डर भगाउन बन्जी !

विद्या राई

कार्तिक १४, २०७८ तीजको दिन दिदीबहिनीहरू गायक विष्णु माझीको ‘चरी जेलैमा...’ बोलको गीतमा झुम्मिरहेका थिए । म चाहिँ जहाज चढेर काठमाडौंबाट पोखरा हान्निएँ । महामारीपछि बल्लतल्ल जुरेको मौका थियो । पोखरा घुम्न एवं रमाइलो गर्नका लागि मात्रै थिएन । महामारीले गर्दा बढेको डर, त्रास र निराशाको गह्रुंगो भारी बिसाउनु थियो । 

म घुमघाममा रुचि राख्छु । कामको तनाव नलिएर निस्फिक्री घुम्ने समय खोजिरहेकी थिएँ । काठमाडौंबाट फुत्केर निस्कन सजिलो छैन, तर पोखरा यस्तो ठाउँ हो, जहाँ छोटो समयमा घुम्न, रमाइलो गर्न सकिन्छ । एकदमै धेरै चहलपहल हुने लेकसाइड क्षेत्र कोरोना महामारीपछि सुनसान छ । तर पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, झरना, साहसिक खेलहरू लोभलाग्दा छन् । पोखरा पुगेपछि त्यहाँका साहसिक खेल नखेली फर्कने कुरा पनि भएन ।

पर्वतको कुस्मामा रहेको २२८ मिटर अर्थात् ७४८ फिट उचाइको बन्जी जम्प गर्ने इच्छा थियो । किनभने म धेरैभन्दा धेरै डराउन र डराएरै डर भगाउन चाहन्थें । यो विश्वकै दोस्रो अग्लो बन्जी हब हो । पानी परेका कारण सडकमा अवरोध हुँदा जान पाइन । 

विकल्पमा पोखराको सराङ्कोटमा जिपलाइन र हेम्जामा बन्जी जम्प गर्ने सोच बनाएँ । शुक्रबार दिउँसो १ः४५ बजे लेकसाइडमा रहेको ‘हाइग्राउन्ड एड्भेन्चर’ पुगें । त्यहाँ जिप तम्तयार थियो । जिपलाइन गर्ने अरु चार जना आइपुगे । हामीलाई लिएर जिप ठीक दुई बजे जिपलाइनको टेकअफ स्टेसन सराङ्कोट डाँडातर्फ उक्लियो । ४५ मिनेटपछि सराङ्कोट पुग्यौं । हावा जोडले चलिरहेको हुँदा २० मिनेट कुर्नुपर्ने जिपलाइन ‘क्रु’ हरूले भने । 

सराङ्कोटको डाँडाबाट आँखाले भ्याउने जति टाढाका गाउँ, पहाड हेर्न मस्त भएँ । माछापुच्छ्रेलगायत हिमशृङ्खला चाहिँ कुहिरोले छोपिएका थिए । बल्ल डेढ घण्टा कुरेपछि हावाको वेग अलि कम भयो । साँझ पर्ने बेला हुँदै थियो । जिपलाइन ल्यान्डिङ हुने हेम्जामा पुगेपछि बन्जी पनि गर्नुपर्ने थियो । जिपलाइनमा सबैभन्दा पहिले मैले नै पालो मागें । 

जिपलाइन ‘क्रु’ ले हेल्मेट र हार्नेस लगाइदिए । मेरा दुवै खुट्टा जिपलाइन टेकअफ स्टेसनको बारमा फटाएर राख्न लगाए । दुवै हातले हार्नेसका दुवैतिरका डोरी पक्रन लगाए । यसअघि मैले धुलिखेलमा दुईपटक जिपलाइन गरिसकेकी थिएँ । सराङ्कोटमा चाहिँ धुलिखेलको भन्दा धेरै ओरालो भएर उड्नुपर्ने भएकाले मनमा डर थियो । ‘क्रु’ ले सुरक्षा निर्देशन दिएर टेकअफ स्टेसन बार खोलिदिए । म ५६ डिग्रीको कोणमा हावाको वेगसँगै स्वतन्त्र रूपले अघि बढें । तीव्र गतिमा हुइँकिएको मलाई डोरीको ७/८ मिटरजति पार गरेपछि सास फेर्नै गाह्रो भयो । हावाको वेगले हल्लाउँदा सातो गयो । जति डर भए पनि जंगलमाथि उडान भर्दा रमाइलो र रोमाञ्चक अनुभव भयो । 

