्मी भित्र्याउने भनी मूलढोका अगाडिको आँगनदेखि लक्ष्मीपूजा गर्ने कोठासम्म एक छत्र लिप्ने चलन पनि छ । लक्ष्मी भित्र्याउने मूलढोका बाहिरबाटै लिपेर ल्याउने, हरेक झ्यालढोकामा सयपत्रीको मालाले सजाई लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । 

देवी लक्ष्मीको पूजा गर्दा म्हपूजा मण्डप लेखिएझैं आनो घरको परम्पराअनुसार क्रमैसँग पानी, पिठो, अबीर, लावा, धान, कालो भटमास, सिंगो मास, अक्षता, मण्डपभित्र तेलको मण्डप बनाउने चलन छ । पानी मण्डपभित्र तायु वा अबीरले मण्डप लेखी त्यसमाथि बिमिरो, ओखर, कटुस, केरा, सुन्तला, नासपाती, हलुवावेद, स्याउ, चाकसी आदि फलफूलका साथै खेलुइताः (लामो बत्ती), क्वखा (धागो माला), फलफूल, लक्ष्मी फूल, गोदावरी फूल, रातो सुपारी फूल आदि राखेर बिमिरो चढाई लक्ष्मीको आराधना गरी पूजा गर्छन् । घरमा भएकी लक्ष्मीलाई सफा गरी त्यहीँ नयाँ कागजको लक्ष्मी टाँस्ने चलन छ । पूजा सकिएपछि लक्ष्मीलाई फूल सगुन, दही सगुन, मण्डपमा चढाइराखेको बिमिरोसहितको फलफूल सगुन चढाउने गरिन्छ । लक्ष्मीलाई चढाएको फलफूल सगुन, अण्डा सगुन, हरियो तरकारी, पाउँ (अमिलो), मासु, दही, मसला पोका, मिठाईंहरू भएको थाय्भु भाइटीकाको भोलिपल्ट ‘लक्ष्मीद्यः क्वकायेगु’ भनी देवी लक्ष्मीको विसर्जन गरी चेलीबेटी एवं भान्जाभान्जीहरूलाई बोलाई घरपरिवार सबैलाई प्रसाद बाँड्ने चलन छ । लक्ष्मीपूजा गरिसकेपछि टीका लगाएर कसैले भोज खाने गर्छन् भने कसैले समय बजी मात्र खाने गर्छन् । लक्ष्मीपूजा गर्दा परिवारका सदस्यहरूले आनो इच्छानुसार पैसा चढाउने चलन पनि छ । लक्ष्मीपूजा गर्दा कसैकसैले वर्षभरि सुन–चाँदीबाट आएको मुनाफा र पैसा चढाई सञ्चय गर्छन् । चढाएको पैसा अति आवश्यक परे मात्रै निकाल्ने चलन छ । 

त्यसैगरी, म्हपूजा परम्परा नेपाल संवत् स्थापित हुनुभन्दा पहिलेदेखि चल्दै आएको नेवार समुदायको आनै मौलिक पूजा हो । यो पूजा गर्ने ठाउँमा भुईं लिपपोत गरी त्यसमाथि पानी छर्केर मण्डप लेख्ने चलन छ । घरपरिवारका सबै सदस्यका लागि म्हपूजा गर्दा ती सबैका लागि एक–एक वटा मण्डप लेख्ने गरिन्छ । मण्डप लेख्दा सबैभन्दा पहिले जलबाट लेखिन्छ । म्हपूजा गर्नेहरू प्रत्येकले स्नान गरी वा पिनाबाट आनो शरीर शुद्ध गर्छन् । म्हपूजाका निमित्त नयाँ वस्त्र वा शुद्ध वस्त्र लगाई आनो स्तरअनुसार मण्डपका सामुन्ने बसेर आ–आनो पूजा सुरु गर्छन् । दायाँ–बायाँ अक्षता छरेर आनो वरिपरि भएका नराम्रा कुराहरूलाई पन्छाएर मण्डपमा आफूलाई सोधन गरी आफैले मण्डप पूजा गर्छन् । म्हपूजा गर्दा सुरुमा बस्नेले कुल देवताको र पुछारमा बस्नेले यमराजको मण्डपमा पूजा गरिदिन्छन् । कसै–कसैले म्हपूजाको बिहान गोवर्धन पूजा गर्छन् । कार्तिक शुक्लपक्ष परेवा (कछलाथ्व पारु) नेपालको आनै नाम भएको नेपाल संवत्को नयाँ वर्षको पहिलो दिनका रूपमा मनाइन्छ । 

नेवार समुदायले पनि यमपञ्चकको अन्तिम दिन भाइटीका मनाउँछन् । भाइटीका गर्दा पहिले–पहिले यमराज, यमुना, चित्रगुप्त तथा चिरञ्जीवीहरूको विधिपूर्वक पूजा गर्छन् । यसमा पनि म्हपूजामा झैं मण्डप बनाई दिदीहरूले भाइहरूलाई व्रत बसाई मण्डपमा पूजा गर्न लगाई, उनीहरूलाई समेत पूजा गरी दही, फलफूल र अण्डाको सगुन दिएर आशिष दिने चलन छ । वास्तवमा दिदीहरूले भाइहरूलाई मात्र भाइटीका गर्ने भए पनि बहिनीहरूले पनि दाजुहरूलाई पूजा गर्ने चलन छ ।

 भाइटीकाका लागि बनाइएका चौका

 

हुक्कालोली

दीवियाबत्ती

(‘नेवाः सांस्कृतिक चाडपर्व’ पुस्तकको सहयोगमा)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>