यो विश्वमै सबैभन्दा तीव्र गतिमा उडान हुने जिपलाइनभित्र पर्छ । प्रतिघण्टा १२० किमिको गतिमा उड्छ । यसको लम्बाइ १८५० मिटर छ । पार गर्न ९० सेकेन्ड लाग्छ । ८० सेकेन्डपछि ल्यान्डिङ स्टेसन पुग्दै थिएँ जिपलाइन डोरीमै अड्किएँ । ल्यान्डिङ स्टेसनबाट फोटोग्राफरले फोटो खिच्न थाले । अघि डराए पनि अहिले चाहिँ पोज दिएर फोटो खिचाएँ । 

त्यहाँबाट ओर्लिएर बन्जी गर्ने स्टेसन भएको टावरतिर लागें । दुई वर्षअघि भोटेकोशीमाथि १६० मिटर उचाइको बन्जी जम्प गरिसकेकी थिएँ । हेम्जामा ७२ मिटर उचाइको बन्जी ‘फुच्चे’ लागेको थियो । त्यही भएर मैले पछाडि पट्टिबाट बन्जी गर्ने सोच बनाएकी थिएँ । पहिलो पटक स्टेसनतिर हेर्दा नै आङ सिरिङ्ग भयो । भोटेकोशीमा बन्जी स्टेसन झोलुंगे पुल माथि छ । मलाई बच्चैदेखि झोलुंगे पुलमाथि हिँड्न बानी परेको भएर होला बन्जी स्टेसन देखेरै डराएकी थिइन । हेम्जामा चाहिँ जमिनदेखि उकालोतर्फ स्टेसन बनाइएको रहेछ । रेलिङ समातेर स्टेसनतर्फ जति उक्लदै थिएँ डरको मात्रा बढ्दै थियो । 

स्टेसन पुग्दा बन्जी मास्टरहरू मलाई बन्जी गराउन तम्तयार भएर बसेका रहेछन् । उनीहरू देखेर डर हरायो । खुट्टा र जिउमा हार्नेस बाँधिदिए । मन पनि उसैगरी बाँधियो । डर सबै हरायो । हातमा गोप्रो क्यामेरा दिएर मेरो परिचय लिए । ‘परिवार, साथीभाइलाई के सन्देश दिन चाहनुहुन्छ’ बन्जी मास्टरले प्रश्न गरे । ‘यस्तो साहसिक खेल हामीले खेलिरहनुपर्छ, रमाइलो हुन्छ, सबैभन्दा धेरै आत्मविश्वास बढाउँछ,’ मैले खुसीका साथ भनें । गोप्रो क्यामेरामा रेकर्ड भयो ।

उनीहरूले सुरक्षा जानकारी गराए । अनि मैले लगाएको हार्नेसमा पक्रिएर हाम फाल्नुपर्ने बारतिर लागें । एकाएक डर सुरु भयो । बन्जी गर्नका लागि खुट्टाको आधा भाग बार बाहिर कटाउनुपर्छ । निकै मुस्किलले कटाएँ । बन्जी मास्टरले पछाडितर्फ झुक्न लगाए । तर म झुक्न सकिन । अनुहारको रंग अघि नै उडिसकेको थियो, बारतिर जाँदै । यस पटक त कालो–नीलो भएँ । लाग्यो, ‘पछाडितर्फ झुक्दै गर्दा चिप्लिएर खसें भने, खुट्टा माथितिरै अड्कियो भने, राम्ररी झुक्न नसकेर झर्दाझर्दै बारमा घुँडा, अनुहार धस्रियो भने π’ बन्जी मास्टरले तीन–चार पटक झुक्न लगाएपछि पछाडितर्फ झुकें । 

अब हाम फाल्न मात्रै बाँकी रह्यो । ‘रेडी π’ बन्जी मास्टरले सोधे । मैले केही भनिन । मनले ‘हाम नफाल्’ भन्न थालिसकेको थियो । आठ–दश पटकसम्म सोध्दा पनि रेडी छु भन्न सकिन । बन्जी मास्टर रिसाए । मैले अगाडिबाट गर्छु भनें । उनीहरूले स्टेसनतिर फर्काए । अघि गोप्रोमा रेकर्ड गर्दा आत्मविश्वास बढाउँछ भनेर साहसी भई टोपलेको मैले हाम फाल्ने आँट गर्न नसकेकोमा ग्लानि महसुस भयो । पहिले अगाडि पट्टिबाट हाम फालिसकेको भएर मलाई गर्न मन भएन, बल्लतल्ल बन्जी गर्ने मौका मिलेको थियो, पछाडिबाट हाम फाल्दाको अनुभव मैले गुमाउन चाहिन । ‘म डराउनै त आएको हो, जसरी भए पनि पछाडिबाटै हाम फाल्नुपर्छ, नयाँ अनुभव लिनुपर्छ,’ मनलाई बलियो गरी सम्झाएँ । तत्कालै बन्जी मास्टरलाई यही भनें । 

उनले फेरि बारतिर लगे । पछाडितर्फ झुक्न लगाए । उनले ‘रेडी’ भनेको दोस्रो पटकमा संकेत दिएँ । उनले मेरो हार्नेसबाट हात छोडे । म पछाडि पट्टिबाट जमिनतिर खसें । खस्दा बाँधेको कपाल पनि खुस्कियो । 

तीन सेकेन्ड ‘फ्रि फल’ हुन्जेल रोमाञ्चक अनुभूति गरें । डोरी जब झट्कियो टाउको जमिनतिर खुट्टा आकाशतिर फर्किए । मन, मुटु र मस्तिष्क डरले भरियो । बेस्सरी चिच्याएँ । बन्जी स्टेसन धेरै माथि देखिन्थ्यो । नीलो आकाश हेर्दा चाहिँ मन फुरुङ्ग हुन्थ्यो । मुनि खोला थियो । डरलाग्दो भए पनि साहस महसुस हुन्थ्यो । आफैले आफैसँग गर्व महसुस भयो । 

अघि माथि स्टेसनमा बन्जी मास्टरले गोप्रो हातमा समात्न लगाउँदा खस्छ भनेर मैले हातैमा कसिलो गरी बाँधी मागेको थिएँ । डराएको मान्छेले स्टिक झनै दरिलो गरी पक्रिने र आजसम्म कसैले नखसाएको भनेकी थिएँ । बन्जी स्टेसनको बार कटेपछि हातमा गोप्रो समातिरहेको ख्यालै गरेकी थिइन । डोरी झुन्डिदा पो थाहा पाएँ, जोडले पक्रिएकी रहेछु । 

डोरी चार–पाँच पटक झट्कियो । यतिबेला तीन–चार सेकेन्डजति सास रोकिएको महसुस भयो । यति धेरै डराएँ, चिच्याएँ, कराएँ कि मैले सोचेकै थिइन । ल्यान्डिङ भएपछि पो थाहा पाएँ, स्वर भासिइसकेछ । करिब एक मिनेटमा बन्जी जम्प सकियो । 

ल्यान्डिङ गर्न तल पोखरीमा ‘क्रु’ ले संकेत दिइरहेका थिए । म झुन्डिएको डोरी पोखरीको डुंगामा बिस्तारै खस्यो । ल्यान्ड भएँ । आँखाभरि आँसु थियो । स्वर भासिएको थियो । ‘क्रु’ लाई हतार–हतार सोधिहालें, ‘दाइ म बेस्सरी चिच्याएँ हो ।’ उनले सान्त्वना दिँदै भने, ‘सबैजना चिच्याउन, डराउनै त आउने हो नि π’ उनले हार्नेस खोलिदिए । गोप्रो अझै पनि जोडले पक्रिरहेकी रहेछु । उनले गोप्रोको फित्ता खोल्दै गरेको देखेपछि पो याद भयो । १५ सेकेन्डजति डुंगामाथि रेस्ट लिएँ । त्यसपछि पोखरी बाहिर निस्केर ‘क्रु’ र म जिपलाइन स्टेसन भएतिर उक्लियौं । केही समय विश्राम गरेर ‘हाइग्राउन्ड एड्भेन्चर’ कै जिपबाट पोखरा फर्कियौं । हाइग्राउन्डले साहसिक खेल खेल्नेहरूका लागि जिपको सुविधा पनि दिन्छ । 

पोखरामा जिपलाइन र बन्जीको नयाँ अनुभव त छँदै थियो । म भित्र भरिएको डर, त्रासलाई धेरैभन्दा धेरै महसुस गरें । कोरोना महामारीपछि मलाई मानसिक विचलन भैरहेको थियो, सन्त्रास थपिएको थियो । कुनै काममा ध्यान केन्द्रित गर्न सकेको थिइन । बन्जी गरिसकेपछि नयाँ जीवन पाएको महसुस भैरहेको छ । आत्मबल र ऊर्जा थपिएको छ । 

तस्बिरहरु : विद्या राई

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>